६ पुष २०८१, शनिबार

समाजवाद र कार्यदिशा

0

          अनिल सी

 

नेपालमा समाजवाद लोकप्रिय शब्द बनेको छ र पुँजीवाद वैचारिक रुपले रक्षात्मक भएको छ । जसको कारण कम्युनिस्टहरू, वामपन्थीहरू, काङ्ग्रेस, पूर्व–पञ्चहरू सबै शक्तिहरू आ–आफ्नै प्रकारको समाजवादको व्याख्या गरिरहेका छन् । कस्तो र कसरी समाजवाद ? भन्ने प्रश्न मूल प्रश्न हो । सोही विषयमा यहाँ चर्चा गरिने छ ।
कार्ल माक्र्सले दर्शनको सारतत्वको व्याख्या गर्दै ‘प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो’ भन्नुभएको थियो । लेनिनले त्यसलाई ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ भन्नुभयो । समय र परिस्थितिको वस्तुपरक विश्लेषण र समाजको रुपान्तरण गर्नु नै त्यसको मर्मबोध गर्नु हो ।
क) कार्यदिशा : विज्ञानका सबै शाखाहरू (जीव–विज्ञान र भौतिक विज्ञान)मा निरन्तर विकास भइरहेको छ । जगत गतिशील छ र गतिशील भएको कारण परिवर्तनशील पनि छ । समाज विज्ञान पनि उक्त नियमबाट स्वतन्त्र हुँदैन । यसले अर्थतन्त्र, संस्कृति, मनोविज्ञान, राजनीति र सुरक्षामा तीब्र प्रभाव पारेको छ । त्यसैले दर्शन (प्रकृति विज्ञान र समाज विज्ञान) मा पनि नयाँ संश्लेषण आवश्यक भएको छ । कार्यदिशाको सन्दर्भमा पनि त्यो कुरा त्यत्तिकै सत्य हो ।
नेपालमा रुस र चीनमा प्रयोग भएका कार्यदिशाहरू प्रयोग गर्ने प्रयासहरू हुँदै आएका थिए । तर आज ती पुराना भएका छन् । कार्यदिशाको सन्दर्भमा आजको सच्चा दर्शन भनेको नयाँ कार्यदिशा निर्माण गर्नु हो । नेकपाको आठौं महाधिवेशनको दस्तावेज भन्छ, “नेपालमा अलि बढी मेलखाने कार्यदिशा जनयुद्ध नै हो । तर आजको विश्व राजनीतिको विकास र नेपाली विशेषताको दृष्टिले जनयुद्धको यान्त्रिक नक्कलबाट मात्र पनि क्रान्ति सम्भव छैन । त्यसका लागि वस्तुवादी विश्लेषणसहितको अर्को उपयुक्त र वैज्ञानिक शब्दको छनोट आवश्यक छ । ‘एकीकृत जनक्रान्ति’ त्यसैको निकास हो ।” तर आजको सन्दर्भमा जनयुद्ध र जनविद्रोहको मूल मर्मलाई आत्मसात गरेर नयाँ कार्यदिशा विकास गर्नुपर्ने आवश्यकता भएको छ । उही दस्तावेज भन्छ, “एकीकृत जनक्रान्ति जनविद्रोह र जनयुद्धको निरन्तरता र उत्कर्षसहित विकास गर्न खोजिएको कार्यदिशाको नेपाली आयाम हो । जसले माक्र्सवाद, लेनिनवाद र माओवादलाई नेपाली विशेषतामा प्रयोग गर्दछ ।” हरेक वस्तु परिवर्तनशील भएको कारण समाज विज्ञानका आयामहरूमा पनि परिवर्तन अनिवार्य बन्न जान्छ । नेकपाको नवौं महाधिवेशनको दस्तावेजमा भनिएको छ, “हरेक वस्तु परिवर्तनशील र विकासशील छन् । त्यसैले दर्शन पनि गतिशील र परिवर्तनशील हुन्छ । कुनै एक समयमा वस्तुलाई जति बुझिएको हुन्छ, सधैं त्यही बुझाई सत्य भइरहँदैन । वस्तुको विकास अगाडि बढ्दा वा वस्तुलाई बुझ्ने क्षेत्र र गहिराई बदलिंदा दर्शनको क्षेत्र पनि फैलिएर जान्छ । अन्यथा यसको गतिशील सारतत्व नै समाप्त हुनेछ ।” जीवन र जगतमा भइरहेको यही गतिशीलतालाई हेरेर कार्यदिशा निरुपण गरिएको हो ।
