३० कार्तिक २०८१, शुक्रबार

साम्राज्यवाद : एक चर्चा

0

            खोमा सी

 

 

‘साम्राज्यवाद’ पदावली ल्याटिन भाषा ‘इम्पेरियम’ को रुपान्तरण हो । यसको अर्थ हो–सर्वोच्च शक्ति, अर्थात् साम्राज्यवाद भनेको सैन्य शक्ति वा कुटनीतिबाट देशको शक्ति र प्रभाव विस्तार गर्ने नीति हो । सन् १९०२ मा बेलायती अर्थशास्त्री जी.ए. हब्सनले ‘साम्राज्यवाद, एक अन्वेषण’ (imperilism a study) किताब लण्डन र न्युयोर्कबाट प्रकाशित गरेका थिए । त्यसअघि सन् १८९८ मा अमेरिकाले स्पेनका उपनिवेशहरुमाथि आधिपत्य जमाउने उद्देश्यले चलाएको युद्धमा स्पेनलाई पराजित गरेपछि ‘साम्राज्यवाद’ पदावलीको प्रयोग भएको थियो । सन् १९१० मा अस्ट्रियाली माक्र्सवादी हिल्फेडीले ‘वित्तीय पुँजी’ नाउँको किताब भियनाबाट प्रकाशित गरेका थिए । कामरेड लेनिनले साम्राज्यवाद सम्बन्धी कार्ल काउत्स्कीको माक्र्सवाद विरोधी विचारको विस्तृत खण्डन सहित हब्सन र हिल्फेडीको सुधारवादी निष्कर्षहरु, राजनीतिलाई अर्थनीतिबाट अलग गर्ने गलत नीति र साम्राज्यवादबारे भ्रमको चिरफार गर्दै सन् १९१६ मा ‘साम्राज्यवाद–पुँजीवादको चरम अवस्था’ किताब लेख्नुभएको थियो । किताबमा लेनिनले भन्नुभएको छ, “साम्राज्यवाद सम्बन्धी काउत्स्कीको सैद्धान्तिक आलोचनासँग माक्र्सवादको कुनै सामन्जस्य छैन ।” (साम्राज्यवाद–पुँजीवादको चरम अवस्था, पृ.९७) । सन् १९१५ को मध्यतिर स्वीजरल्याण्डको बर्नमा बसेर साम्राज्यवादबारे अध्ययन सुरु गर्दै सन् १९१६ को सुरुमा उहाँले पेत्रोगाडमा रहेको पारुस प्रकाशन गृहको अनुरोधमा यो किताब लेख्ने निर्णय गर्नुभएको थियो । सन् १९१६ फरवरीको पूवार्धमा उहाँले जूरिचमा बसेर यो किताब लेख्नुभएको थियो । यो किताब प्रकाशित भएको १०७ बर्ष पुगिसकेको छ । उहाँले किताबमा पुँजीवादको राजनीतिक र आर्थिक चरित्रबारे प्रष्ट पार्नुभएको छ ।
पुँजीवादको विकास भएर साम्राज्यवादमा परिणत हुने प्रक्रिया लगभग सन् १८६० देखि सुरु भएको मानिएको छ । औद्योगिक क्रान्तिपछि युरोपमा देखापरेको खुल्ला प्रतिस्पर्धामा आधारित पुँजीवाद उन्निसौं शताब्दीमा पुग्दा उत्कर्षमा पुगेको थियो । कामरेड लेनिनले प्रथम विश्वयुद्धको सुरुदेखि नै पुँजीवादको एकाधिकारी चरणको चौतर्फी अनुसन्धान गर्नुभएको थियो । उहाँले आफ्नो किताबको भूमिकामा साम्राज्यवाद भनेको मरणासन्न पुँजीवाद अर्थात् समाजवादी क्रान्तिको पूर्वसन्ध्याको पुँजीवाद हो भन्नुभएको थियो । पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद भएको बताउदै उहाँले यसका पाँच विशेषताहरु भएको बताउनुभएको छ । ती हुन्–१. उत्पादन र पुँजीको केन्द्रीकरण, एकाधिकारपूर्ण अवस्था विकास, २. वित्तीय पुँजी र वित्तीय अल्पतन्त्रको विकास, ३. पुँजीको निर्यात, ४. अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादी कार्टेलद्धारा विश्व बजारको बाँडफाँड, ५.