–खोमा सी
सरहतिर दशैंको चहलपहल सुरू भएको छ । गाउँतिर मकै स्याहार्ने, टिमुर टिप्ने र घर लिप्ने माँचो छ । मध्य असोजसम्म पनि झरी रोकिएको छैन । बुटवलमा गर्मीको उष्णता घटेको छैन । झरीको विपत्तिले काठमाडौं लगायत देशभर सयौंको संख्यामा मानवीय र भौतिक क्षति पुगेको छ । जनजीवनमा सिर्जित त्रासदी, कहर र शोक–पीडा अझै मत्थर हुन सकेको छैन ।
बुटवलको छेऊ भएर बग्ने तिनाउ सङ्लिएको छैन । चाडपर्वसँगै विस्तारै बजार चल्मलाउन थालेको छ । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा अंग्रेजलाई परास्त गरेको भूमि जितगढी किल्लामा राष्ट्रिय झण्डा फहराएको छ । ठीक यही परिवेशमा समाजवादको पक्षमा गीत गाउँदै असोज १६ गते केन्द्रीय सामना परिवार बुटवल आइपुग्यो । वरिष्ठ गीतकार एवं सङ्गीतकारद्धय मणि थापा र माइला लामा, जनगायकहरू आरोह सी, सुशीलसिं ठकुरी, रमण थामी, हेमन्त रुम्बा ‘निश्चल’, रेश्मी सी, चन्दन सी, हेमराज सी, चन्द्र सी, सरोज सी, सङ्गीत सी, राधिका सी, मनिसा सी, विपना सी, सरिता सी, लक्ष्मी सी, बसन्ती सी, केशरी सी, दोलमा सी, अन्जना सीलगायत दुई दर्जन कलाकारहरूको टिमले बुटवललगायत देशका मुख्य सहरहरूलाई गुञ्जायमान बनायो ।
बुटवल उद्योग बाणिज्य महासङ्घको सभाहल दर्शकको भीडले खचाखच थियो । दर्शकदीर्घामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, विभिन्न राजनीतिक दलका नेताहरू, वरिष्ठ साहित्यकारद्धय दिल साहनी र रामचन्द्र भट्टराई, सहिद परिवारकी आदरणीय आमा तुलसा पाण्डे, वरिष्ठ वामपन्थी, बुद्धिजीवीहरु, बुटवल क्षेत्रका वरिष्ठ उद्योगी–व्यवसायीहरू, कानुन व्यवसायी, लेखक\साहित्यकार, मानवअधिकारकर्मी, महिला, युवा–विद्यार्थी, पत्रकार एवं जनसमुदायको भीडभाड थियो ।
नेकपा रूपन्देहीको व्यवस्थापनमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य बसन्त सीले मन्तव्यमार्फत् स्वागत गरेपछि वरिष्ठ कलाकार माइला सीले जितगढी युद्धका अमरनायक कर्णेल उजिरसिंह थापा, महान जनयुद्धमा बलिदानको उच्च किर्तिमान कायम गर्नुहुने चुनु गुरुङ, डिबी थापा, नारायण घिमिरे, बेपत्ता योद्धाद्धय युवराज पाण्डे र लालमान पासीलगायत महान सहिद र बेपत्ता योद्धाहरूको स्मरण गर्दै र सहिद–बेपत्ता योद्धा परिवार र दर्शकदीर्घालाई साक्षी राखेर उद्घोष गर्नुभयो–‘हामी गाइरहन्छौं क्रान्तिको गीत ।’ उहाँले थप्नुभयो, ‘हामी समाजवादको पक्षमा गाइरहन्छौं–क्रान्तिको गीत ।’ उहाँकै शब्द र सङ्गीत रहेको गीतलाई कलाकारहरूले सामूहिक गाएर दर्शकहरूलाई स्वागत गरे–
विदेशीको दमनसामु घुँडा नटेक्ने
निजी स्वार्थ धनढलौटको पछि नलाग्ने
माटोलाई शीरमा राखी हिँड्ने स्वाभिमानी
दुश्मनले मिच्न खोजे पहाड बनिदिने
हाम्रो सम्मान छ, धेरै सम्मान छ, हाम्रो माया छ
देशभक्तलाई क्रान्तिकारी योद्धालाई….