ख) अर्थतन्त्र डिप्रेसन : चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) देशको ऋणभार थप १ खर्ब ६३ अर्ब थपिएको छ । यसरी देशको जम्मा ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । गएको आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म देशको ऋणभार २२ खर्ब २१ अर्ब ६७ करोड थियो । हाल त्यो बढेर २३ खर्ब ८४ अर्ब ४८ करोड सार्वजनिक ऋण पुगेको छ । त्यसरी प्रतिव्यक्ति ऋणभार विन्यास गर्दा हरेक व्यक्तिको टाउकोमा ८२ हजार नेपाली रुपैयाँ पर्न जान्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार देशको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यो ऋणभार देशको कूल ग्राहस्थ्य उत्पादन (GDP) भन्दा ४४.३० प्रतिशत बढी हो । देशको कूल बजेट पछिल्लो वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड रहेको सर्वविदितै छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो जानकारी अनुसार भएका उद्योगहरू पनि ४३ प्रतिशतमात्र आफ्नो क्षमतामा चलेका छन् । आधा क्षमता पनि प्रयोग भएको छैन । नयाँ खुल्ने प्रक्रिया सुस्त छ । रोजगार गुम्दै गएको छ । आर्थिक सूचकाङ्कको मापन रोजगार, उद्योग–व्यापार र पुँजीगत खर्चले हुन्छ । यी तीनै क्षेत्र दयनीय छन् । अर्थतन्त्रको सूचकले देशमा मन्द विष (Economic)को अवस्था देखाउँछ । यस्तो अवस्थालाई आर्थिक निरासा (Economic Depression) पनि भन्ने गरिएको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयले आर्थिक वृद्धिदर ६ प्रतिशत पु¥याउने र मुद्रास्फिती ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो । त्यो पूरा भएन । देशमा छायाँ अर्थतन्त्र अर्थात् अनौपचारिक अर्थतन्त्र हावि भएको कारण राजस्व सङ्कलन प्रभावित छ ।
ग) विश्व अर्थव्यवस्था र नेपाल : विश्व अर्थतन्त्रको दोस्रो, तेस्रो, पाचौं र सातौं अर्थतन्त्र एशिया महादेशमा रहेका छन् । सामरिक दृष्टिले दोस्रो र तेस्रो देश एशियामा नै छन् । जनसङ्ख्यामा पहिलो र दोस्रो देश एशियामा नै छन् । काला सागर, लाल सागर र चिनियाँ सागर विश्व व्यापारका धमनी हुन् । र, यी एशियामा नै पर्दछन् । त्यसैले अबको विश्व सभ्यताको केन्द्र एशियातिर सर्दैछ । पश्चिमी देशहरू त्यसलाई रोक्न चाहन्छन् । सभ्यता परिवर्तनको प्रश्रव–पीडा विश्वले भोग्दैछ । जुन पीडा चिनियाँ सागर वरपर, रुस–युक्रेन र अरब देशमा प्रकट भइरहेको छ । एशियाली शक्ति केन्द्रहरू ५ सय वर्षदेखिको पश्चिमा बर्चश्व नभत्काएसम्म विश्राम नलिने पक्षमा छन् ।
यहाँ उल्लिखित तनावको कारण विश्वको खाद्य आपूर्ति प्रणाली भत्किएको छ । उर्जा अभाव र असन्तुलन पैदा भएको छ । विकसित देशहरूमा मूल्यवृद्धि अनियन्त्रित भएको छ । अरब सागरमा यमनका हुती आक्रमणको कारण व्यापारिक मागमा अवरोध भएको छ र युरोपका मालबाहक जलयातायात अफ्रिकाको बाटो भएर भारत–चीन–जापान (एशिया) आउनु प¥यो भने १९ दिनभन्दा बढी समय लम्बिन जान्छ । त्यसो हुँदा वस्तुको लागत ३७ प्रतिशतभन्दा बढी हुने अनुमान छ । त्यसो भयो भने एशियामा पश्चिमी संसारको व्यापार सुक्नेछ । त्यही कारण हुतीको पछाडि चीन, रुस र इरान भएको मानिन्छ । त्यसकारण विश्व सन् २००८ को भन्दा ठूलो आर्थिक सङ्कटबाट गुज्रिनु पर्ने अनुमान भइरहेको अवस्था छ ।
