२३ भाद्र २०८१, आईतवार

छाती ठोकेर विप्लवको कार्यकर्ता हौं भन्नुपर्छ : सविन

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले छाती ठोकेर विप्लवको कार्यकर्ता हौं भन्न सक्नुपर्ने बताउनुभएको छ ।
बिहिवार दंगिशरण -४ मौलीमा पार्टीको आयोजनामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेता सविनले उक्त कुरा बताएका हुन् ।

छाती ठोकेर विप्लवको कार्यकर्ता हौं भन्नुपर्छ, नेता सविनले भने– ‘ हाम्रा वरिपरी हाम्रा समर्थक, शुभचिन्तकलाई गोलबन्द हुन नदिन प्रतिक्रियावादीहरुले हामीलाई बन्दुक बोक्छन, बम, बारुद बोक्छन् भनिरहेका छन् । यी कुरा सत्य होइनन् । तपाइँहरु हाम्रा वरिपरि आउन थालेपछि उनीहरु यस्ता कुरा गर्न थालि हाल्छन् । तपाइँहरु ढुक्क हुनुहोला हामी सजिलै मैदान खाली गरिदिएर कहिँकतै जादैनौँ । यहाँका दलालहरुलाई हालीमुहाली गर्न छोडि दिएर कहिँकतै जाने कुरा छैन । यो बिचमा चुनाव आइपुग्यो भने चुनावमा पनि भिड्ने हो तर मैदान खाली गरिदिएर डाँडाकाँडा जाने कुरा होइन । जनताको पक्षमा न्यायको आवाजलाई बुटले दबाउन खोजियो भने बन्दुक अनिवार्य बन्न सक्छ । बन्दुक हाम्रो चाहना होइन, हामी त यो मुलुकलाई बदल्न चाहेका छौँ ।’

दलालहरुको कब्जाबाट देशलाई जनताको मातहतमा ल्याउने हो ।’,उनले भने, ‘ यो देशलाई दलालहरुको कब्जाबाट दुई तरिकाले मुक्त गर्न सकिन्छ । एउटा तरिका बन्दुकबाट हो अर्को तरिका शान्तिपूर्ण आन्दोलनबाट पनि हुन्छ । यो मुलुक दलालहरुको कब्जामा छ, विकास नहुनुको कारण पनि यहीँ हो । दलालको कब्जाबाट देशलाई जनताको मातहतमा ल्याउनु पर्दछ । यो व्यवस्था र पुराना पार्टीप्रति जनताको रत्तीभर विश्वास छैन ।’

नेता सविनले मौली, बालुवा लगाएतका गाउँहरु सहिदहरु जन्माएको, जनयुद्धमा ठुलो योगदान गरेको गाउँ भएकाले पार्टीप्रति जनताको विश्वास भइरहने समेत बताए ।

नेकपा जनताको आशाको केन्द्रविन्दु हो ।’, उनले फेरि भने, ‘पुराना पार्टीले जनतको पक्षमा काम नगरेपछि अहिले हाम्रो पार्टी जनताको आशा केन्द्रविन्दु भएको छ । नेपाली जनताको अधिकार सुनिश्चित नहुदासम्म विद्रोह चलिरहन्छ । हामी जनतालाई कुनैपनि हालतमा धोका दिदैनौँ । हामी समाजवाद ल्याउनका लागि लडेका छौँ ।’

सबै नागरिकलाई उत्पादन र श्रममा सहभागी बनाउदै समृद्धि हासिल गर्ने व्यवस्था हो समाजवाद।’, नेता सविनले भने, ‘संविधानमा समाजवाद उन्मुख लेख्ने कुरा जनतालाई ढाट्ने कुरा हो । समाजवाद उन्मुख संविधानमा दलाल पुजीवादको बिगबिगी छ । यो सरासर जनतालाई ढाँटेको कुरा हो । विकृत पुजीवादी कार्यक्रम लागू गरेर समाजवाद उन्मुख संविधान हुँदैन । समाजवाद नभने राजनीति गर्नै नसक्ने भएपछि उन्मुख लेखियो । जनताले साँच्चिकै समाजवाद उपभोग गर्न चाहन्छन् । यो व्यवस्था रहेसम्म जनताले मुक्ती पाउदैनन् । खाना नपाएर भोकै मर्न थालेपनि राज्य विमुख हुने व्यवस्था हो दलाल पुजीवाद ।’

नेता सविनले सरकार चलाउनका लागि मात्रै सरकारले काम गर्ने गरेको समेत बताए ।

सरकारको काम सरकार जोगाउने मात्रै हो।’, नेता सविनले भने, ‘ भर्खरै अर्थमन्त्रीले एमसिसी जुनसुकै हालतमा कार्यान्वयन गर्नुपर्छ भन्नु यो सरकार टेकाउन गरेको गुलामी हो । एमसिसी भयानक राष्ट्रघाती छ भन्दाभन्दै किन रातदिन मान्छेहरु मालिकको गुलामी गरिरहेका छन् ? यहाँ शासकहरुको काम केवल विदेशीको गुलामी गरेर सरकार जोगाउनु मात्रै हो । प्रचण्ड भारत गएर गुलामी गर्ने ,कसैले एमसिसी लागू गरौं भन्ने सबै कुरा सरकार टेकाउने खेल हुन् । प्रचण्डको मात्रै कुरा होइन यो देशका सबै संसदवादीहरुलाई देश र जनताको माया होइन सरकार चलाउने वाहेक अरु केही छैन ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी, पार्टीका जिल्ला सचिव तिलक सी, पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सीले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।