नेपाली जनताले लडेर ल्याएको गणतन्त्रले श्रमिक जनताको जीवनलाई फेर्न नसकेको भन्दै कलाकारहरूले लुटाहा पुँजीवादी व्यवस्थाको अन्त्य अनिवार्य भएको बताए । कलाकारहरूले गीतमार्फत् देश सङ्कटमा परेकोले जनतामा चौतर्फी निराशा छाएको बताउँदै यसको विकल्पमा अहिले चारैतिर समाजवादबारे नयाँ लहर आएको भन्दै वरिष्ठ गीतकार एवं सङ्गीतकार माइला लामाको शब्दरचना र सङ्गीतमा रहेको गीत सुनाए–
संसदीय व्यवस्थाले दशक नाघिसक्यो
केही होला भन्दा भन्दै जुग वितिसक्यो
किसान मजदुर बुद्धिजीवी भएन भन्दैछन्
समाजवाद हेर्नुपर्छ भनेर सोँच्दैछन्
समाजवादको आउँदैछ लहर
जगाउँदै गाउँबस्ती सहर
चर्चित गीत ‘अरुण तरेर नाना तमोर तरेर’को रचनागर्व सुनाउँदै वरिष्ठ गीतकार मणि थापाले आजभन्दा अठार बर्ष अगाडी भोजपुरको घटनालाई गीतमा उनेको सुनाउँदै दर्जनौं पटक माओवादी नेतृत्व सरकारमा पुगेपनि क्रान्तिमा बलिदान गरेका सहिद, घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा नभएको र जनताको जीवन नबदलिएको बताउनुभयो । उहाँले देशमा चौतर्फी छाएको निराशाको अन्धकारलाई चिर्न आफुहरू गीत सङ्गीतमार्फत् नयाँ आशा र उत्साह भर्न आएको भन्दै देशमा अर्को क्रान्ति आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जब म सिंहदरवारभित्र गएँ, जनयुद्धमा आँखा र श्रवणशक्ति गुमाएका माइला लामाहरूको उपचार गर्ने अस्पताल देखिनँ, आरोह नेपालीहरुले गुमाएका हातहरू जोड्ने ठाउँ देखिनँ ।’ उहाँको गीतलाई गायकद्धय रमण थामी र सुशिलसिं ठकुरीले स्वर दिनुभयो–
अरुण तरेर नाना तमोर तरेर
आयौं हामी वीरताको गाथा कोरेर
कति साथी सहिद भए तमोर तीरैमा
कति साथी अपाङ्ग छन् लडी भीरैमा
रगतको छिर्का हान्ने बाटो रङ्गेको छ
अलैचाको पातहरुमा रगत बगेको छ…
नेकपा महासचिव विप्लव सीको शब्द रचना, सुशिलसिं ठकुरीको सङ्गीत र किशोर विक र शारदा लिम्बुको स्वर रहेको ‘माछी र पानी’ शीर्षकको गीतमा जनगायक किशोर विक र सुशिल सिंह ठकुरीले स्वर दिनुभयो । जनवादी गीतको क्षेत्रमा असाध्यै लोकप्रिय रहेको यो गीतले जनता र क्रान्तिको सम्बन्ध माछा र पानी वा नङ र मासुको जस्तै अविछिन्न सम्बन्ध हुने भाव व्यक्त गरेको छ–
माछी र पानी भनेनी हुन्छ
नङ र मासु भनेनी हुन्छ
जनता र हाम्रो जीवन यात्रालाई
मनै एकै भावना एकै
जनकलाकार आरोह सीको शब्द रचना, सुशिलसिं ठकुरीको सङ्गीत र रमण थामीको स्वर रहेको ‘आउँछन् यादहरू’ शीर्षकको गीतलाई ओपेरा मार्फत् प्रस्तुत गरिएको थियो । अपेरामा जनकलाकार आरोह सीले जनयुद्धको परिवेशलाई जीवन्त ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तुतिले दर्शकहरूको मनलाई एकाएक तान्यो–
