२९ मंसिर २०८१, शनिबार

स्मृतिमा लम्जुङ जेलब्रेक

0

           सुशिला भुजेल

 

 

भूमिका
नेपालमा सबैभन्दा पहिले जेलब्रेक गर्ने नेता गणेशमान सिंहलाई मानिन्छ । उनले राणाकालमा भद्रबन्दीगृह (भद्रगोल जेल) फोरेर बाहिर निस्केका थिए । त्यसपछि पञ्चायतीकालमा तत्कालीन नेकपा (माले)का नेताहरूले नख्खु कारागार तोडेर निस्के । जनयुद्ध कालमा उमा भुजेलको नेतृत्वमा भएको गोरखा जेलब्रेक ठूलो चर्चाको विषय बन्यो । जनयुद्ध कालमा सुर्खेत, गजुरी, पोखराका जेल तथा सैनिक हिरासतहरू तोडिएका थिए । मैले सानीमा उमा भुजेलको प्रेरणाले लमजुङ सैनिक हिरासत तोडेर निस्किएँ । यो लेखमा त्यही ‘लमजुङ जेलब्रेक’ के कसरी गरियो भन्ने उल्लेख गरिने छ ।
राजनीतिक–पारिवारिक स्थिति
२०४२ भदौ १५ गते बुबा डिलबहादुर र आमा बेलमाया भुजेलको कोखबाट मैले धरती टेकेकी थिएँ । बुबाको २०५३ सालमा क्षयरोगले निधन हुँदा म ११ वर्षकी थिएँ । बुबाको सम्झना धेरै हुन पाएन र बुबाको माया अनुभव गर्न पाइन । बुबा सेनामा सुबेदार हुनुहुन्थ्यो । हाम्रो परिवार अजिकोट–४ (साविक हंशपुर–४) काफलडाँडा, गोरखामा बनिबुटो गरेर बस्दथ्यो । सानीमाको प्रेरणा र उहाँ नेता भएकै कारण शाही सेना र प्रहरीले दुःख दिएपछि जनयुद्धमा हामफालेकी थिएँ । उसबेला पार्टीमा साङ्केतिक नाम राख्ने गरिन्थ्यो । मैले ‘प्रतिमा’ नाम राखेछु । पछि त्यही नाममा नागरिकता बनाएँ । तर घरमा ‘सुशिला’ नाम थियो । दाजु पदम, दिदी कोपिला र भाइहरू रामचन्द्र र लक्ष्मण छन् । भाइ र म जनमुक्ति सेनामा थियौं । जीवनज्योती निमावि (हाल मावि) काफलडाँडामा कक्षा ७मा पढ्दा–पढ्दै म जनसेनामा हिंडेकी थिएँ ।
२०५९ जेठ महिनामा जनमुक्ति सेनाका कमरेड कुसुम (बिलबहादुर कुमाल)सँग प्रगतिशील शैलीमा विवाह भयो । कुसुमको घर राइनास–५, लमजुङ थियो । २०६२ असोज ३० गते पुत्रलाभ भयो । छोरो जन्मिदा उसको बाबाको निधन भएको ठ्याक्कै १ महिनामात्र भएको थियो । मैले ती कठिन र पीडादायी क्षणहरू कसरी बिताएँ होला ? मन कसरी सम्हालें होला ? कल्पना गर्नै कठिन छ । आगतले थुप्रै समस्या र प्रश्नहरू बोकेर आउँदो रहेछ । समयसँग अथवा भविष्यसँग त सम्भावना पनि हुन्छ भन्छन् । तर हामी विद्रोही मान्छेसँग विछोड र पीडा नै नजिक–नजिक भएर आउँदा रहेछन् ।
सानीमा उमा भुजेल जनयुद्धको नेता भइसक्नुभएको थियो । म कलाकार टोलीमा नाच्ने–गाउने गर्थें । त्यसो त सानीमा पनि कलाकार टोलीमा नै हुनुहुन्थ्यो । उहाँले शुरुमा कलाकार, पछि गोरखा क्याम्पसमा पढ्दा विद्यार्थी सङ्गठन हुँदै जनमुक्ति सेनामा काम गर्नुहुन्थ्यो । २०५७ सालमा सानीमाले गोरखा जेलब्रेक गर्नुभएछ । सानीमासँग अनुहार मिल्छ भनेर प्रहरीले पटक–पटक गिरफ्तार गर्न थाल्यो । २०५७ चैत १७मा गोरखा जेलब्रेक भएको थियो । त्यही महिनाको अन्तिमतिर म पूर्णकालीन कार्यकर्ता भएँ । शुरुमा नै जनमुक्ति सेनामा कार्यक्षेत्र भयो । सहिद भीमसेन पोखरेलका भाइ अटलले सेनाको तालिममा जान खबर गरे । त्यसपछि गणित विषयको परीक्षा दिन छोडेर त्यही दिन म पूर्णकालीन भएकी थिएँ ।
