बागमती प्रदेशको राजधानी हेटौंडादेखि ४५ किमी दक्षिण–पूर्वमा तीनभङ्गाले गाउँ पर्दछ । यो स–साना थुम्का भएको चुरेपर्वत हो । यहाँ १ सय मिटरभन्दा कम उचाईका डाँडाहरू र सालका रुखहरू छन् । जहाँको जमिन पत्रे चट्टानले बनेको छ र यत्रतत्र खहरे नै खहरे छन् ।
विदेशीको ओइरो किन ?
तीनभङ्गाले गाउँमा हेर्न–घुम्न लायक केही पनि छैन । तर त्यो गाउँमा हरेक महिना दर्जनौं अपरिचित विदेशीहरू पुग्छन् । त्यहाँ पुग्ने विदेशीहरूले कोहीले ढिस्को फोर्छन्, कोहीले त्यही गाउँ भएर बग्ने खहरे कालोपानी खोलाको बालुवा झिक्छन् र झोलामा हाल्छन् । धेरैजसोले पहेंलो–कलेजी–सेतो मिसिएको चट्टान र कालोखोलामा ‘ड्रिल’ गर्छन् । त्यसबाट निकालेको माटो लैजान्छन् ।
तीनभङ्गालेमा ड्रिल गर्ने, खाल्टो खन्ने, माटो लैजाने र बिना सूचना र इजाजत अपरिचित गोरा मान्छेहरू आउने क्रम ३५ वर्षदेखि जारी छ । पहिले–पहिले आउनेहरूले नेपालको खानी विभागबाट खानी पत्तालगाउन आएको बताउँथे । तर ७ वर्षदेखि विश्वविद्यालयको शोधपत्र तयार गर्न आएको बताउन थाले । त्यसो भन्ने एउटा टोलीले तीनभङ्गाले भूमेश्वर प्राथमिक विद्यालयदेखि उत्तर खोलामा ड्रिल गरेर माटो लिएर गयो । उक्त टोलीले सम्पर्कमा आएका गाउँलेलाई पैसा पनि दियो । १ किलो माटो लग्ने टोलीले गाउँलेलाई १५ हजार दिएपछि माटोमा के छ भन्ने खुल्दुली र चर्चा भयो । स्मरणीय छ कि पैसा तिरेर माटो लगिएको सोही स्थानमा २०४७ सालमा खानी तथा भूगर्भ विभागले पहिलो पटक युरेनियम खानी रहेको तथ्य पत्ता लगाएको थियो ।
युरेनियम खानी भएको पुष्टि
खानी तथा भूगर्भ विभागले कालोपानी खोला आसपासमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार रहेको र त्यसलाई प्रशोधन गर्दा झण्डै ३५ टन शुद्ध युरेनियम निस्कने प्रारम्भिक अनुमान गरेको छ । १० ग्राम शुद्ध युरेनियम (युरेनियम–२३५)को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १८ करोड रुपैया (२० लाख ९ हजार अमेरिकी डलर) छ । त्यस आधारमा १ किलोग्राम युरेनियमको बजार मूल्य करिब १८ अर्ब (२० करोड ९ लाख अमेरिकी डलर) हुन्छ । यो सुनभन्दा ४ हजार ५ सय गुणा महङ्गो धातु हो ।
युरेनियमको भण्डारमाथि जनता
खानी विभागको अन्वेषण अनुसार शिवालिक क्षेत्रमा पर्ने बुका खोला सिन्धुली; चाँदे खोला, चिरुवा खोला र कालो खोला, तीनभङ्गाले, मकवानपुर र चितवनका मदरसा खोला र पाँपा खोला वरपर युरेनियम खानीको सम्भावना छ । रेडियोधर्मी विकिरण मापन यन्त्रद्वारा सो धातु भए–नभएको र के कति परिमाणमा छ भन्ने अध्ययन गरिन्छ । मकवानपुर जिल्ला, बकैया (साविक धियाल–३)मा