आउँछन् यादहरु युद्ध सँगै लडेको
आउँछन् यादहरु छेउमै साथी ढलेको
चाहेर ती कहिल्यै सकिँदैन भुल्न
महान बाटो हिँडेको हामीसँगै लडेको
युद्धमोर्चामा सँगसँगै लडेको, एउटै थालीमा खाना खाएको, युद्ध जित्दा सँगसँगै हाँसेको र हार्दा रोएको, दुश्मनका कयौं घेराहरु तोडेको आदि प्रसङ्गहरूले दर्शक दीर्घामा बसेका सहयोद्धाहरूका मानसपटलमा विगतका जनयुद्धकालीन दिनहरू सल्बलाउन थाल्यो र ती दिनहरु सम्झेर गहभरी भरिएका आँसुको तलाउ फुट्यो । दर्शकको हृदयलाई उद्देलित मात्रै बनाएन, मनभित्र तिनाउको आँधी उर्लियो । हिजोका ती सहयोद्धाहरू आज छिन्नभिन्न भएको र अलपत्र परेको जनयुद्धको गाथालाई सुन्दर कलात्मक अभिनयमार्फत् जीवन्त रुपमा उतारियो ।
‘करेसाबारीको साग’ शीर्षकको लघुनाटक र ‘बकवास बन्द गर’ शीर्षकको कवितालाई सुन्दर नाट्य अभिनय सहितको प्रस्तुतिले दर्शकदीर्घाको मनलाई अर्को आकर्षण गर्यो । आज नेकपाका नेता कार्यकर्ता जनतासहित देशभर उत्पादनमा जुटिरहेको बेला एकथरी मान्छेहरूले धान रोपेर, आलु रोपेर, सुन्तला रोपेर समाजवाद आउँछ ? भनेर खिसिट्युरी गरिरहेका छन् ।
विचार र उत्पादनलाई अलग–अलग हेरिरहेका छन् । उत्पादनलाई राजनीतिक क्रान्तिको अभिन्न अङ्ग बनाएर देशलाई स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेकपाको यो अभियानबाट अत्तालिएका छन् । अपेरामा यो बिषयलाई हथौडालाल र हँसियाबहादुरबीचको संवादमार्फत् रोचक ढङ्गले प्रस्तुत गरिएको छ । हथौडालालले सोधेको आलु रोपेर समाजवाद आउँछ ? भन्ने प्रश्नमा हँसियाबहादुरले सरल जवाफ दिएका छन्, ‘राजनीतिलाई उत्पादनसित जोडेर मात्रै गरिब दुःखीको जीवनमा समाजवाद आउँछ ।’ महान जनयुद्धका योद्धा हँसियाबहादुर र जनक्रान्तिमा हात गुमाएका हथौडालाल जस्ता हज्जारौं घाइते योद्धाहरू मिलेर मात्रै नेपालमा समाजवादी क्रान्ति गर्न सकिने अपेराले सन्देश दिएको छ ।
युवाहरुको विदेश पलायन रोक्न, उद्योगीहरूको समस्या समाधान गर्न, चर्को महङ्गी नियन्त्रण गर्न र स्वाधिन अर्थतन्त्र निर्माण गर्न देशलाई उत्पादनमा अनिवार्य जोड्नुपर्ने लघुनाटकले सन्देश दिएको छ । नाटकले पुँजी पलायन रोक्न, छोरीचेलीहरूमाथिको हिंसा, बेचविखन र बलात्कार रोक्न, जातीय विभेदको अन्त्य गरी एउटै मानव जाति निर्माण गर्न र वैदेशिक हस्तक्षेप रोक्न माओवादी क्रान्तिकारीहरूबीचको एकता र समाजवाद पक्षधरहरूबीचको सहकार्य अनिवार्य भएको भन्दै समाजवाद त्यसको वैचारिक आधार हुनुपर्ने सन्देश दिएको छ । जनयुद्धलाई अहिले ‘हिंसा’ भनिएकोप्रति विमति राख्दै नाट्यकलामा जनयुद्ध ‘हिंसा’ नभएर जनताको बिजयको महान यात्रा भएको भाव व्यक्त गरिएको छ ।