जनमुक्ति सेनामा काम गर्न थालेपछि जीवनको बुझाई र दैनिकी अर्कै–अर्कै भएर गयो । आक्रमण–प्रत्याक्रमण, भीडन्तका घटनाहरू दिनहुँ हुने नै भए । २०६० असोजमा भएको इलाम पोखरी, लमजुङको भीडन्तमा घाइते भएँ । लमजुङकै दूधपोखरी भीडन्तमा मैले चलाएको गोलीबाट सैनिक र उसको गोलीबाट म दुवैजना घाइते भयौं । कमरेड रघु कमाण्डर थिए । कम्पनी कार्यालयमा नै सेनाले निशाना लगाएको थियो । २०५८मा वसन्तको नेतृत्वमा कुनै क्षति नभइकन १५–२० मिनेटमा नै कास्की जिल्ला, देउराली इप्रका कब्जा भएको थियो । सानीमाको नेतृत्वको सेनामा हुँदा स्वास्थ्य टोलीको नेतृत्व गर्थें । २०५९ भदौ २३ गते भएको अर्घाखाँची मोर्चाको समयमा गोडा मर्केको कारण जान पाइन । म्याग्दी–बेनी, कृष्णभीर–चितवन, जवाङ खोला–चितवन, ताकुकोट–मोर्चा–२०५९, जलवीरे–चितवनलगायत थुप्रै मोर्चाहरूमा लडियो । ती दिनका अनेक रोचक प्रसङ्गहरू, स्मृतिहरू छन् । खै किन हो ती सपनाजस्तो लाग्ने आफ्नै कथाहरू धूमिल भएर गएका छन् । सायद मान्छेसँगै जनताका वीरता र महानताका कथाहरू चपरीमुनि पुरिन्छन् होला । सम्झँदा पनि नरमाइलो लाग्छ ।
लमजुङमा गिरफ्तार भइयो
हामी ३ महिनादेखि चितवनको काठमाडौं–नारायणगढ सडक वरपर थियौं । २०६१ साल थियो । एकदिन जलवीरेको मुल सडकमा उभ्याएर प्रतिक्षा दाइले ‘सुशिला, पूर्व दिशा कता हो भन त ?’ भन्नुभयो । रातको समय थियो । ‘घाम लागेको भए भन्ने थिएँ । के थाहा र दाइ’ भनें । साथीहरू हाँस्न थाले । हामीसँग दिशा सूचक यन्त्र थिएन । रमाइलो हुन्थ्यो; युद्धकै बिचमा पनि । लडाइँको बिचमा एक दिन खबर आयो । मुख्यालयको पत्र पु¥याउन म नै जानुपर्ने निर्देशन भयो ।
हाम्रो टोलीमा म सबैभन्दा सानी थिएँ । मोटर चढेर जान अरु साथीहरू मान्दैनथे । क. वसन्तको चिठ्ठी मुख्यालयमा पु¥याउनु पर्ने थियो । २०६१ साल महिना र गते पनि बिर्सन लागें । लमजुङ, सादीखोलमा चितवनबाट सजिलै पुगें । सदीखोला बजारमा सेनाले अपरेशन गरेको रहेछ । म जाँदै गरेको क्षेत्रमा कतै पनि दुश्मन थिएन वा देखिएन । खोलाको एउटा ठूलो पहराको छेल परेर सेनाको एउटा टोली लुकेर बसेको रहेछ । ‘वनमा काँडा छ ….’ बोलको गीत सानो चिनियाँ रेडियोमा सुन्दै खोलैखोला हिडिरहेकी थिएँ । घेरा हालेर समाते । पहिलो प्रश्न नै ‘घर कहाँ हो ?’ भन्ने थियो । ‘बेतिनी हो’ भनेछु । बित्याँस प¥यो; त्यही गाउँको सैनिक जवान रहेछ । उनीहरूले ढाँटेको थाहा पाउने नै भए । शङ्का भयो । काफलडाँडा भन्दा स्वतः शङ्का गर्न सक्थे । छल्न खोजेको झन् धरापमा परियो । गाउँलेहरूलाई मलाई देखाएर चिन्छौ, यो केटी यतातिर आइरहन्थी कि अनेक प्रश्न गरे । कतिपय गाउँलेले चिन्थे । तर कसैले पनि ‘चिन्छु’ भनेनन् ।