पर्ने तीनभङ्गाले र त्यहीं भएर बग्ने कालोपानी खोला आसपासमा सबैभन्दा धेरै रेडियोधर्मी विकिरण उत्पन्न भएको छ । २०४७ सालमा खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभङ्गालेमा गरेको परीक्षणमा २७ हजार ४०५ कुल विकिरण गन्ती प्रतिसेकेण्ड (CPS) देखिएको थियो । सामान्यतः जमिनको अन्य भागमा प्रतिसेकेण्ड १००–१५० सीपीएस विकिरण प्रभाव रहन्छ ।
यस्ता स्थानमा युरेनियम, थोरियम र फस्फोरस हुन सक्छ । खानी विभागको अन्वेषणले १ हजार ३ सय ८ सीपीएससम्म युरेनियमको विकिरण रहेको तथ्य पत्ता लगाएको थियो । अन्तर्राष्ट्रिय परमाणु उर्जा संस्था (IAEA) का अनुसार ७ सय सीपीएस विकिरण भएमा उत्खनन गर्न सकिन्छ । खानी विभागले २०४७ पछि माटोको रासायनिक परीक्षण (Chemical Analysis) गर्न जर्मनीको प्रयोगशालामा पठाएको थियो । त्यसबाट सो क्षेत्रमा प्रतिटन माटोमा २५५ ग्रामसम्म युरेनियम भेटिनसक्ने सम्भावना उल्लेख गरेको थियो ।
२०४७ सालको खानी विभागको अन्वेषण अनुसार तीनभङ्गाले क्षेत्रमा ५१२ मिटरको लम्बाइ र १–५ मिटर मोटाइमा युरेनियमको भण्डारण रहेको अन्वेषण प्रतिवेदन थियो । कालोखोलाबाट नै माटो लग्न भारतीय र पश्चिमी अनुहारका अपरिचित व्यक्तिहरू जाने गरेका छन् ।
रहस्यमय हर्कत
हेटौंडा–छत्तिवन–तीनभङ्गाले सार्वजनिक यातायातको सुविधा हुँदाहुँदै विदेशीहरू पूर्व–पश्चिम लोकमार्गमा पर्ने बारा, निजगढ बजारबाट उत्तर लालबकैया खोलाको किनारै–किनार चुरे हुँदै जङ्गल, खोला, चुरे पहाडको एकलास बेचल्तिको पैदल यात्रा हुँदै तीनभङ्गाले पुग्छन् । छत्तिवन बजारमा प्रहरी चौकी पर्ने भएकोले उक्त चोरबाटो प्रयोग भएको हुनसक्छ । खानी विभाग स्रोतका अनुसार सो क्षेत्रमा आजसम्म ४ पटक अन्वेषण भएको छ ।
मकवानपुरको चुरे पर्वतबाट रौतहट जोडिने चाँदे खोला, बारा हुँदै दक्षिण झर्ने धन्सार खोला र छत्तिवन खोलाबाट वर्षेनी सयौं ट्रक निर्माण सामग्री भारत निकासी हुन्छ । कतिपय ट्रकले डाबर कम्पनीको लागि लगेको बताउने गरेका छन् । तर त्यो सामग्री ‘मुम्बईको आणविक प्रशोधन केन्द्रमा पु¥याइन्छ भन्ने आशङ्का एउटा कोणबाट हुँदै आएको छ । आणविक समाज नेपालका अध्यक्ष प्राध्यापक कमलकृष्ण श्रेष्ठले एक साप्ताहिकसँग कुरा गर्दै २०७० जेठमा त्यस्तो आशङ्का गरेका थिए । नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले २०७०मा सो क्षेत्रको अवलोकन भ्रमण गर्दै उस्तै प्रकारको आशङ्का गरेका थिए ।
युरेनियममा विदेशी सङ्लग्नता
