११ श्रावण २०८१, शनिबार

मिसन ८४ लाई हामीले समाजवादी संघर्षको माेर्चाका रूपमा लिएका छाैँ : विप्लव सी

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले २०८४ काे चुनावलाई चुनावी मिसनकाे रूपमा नभएर समाजवादी संघर्षको माेर्चाका रूपमा आफुहरुले लिएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशको राजनीतिक वैचारिक प्रशिक्षण तथा अभियान उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।
महासचिव विप्लवले नेपालको परिस्थिति गम्भीर स्थितिमा रहेकाे बताउँदै परिस्थिति अनुसार सबै माेर्चा ह्यान्डिल गर्नका लागि चुनावलाई समाजवादी संघर्षको माेर्चाका रूपमा लिएकाे बताए ।
आजकाे २१औँ शताब्दीमा चुनावलाई संघर्षको माेर्चाकाे रूपमा बुझ्न आव्हान गर्दै उनले भने, ‘साम्राज्यवादको हस्तक्षेप बढिरहेको छ, पुराना पार्टी सकिदै गएका छन्, नेपालको राजनीतिक माहाेल उल्टिदै गएको छ जनताको मनस्थिति र परिस्थितिलाई बुझेर अहिले नै बाेलेका छाैँ । ८४ मा चुनाव नै हुन्छ भन्ने पनि छैन । नेपाल कता जान्छ भन्ने स्थितिमा छ । अहिले नै बाेल्नु पर्छ भनेर चुनाव उपयोगकाे नीति लिएका हाैँ । समाजवादमा लिनका लागि, समाजवाद स्थापनाका लागि संघर्षको रूपमा मिसन ८४ लाई लिएका छाैँ ।’
क्रान्ति र समाजवादी आन्दाेलनमा विगतमा चुनावसम्बन्धी बहिस्कार र उपयोगकाे आ-आफ्नाे इतिहास रहेको बताउँदै महासचिव विप्लवले साम्राज्यवाद अहिले फरक ढंगले आइरहेकाेले विगतको जस्तो चुनावलाई बुझ्न नहुनेमा जाेड दिए ।

नेपालमा कम्युनिस्टहरुलाई जनताबाट अलग्याउन र कम्युनिस्टहरुलाई सिद्याउनका लागि साम्राज्यवाद आएकाे दाेहाेर्याउदै उनले भने,- ‘त्यसकारण उपयुक्त समयमा सबै कुरा ल्याउनु पर्छ भनेर ल्याएका छाैँ, बाेल्नुपर्छ भनेर बाेलेका छाैँ । कम्युनिस्टहरु मिल्नुपर्छ भन्ने नीति लिएका छाैँ, हाम्रो चाहना नेपाललाई समाजवादमा लैजाउ भन्ने चाहना छ । त्यसैले वामपन्थी, कम्युनिस्ट, देशभक्तहरुबिच फराकिलो माेर्चा बनाएका छाैँ ।’

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य माइला सीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिट ब्यूरो सदस्यहरु कृति सी, सन्देश सी, आजाद सी र कान्छाराम सीले सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य भृकुटी सी राखेकी थिइन् भने संचालन केन्द्रिय सदस्य विकल्प सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।