मेरो साथमा पार्टीको चिठ्ठी थियो । त्यसको सुरक्षा गर्नु पार्टी र मेरो व्यक्तिगत सुरक्षाको पनि प्रश्न थियो । सो चिठ्ठी नष्ट गर्ने योजनामा चर्पी जान मन लाग्यो भनें, जान दिएनन् । ‘मिन्स’ भएको छ, गाह्रो भयो भनें । तैपनि चर्पी जान दिएनन् । सेरा बजारमा पु¥याएपछि चर्पी जान दिए । ‘फ्लस’ भएको चर्पी रहेछ । तर चिठ्ठी बग्दै बगेन । माटाको गारो थियो । गारो कोतरेर चिठ्ठी हालेर माटोले पोतेर निस्कें । ‘किन ढिला गरेको ?’ ढोका बाहिर सेनाहरू हकार्दै थिए । जनताको घर भएकोले अब त्यो चिठ्ठी सेनाको हातमा पर्ने सम्भावना थिएन । एउटा ठूलो लडाइँ जितेको अनुभूति भयो । त्यसबेला क. सुरजलाई सम्झें । सानीमा, क. अनु, थुप्रै सहयोद्धाहरू सम्झें । शाही सेनाको हातमा परेपछि बाँच्ने सम्भावना कमै हुन्थ्यो ।
मलाई उदीपुर हुँदै लगेको थियो । बाटोमा ‘फायर’ गरेका थिए । तर मलाई मारेका थिएनन् । ‘गोरी अग्ली केटीलाई सेनाले लगेको थियो । गोली चलेको आवाज पनि आएको थियो । मा¥यो होला’ गाउँलेले पार्टी सम्पर्कमा खबर पु¥याएछन् । पार्टीमा मलाई मारेको बुझाई हुने नै भयो । तर राती १० बजेतिर लमजुङ सदरमुकाम बेशीशहर ब्यारेक पु¥याए ।
ब्यारेकमा पुग्नासाथ सुबेदारको कोठामा लगे । बालुवाको थुप्रोले बनेको कोठा, टिनको छानो, माउजर थियो सुबेदार थिएन । भच्चेकको रहेछ सुबेदार । चितवनबाट घर जान आएको हो भनें । विहे भए–नभएको सोधेका थिए । तर मेरो विषयमा सबै सूचना सङ्कलन गरिसकेका रहेछन् ।
अर्को दिनबाट यातना शुरुभयो । दिउँसो पिट्दै सोधपुछ गर्थे । राती हात पछाडि लगेर हत्कडी लगाउँथे । बेलाबेला खाल्टामा लडाएर राख्थे । बेलाबेलामा गोडामा पनि हत्कडी लगाउँथे । बुटले हान्थे । प्लास्टिकको हो कि रबरको हो; पाइपले हान्थे । बोल्न नसक्ने अवस्था भएपछि ‘पानी खान्छेस् ?’ भन्थे । तर पानी दिन्नथे । शारीरिकभन्दा मानसिक यातना अझ कठोर हुँदो रहेछ ।
ब्यारेकमा फरक व्यवहार गर्ने सैनिक जवान पनि थिए । पार्टीको कुरा खोल्यो भने झन धेरै यातना दिन्छन् । मार्ने भए जसरी पनि मार्छन्; कुरा खोलेर छोड्ने होइन भन्थे तिनीहरूले । फकाउने, लोभ देखाउने गर्छन्; तर नभन है भन्थे । एकजनाले चिठ्ठी लेख, घरमा पु¥याइदिन्छु भनेर कलम र कापीको पाना पनि दिएको थियो । त्यसको के मूल्य र ! हातमा हत्कडी भएपछि । कपाल छरिएर दुम्सीको काँढाजस्तो भएको थियो । एकजनाले कपाल कोर भन्दै काइँयो दियो । चिठ्ठी लेख्न त विश्वास पनि लागेन ।
हेलीबाट भीरमा झारेर मार्छौं भन्थे । १० दिनपछि यातना दिन छोडे । दिनमा ९–१० पटक चर्पी जान दिन्थे । चर्पी अलि पर भएको कारण जाँदा–आउँदा भूगोलको अध्ययन गर्ने अवसर हुन्थ्यो । यातना दिन छोडेपछि सैनिक हिरासत कसरी ब्रेक गर्ने भन्ने सोच मनमा उब्जन थाल्यो । सानीमाले जस्तै गर्न पाए भनेर मन रोमाञ्चित हुन्थ्यो ।
जेलब्रेकको तयारी र सफलता