वस्तु र सेवामा मुद्रास्फितीको कारण वस्तु र सेवा महङ्गो हुने, आय नबढ्ने; बरु घट्दै गएकोले जीवन कष्टकर बन्दै गएको छ । सञ्चित रकम हुनेले गर्जो टार्लान् तर जनताले अत्यावश्यक खर्च कटौती गर्न बाध्य हुन्छन् । त्यसले स्वास्थ्य समस्या बढ्छ । मानसिक तनाव बढाउँछ । चोरी, डकैती, भ्रष्टाचार, वेश्यावृत्ति, तस्करीजस्ता विकृतिहरू झन् धेरै बढेर जान्छन् । त्यसले राजनीतिक अस्थिरता र द्वन्द्वलाई प्रोत्साहित गर्नेछ ।
घ) नेपालको उत्पादकत्व वृद्धि : सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपालमा पुँजीवादको विकास अवरुद्ध भयो र दलाल पुँजीवादको उदय भयो । २००७ सालपछि अङ्ग्रेजको स्थानमा भारत र पश्चिमी देशहरू थपिए । २०४२ सालमा पञ्च अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले उदारतावादमा जाने नीति लिए । २०४७ सालपछि काङ्ग्रेस अर्थमन्त्री रामशरण महतले उदारवादमा जाने औपचारिक निर्णय गरे । त्यसपछि राष्ट्रिय गौरवका सबै उद्योगहरू निजीकरण गरियो वा बन्द गरियो । दाताको दबावमा शिक्षा, स्वास्थ्य, कृषिमा अनुदान बन्द गरियो । लुम्ले, खुमलटारजस्ता कृषि अनुसन्धान केन्द्रमा बजेट कटौती गरियो । एउटा पनि सरकारी अस्पताल र आङ्गिक कलेज तथा सरकारी विद्यालय खुलेनन् । विश्व स्वास्थ्य सङ्गठनले कूल बजेटको निम्नतम् १० प्रतिशत रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्न निर्देशन गरे पनि ५ प्रतिशतभन्दा कम लगानी छ । रोजगारी नभएको कारण नेपालीको क्रयशक्ति कमजोर छ । अमेरिका, भारतसहित शक्ति देशले अरुको लागि उदारवाद र आफ्नो सन्दर्भमा संरक्षणवाद लागू गरिरहेका छन् । त्यसकारण अमेरिकी नेतृत्वमा १९९०पछि आएको उदारवाद २०४७ सालपछि नेपालमा ल्याइयो । त्यसले नेपाल श्रम र कच्चा पदार्थ निर्यातक देश बन्न गएको छ । उदारवादबाट बाहिर नआएसम्म उत्पादकत्व बृद्धि हुँदैन ।
 नेपालको उत्पादकत्व बृद्धि नहुनुको कारण भूपरिवेष्ठित अवस्थिति अर्को कारण हो ।
भारतसँगको खुल्ला सीमाना र दलाल राज्य व्यवस्थाको कारण तस्करी, भन्सार छली, हुण्डी कारोवारजस्तो अनौपचारिक अर्थतन्त्र बलियो छ । यसले राजस्व सङ्कलन कमजोर छ । जसको कारण विदेशी ऋण बढेको छ र राज्यले विकास–निर्माण र लोककल्याणको काममा कम लगानी गरेको छ । ठूलो पुँजी र धेरै अनुदान भएको भारतीय वस्तुसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन । त्यसकारण बजारको विविधिकरण गर्न सक्नुपर्छ । आजको युगमा हिमाल, पहाड, चट्टान यातायातको बाधक हुँदैनन् । चीन र नेपालको बिचमा दौत्य–सम्बन्ध कायम भएको पचासौं वर्षसम्म पशु व्यापार सन्धिसम्म नहुनु बिडम्वना छ । तिब्बतमा मैदाको ठूलो माग छ; तर निर्यात गर्न सकेका छैनौं । चीनले घाँस आयात गरेर तिब्बतमा पशुपालन गर्दैछ । तर त्यसो गर्ने सरकारी तयारी छैन । त्यसकारण बजारको विविधिकरण र भारतप्रतिको परनिर्भरता घटाउने नीति पनि उत्पादकत्व वृद्धि गर्ने अर्को उपाय हो ।