सन् १९७५मा अमेरिकी नागरिक कोनाक्का र पोल्याण्डका नागरिक जोन मेकीले लाङटाङ हिमाल आरोहण गरेका थिए । तर उनीहरू स्वेदश फर्केपछि मात्र थाहा भयो कि उनीहरूले सो क्षेत्रमा रेडियोधर्मी विकिरण अध्ययन गरेका रहेछन् । त्यसैगरी २३–२७ फेब्रुअरी १९९६मा भारत पञ्जाव, पटियालास्थित पञ्जाव विश्वविद्यालयमा भएको ‘रेडियसन फिजिक्स’को राष्ट्रिय सम्मेलनमा शिवालिक क्षेत्रमा युरेनियमको सम्भावना रहेको ‘भाभा आणविक केन्द्र’का वैज्ञानिकहरूले बताएका थिए । सो सम्मेलनलगत्तै एउटा अमेरिकी अखबारले नेपालमा युरेनियम भण्डारण रहेको खोजमूलक समाचार प्रकाशित गरेपछि विश्वशक्तिको ध्यान नेपालतिर तानियो । मुस्ताङ जिल्लामा युरेनियमको ठूलो भण्डारण रहेको तथ्य आएपछि भारत, अमेरिका, ब्रिटेनलगायत देशहरूले विकास र धर्मको आडमा गतिविधि तीब्र पारेका छन् । बौद्ध विश्वविद्यालयको बखेडा त्यसै उद्देश्यले उठाइएको हुनसक्छ । भारत र अमेरिकीहरूको अस्वभाविक मुस्ताङ चासोको पृष्ठभागमा युरेनियम नै मुख्य कारण हुनसक्छ । यसरी नेपालको युरेनियम खानीमा विदेशी चासो बढेर गएको छ । जबकि खानी तथा खनिज पदार्थ ऐन–२०४२ र नियमावली २०५६ अनुसार नेपाल सरकारले युरेनियम, हिरा र सुनलाई जङ्गी खानी अन्तर्गत राखेको छ । जसको अनुसन्धान, उत्खनन र निर्णय गर्ने अधिकार खानी विभागलाई मात्र रहन्छ । तसर्थ युरेनियम खानीको सन्दर्भमा भएका विदेशी चासो र संलग्नता गैरकानुनी छन् ।
के हो त युरेनियम ?
युरेनियम सबैभन्दा बढि परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक भार हुने यो धातुले लगातार उर्जावान विकिरणहरू निकालिरहेको हुन्छ । जसको कारण यसको आयु सयौंवर्ष रहन्छ । विशेषज्ञहरूले जीएम काउण्टर, सिन्टिलेसन काउण्टर आदिको सहायताले युरेनियम विकिरण मापन गर्छन् । जसको आधारमा युरेनियम भण्डारण भूगर्भमा के कति छ पत्ता लाग्दछ ।
नेपालमा पेग्माइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम धातु पाइएको छ । उर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक, भौगर्भिक र विष्फोटक पदार्थ निर्माणमा युरेनियम प्रयोग हुन्छ । आणविक उर्जा र हतियारको लागि युरेनियम निर्विकल्प धातु हो ।
युरेनियम दुई प्रकारका हुन्छन्– युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ हुन्छ र त्यसलाई प्रशोधन गरेपछि युरेनियम–२३५ बन्दछ । १ किलोग्राम युरेनियम–२३५बाट उत्पादित विद्युत शक्ति ३ लाख टन कोइला बाल्दा निस्कने शक्ति सरह हुन्छ ।
