१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशको पहिलो बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपाको स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीले पछिल्लो विकसित परिस्थितिसँगै पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको र देशभक्त जनताहरु, राष्ट्रभक्त कम्युनिष्टहरु नेकपाप्रति आशा र भरोसा गरेको बताउँदै यो जिम्मेवारी पूरा गर्ने भन्नेबारे गम्भीर बन्न जरुरी रहेको बताइन् ।
पार्टीले कास्कीको फेवातालको जग्गा अतिक्रमणको विवाद, अन्नपुर्ण संरक्षण क्षेत्रको समस्या, कालिगण्डकी नदीमा भैरहेको अवैध उत्खनन, जलविधुत निर्माणका सन्दर्भमा देखिएको अनियमितता, नवलपुरको होङ्सी सिमेन्टले जनतालाई पारेको असर, सुकुम्बासी जनताको समस्याकोबारे विस्तृत अध्ययन गरी त्यसबारे सङ्घर्ष अगाडि बढाउने निर्णय बैठकले गरेको छ । त्यस्तै एमसीसी सम्बन्धी संघर्ष, लागूऔषध नियन्त्रण, सहकारीका पीडितहरुका समस्या, लघुवित्तसम्बन्धी समस्या, मिटरव्याजी लगायत जनतासग जोडिएका समस्याहरुलाई उठान गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशले पार्टी संगठनलाई जिल्ला, पालिकादेखि वडा स्तरसम्म विस्तार गर्ने, विभिन्न्न जनवर्गीय सङ्गठन विस्तार गर्ने, नेपाली विशेषताको समाजवादबारे पालिकास्तरसम्म अन्तरक्रिया आयोजना गर्ने, प्रत्येक जिल्लाले आफ्नो अनुकुलतामा उत्पादन सुरु गर्ने समेत निर्णय गरेको छ ।
इन्चार्ज नेता शिलुले बैठकले निर्णय गरेका योजनाहरु कडाइपूर्वक कार्यान्वयन गर्न र पार्टीलाई जनतामा जोड्दै उचाई कायम गर्न सबैलाई निर्देशन दिइन् ।
नेकपा प्रदेश संरचनामा गइसकेकेपछि बसेको प्रथम बैठकले विभिन्न जिम्मेवारी पनि टुङ्याएको छ । जिम्मेवारी बमोजिम कास्की जिल्लामा इन्चार्जमा आस्था सी सेक्रेटरीमा उमेश सी, म्यादी जिल्ला इन्चार्जमा राजन सी सेक्रेटरीमा अविरल सी, बाग्लुङ जिल्ला इन्चार्जमा आजाद सी सेक्रेटरीमा प्रसिद्द सी, स्याङजा जिल्ला इन्चार्जमा उभार सी सेक्रेटरीमा सागर सी, पर्वत जिल्ला इन्चार्जमा सुशिला सी, सेक्रेटरीमा किरणी सी, मुस्ताङमा इन्चार्ज आकाश सी सेक्रेटरी प्रकाश सी, तनहुँमा निशान सी इन्चार्ज रहनेछन् भने विलास सी सेक्रेटरी रहनेछन् । त्यस्तै गोर्खा जिल्ला इन्चार्जमा कपिल सी, सेक्रेटरीमा काजी सी, नवलपूरमा जुझारु सी सेक्रेटरी सुमन सी, लमजुङ सेक्रेटरीमा रवीन्द्र सी, मनाङमा विजय सी र त्यस्तै प्रदेश कार्यालयमा विकिरण सी रहने र प्रकाशन तथा प्रचार विभागमा शिव सी रहने निर्णय बैठकले गरेको छ ।
त्यस्तै पहिलो प्रदेश बैठकले स्कुलिङ विभाग, न्याय विभाग, आर्थिक विभाग, उत्पादन विभाग, मोर्चा, राजानितिक भेटघाट लगायतका विभागहरु समेत गठन गरेको छ ।
२ दिन चलेको बैठकले पार्टीको केन्द्रीय कार्यक्रम र आगामी योजनाहरुबारे गम्भीर समीक्षा गरेको थियो । यही २५ गते जिल्ला सदस्यहरुको उपस्थितिमा पार्टी सुदृढीकरण तथा विस्तार अभियानको उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।