२८ बैशाख २०८१, शुक्रबार

बेपत्ता नागरिक र शान्ति प्रक्रियाबारे पोखरामा अन्तरक्रिया, बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु दु:खद

0

पोखरा/ राज्यद्वारा बेपत्ता पारिएका अखिल (क्रान्तिकारी) का तत्कालीन महासचिव पूर्ण पौडेलको  स्मृतिमा `बेपत्ता नागरिक र शान्ति प्रक्रिया´ विषयक अन्तर्कृया सम्पन्न भएको छ । बिहीबार सहिद विजय ढकाल स्मृति भवन पोखरामा आयोजित उक्त कार्यक्रम पुर्ण पौडेल प्रतिष्ठानले आयोजना गरेको हो ।

प्रतिष्ठानकी संरक्षक तथा बेपत्ता योद्धा पुर्ण पौडेलकी आमा मोती माया पौडेल प्रमुख अतिथि रहेको अन्तर्कृयामा बेपत्ता योद्धा परिवारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि विभिन्न क्षेत्रका जानकारहरुले टिप्पणी गर्दै १ हजार ९५ बेपत्ताहरुको स्थिति सार्वजनिकरण हुन नसक्नु राज्यको गैरजिम्मेवारपन र उनीहरुका आफन्तहरूमाथिको अन्याय भएको बताएका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै बरिस्ठ अधिवक्ता तिलक पराजुलीले तत्कालीन विद्यार्थी नेता पुर्ण पौडेललाई राज्यले बेपत्ता पारेर अन्याय गरेको भएपनि त्यसबाट थप उर्जा लिएर अगाडि बढ्नुपर्ने र राज्यले बेपत्ताहरुको स्थिति सार्वजनिक नगर्नु उनीहरुको अपमान भएको बताए ।
प्राध्यापक कमल ढकालले अन्तर्कृयामा प्रस्तुत कार्यपत्र सहि, तथ्यमा आधारित र वस्तुनिष्ठ भएको भन्दै पुर्ण पौडेल समाजमा व्याप्त भ्रष्टाचार, सामाजिक, राजनीतिक विकृति विरुद्धको राको भएर उभिएको योद्धा भएको बताए ।

गण्डकी प्रदेशका अर्थमन्त्री हरिबहादुर  चुमानले पुर्ण पौडेल पञ्चायती व्यवस्थादेखि नै आफू र आफ्नो परिवारलाई राजनीतिक आन्दोलनमा सहभागी गर्दै अगाडि बढेको उर्जाशिल योद्धा भएको स्मरण गर्दै राज्यले उनी लगायत सबै बेपत्ताहरुको स्थिति सार्वजनिक गर्नुपर्ने र माओवादीलाई अझै विद्रोहीको रूपमा हेरिनु दु:खद भएको टिप्पणी गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेकपा नेता राजन सीले पुर्ण पौडेलसङ्ग जनयुद्धको शुरुवातदेखि नै भेटघाट र चिनजान भएको सन्दर्भ कोट्याउदै बेपत्ताहरुबारे राज्य अझै नबोल्नुले देशमा पुरानो सत्ताको आधारभूत चरित्र बदलिन नसक्नु र जनताको सत्ता स्थापित हुन नसक्नु जस्ता राजनीतिक समस्याले काम गरिरहेको विचार व्यक्त गरेका थिए भने पूर्वसंसद हरि अधिकारीले सेना समायोजन र संविधान निर्माण लगायतका कामहरू सम्पन्न भएपनि माओवादी आन्दोलनको फुट र विभाजनले शान्ति प्रक्रियाका अन्य कामहरू प्रभावित भएको भन्दै  माओवादी आन्दोलनको एकता जरुरी रहेको बताए ।

नेपाल समाजवादीका नेता हिराबहादुर थापाले पुर्ण पौडेलको योगदानको चर्चा र स्मरण गर्दै उहाँको स्थितिबारे परिवार र समाजले थाहा पाउन नसक्नु दु:खद भएको बताए । कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता नारायण अधिकारीले क्रान्ति पूरा भएको छैन, सहिद र बेपत्ताहरुका सपना अधुरै रहेकोले नेपालमा क्रान्तिको निरन्तरता अनिवार्य भएको बताए ।

नेपाल समाजवादीका नेता एवम् पूर्व साङ्सद फणीन्द्र देवकोटाले पुर्ण पौडेल निकै उर्जाशिल र जुझारु योद्धा भएको, विद्यार्थी आन्दोलनको क्रममा उहाँलाई नजिकबाट बुझेको र उहाँको उर्जा र जुझारुपनबाट आफू प्रभावित र उत्साहित रहेको भन्दै उनको स्मरण गरे।

सहिद तथा बेपत्तापरिवारहरु, मानवअधिकारकर्मीहरु, नागरिक सामज र विभिन्न प्रतिस्ठानका अध्यक्षहरु सम्मेलित उक्त कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष केदार पौडेलले अध्यक्षता गरेका थिए । प्रतिस्ठान सदस्य तथा सहिद स्मृति विद्यालय पोखराकी प्रधानाध्यापक  कल्पना चिलुवालले मन्तव्यद्वारा स्वागत गरेकी थिइन् भने बेपत्ता योद्धा पुर्ण पौडेलकी जीवनसाथी एवम् नेकपा नेता सावित्रा सी `आस्था´ले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।