३१ भाद्र २०८१, सोमबार

नेकपा बुटवल उपमहानगरले बुझायो १३ बुँदे मागपत्र

0

बुटवल: नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगर समितिले नगरप्रमुख खेलराज पाण्डे समक्ष १३ बुँदे मागपत्र पेस गरेको छ । मंगलबार नेकपाका केन्द्रीय सदस्य सरद सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।
बुटवल उपमहानगर भित्रका विविध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेस गर्दै पार्टीका केन्द्रीय सदस्य एवं नगर इन्चार्ज सरद सीले नेकपाले उठाएका जनसरोकारका मागहरुलाई यथासिघ्र सम्बोधन गर्न अनुरोध गरेका थिए । जवाफमा जनसरोकारका सबै मागहरुमा नगरपालिका गंभिर भएको र क्रमश: कार्यान्वयनमा जाने नगरप्रमुख खेलराज पाण्डेले बताएका थिए ।
तिनाउदानव नदी करिडोर समस्या, भुमिहिन सुकुम्बासी लालपुर्जा वितरण, नगरपालिकाको सेवाप्रवाह एवं सरकारी सेवा शुल्क, नदिजन्य पदार्थको उत्खनन् र निकासी, लक्ष्मीनगर ज्योतिनगर पहिरो, तटबन्ध, सडक निर्माण लगायतका जनसरोकातका १३ बुँदे मागपत्र बुझाउँदै नेकपाले आवश्यक प्रकृया पुर्याई अबिलम्ब मागहरुमा समोधन गर्न अपिल गरेको थियो । मागहरु सम्बोधन नभए संघर्षमा जान बाध्य हुने समेत नेकपाले जनाएको छ ।
नेकपा केन्द्रीय सदस्य एवं नगर इन्चार्ज सरद सी र नगर सेक्रेटेरी विज्ञान सीद्वारा हस्ताक्षरित मागपत्र बुझ्दै नगर प्रमुख खेलराज पाण्डेले सबैका साझा मुद्धा र सरोकारका मुद्धा उठाएकोमा नेकपालाई धन्यवाद ज्ञापन गर्दै सबैको साझा सहकार्य र पहलकदमीमा समस्याको समाधानमा जाने उल्लेख गरेका थिए ।
यस्तो छ मागपत्रको पूर्ण पाठ:-
श्री नगरप्रमुख ज्यू
बुटवल उपमहानगर पालिकाको कार्यालय
बुटवल, रुपन्देही
विषय:- मागपत्र पेस गरिएकोबारे ।
उपरोक्त बिषयमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी विगत लामो समयदेखी राष्ट्रीय स्वाधीनता, जनतन्त्र, जनजीविका सहित जनताका तमाम समस्याहरुको समाधान गर्न निरन्तर संघर्षको प्रकृयामा डटिरहेको छ । साथै एकीकृत जनक्रान्ति मार्फत वर्तमान दलाल पुजिवादी ब्यबस्थाको अन्त्य गरेर नेपाली बिशेषताको समाजबाद स्थापित गर्ने उद्धेश्यमा केन्द्रित भएर अगाडि बढिरहेको छ । वर्तमान समयमा बुटवल उपमहानगर समितिको तर्फबाट जनसरोकारका तपशिलका मागहरु समेटी यसको कार्यान्वयनका लागि बुटवल उपमहानगरपालिका कार्यालय नगरप्रमुख समक्ष यी मागहरु पेष गर्दछौं ।
१. तिनाउ दानव नदी करिडोरले प्रभावित पार्ने क्षेत्रका सम्पुर्ण जनताहरुको उचित ब्यबस्थान गरियोस ।
२. बुटवल उपमहानगरपालिका भित्रका अव्यबस्थित, सुकुम्बासी लगायत सबै अस्थाई प्रकृतीका जग्गाहरुलाई ब्यबस्थित गरि लालपुर्जा बितरण गरियोस ।
३. लालपुर्जा बितरणका नाममा जग्गाको मूल्य सरह लिईने अत्यधिक कर नियन्त्रण गरि सर्वसुलभ कर निर्धारण गरियोस ।
४. बुटवल उपमहानगरपालिका कार्यालयबाट दिईने सबै सेवा सुबिधा पारदर्शी, छिटोछरितो एवं सहजरुपमा बनाउनुका साथै अनावश्यकरुपमा लिईने कतिपय दोहोरो करको अन्त्य एवं सरकारी करहरुको शुल्क घटाईयोस ।
५. नदीजन्य पदार्थको उत्खनन् र निकासीमा भएका अनियमितता एवं दुरुपयोग तुरुन्त बन्द गरि उत्खनन् र निकासीलाई नियन्त्रण एवं ब्यबस्थित गरियोस ।
६. स्वास्थ्य र शिक्षा आम सर्वसाधारण नागरिकहरुलाई सहज रुपमा उपलब्ध हुने ब्याबस्था गरियोस । साथै स्वास्थ्य र शिक्षामा हुने सवैखाले बिकृति र बिसंगतिको अनुगमन गरि नियन्त्रण गरियोस ।
७. दैनिकरुपमा हुने मूल्य वृद्धि नियन्त्रण गरि मुल्यसुचि बिनाको बस्तु बिक्रीबितरण कार्य बन्द गरियोस ।
८. लागुऔषध एवं दुर्व्यशन नियन्त्रण गरियोस ।
९. लक्ष्मीनगर र ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रण कार्य अगाडी बढिरहेको छ । यसको दिर्घकालिन समाधानका लागि ठोस योजना बनाई कार्यान्वयन गरियोस ।
१०. बुटवल उपमहानगरपालिका क्षेत्र भित्र तिनाउ नदीले कटान गरेका बाँकि ठाउँहरुमा अविलम्ब तटबन्दको ब्यबस्था गरियोस ।
११. राजमार्ग चौडाहा देखि गोलपार्क सम्मको सडक छिटो निर्माण गर्न पहल गरियोस । साथै नगर भित्रका सडक खाल्डाखुल्डी मर्मतगरी सडक ब्यबस्थित गरियोस ।
१२. बुटवल उपमहानगरपालिकाका सबै वाडहरुमा स्वच्छ खानेपानीको ब्यबस्था गरियोस ।
१३. शहिद-वेपत्ता समृती प्रतिष्ठान, बुटवलका लागि आवश्यक भवन निर्माणार्थ जग्गा तत्काल उपलब्ध गराईयोस ।
हाम्रो पार्टीले राखेका उपरोक्त जनसरोकारका मागहरुप्रति गंभिर बनी आवश्यक प्रकृया मिलाई कार्यान्वयनमा जानुहुनेछ भन्नेमा हामी पुर्ण विस्वस्त छौं । अन्यथा हाम्रा मागहरुप्रति बेवास्ता गरिएमा हामी संघर्षमा जान बाध्य हुने छौं ।
धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।