
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले कमल थापा, नवराज सुवेदी र लोकेन्द्र बहादुर चन्दलाई अपराधी करार गरेका छन् । २५औँ जेलब्रेक दिवसका अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अनिलले उनीहरु मल्लिक आयोगको अपराधी भएको बताएका हुन् ।
उनीहरुले जनआन्दोलन दबाउन भूमिका लेखेको भन्दै आयोगले कारवाही लागि सिफारिस गरेको बताउँदै उनले आयोगको प्रतिवेदन अनुसार कारवाही हुनुपर्ने बताए । ‘राजाको शासनमा उपाध्यक्ष हुने, जनतालाई दमन गर्ने, अहिले आएर फेरि राजतन्त्रका नाममा अराजकता फैल्याउने, यो नेपाली जनताका लागि सैह्य हुँदैन ।’, उनले भने, ‘हामी मल्लिक आयोगको प्रतिवेदन खोजेर सार्वजनिक गर्छौँ । सरकारलाई त्यही आयोग अनुसार कारवाहीको माग गर्छौँ ।’
जनयुद्धका कारण नेपालमा राजतन्त्रको अन्त्य भएको बताउँदै उनले नेपालमा अब शाही राजा फर्किन नसक्ने ठोकुवा गरे । ‘नेपालमा राजाको बंश नास भइसकेको छ । संवैधानिक रुपमा पनि नेपालमा राजाको बंश छैन, व्यवहारत हुने कुरै भएन ।’, उनले भने, ‘नेपालमा नभएको बंश खोजेर हुँदैन । राजा चाहिने भए बेलायतबाट लिएर आए हुन्छ, कतारबाट ल्याए पनि हुन्छ । उनीहरुका एक भाईलाई ल्याएर गद्दीमा राखेमात्र हो ।’
प्रबिन गुरूङको हत्यारा, मुर्ति चोर, नविता, सुनिताका बलात्कारी हत्यारालाई राजा मान्न नसकिने उनको भनाई थियो । विदेशीको बुई चढेर अपराधिलाई राजा बनाउन नसकिने बताउँदै उनले जनतालाई अगाडिको विकल्प दिनुपर्ने धारणा राखे । ‘नेपालमा राजा पनि हुँदैन, यथास्थितिको गणतन्त्रमा पनि रहन सकिदैन ।’, उनले भने, ‘यसको विकल्प समाजवाद हो । नेपाली विशेषताको समाजवादमा जाउँ । समाजवादका बारेमा हामी जनमत संग्रहका लागि तयार छौँ ।’
जनयुद्धले राजतन्त्र गएपनि आर्थिक परिवर्तन नभएको उनको ठहर छ । आर्थिक अवस्थामा परिवर्तन नुहँदा र नेताहरूले जनअपेक्षा अनुसार काम नगर्दा असन्तुष्टि बढेको उनको भनाई छ । जनयुद्धमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले जेलेब्रेक जनयुद्धकै कडी भएको बताए । महिलाको भूमिका पृथ्वीनाराण शाहको नेपाल एकीकरणमा पनि महत्वपूर्ण रहेको बताउँदै उनले महिला विगतदेखि आन्दोलनमा रहँदा आएको इतिहास खुलाए । वर्गिय सत्ता ढलेपनि महिलामाथि उत्पीडन नरोकिनेसमेत उनको भनाई छ । उनले वर्गीय सत्ता ढलेपछि महिला उत्पीडनकाविरुद्ध पुनः लड्नु पर्नेमा जिकिर गरेका थिए ।
सो अवसरमा नेकपा स्थाथी समिति सदस्य तथा जेलब्रेककी कमाण्डर शिलु सी, नेकपा पोलिटब्युरो सदस्य खुमा सी, वामपन्थी महिला नेता शान्ता मानवी, नेकपा नेता सोममाया सीले नेपालको महिला आन्दोलन र जेलब्रेकका बारेमा चर्चा गरेका थिए । अ.ने.म.संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको संचालन उपाध्यक्ष भृकुटी सीले गरेकी थिइन् भने उपस्थित सबैलाई महासचिव राजकुमारी सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन् ।
२०५७ साल चैत १७ गते उमा सीको नेतृत्वमा कमला नकर्मी, रिता थापा, सन्जु अर्याल, एन्जिला विक र मिना मरठ्ठाले सुरुङ खनेर गोर्खा जिल्लाको जेलब्रेक गरेका थिए । उनीहरुमध्ये एन्जिला विक र मिना मरठ्ठाले जनयुद्धमै सहिद भएको थिए भने बाँकी समाजवादी आन्दोलनमा सक्रिय छन् ।