उर्जा स्रोत परिमाण उर्जा परिमाण कोइला १ किलोग्राम ८ किलोवाट डिजेल (तेल) १ किलोग्राम १२ किलोवाट युरेनियम–२३५ १ किलोग्राम २ करोड ४० लाख किलोवाट युरेनियम दूर्लभ धातु हो । यसको प्रशोधन र प्रयोगले निकै सस्तोमा उर्जा प्राप्त गर्न सकिन्छ । तर दुरुपयोग भयो भने मानव जातिकै विनास हुनसक्छ । १९४५मा संयुक्त राज्य अमेरिकाले यसको प्रयोगबाट निर्मित आणविक बम जापानका दुई शहरहरूमा प्रयोग गर्दा ७५ हजार मान्छेको मृत्यु भएको थियो ।
युरेनियममा अमेरिकी चासो
सन् १९७३ र १९७५मा दुईजना नेपाली युरेनियम बेच्न अमेरिकी दुतावास, काठमाडौं पुगेको र परीक्षण गर्न अमेरिका पठाउँदा त्यो नक्कली भएको प्रतिवेदन २०७०मा वेबसाइट विकिलिक्सले सार्वजनिक गरेपछि युरेनियमको चर्चा चर्केको थियो । यस्तो संवेदनशील र तस्करको जनकारी नेपाल सरकारलाई नदिने अमेरिकी दुतावासको धन्दा पनि उदाङ्गो भएको थियो ।
१९७५–१९८० बिचमा संयुक्त राष्ट्र संघले नेपालमा गरेको अन्वेषणमा थुप्रै अमेरिकी वैज्ञानिकहरू संलग्न थिए । १९७५मा लाङटाङ हिमाल आरोहणको अनुमति लिएर युरेनियम अध्ययन गरेको तथ्य माथि उल्लेख भइसकेको छ ।
विगत १ दशकयता अमेरिकाले वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, मणिपाल अस्पताल र भेरी अस्पतालमा रेडियोधर्मी पदार्थको दुरुपयोग भए–नभएको निगरानी गरिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय परमाणु उर्जा संस्था (IEAEA)को सदस्य भएलगत्तै अमेरिकी उर्जा मन्त्रालय अन्तर्गतको परियोजना विश्वव्यापी जोखिम न्यूनीकरण परियोजना ((GTRI) को गतिविधि अस्वाभाविक रुपमा बढेको छ । अमेरिकी उर्जा स्रोतहरूले रेडियोधर्मी विकिरणको तस्करी तथा चोरी रोक्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न सो कार्य गरेको दाबि गरेका छन् ।
शक्तिकेन्द्रमा युरेनियम चासो
२०५४ सालमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्री मिर्जा दिलसाद बेगले भारतको भाभा आणविक केन्द्रसँग सम्बन्धित एन. एस. शर्मालाई अनुसन्धान गर्न इजाजत दिएका थिए । उनै शर्माले डडेल्धुरामा ‘माउण्टेन बोर्डिङ स्कुल’मा चार वर्ष शिक्षकको जागिरको आडमा डडेल्धुरा, डोटी र बझाङमा युरेनियमको अनुसन्धान गरेका थिए । २०५५मा मिर्जा मारिएका र जनयुद्ध चर्केर गएको स्थितिमा आफूलाई असुरक्षित ठानेका शर्मा नेपाल सरकारलाई अध्ययन प्रतिवेदन नै नबुझाई भारत फर्के । मिर्जाको हत्यालाई युरेनियम तस्करीसँग जोड्नेहरू पनि नभएका होइनन् ।