ङ) पार्टी सङ्गठन : कार्ल माक्र्सले बुद्धिजीवीहरूलाई संसार बदल्ने काम मुख्य भएको भन्दै सङ्गठनात्मक काममा हेलिन अपिल गर्नुभयो । पार्टी सङ्गठन भनेको सामूहिकता तथा शक्तिको केन्द्रिकरण थियो ।
लेनिनले सन् १९०६ मा भएको एकता महाधिवेशनमा जनवादी केन्द्रीयताको विषयमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘के गर्ने ?’ कृतिमा त्यसको व्याख्या गर्नुभएको छ । सङ्गठन सञ्चालनसम्बन्धी सो नीतिलाई १९१७ अगस्त २६ देखि जुलाई ३ को बिचमा भएको पेत्रोग्राद महाधिवेशनमा थप व्याख्या गर्नुभएको थियो ।
सङ्गठन सञ्चालनसम्बन्धी रोजा लक्जेम्बर्ग (१८७१–१९१९, पोलिस) र लेनिनको बिचमा गम्भीर बहसहरू थिए । रोजाले जनवादी केन्द्रीयताको सिद्धान्तले ‘उग्रकेन्द्रीयता र अधिनायकवादी नेतृत्व पैदा गर्न सक्ने’ धारणा राखेकी थिइन् । उनले अतिकेन्द्रिकृत ढाँचाले नोकरशाही प्रणाली जन्माउन सक्ने बताएकी थिइन् । रोजाले अवसरवाद विरुद्धको सङ्घर्षलाई पार्टीभित्रै बौद्धिक सङ्घर्षको रुपमा चलाउनु पर्ने र त्यसरी त्यसलाई पराजित गर्न सकिने ठान्थिन् । लेनिन त्यसलाई सङ्गठनात्मक स्तरमा लैजानुपर्ने पक्षमा हुनुहुन्थ्यो । लेनिनको धारणा र प्रयोग बोल्सेभिक–मेन्सेभिक फूटसम्म पुग्यो । रोजाले आफ्नो धारणा जर्मन कम्युनिस्ट पार्टीमा प्रयोग गरिन् । प्रतिक्रान्तिकारी भूमिका खेल्दा पनि संशोधनवादको घेरा तोड्न नसक्दा जर्मन पार्टी विघटन भएर गयो । रोजा सहिद भइन् ।
रोजा लेनिनको ‘अति–केन्द्रिकरण’ र बर्नस्टिनको ‘शान्तिपूर्ण क्रान्ति’ दुवैको विरोधमा थिइन् । स्तालिनकालमा रोजाको धारणामा थप बहस भयो र धेरैले नयाँ शिराबाट बहसहरू ल्याए । माओ–स्तालिन बहसले थप उर्जा थप्यो ।
माओ त्सेतुङले अन्तरविरोधलाई वस्तुको विकासको चालक शक्ति भन्नुभयो । त्यसैगरी शत्रुतापूर्ण र मैत्रीपूर्ण दुई प्रकारका अन्तरविरोधलाई दुई भिन्न तरिकाले समाधान गर्नुपर्ने धारणा राख्नुभएको छ । मैत्रीपूर्ण अन्तरविरोधको समाधान आलोचना–आत्मालोचनाको प्रक्रियाबाट र शत्रुतापूर्ण अन्तरविरोधको समाधान वर्ग सङ्घर्षको प्रक्रियाबाट समाधान गर्नुपर्ने धारणा माओको थियो । ‘अन्तरविरोधबारे’ लेखमा माओले त्यसको व्याख्या गर्नुभएको छ । माओले दर्शनको फैसला अल्पमत र बहुमतले नगर्ने भन्दै ‘नियमहरूलाई बुझ्ने कुरा सधैं बहुमतको ज्ञान हुनुभन्दा पहिले अल्पमतको बुझाइबाट सुरु हुन्छ र अज्ञानताबाट ज्ञानतर्फ जानका लागि व्यवहार र अध्ययनको प्रक्रियाद्वारा गुज्रनु अपरिहार्य हुन्छ’ भन्नुभएको छ ।