एक दिन चर्पी जाँदा ब्यारेक हाताभित्र बाख्रा देखियो । त्यसबाट काँढेतारमा विद्युत प्रवाह छैन भन्ने अनुमान गरें । आँट आयो । मनमनै ठान्छु– मलाई त बाख्राले नै जेलबाट निकालेको हो । तारबारबाहेक अरु ‘रेक्की’ गरिसकेकी थिएँ । बाख्राले निर्णायक मद्दत ग¥यो । ‘बिरामी छु’ भनेकी थिएँ । घाँटी जाँच नगरी नदुख्ने औषधी ल्याइदिए । चर्पीमा बालुवा भरेको स्थानमा खोतलेर ठूलो प्वाल बनाएँ । बेलुका हवल्दार आयो । ‘बालुवा झरिरहेको छ, डर लाग्छ सर’ भनें । “यो त उमा भुजेलको छोरी हो नि; राम्ररी हेर केटा हो, भाग्ली नि; थाहा छ कि छैन ?” भनेर गयो । बालुवा झरिरहेको स्थानमा सानो बोरा ल्याएर राखिदियो । त्यो दिन निस्कने वातावरण भएन ।
घेरा तोड्ने समय–सीमाको अन्तिम दिन, मुसलधारे वर्षा भइरहेको थियो । निष्पट्ट अँध्यारो थियो; चुक घोप्ट्याएजस्तो । यताउति हेरें, कोही देखिएन । बालुवा झरेको प्वालबाट निस्केर बङ्करमा हाम्फालें । त्यो त ढल पो रहेछ । क्रलिङ गर्दै, छाम्दै काँढेतारसम्म पुगें । भीषण वर्षा, हुरी, पानी बगेको आवाजले सुनेनन् । समय सूचक घण्टी बज्यो । तार तान्दा घण्टी नबजोस् भनेर त्यसलाई फुकालेर राखें । तीन राउण्ड तारबार र घण्टी रहेछ । आफ्नो नाडीको हत्कडी नटल्कियोस् भनेर सलले बेरें । त्यसपछि मकैबारीमा हाम्फालें । वर्षातको भल थियो; साउनको महिना । मस्र्याङ्दी नदीको किनार, ठूलो ढुङ्गाको चेपमा परें । निस्कन सकिन । एउटा बुटो भेटियो । त्यसलाई समातेर तल झरेर मस्र्याङ्दीको झोलुङ्गे पुलमा पुगें । दिउँसो उनीहरू डिउटी बस्थे । राती बाहिरबाट ताल्चा ठोकेर सुत्ने रहेछन् । त्यसको फाइदा उठाएँ । झोलुङ्गे पुलमा पनि माओवादी वारपार नगरुन् भनेर ताल्चा लगाउँदा रहेछन् । ढोकामा चढेर पुलमा गएँ । पुल पार गरेर जङ्गलको मुखमा पुगेपछि सुस्ताएँ । पानी थामिएको थिएन । पानी र हावाको झोक्का वनका पातमा पर्दा कुनै सुमधुर गीत झैं लाग्थ्यो । ज्यान सेलाएछ । पैतलामा सिसाले काटेर रगत बगेछ । बिजुली चम्किँदा रगत बगेको थाहा भयो । सलले घाउ बाँधें ।
सेनाको फायरिङ : जनताको आँगनमा
एकक्षण सुस्ताएको वनमाथि २ वटा घरहरू थिए । भोटे कुकुर रहेछ । म ती घर ताकेर जाँदै थिएँ । बाघ झैं कराउँदै थियो भोटे कुकुर । त्यसैले कान्लामा गएर छेल परेर बसें । ढुङ्गा आफैमाथि खस्यो । त्यसपछि हिले टक्सारतिर सोझिएँ । अब भने म सुरक्षित भएँ भन्ने लाग्यो । त्यसपछि बल्ल डर लाग्न पो थाल्यो । उता वनको वरपर, आधा घण्टाजति पर भयानक ‘फायरिङ’ भएको आवाज आइरहेको थियो । सेनाले थाहा पाएर पिछा गर्दै रहेछ । म गलेकी थिएँ । पाइला सार्नै गाह्रो भइरहेको थियो । एउटा घरमा गएँ, ढोका खोलें । तर मलाई चिन्ने ती महिलाले मलाई देख्नासाथ आत्तिदै ढोका बन्द गरिन् । मैले सैन्य हिरासत तोडेर निस्केको समाचार एफ. एम. रेडियोहरूमा प्रशारण भइसकेको रहेछ ।