पुँजीवादी शक्तिहरुबाट विश्वको विभाजन । यी पाँचवटा विशेषता अहिले पनि आधारभूत रुपमा सही नै छन् । लेनिनले उतिबेला साम्राज्यवादको विश्लेषण गर्ने बेला पुँजीको केन्द्रीकरण उद्योग र उत्पादनमा थियो तर अहिले साम्राज्यवाद सबैक्षेत्रमा भूमण्डलीकृत भएर आएको छ ।
यहाँ साम्राज्यवादको अर्थ अमेरिकी साम्राज्यवादको हस्तक्षेपबारे चर्चा गर्न खोजिएको हो । अहिलेको साम्राज्यवाद भनेको अमेरिकी साम्राज्यवाद हो । दक्षिण एसियामा त्यसको क्षेत्रीय स्वरुप भारतीय साम्राज्यवाद हो । अहिलेको साम्राज्यवादको चरित्र नवउपनिवेशवादी चरित्र हो र त्यसको नाइके अमेरिका नै हो । अहिले विश्वका श्रमजीवी वर्गको मूल अन्तरविरोध अमेरिकी साम्राज्यवादसित छ । दोस्रो विश्वयुद्धपछि यी विशेषतासहित विश्वस्तरमा साम्राज्यवादको नेतृत्व अमेरिकाले गरिरहेको छ । अहिले भारतले विकास गरेको एकाधिकार पुँजीवाद, अन्तर्राष्ट्रिय राजनीतिमा उसको उपस्थिति र सैन्य विकासले भारतलाई पनि साम्राज्यवादी चरणमा पुर्याएको छ । तर भारत साम्राज्यवादमा परिणत भएपनि दक्षिण एसियामा क्षेत्रीय शक्तिको रुपमा उदाउँदो साम्राज्यवादी मुलुक हो । हाम्रो पार्टीको थबाङ महाधिवेशनले नै भारतलाई साम्राज्यवाद भनेको थियो । विश्व साम्राज्यवाद र क्षेत्रीय साम्राज्यवादका विरुद्ध विश्वका र क्षेत्रीय उत्पीडित राष्ट्र र जनताले संघर्ष गरिरहेका छन् ।
अमेरिका सन् १७८३ मा जन्मेको कान्छो मुलुक हो ।् दोस्रो विश्वयुद्धपछि विश्व बहुधु्रव बन्यो । अमेरिका प्रमुख साम्राज्यवादी शक्तिको रुपमा उदायो । त्यतिबेला अमेरिकालाई टक्कर दिने मुलुक तत्कालीन सोभियत रुस थियो । सोभियत संघले माक्र्सवाद–लेनिनवादको झण्डा विश्वव्यापी फहरायो, अमेरिकाले विकास सहायताको नाममा अंकुश लगाएर डलर प्रवाह गर्यो । कम्युनिस्ट मुलुक युगोस्लाभियालाई समेत डलरको प्रभावमा पार्यो । दोस्रो विश्वयुद्धपछि नवउपनिवेशवादी नीति लिएर हिडेको अमेरिका विश्वका प्रत्येक राजनीतिक र व्यापारिक मामिलाहरुमा हस्तक्षेप नीति लिदै अगाडी बढ्यो । २०३२ सालमा नेपालमा खम्पाहरुलाई हतियार र प्रशिक्षण दिएर चीनका विरुद्ध उचाल्ने र तिब्बतमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरेको थियो । इराक, सिरिया, लिबिया, अफगानिस्तान तथा अफ्रिकी मुलुकहरुमा अमेरिकाले ताण्डब