२३ पुष २०८१, मंगलवार

‘आउँछन् यादहरू’ : गीतभित्र सौन्दर्य चिन्तन

0

              खोमा सी
   

१. आजका फ्रान्सिस फुकुयामाहरूले मार्क्सवादमाथि हिंस्रक आक्रमण गरेर सांस्कृतिक दुर्गन्ध फैलाएको बेला मार्क्सवादी गीत सङ्गीतको विधामा शसक्त कृति प्रकाशित भएको छ–‘आउँछन् यादहरू’ । किन्सले भनेझैं यो किताब पुँजीवादको ‘हिंस्रक जनावर’ प्रवृत्तिविरुद्ध लक्षित छ । यो कृति गीत सङ्गीतको क्षेत्रमा बजारमा भइरहेको बौद्धिक ‘कमोडिफिकेसन’ विरुद्ध लक्षित छ ।

२. आरोह सी यो सत्ताको बागी स्रष्टा हो । प्रतिध्रुवीय सांस्कृतिक आन्दोलनको नायक हो । उनका सम्पूर्ण सिर्जनाको वैचारिक जग हो–मार्क्सवाद । मार्क्सवादको गुदीमा द्वन्द्ववाद रहेको थाहा पाउन कम्युनिस्ट हुनै पर्दैन । आरोह सीका गीतहरूले दिएको सन्देश हो–बाँधहरू नभए नदीमा प्रवाह आउँदैन । अँध्यारो र उज्यालोको द्धन्द्धवाद नभए जीवनमा गतिशीलता हुँदैन । उनी द्वन्द्वात्मक भौतिकवादको वैचारिक चिन्तनले समाज परिवर्तन हुने कुरामा ढुक्क छन् । मार्क्सले टाउकोले उभिएको हिगेलीय द्वन्द्ववादलाई खुट्टामा उभ्याएका थिए । आरोह सीले गीतमार्फत टाउकोले टेकेको समाजलाई खुट्टामा उभ्याउने प्रयत्न गरेका छन् ।

३. गीतको पनि आफ्नै व्यक्तित्व हुन्छ, गायकको जस्तै । कमरेड आरोह सीको गीतका ‘टोन’ उपभोक्तावादको सिकार भएको छैन । यी गीतहरू विचारको ज्वारभाटालाई लिपिबद्घ गरेपछि बनेका हुन् । विचारमा आक्रोश थपिँदा केही गीतमा कलाको पेचकिला फुक्लिएजस्तो अनुभव भएपनि उनका गीतहरूमा विचारको राजमार्गमा हिँडेका यात्रीहरू पथभ्रष्ट भएकोमा चिन्ता र चासो छ । ‘ए साथीहरू’, ‘क्रान्तिको बाटोमा’, ‘तिम्रो पाखुरीमा’, ‘हाम्रो क्रान्ति’, ‘जीवन यात्रामा’, ‘जाग नौजवानहरू हो’, ‘हामी लड्छौँ’, ‘नथाकौं कोही’, ‘रातो सलाम’, ‘यो महान यात्रामा’, ‘वीरले जित्छ’, ‘क्रान्तिको बाटोमा’ आदि गीतहरूले पुँजीवादको नलीहाड फोडेर क्रान्तिको रसायन भरेका छन् ।

४. आरोह सीको खल्तीमा कुन पार्टीको सदस्यता रहेको छ, यो प्रश्न ठूलो होइन । उनका गीतहरूमा कसको आवाज आएको छ, यो चाहिँ महत्वपूर्ण पक्ष हो । उनका गीतमा आउने आवाज समाजका तल्लो वर्ग हो । दशगजामा बसेर माटोका लागी रगत बगाउनेहरूको आवाज हो । हिउँतुसारोले कुर्कुच्चा फुटेका र पेट दाम्रिएका भुइँमान्छेहरूको आवाज हो ।
गीतहरूमार्फत् सत्ताका कुर्सीमा विराजमानहरूप्रति आफ्नो औँला सोझ्याउँछन् उनी तर कुर्सीमुनि टाउको टेकाउँदैनन् । झन्डामा मात्रै सजिने र साइनबोर्डमा मात्रै झुण्डिने भन्दा पसिनाको पौरखमा लतपतिने हँसिया–हथौडाप्रति आस्था दोब्बर छ उनको । गीत गाउनु मात्रै उनको लक्ष्य होइन, गीतमार्फत देश र जनताको आमूल परिवर्तन उनको मुख्य लक्ष्य हो । ‘आन्दोलन सबैथोक हो, लक्ष्य केही पनि होइन’ भन्ने एडबर्ड बर्नस्टिनको मत विपरित उभिन्छन् उनी । गीतको गुणवत्ताभन्दा प्रचारकै आधारमा टिक्न खोज्ने बजार प्रवृत्ति विरुद्ध छन्, उनका गीतहरू ।

