१७ बैशाख २०८१, सोमबार

मिसन ८४ होइन मिसन समाजवादको एजेण्डा लिएर जनतामा जाउँ : सुशील सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालका कम्युनिस्टहरुले अब मिसन ८४ को एजेण्डा छोडेर समाजवादको एजेण्डा लिएर जनतामा जानुपर्ने बताएका छन् ।

बुधबार नेकपा भक्तपुर जिल्ला समितिद्वारा लोकन्थलीमा आयोजित “वर्तमान राजनीतिक संकट र यसको समाधान” विषेयक अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले मिसन ८४ पस्चागामिहरुको साझा एजेण्डा भएकाले समाजवादका अनुयायी कम्युनिस्टहरुले चुनावदेखि चुनावसम्म मात्र नसोचेर आम सर्वहारा उत्पिडितहरुलाई मुक्ति दिने समाजवादको एजेण्डा लिएर जनतामा जानुपर्ने बताए ।

उनले भने,”अब एउटा निर्वाचनबाट अर्को निर्वाचनसम्म मात्र जनतालाई गुलिया नारा, झुट्टा आश्वासन दिएर कम्युनिस्ट नामको दोकान खोल्न छोडेर देश र जनतालाई दिर्घकालिन निकास दिने सर्वस्वीकार्य व्यवस्था नेपाली विशेषताको समाजवादमा जानुपर्छ, त्यसका निम्ति सबैभन्दा पहिले विगतका तिक्तता बिर्सिएर सम्पूर्ण माओवादी घटकहरु एक ठाउँमा उभिनु पर्छ । त्यसपछि बिस्तारै अन्य विचार मिल्ने एजेण्डा मिल्ने कम्युनिस्तहरुलाई एकतावद्ध गर्दै, यो देशलाई माया गर्ने राष्ट्रवादी शक्ति क्रान्तिकारी देशभक्त लोकतन्त्रवादी शक्तिहरुलाई एकैठाउँ ल्याएर अगाडि बढ्नुपर्छ, अहिलेको परिस्थितिमा सम्पूर्ण कम्युनिस्ट वामपन्थीहरुलाई एकै ठाउँ ल्याउन सक्ने ल्याकत नेकपामा मात्रै भएकाले त्यसैको पहिलो पहलको सफल अवधारणा समाजवादी मोर्चाको अवधारणा हो ।

उनले समाजवादी मोर्चाबाट कसैलाई पनि आतंकित र संक्रिण नहुन आग्रह गर्दै समाजवादी मोर्चा संसदीय व्यवस्थाको रक्षा गर्न त्यसैलाई निरन्तरता दिन नभई संसदीय अभ्यासमा लिप्त सबैलाई समाजवादी कार्यक्रममा ल्याउले पहलको रुपमा अघि सारिएको प्रष्ट पारे ।

उनले नेकपाका महासचिव विप्लव सी नेपाली विशेषताको समाजवादको इन्जिनियर भएको बताउँदै उहाँको यहि अग्रगामी एजेण्डाका कारण नेकपा आम नेपाली युवाहरुको आशाका केन्द्र बन्दै गएको ठोकुवा समेत गरे ।

नेपाली जनताको अहिलेको प्रधान अन्तरविरोध भनेको दलाल पुँजीवाद र भूमण्डलीकृत साम्रज्यवाद हो यसैका कारण नेपालामा ठुलो भुमरी आउनेवाला छ, त्यसको सामना सबै मिलेर गर्नुपर्ने छ, नेपालमा साम्राज्यवाद अहिले एमसीसीको माध्यमबाट मात्र भर्खरै देखापरेको होइन यो खम्पा विद्रोह र त्यस अघिका उदाहरण पनि हेर्नु पर्छ, तर अहिले त्यो भन्दा फरक तरिकाले आएको छ, अहिले नेपालको आन्तरिक मामिलामा सिधा हस्तक्षेप गर्न सुरु गरेको छ, अमेरिकी साम्राज्यवादले छिमेकी शक्ति राष्ट्रलाई साइजमा राख्ने नाममा नेपालमा सैन्य क्याम्प राखेर रणभुमि बनाउने र यहाका सम्पूर्ण प्राकृतिक श्रोत साधन कब्जा गर्ने दाउमा साम्राज्यवाद छ, दलाल संसदीय व्यवस्था, भूमण्डलीकृत साम्राज्यवाद, दलाल पुँजीवादलाइ परास्त गर्दै नेपाली विशेसताको समाजवादले मात्र नेपालमा देखिएको वर्तमान संकटको समाधान गर्छ अन्यथा देशै रहन्छ रहदैन भन्ने खतरा छ उनले भने।”

उनले अहिले नयाँ शक्तिको रुपमा उदाएका पार्टीहरुप्रति लक्षित गर्दै वैकल्पिक शक्ति भनेर आएका शक्तिहरु अन्तत: पतन हुने निश्चित भएको बताए । नयाँ शक्ति भनेर गएका बाबुराम, लगाएत अन्य पार्टीहरु सबै पतन भएको उदाहरण दिँदै नेता सुशिलले रबि लामिछानेले नेतृत्व गरेको पार्टी पनि बिस्तारै पतनकै दिशामा गएर सकिने र यो देशलाई निकास कम्युनिस्टहरुले नै दिने दाबी गरे।

नेकपा भक्तपुर जिल्ला सदस्य अपार सीले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको अध्यक्षता रहेको थियो।
नेकपा भक्तपुरका सचिवालय सदस्य आतुर सीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य कान्छाराम सी, माओवादी केन्द्रका भक्तपुर जिल्ला अध्यक्ष सुनिल बाबु, क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला संयोजक रोजन, प्याब्सन बागमती प्रदेश उपाध्यक्ष सानुराजा कार्की, जनसांस्कृतिक महासंघका महासचिव तथा नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य कुशल सी लगायतको आतिथ्यता रहेको थियो ।

अन्तरक्रियामा सहभागी आधा दर्जन वक्ताहरुले प्रस्तुत अवधारणा पत्रमाथी आफ्नो धारणा राखेका थिए। वक्ताहरुले अवधारणा पत्र सान्दर्भिक भएकाले यसलाई आम जनस्तरमा बहस गर्नुपर्नेमा जोड दिएका थिए।

अहिलेको संकटको एउटा कारण अवस्था नभएर वर्तमान व्यवस्था भएकाले यसको विकल्प खोज्नुपर्नेमा अधिकांश वक्ताहरुको जोड थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।