३१ भाद्र २०८१, सोमबार

राज्यको पुरानो चरित्र बदलिन नसक्दा बेपत्ता परिवारको पीडा सम्बोधन भएन : विप्लव

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको राज्य अझै जनताको राज्यमा रुपान्तरण हुन नसकेकोले जनयुद्धको क्रममा बेपत्ता पारिएका परिवारको पीडा र शान्ति सम्झौताको कार्यान्वयन हुन नसकेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित` बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया बिषयक´ अन्तर्कृयालाई सम्बोधन गर्दै महासचिव विप्लवले जनयुद्धको क्रममा बेपत्ता पारिएका १हजार ९५ जना योद्धाहरुको स्थिति सार्वजनिक गरिनुपर्ने बताए ।

बिपिन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा महासचिव विप्लवले क्रान्ति अधुरो रहेकोले जनयुद्धको क्रममा राज्यले पीडित बनाएका मानिसहरूको पीडा सम्बोधन हुन नसकेको बताए ।

“जनताको हातमा सत्ता भएको भए बेपत्ता परिवार  लगायत  नागरिकका पीडा सम्बोधन हुन्थे तर नेपालको राज्य जनताको राज्यमा रुपान्तरण हुन नसक्दा आज जताततै पीडा र दु:ख मात्रै देखिन्छ”; महासचिव विप्लवले भने-“बेपत्ता लगायत द्वन्द्वपीडितका पीडा र समस्या सम्बोधन किन हुन सकेन भनेर एकले अर्काको आलोचना त गर्न सकिन्छ तर यो कुरालाई क्रान्तिमा आएको घुम्तीसङ्ग पनि जोडेर हेर्नुपर्छ, यो कसैलाई गाली गरेर हुने बिषय पनि होइन, यहाँ क्रान्तिको नियमले काम गरेको छ । हामीले क्रान्ति जितेको भए अहिले बेपत्ता, सहिद लगायत सबै वीरबीरङ्गनाको सपना पूरा भैसक्थ्यो ।”

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विप्लवले जनयुद्धको क्रममा लाखौंलाख जनता राज्यबाट पीडित रहेको, राज्यले कैयौंलाई घरबारबिहिन बनाएको  र त्यसको सम्बोधन राज्यले  इमानदारीतापूर्वक गर्नुपर्नेमा बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने काममा  राज्य अलमलिएको बताए ।

शान्ति प्रक्रिया, बेपत्ताहरुको स्थिति सार्वजनिकरण, पीडितलाई न्याय दिने कुरा  प्रचण्ड लगायत माओवादीका नेताहरूले चाहेर पनि गर्न सक्ने स्थिति नरहेको बरु उहाँहरु,  एमसीसी पारित गरेर अमेरिकालाई फकाउने कोसिस गर्दैछ्न्; के अमेरिका फकिन्छ?  भन्दै प्रश्न समेत गरेका छन् ।

“यसले त उहाँहरु एकातिर जनताबाट अलग्गिदै जानुहुन्छ भने अर्कोतिर  सत्ताको घेराबन्दी र बाह्य शक्तिको चेपुवामा पनि पर्दै जानुहुन्छ । यो कुरालाई नबुझिकन बेपत्ता योद्धाको मुद्दा पूरा हुन संभव छैन ।”

शान्ति प्रक्रियालाई सहि र न्यायपूर्ण रूपमा सम्पन्न गर्न
माओवादी जनयुद्धकालिन प्रशासन र पुरानो सत्ताको प्रशासन बीच कम्तीमा ५०/५०प्रतिशत सत्ता साझेदारी  हुनुपर्थ्यो, त्यो नभएकोले पनि देशमा अहिलेको स्थिति आएको हो, जनताले सत्ताका लागि गरेका योगदानहरु गुमेका छन् । हिजो काङ्ग्रेसको मुक्ति बाहिनी राज्यको प्रहरीमा बदल्न हुने अनि जनमुक्ति सेनाको एउटा युनिट छुट्टै राख्न किन नमिल्ने भन्दै विप्लवले शान्तिप्रक्रियामा गरिएको गलत सम्झौताको प्रसङ्ग समेत कोट्याएका छन् ।

बेपत्ता योद्धाको स्थितिको सार्वजनिक  नगरेर  बेपत्ता परिवालाई न्याय नदिएको मात्रै होईन, बन्दुकको बलमा उनीहरुको आवाज समेत दबाइएको भन्दै महासचिव विप्लवले माओवादी, बामपंथी र कम्युनिस्ट मिलेर चुनौतीको सामना गर्नुपर्ने र आफुहरुले आन्दोलनमा  बगाएको रगत र पसिनाको बोध नगराएसम्म  मैदानबाट नभाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

मन्तव्यको क्रममा महासचिव विप्लवले प्रचण्ड सरकारले ल्याएको चालु आर्थिक बर्षको बजेटतर्फ संकेत गर्दै अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा आफ्नै मन्त्रीदेखि सरकारमा सहभागी दल समेतले स्वामित्व  नलिएको  यो बजेट कसको हो ? यो त आन्तरिक राजश्वको नाममा जनताबाट उठ्ने अनुमान गरिएको १२ खर्ब बाडेर खाने कुरा मात्रै देखियो,यसरी कसरी देश बन्छ भन्दै बजेट स्वामित्वबिहिन  भएको समेत बताए ।

अन्तर्कृयामा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, एमाले नेता महेश बर्तौला, काङ्ग्रेस साङ्सद, मैना कार्की,मानवअधिकारकर्मी चरण प्रसाईं,डा सुन्दरमणि दिक्षित लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए भने बिपिन भण्डारी फाउन्डेसनकि अध्यक्ष शान्ता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सावित्रा सी आस्थाले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।