अमेरिकी सरकारको प्रभुत्व रहेको दक्षिण कोरियाको कोरियन इन्स्टिच्युट अफ जियो–साइन्स एण्ड मिनरल्स रिसोर्सेज नामक संस्थाले युरेनियम खानी अन्वेषणका लागि सहकार्य गर्न प्रस्ताव पठाएको थियो । केही वर्षदेखि नेपालको उर्जा अन्वेषणका लागि अन्तर्राष्ट्रिय परमाणु उर्जा संस्था (IEAEA)ले विशेष चासो देखाइरहेको छ । नेपाल सन् २००८ मा सो संस्थाको सदस्य भएको हो । २०६९ भदौमा उक्त संस्थाका ३ जना विज्ञहरू आएर खानी विभागका कर्मचारीलाई युरेनियम तालिम दिएर गएका थिए । त्यही मेसो पारेर जीन रेनी ब्लेज र खानी विभागको टोलीले मकवानपुर, धिंयाल–३, तीनभङ्गालेको भ्रमण पनि गरेको थियो । विदेशीहरू दक्ष जनशक्ति उत्पादन र प्राविधिक सहयोग गर्ने भनेर नेपाल आउँछन् । उनी विज्ञलाई लिएर नेपाली टोलीसहित युरेनियम खानी स्थलमा पुग्छन् र आवश्यक सूचना सङ्कलन गर्छन् । प्रयोगशालामा नमूना परीक्षण गर्ने भनेर आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय परमाणु उर्जा (UN) र न्यूनीकरण पहल (GTRI) त्यसैको लागि काम गर्छन् ।
युरेनियम खानी सम्भाव्यता
नेपालमा २०७० सालमा युरोनियम सम्बन्धी चर्चा मकवानपुर तीनभङ्गालेमा केन्द्रीत हुँदै आएकोमा हाल मुस्ताङ, मुक्तिनाथ क्षेत्र पनि थपिएको छ । तर बैतडी, बझाङ, दार्चुला, माथिल्लो मुस्ताङ, रसुवाको लामटाङ हिमालमा युरोनियमको ठूलो भण्डारण रहेको प्रारम्भिक अनुसन्धानले बताएको छ । त्यसैगरी काठमाडौंबाट उत्तर–पश्चिम नुवाकोट जिल्लाको ककनीस्थित पाँचमाने, रसुवाको मैलुङ खोला, शिवपुरीको दक्षिण टोखा वरपर, चरिकोट दोलखामा उच्च रेडियोधर्मी विकिरण देखिएको छ ।
२०४८ सालमा बैतडी–दार्चुला भएर बग्ने चमेलिया खोलाबाट सुन तस्करी भइरहेको सूचनाको आधारमा जाँच गर्न गएको खानी विभागको टोलीले त्यहाँ युरेनियमको सम्भाव्यता पत्तालगाएको थियो । खानी विभागले गरेको २ वर्षको अध्ययनबाट बझाङको निम्ली गाड र बैतडीको जमारी गाडमा क्रमशः ३८०८९ र ९२१३ सीपीएस युरोनियम विकिरण भएको पत्तालगाएको थियो । पाकिस्तानले प्रतिलाख कणमा ३५०० र भारतले ४२०० कण प्रतिलाख युरेनियम भएको स्थानमा उत्खनन् गरिरहेका छन् ।
२७ टनसम्म युरेनियम भएको स्थानमा उत्खनन गर्दा घाटा हुँदैन । तीनभङ्गालेमा ३५ टन भएको खानी विभागको अनुमान छ । बैतडी–दार्चुला तथा चमेलिया क्षेत्रमा तीन भङगालेमा भन्दा २ देखि ३ गुणा बडी रेडियोधर्मी विकिरण भएकोले सो क्षेत्रमा बढी युरेनियम भण्डारण हुनसक्छ ।
तीनभङ्गालेमा अर्बुद्ध आतङ्क
रेडियोधर्मी विकिरणको आविष्कार मारिया क्यूरी (१८६७–१९३४, पोल्यान्ड)ले गरिन् । उनै क्यूरीको १९३४मा युरेनियम विकिरणको कारण मृत्यु भएको थियो । मकवानपुरका तीनभङ्गाले निवासीहरू आफ्नै वरपर भएको युरेनियम विकिरणको दुस्प्रभाव थाहै नपाइकन मरिरहेका छन् । त्यहाँ घर–घर अर्बुद्ध (Cancer) रोगका बिरामी छन् ।