५. आरोह सीका लागि गीतहरू पार्कमा समवयी युवतीसित टाँसिएको प्रेमिल भावनाको उत्तेजना होइन, न शासकको स्तुति नै । न त शब्दकोष खोजेर फुलबुट्टे शब्दहरूको रत्यौली सङ्ग्रह हो, न त फेसबुके लेखनको चरम खोक्रो उपभोक्तावाद । उनका गीतलाई निचोर्दा थाहा हुन्छ, दुनियाँ बदल्ने विचारको आँधी हो–गीतहरू । विचारको मूल्य र सौन्दर्य चेतनामाथि प्रहार गरिरहेको पुँजीवादको कस्मेटिक चिन्तन विरुद्ध प्रतिरोध गर्नुछ उनलाई । समाजका जरासम्म गडेको विभेदका जीर्ण खियाहरू टकटकाउदै नयाँ मानव समाज र जातिको निर्माणको माग गर्छन् उनी । यसको शसक्त उदाहरण हो, ‘एउटै आकास’, ‘के फरक’, ‘मुटुभित्र गडेको छ’, ‘उत्पीडनका जञ्जीरहरू’, ‘विभेदको’, ‘धारामा रोक्नेहरू’, आदि केही गीतहरू ।
संसदीय प्रतिक्रियावादको सिनोमा डुबेकाहरूले जनयुद्धको नैतिक हक गुमाइसकेका छन् । अब उनीहरूको ज्यान र दिमागमा जनयुद्ध खोज्नुहुँदैन । अहिले जनयुद्धको स्वामित्व केवल सहिद–बेपत्ता परिवार, घाइते योद्धा र बचेखुचेका क्रान्तिकारीहरूमा मात्रै छ । आरोह सी भन्छन्,
जसले लुटिखाए जनताको रगत पसिना
जसले बेचेर सिध्याए सहिदको सपना
होइनन् तिनीहरू होइनन् क्रान्तिकारी होइनन्
होइनन् तिनीहरू होइनन् माओवादी होइनन् (पृ.५१)
आरोह सी जनयुद्धका योद्धा र एकीकृत जनक्रान्तिका घाइते योद्धा हुन् । जनयुद्ध गरिबीले दाम्रिएका पेटहरूको गडगडाहट थियो । जनयुद्ध झुपडीका अगेनामा बलेको आगो थियो । उनले ‘आउँछन् यादहरू’ शीर्षकमा जनयुद्धलाई सुन्दर ढङ्गले बयान गरेका छन्,
चाहेर ती कहिल्यै सकिदैन भुल्न
आँधी हुरी झेलेको आगोसँग खेलेको (पृ.११)

६. आरोह सीका गीतहरू राजनीतिक वृत्तभन्दा पाखा गएका छैनन् । विचारशून्य कला वा लेखन त प्लास्टिकका फूलजस्तै हुन् । उनले गीतहरूमा विचार र कलालाई सन्तुलन गर्न खोजे पनि विचारको प्रवाह आक्रामक देखिन्छ । उनका गीतले प्रहार गरेका प्रवृत्ति हेर्न कुनै लेन्स लगाउनुपर्दैन । राजनीतिको सामान्य चेतयुक्त टर्च बालेमा प्रस्ट देखिन्छ । तर प्रश्न उभिन्छ, दुनियाँ बदल्ने गम्भीर विषयमा लेख्ने गीतकारले कतिपय गीतको ‘फिनिसिङ’मा किन हडबड गरे ? लाग्छ, खारिएका गीतहरू अझ आउनै बाँकी हुनुपर्छ ।
रङ्गीन सपनाहरू बोकेर जनयुद्धमा होमिएका योद्धाहरूले देश छोडेर परदेशिनु पर्छ भन्ने कल्पना समेत गरेका थिएनन् । कम्युनिस्ट घोषणापत्र पढाएर युद्धमा जाने प्रेरित गर्ने कमरेडहरूले सहरमा घरघडेरी जोडेका छन् । क्रान्तिकारी भूमिसुधारको नारा दिने कमरेडहरू जग्गा प्लटिङ गरेर विलासी गाडीमा हुइँकिएका छन् । महान सर्वहारा सांस्कृतिक क्रान्ति पढाउने कमरेडहरू गेरुवस्त्रमा मन्दिर गएर पुजाआजा गरेका छन् । जनवादी र समाजवादी संस्कृतिका नारा लगाउने कमरेडहरू केक काटेर बर्थडे र एनिभर्सरी मनाइरहेका छन् । जनयुद्धमा अन्तरजातीय विवाह गरेका जोडीहरूको पारिवारिक जीवन छिन्नभिन्न भएका छन् । जनयुद्धमा जाँडरक्सीका घैंटो फुटाउने कमरेडहरू आजभोली साँझपख एकप्याक नभए हात काँप्ने भएका छन् । यतिखेर क्रान्तिमा समर्पित इमान्दार कमरेडहरूका सपनाहरू कच्याककुचुक भएका छन् । उनीहरू एयरपोर्टमा लामबद्ध छन् र विदेशी गल्लीहरूमा गैटीबेल्चा चलाएका छन् । अरबका खाडीमा बसेर गद्दारहरूलाई दुत्कार्दै आफन्त र परिवार सम्झिरहेका छन् । उनीहरूका कारुणिक आँसुले विदेशी गल्लीहरू भिजेका छन् । ती योद्धाहरुको व्यथा नै आरोह सीका गीतहरू हुन् । उनी लेख्छन्,
घर सम्झेर हो गाउँ सम्झेर
झर्छ आँसु परदेशीको मरूभूमिमा देश सम्झेर
देश सम्झेर दाजै देश सम्झेर (पृ.२१)