च) पछिल्ला साङ्गठनिक प्रयोग : उत्तर कोरियामा सन् १९५०मा कोरियाली राष्ट्रवाद (जुछे विचार) नेता किम इल सुङले प्रस्ताव गरे । त्यसलाई १९७०मा उत्तराधिकारी किम जोङ इलले पार्टीको आधारभूत नीति बनाए । २००९बाट पार्टी विधानबाट ‘साम्यवाद’ हटाइयो । क्यूवामा १९५३बाट सशस्त्र विद्रोह शुरुभयो । १९५९ जनवरी १ मा क्रान्ति सम्पन्न हुँदासम्म कम्युनिस्ट पार्टी गठन भएकै थिएन । क्यूवामा भएको पार्टी र त्यसले प्रयोग गरेको पार्टी विचारलाई चिन्तक रेजिस डेब्रेले फोकोवाद (ायअयष्कm) भनेका हुन् ।
सन् १९८४ मा पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोञ्जालोले माओका योगदानहरूलाई माक्र्सवादको तेस्रो गुणात्मक योगदान भन्दै ‘माओवाद’ पदावलीले सम्बोधन गर्नुपर्ने धारणा राखे ।
सन् २००८ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिकाले कम्युनिज्म : द बिगिनिङ अफ अ न्यु स्टेज अ मेनुफेस्टो फर द रिभोल्युसनरी कम्युनिस्ट पार्टी अफ युएसए’ दस्तावेज सार्वजनिक गरे । जसमा कार्यशैली वा पार्टीको काम गर्ने तरिकासँग सम्बन्धित विषय पनि छन् । यसरी विश्व कम्युनिस्ट आन्दोलनमा पार्टी सङ्गठनको विषयमा बहस चलिरहेका छन् ।
छ) नेकपामा बहस : नेकपाले दर्शनका सबै विषयमा आफ्नो बहस र धारणालाई जनसमक्ष लगेको छ । त्यसअनुसार पार्टी सङ्गठनको विषय पनि रहेको छ । पार्टीका समस्याहरूको निरुपण गर्दा तथ्य र अनुसन्धान प्रक्रिया थप्नुपर्ने र प्रशासनिक प्रक्रियामात्रै नहुनुपर्ने हुन्छ । लेनिनको विचार अल्पमत–बहुमतको सन्दर्भ गलत भन्ने होइन; त्यसमा विचारसहितको निर्णय गरिनु आवश्यक छ । नेकपामा पहिलो महाधिवेशनमा नीति र विचार पुष्पलालको, नेतृत्व दक्षिणपन्थी विचारका मनमोहन अधिकारीको हातमा गयो । पार्टी विचार र नेतृत्वबिचमा एकत्व कायम गरिएन । सबैको प्रतिभा प्रष्फुटन हुन पाउने गरी काम गर्नुपर्छ ।
कम्युनिस्टले समाजको सेवा गर्नु जीवन भरिको स्थायी दायित्व हो । समाज सेवा गर्दा नेतृत्व पनि गर्नुपर्ने हुनसक्छ । त्यसैले नेतृत्व अस्थायी र संयोगको विषय हो । अर्कोतिर नेतृत्व आवधिक हुनपर्छ र बाँकी समय समाजको सेवामा रहनु पर्दछ । पुँजीपति वर्गले सामान्यतः त्यसलाई प्रयोग गरेका छन् । आवधिक प्रणाली क्रान्तिको चरणमा कि क्रान्तिपश्चात् भन्ने प्रश्नको जवाफ पनि दिनुपर्ने हुन्छ । क्रान्तिपश्चात् पनि जटिलताहरू कायमै रहने हुन्छन् । कम्युनिस्ट आन्दोलनले नेतृत्व विकास र उत्तराधिकारको निर्माणको पनि ठोस जवाफ दिनुपर्ने हुन्छ ।
निष्कर्ष : हामीले एकीकृत जनक्रान्ति कार्यदिशाको बाटोमा हिंडेर नेपाली विशेषताको समाजवादी व्यवस्था कायम गर्ने र वैज्ञानिक समाजवाद–साम्यवादको दिशामा पुग्ने सङ्कल्प गरेका छौं । माओको मृत्युपछि विश्व कम्युनिस्ट आन्दोलनले दर्शनमा विकास गर्न नसकेको कारण क्रान्ति रक्षात्मक भइरहेको छ । आज विश्वको वस्तुगत स्थिति क्रान्तिको अनुकूल बन्दै गइरहेको छ । चुनौतिसाथै अवसर तथा सम्भावना निकट आइरहेका छन् । यो अवसर क्रान्तिको लागि प्रयोग गर्न सक्नुपर्छ ।
२०८० चैत

स्राेत: जनपत्रिका ११ अङ्क मासिक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।