मकवानपुर, धियाँलका २, ३ र ४ वडा (साविक) बढी प्रभावित छन् । छत्तिवन, हात्तीसुँडे माम दमारमा पनि अर्बुद्ध रोगका बिरामी बढ्दै गएका छन् । तीनभङ्गालेमा त २०७० सम्म १२ जनाको मृत्यु र त्यत्तिकै संख्यामा बिरामी थिए । त्यो संख्या हरेक वर्ष बढ्दो छ ।
युरेनियम प्रभावित क्षेत्रको पानी, अन्न, फलफूल र दुग्ध पदार्थ पनि विकिरणयुक्त हुनसक्छ । यसको अल्पकालीन र दीर्घकालीन दुष्प्रभाव हुन्छ । भावि पुस्ताहरू अपाङ्ग, शारीरिक विकृति हुँदै वंशनास भएर जानसक्छ भने अर्बुद्ध रोग तत्कालको समस्या पनि हुनसक्छ । खानी विभागले २०४७ मा नै तीनभङ्गालेमा युरेनियम भएको प्रतिवेदन बुझाएको थियो । जहाँ मानव बस्ती रहनु घातक हुन्छ ।
सो क्षेत्रका रोगीहरू के कारण रोगग्रस्त भएका हुन् ? अनुसन्धान गर्ने र आवश्यक परे सो क्षेत्रलाई तारबार गरेर बस्ती स्थानान्तरण गर्नुपर्दछ । तर ३० वर्षसम्म पनि सरकार बेसरोकार भएर बसेको छ । युरेनियम खानी भएको भनेर खानी विभागले रेखाङ्कन गरेको स्थानबाट ५० मिटर दक्षिण–पूर्व खोलाको डिलमा रहेको भूमेश्वरी प्रा. वि.मा अध्ययनरत १५० मध्ये १२ जनाले २०६९ मा नै सुस्त–मनस्थिति छात्रवृत्ति पाएका थिए । यो तथ्याङ्क आफैमा त्रासद हो ।
तीनभङ्गाले वरपर २०२१ सालदेखि बस्ती बस्न थालेको स्थानीय बताउँछन् । अन्तर्राष्ट्रिय परमाणु उर्जाले औसतभन्दा ५ गुणा बढी विकिरण देखिएमा बस्ती सार्नु पर्दछ । विप्लव नेतृत्वको नेकपाले २०७१ सालमा नै अनिल शर्मा, चिरन पुन, नयन, वाटरसहितको टोलीले स्थलगत अध्ययन गरेपछि युरेनियमको रक्षा र स्थानीय बासिन्दाको स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यान आकृष्ट गरेको थियो । तर त्यसयताका कुनै पनि सरकारले जनस्वास्थ्यप्रति जिम्मेवार बन्न सकेका छैनन् ।
निष्कर्ष
युरेनियम अत्यन्त संवेदनशील घातु हो । यसले जनस्वास्थ्यमा घातक दुष्प्रभाव पार्न सक्दछ । त्यसैले प्रभावित स्थानका बासिन्दामा यसको दुष्प्रभाव छ–छैन वैज्ञानिक अनुसन्धान गर्नुपर्छ । रोगीको उपचार र बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन । नेपालले तत्काल युरेनियम प्रशोधनका लागि प्रविधि र लगानी गर्न सक्दैन । अरु देशको लगानी आमन्त्रण गर्दा शक्तिकेन्द्र तथा छिमेकीहरू उत्तेजित हुन सक्छन् । जसलाई नेपालले थेग्न सक्ने अवस्था छैन । युरेनियम भएको सूचना बाहिरिने तर सरकारले उचित नीति निर्माण र लागू गर्न नसक्ने हो भने शक्तिकेन्द्रहरूको तानातानमा नेपालको सार्वभौमिकतामाथि नै खतरा पैदा हुनसक्छ । त्यसैले जनस्वास्थ्य र राष्ट्रिय सुरक्षाको गम्भीर विषयको रुपमा सरकारले युरेनियम खानीलाई बुझ्नुपर्छ । लापरवाही भयानक बन्न सक्छ ।
२०८० फागुन
(स्राेत: जनपत्रिका मासिक दशाैँ अङ्क)