मच्चायो । ताइवान र हङकङलाई चीन विरुद्ध उचालिरहेको छ । युक्रेनलाई रुसविरुद्ध उचालेर युक्रेनी जनताको कत्लेआम गरिरहेको छ । इजरायल–प्यालेस्टाइन युद्धमा इजरायलको पक्ष लिएर युद्ध अपराध गरेको छ । जापान र दक्षिण कोरियालाई उत्तर कोरियाविरुद्ध दुश्मनको रुपमा उभ्याएको छ । जापानको सुन्दर सहर हिरोसिमा र नागासाकीलाई एटम बम हानेर खरानी पार्यो । १९६५ मा इन्डोनेसियामा र १९७३ मा चिलीमा कम्युनिस्टको नरसंहार गर्यो । क्युबामाथि नाकाबन्दी लगाइरह्यो । ल्याटिन अमेरिकी मुलुकहरुमा वामपन्थी संहार मच्चायो । भियतनाममा बालबालिकामाथि बम हान्यो र इराकका पुस्तकालयहरु जलाएर खरानी पार्यो । अफगानिस्तानमा नरसंहार मच्चायो । दक्षिण अफ्रिकाको कम्युनिस्ट आन्दोलन सखाप पार्ने र कम्युनिस्ट पार्टीका नेता क्रिसहनीको हत्या प्रकरणमा भूमिका खेल्यो । अमेरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा अनेक मानवताविरोधी अपराधहरु गरेको छ । अमेरिका जहाँ पसेको छ, ती सबै मुलुकहरुमा अशान्ति, युद्ध, ध्वंश, रक्तपात, लुटपाट, हिंसा, अस्थिरता, धार्मिक र साम्प्रदायिक द्धन्द्ध मच्चाएको छ । त्यहाँका प्राकृतिक स्रोत साधनहरु लुटिरहेको छ । दोस्रो विश्वयुद्धपछिको यो ७८ बर्षको अवधिमा ठूला–ठूला विनाशकारी युद्धहरु भएका छन् । यी युद्धका क्रममा लाखौं मान्छेको मृत्यु भएको छ । ती युद्धहरु अमेरिकी साम्राज्यवादी प्रभुत्व कायम गर्न लादिएका छन् । यसका लागि अमेरिकाले खर्बौं डलर सैन्य क्षेत्रमा खर्च गरिरहेको छ । कामरेड लेनिनले साम्राज्यवादको अर्को नाम युद्ध हो भनेर परिभाषित गरेको कुरा सही प्रमाणित भएको छ ।
अहिले अमेरिका हजारबर्षको सपनासहित ‘अमेरिकाफस्ट’ को अहंकार बोकेर विश्वयात्रामा निस्किएको छ । नाटो, सिस्टो, क्वाड, इण्डो प्यासेफिक स्ट्राटेजी, ट्रान्स एटलान्टिक जस्ता सैन्य संस्थाहरु बनाएको छ । विश्व बजार कब्जा गर्ने, उत्पीडित राष्ट्रहरुमा द्धन्द्ध सिर्जना गरेर हतियार बेच्ने, आइपीएस मार्फत भारतलाई पनि दक्षिण एसियामा चीनको विरुद्ध उभ्याउन खोजिरहेको छ । अहिले अमेरिका र चीनको व्यापार–शीतयुद्ध शिखरमा पुगेको छ । चीनको यात्रा उकालो छ भने अमेरिकाको यात्रा ओरालो देखिन्छ । अमेरिकाले नेपालको भूगोललाई सामरिक विन्दुका रुपमा उपयोग गर्ने उद्देश्यले विकास अनुदानको नाउँमा आइपीएसको अंग एमसीसी संसदबाट पास गरिसकेको छ । अमेरिका अहिले सैन्यशक्तिमार्फत् चीनको विरुद्ध नेपालको सामरिक भूगोल कब्जा गर्ने र राजनीतिक प्रभुत्व कायम गर्न आक्रामक भएर आएको छ । नेपाललाई दक्षिण एसियाको युक्रेन बनाएर रक्तपात बनाउने तयारीमा छ ।