७. नेपालसित जोडिएका २६ जिल्ला मध्ये २१ जिल्लाको ६६ स्थानमा करिब ६० हजार हेक्टर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ । कालापानी, सुस्ता, लिम्पियाधुरा, महेशपुर, मेचीलगायतका क्षेत्रमा अतिक्रमण भएको छ । २९ स्थानमा एकतर्फी बाँध निर्माण र नेपाली भूमि डुबानमा छ । मधेशलाई टुक्रयाउने षड्यन्त्र गरिएको छ । हरेक क्षेत्रमा रअको घुसपैठ छ । अहिले भूराजनीतिक दृष्टिले नेपाललाई दक्षिण एसियाको युक्रेन बनाउने षड्यन्त्र गरिएको छ । आरोह सीका गीतहरू विदेशीको विषालु पन्जाले झम्टिएर रगतपिच्छे भएको नेपाली माटोको कथा हो । उनी लेख्छन्,
कालापानी लिपुलेक सुस्ता मिच्ने त्यही हो
नालापानी लिम्पियाधुरा टिस्टा लुट्ने त्यही हो
सधै हामीलाई लुटिरहने मिचाहा त्यो जाली
सुन हाम्रो घर फोर्न पस्यो यसपाली (पृ.२५)

८. थबाङ र मालकोट क्रान्तिकारीहरूको रक्तरञ्जित भूमि हो । मालकोटले क्रान्तिको झण्डा बोकेको छ । अहिले रोल्पालाई माओवादी नाउँमा खाओवादीहरूले बदनाम गरेपनि थबाङले क्रान्तिको झण्डा झुकाएको छैन । उनी लेख्छन्,
थबाङले गाउँछ सधैं गीत क्रान्तिको
हुन्छ भन्छ अवश्य नै जित क्रान्तिको (पृ.१३२)
अहिले अमेरिका नेपालको राजनीतिक प्रभुत्व कायम गर्न आक्रामक भएर आएको छ । नेपालको संसदले एमसीसी पास गरेर देशका विरुद्ध अक्षम्य अपराध गरेको छ । यसका विरूद्ध उनी खबरदारी गर्छन्,
सिरिया बन्छ देश साम्राज्यवाद पसेर
खरानी बन्छ देश चुपचाप सही बसे
आऊ न आऊ सडकमा मसाल बोकेर
देश जोगाउनुपर्छ ज्यान बाजी राखेर (पृ.८६)

९. मानव जातिको पुर्खा एउटै थियो–‘होमोसेपियन्स’ । अहिले हामी पृथ्वीमा आठ अर्ब सन्तान पुगेका छौँ । पृथ्वीमा सबैको समान अधिकार छ । तर मान्छेलाई जातजातिमा बाँडेर विभेद गरिदै आएको छ । सिसिफसको कथाझैँ भएको श्रमिक (दलित) समुदायको आन्दोलन र बर्बर दलनका विरुद्ध उनी प्रश्न गर्छन्,
मुटुमा चाहिने धड्कन उहीँ बग्छ रातो रगत नै
एउटै छ हाम्रो फेर्ने सास भन कसरी भयो बेग्लै (पृ.११८)
आज पुँजीवादका खलासीहरूको पुनर्जन्म नयाँ रूप र पात्रहरूमा भइरहेको छ । कम्युनिस्ट आन्दोलनमा नेतृत्वको मूल्य विघटन र वैचारिक क्षेत्र तीब्र खण्डहर बन्दै गएको छ । अहिले संशोधनवादको हावाहुण्डरी तीब्र चलिरहेको बेला आरोह सीका यी गीतहरूको सान्दर्भिकता अझै बढ्ने निश्चित छ । तर आज चौतर्फी विचार धर्मराएको बेला जनगायक आरोह सी गीतमा जस्तै क्रान्तिकारी निष्ठा र वर्ग पक्षधरतामा सदैव सतिशाल उभिएलान् ?


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।