३१ भाद्र २०८१, सोमबार

एमसीसी नेपालको कानुन, संविधान, संसद र जनताको अधीनमा छैन : विप्लव

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी नेपालको कानुन, संविधान, संसद र जनताको अधीनमा नभएको बताएका छन् । एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै एमसीसी नेपालको कानुन, संविधान, संसद र जनताको अधीनमा नरहेको बताएका हुन् ।

विप्लवले दुई-दुई पटक ठेक्का रद्द भएर अदालतमा मुद्दा पर्दा एमसीएले एमसीसी नेपालको कानुन अन्तर्गत छैन भनेर जवाफ दिनुले यो नेपालको कानुन, संविधान, संसद र जनताको अधीनमा नभएको बताए ।

उनले भने, ‘यहाँ घनश्यामजीले एमसीसीमाथि संसदीय अनुगमन समिति बनाउनुपर्ने माग गर्नुभयो । हाम्रो पार्टीको पनि संसद्‍बाट कानुन बनाउन पर्ने स्पस्ट दृष्टिकोण छ । बुद्धिजीवीहरूसँग छलफल गरेर हामीले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालनका लागि कानुन बनाउनुपर्ने पार्टीको दृष्टिकोण अघि सारेका छौँ । यसलाई खुला छाड्न मिल्दैन । दुईदुई पटक ठेक्का रद्द भएर अदालतमा मुद्दा पर्दा एमसीएले एमसीसी नेपालको कानुन अन्तर्गत छैन भनेर जवाफ दिएको छ । अदालतले पनि दोधारे खालका अर्थ लगाएको छ । यसले एमसीसी नेपालको कानुन, संविधान, संसद र जनताको अधीनमा छैन भन्ने प्रष्टै छ।”

उनले एमसीसी र एमसीए दुवै प्रोजेक्ट नवउपनिवेशिक नीतिलाई नेपालमा कानुनी मान्यतासहित यहाँका राज्यलाई प्रयोग गरेर ल्याउन चाहेको हो भन्ने कुरा प्रष्ट भएको बताए । एमसीसी भित्रभित्रै चलिराखेकोले यसविरुद्ध ठुलो बहस आवश्यक भएको विप्लवको भनाइ छ । सोही कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमसीसीमाथि नियन्त्रण गर्न संसदीय अनुगमन समिति बनाउनुपर्ने धारणा राखेका थिए ।

नेकपा अन्तराष्ट्रिय विभागका सदस्य खगेश्वर सीको अध्यक्षता सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाका पुर्व प्रमुख बासुदेव घिमिरे, राजनीतिक विश्लेषक पुरन्जन आचार्य, एकीकृत समजवादीका महासचिव घनश्याम भुषाल, नेकपा माओवादी केन्द्रका महासचिव देव प्रशाद गुरुङले विषयमाथि आफ्नो धारणा राखेका थिए। एमसीसी नेपालको कानुनको अधिनमा रहेर चल्नुपर्ने अधिकांश वक्ताहरुको जोड थियो । कार्यक्रमको अन्तिममा प्रमुख अतिथि महासचिव विप्लव सीले उठेका बिषयमा आफ्नो धारणा राख्दै प्रष्ट पारेका थिए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, पोलिट ब्युरो सदस्य चिरन सी, लगाएत दर्जनौं केन्द्रीय सदस्य तथा प्रतिनिधि समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।