कार्यक्रममा कलाकार रेश्मी सीले सहिद बेपत्ता योद्धाहरूप्रति समर्पित पूर्णजीत सी ‘उभार’को शब्द रचना रहेको ‘सलाम तिमीलाई’ गीत गाउँदा हल शोकाकूल, भावविह्वल र संवेदित भएको थियो । सबैका आँखाहरु रसाए । महान सहिदहरूप्रतिको श्रद्धाले दर्शक दीर्घाको शीर निहुरिएको थियो । कलाकार रेश्मीले सुमधुर स्वरमा गीत गाउनुभयो–
भुल्ने छैनौं कहिल्यै नि त्यो बाटो
वीरताको नेपाली यो माटो
सलाम तिमीलाई
सहिद तिम्रो सपना
बाँकी छ पुरा गर्नलाई
जनवादी गीत सङ्गीत क्षेत्रका वरिष्ठ कलाकार खुशीराम पाख्रिनको चर्चित गीत ‘लालझुपडीका मान्छेहरू’लाई तीनजना जनकलाकारहरू रमण थामी, सुशीलसिं ठकुरी र हेमन्त रुम्बा ‘निश्चल’ले गाउनुभयो । वरिष्ठ गीतकार एवं सङ्गीतकारद्धय केएल पीडितको शब्द र माइला लामाको सङ्गीतमा रहेको ‘जबसम्म उल्टा सारा’ शीर्षकको गीतलाई जनगायक आरोह सीले गाउनुभयो–
जबसम्म उल्टा सारा चलन सकिदैन
तबसम्म यो धर्तीमा क्रान्ति रोकिदैन
कार्यक्रममा गीतकार दर्शन नेपालीको शब्द र आरोह सीको सङ्गीत रहेको ‘पश्चिम उठ्नेछ पूर्व जुट्नेछ’, आरोह सीको शब्द र सङ्गीत, रमण थामीको स्वर रहेको ‘हाम्रो मुक्तिको यात्रा’, विवेक सीको शब्दरचना र आरोह सीको सङ्गीत रहेको ‘ओ मैच्याङ’ (तामाङ सेलो), वरिष्ठ गीतकार एवं सङ्गीतकार माइला सीको शब्द र सङ्गीत रहेको ‘उठ्ने बेला भो, जुट्ने बेला भो’ र केशर कालीकोटेको शब्द र सङ्गीत रहेको ‘क्रान्ति अझै बाँकी छ’ आदि गीतहरु प्रस्तुत गरिएको थियो ।
आज बदलिएको छ समय । यो जनयुद्धकालीन समय होइन । इमान हराएको र आदर्श नराम्ररी ढलेको समय हो । सपनाहरुको हत्या भएको समय हो । उपभोक्तावादले गीर खेलिरहेको समय हो । सामना परिवारको यो अभियानले जनतामा नयाँ उर्जा पैदा गरेको छ । यी गीत र सङ्गीतहरुले जनताको महान त्याग र समर्पणको उच्च किर्तिमानबाट खडा भएका क्रान्तिको वैचारिक मूल्यको रक्षा गरेको छ । दलाल पुँजीवाद, भूमण्डलीकृत साम्राज्यवाद र सबैखाले संशोधनवादको विरोध गरेको छ । माओवादी नेतृत्वमा आएको वैचारिक विचलनका कारण छिन्नभिन्न हुन पुगेको संसदभित्र र बाहिरका माओवादी धारा बीचको एकता, सैद्धान्तिक विकास र नेतृत्वको रुपान्तरणलाई जोड दिएको छ ।