३१ भाद्र २०८१, सोमबार

इमानदार माओवादीहरुको चाहना विप्लवको नेतृत्वमा माओवादी पार्टीहरुको एकता होस् भन्नेछ : सविन

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले इमानदार माओवादीहरुको चाहना विप्लवको नेतृत्वमा माओवादी पार्टीहरुको एकता होस् भन्ने रहेको बताएका छन् ।

मंगलबार पार्टीको तेस्रो आवधिक योजना अन्तर्गत राप्ती गाउँपालिका कमिटीको प्रथम पूर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै उनले उक्त कुरा बताएका हुन् ।

इमानदार माओवादीहरुको चाहना माओवादीहरु एक भइदिए हुन्थ्यो भन्नेछ , उनले भनेे,–‘ केही माओवादीहरु कामै नलाग्ने गरि बिग्रेका छन् तिनको कुरा नगरौं तर इमानदार माओवादी नेताकार्यकर्ताहरुको चाहना अब विप्लवले माओवादी पार्टी हाक्नु भए हुन्थ्यो भन्नेछ । हामीले सबैका सुझाव ग्रहण गरिरहेका छौँ , आम सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धाहरुको चाहना जनयुद्धको अधुरो सपना पूरा होस्, विप्लवको नेतृत्वमा सबै माओवादी पार्टीहरु एकता गरि मिलेर अघि बढून् भन्ने छ । हामी नेपाली जनताका प्रतिनिधि हौं , जनताको सुझावप्रति सकारात्मक छौँ । त्यसैले अहिले हामीले माओवादी धाराकाबिचमा एकताको ढोका खुल्ला गरेका छौँ तर एकताका लागि नीति, नेतृत्व हाम्रो हुनुपर्छ भन्ने आम माओवादी नेताकार्यकर्ताको सुझाव छ । माओवादी मात्रै होइन अब नेपालका सम्पूर्ण कम्युनिस्टहरुलाई एकताबद्ध गर्दै जानुपर्छ, मुद्दा मिल्नेहरुसंग सहकार्य, विचार मिल्नेहरुसंग एकता गर्दै जानुपर्छ । कम्युनिस्ट जनमतको रक्षा आजको आवश्यकता हो ।’

नेता सविनले ०८४ को निर्वाचनलाई पार्टीको संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने समेत बताएका हुन् । ‘नेकपाले चुनाव प्रयोग गर्ने भनेपछि राजनीति तरंगित बनिरहेको छ ।’, बैठकमा बोल्दै उनले भने, ‘ संसदीय चुनावलाई नेपालका कम्युनिस्टहरुले परम्परागत ढंगले मात्रै बुझिरहेका छन् । यहाँका कम्युनिस्टहरुले चुनावलाई बहिष्कार र प्रयोगबाट मात्रै बुझेका छन् । प्रयोग भनेपछि चुनावबाट मात्रै सम्भव छ भन्ने अनि अन्त्यमा संशाेधनवादी बाटो हुँदै यहि संसदीय सत्तामा विसर्जन हुने खतरा छ भने अर्को फेरि बहिष्कारको नाममा क्रान्तिका ठुला कुरा गर्ने तर जनतामा जान नसक्ने वा जड , यान्त्रिक बन्ने खतरा पनि छ । तर हाम्रो पार्टीले चुनावलाई हेर्ने दृष्टिकोण बदलेकाे छ । आजको दुनियाँमा चुनावलाई कार्यनीति र रणनीतिको मात्रै विषय नबनाएर यसलाई क्रान्तिको समग्र मोर्चाको रुपमा बुझ्नुपर्दछ । त्यसैले पार्टी नेताकार्यकर्ता कोहिपनि भ्रमित हुनुपर्दैन चुनावलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्दछ ।’

नेता सविनले अब जनताले संसदवादीहरुको दिनदिनैको झगडा हेरेर नबस्ने समेत बताए । ‘ दिनदिनै संसदवादीको झगडा देखेर नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । अहिले संसदमा भइरहेको तान्डव हेर्नुस् त, के हो यो ? यहि कुकुर झगडाका लागि जनताले जिताएर पठाएका हुन् त ? यी संसदवादीहरु रातदिन विदेशी मालिकको सेवा गर्दै देश बेच्न बाहेक अरु जानेका छैनन् ।’, उनले भने, ‘ अब जनता यो झगडा हेरेर बस्नेवाला छैनन् । हामीले भनेको सहि सावित भएन त ? यो व्यवस्था चल्दैन भनेका थियौँ , आज घाम जत्तिकै छर्लङ्ग भएको छ । हामीले समस्याको समाधान पनि दिएका छौँ । यो संसदीय व्यवस्थाले जनताको प्रतिनिधित्व गर्न सक्दै सकेन अब समाजवादमा जाऔँ ।’

नेता सविनले संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद स्थापना अनिवार्य भएको ठोकुवा गरे ।

बैठकमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ का इन्चार्ज पाटन जंगली सीले विश्वभरी आतंक मच्चाइरहेको अमेरिकी साम्राज्यवादले नेपालमा पनि शान्ति भाड्न अनेकौं षड्यन्त्रका तानाबाना बुनिरहेकाले त्यसको प्रतिरोध गर्न सबै कम्युनिस्ट, समाजवादीहरु एकताबद्ध हुने बेला आएको बताए ।

यस्तै बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ इन्चार्ज विक्रम सीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने बेला भएको बताए ।

बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले तेस्रो आवधिक योजनाको मर्म अनुसार जनताको बिचमा पुग्न पार्टी कमिटीलाई निर्देशन दिए ।

यस्तै मंगलबार राप्ती – ५ पहरुवामा बसेको बैठकले पार्टीको जिल्ला समितिको पूर्ण बैठकले लिएका महत्वपूर्ण एवम दीर्घकालीन निर्णयहरु अक्षरंस पालना गर्ने निर्णय गरेको नेकपा राप्तीका इन्चार्ज सुरज सीले जानकारी दिए ।

बैठकले अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन , चोरी , पैठारी , लागुऔसधको कारोबारो , पालिकामा भइरहेका भ्रष्टाचार , अनियमितता विरुद्ध शसक्त जनसंघर्ष गर्ने निर्णय गरेको जनाइएको छ । साथै मिटरव्याज पीडित , लघुवित्त पिडित नागरिकका पक्षमा समेत संघर्ष गर्ने निर्णय गरेको छ ।

बैठकले राप्तीमा समाजवादका पक्षमा भित्तेलेखन गर्ने , पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने , सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको नेकपाले जानकारी दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका सिसिएम एवम दाङ क्षेत्र नं. १ इन्चार्ज विक्रम सी , पार्टीका सिसिएम एवम दाङ क्षेत्र नं. २ इन्चार्ज पाटन जंगली सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका राप्ती गाउँकमिटीका इन्चार्ज सुरज सीको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता एवम सञ्चालन पार्टीका राप्ती गाउँकमिटीका सेक्रेटरी अदिप सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।