निकै पर पुगेपछि एउटा घरमा बस्न दिए । घरकी दिदीले नुहाउन मद्दत गरिन् । म हिलाम्मे थिएँ । बिरुप भएकी थिएँ । उनले भुटेको मकै र चिया खान दिइन् । हात्तीछाप चप्पल, लुङ्गी र टिसर्ट दिइन् । पैतलाको घाउ सफा गरेर टालो बाँधिदिइन् । झलमल्ल घाम लागिसकेको थियो । टाढा–टाढातिरबाट गोली चलेको आवाज आइरहेको थियो । वरपर हेलीले चक्कर मारिरहेको थियो । एफ. एम.मा लगातार समाचार प्रशारण भइरहेको थियो । म हिले बजारमाथिको डाँडामा थिएँ । मलाई पिछा गर्दै आएको सेनाको टोली सेराफाँटको बाटो भएर फर्केछ ।
एउटा पसलमा आफ्नो परिचय नदिएर नै एकजोर कपडा उधारो मागें । “बेशीशहर ब्यारेकबाट एउटी गोरी, अग्ली केटी फरार भइछ । सेनाले खोज्दै हिंडेको छ । तिमीलाई दुःख देला । बजारमा नबस नानी, गइहाल” अधबैंसे पसलेले भन्दै थिए । “ए, हो र दाइ !” मैले हाँस्दै भनें । ब्यारेकबाट भागेकी केटी मै हूँ भन्न पनि नहुने । पसलेले ममाथि नै शङ्का गरेर सहानुभूति देखाएको पनि त हुन सक्थ्यो । शुरुमा मेरो पिछा गरेर सेना आइरहेको होला भनेर डराएका सामान्य समर्थकले पार्टीमा खबर पु¥याइसकेका थिए । मैले हिरासत तोडेको खबर सर्वत्र फैलिइसकेको थियो । पार्टीले आफ्नो सूत्र परिचालन गर्ने नै भयो ।
सिमे–ताँदे गाउँमा पार्टीको केन्द्रीकरण रहेछ । मसँग क. टसी (बुद्धिराम गुरुङ) थिए । जसले मेरो हत्कडी खोलिदिएका थिए । अगाडि बढ्ने क्रममा सरला दिदी (शान्ता भुजेल)ले घाउहरू सफा गरिदिनुभयो । हात–गोडा मालिस गरिदिनुभयो । अर्को दिन क. वसन्त र क. अनिल भेट्न आए । “सुरज घाइते छ । तिमी यस्तो अवस्थामा आयौ । अब गोरखाको केन्द्रीकरणमा जानुपर्छ” वसन्त भन्दै थिए । म हिंड्न सक्ने अवस्थामा थिइन । बल्लबल्ल गुम्दा पुगेका थियौं । टोली त लापू पुगिसकेछ । जनताको बिचमा मेरै विषयमा चर्चाहरू थिए । “त्यो नानी भेटेदेखि त खसी काटेर खुवाउँथ्यौं” एकजना दिदी भन्दै हुनुहुन्थ्यो । वसन्त दाइले “तपाइँले भनेको नानी यही त हो नि” चोर औंलाले मलाई देखाउँदै भन्नुभयो । तुरुन्तै गाउँलेहरूको भीड जम्मा भयो । भव्यरुपले स्वागत गरे । गाउँलेहरूले त्यो दिन त्यहीं राखेर खसी काट्ने, रमाइलो गर्ने प्रस्ताव गरेका थिए । तर हामी हिड्नै पथ्र्यो । ती सबै खबर सुरजहरूले पाइसकेका रहेछन् । सुरजसँग अझै भेट भएको थिएन । आजजस्तो फोन सुविधाको समय थिएन त्यो समय । सुरज घाइते भएको खबरले दुःखित बनायो । तर भेट्ने क्षण नजिकिंदै गएकोले खुशी पनि लागेकै थियो ।
लापूमा १ महिना आराम गरियो । त्यसपछि नियमति काममा लागें । खारा भीडन्तमा स्वास्थ्यकर्मी टोलीमा थिएँ । खारा भीडन्तमा जाँदा म ४ महिनाकी गर्भवती थिएँ । सुरज घाइते भएकोले लमजुङ, माडीमा आराम गरेर बस्नुभएको थियो । हामी एक महिना सँगै बस्यौं । लापामा प्रशिक्षण लिएर लमजुङ आइएको थियो । लापूको बसाई र त्यसपछिको जीवन यात्रा जीवनकै नयाँ अयाम जस्तो भएको थियो ।

स्राेत: जनपत्रिका मासिक दशाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।