कामरेड माओले साम्राज्यवादलाई विश्वको बैरी भन्नुभएको थियो, “अमेरिकी साम्राज्यवाद तपाईहरुको बैरी हो, हाम्रो पनि बैरी हो र विश्वका जनताको बैरी हो ।” (संकलित रचना, भाग ५, पृ.२५९) । उहाँले उतिबेलै अमेरिकी साम्राज्यवाद पृथ्वीको प्रत्येक कुनासम्म आफ्ना पञ्जा फैलाएर बसेको र यो भूमण्डलीकृत साम्राज्यवाद भएको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो,“अमेरिकी साम्राज्यवादका सुँढहरु जहाँ–जहाँ पुग्छ, विश्वका जनताले एकताबद्ध भएर तिनलाई ठुन्क्याउन एकअर्कालाई मद्दत गर्नुपर्छ ।” (उहीँ) । उहाँले सन् १९५६ जुलाईमा ल्याटिन अमेरिकी कम्युनिस्ट नेताहरुसितको वार्तामा ‘अमेरिकी साम्राज्यवाद कागजी बाघ’ भएको समेत बताउनुभएको थियो । (संकलित रचना, भाग ५, पृ.२४४)
अहिले नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप नेपाली जनताको प्रधान दुश्मन भएको छ । हाम्रो पार्टीको गत २०८० साउनमा बसेको नवौं केन्द्रीय समितिको चौथो पूर्ण बैठकले प्रधान अन्तरविरोध बदलिएको निष्कर्ष निकालेको थियो । “अहिलेको प्रधान अन्तरविरोध अमेरिकी साम्राज्यवाद, उसको नेतृत्वमा चल्ने दलाल पुँजीवाद र नेपाली श्रमिक जनताको बीचमा पुगेको छ ।” (राजनीतिक दस्तावेज, पृ.१०) अमेरिकी हस्तक्षेप बढनु या प्रधान अन्तरविरोध परिवर्तन हुनु भनेको केवल अमेरिकासँग मात्र भन्ने होइन, नेपालको दलाल पुँजीपति वर्गको सत्तासीन हिस्सासहितको प्रधान अन्तरविरोध भन्ने हो । विश्व राजनीतिमा रुस र चीनको उदयले अमेरिकी साम्राज्यवादको हैकम तोडिएपछि चीनको विरुद्ध सैन्य अखडा बनाउने उद्देश्यले नेपालमा अमेरिकी हस्तक्षेप बढेको छ । संसदबाट एमसीसी पास गर्नु यसको पछिल्लो प्रमाण हो । दलाल पुँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने अहिलेको सरकार र संसदवादी पार्टीहरु यसको मतियार बनेका छन् । संसदबाट एमसीसी पास गर्नेहरु देशभक्त, समाजवादी र कम्युनिस्ट हुन सक्दैन । उनीहरु साँचो अर्थमा साम्राज्यवादका दलाल हुन् । कामरेड माओको शब्दमा समाजवादको खास्टोभित्र ‘लुकेका दुश्मन’ (hidden enemies) हुन् । अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको विरोध नगर्ने देशभक्त हुन सक्दैन । अमेरिकी साम्राज्यवादको नांगो हस्तक्षेपविरुद्ध नबोल्नु अमेरिकी शासक वर्गको दलाली गर्नु हो । त्यसकारण अहिलेको आवश्यकता साम्राज्यवाद विरोधी मोर्चा हो । पुँजीवादको अमावनीयता र साम्राज्यवादको विश्वव्यापी आतंकविरुद्ध क्रान्तिकारीहरुको मोर्चाबन्दी जरुरी छ । हाम्रो पार्टीको पछिल्लो पुसमा बसेको केन्द्रीय समितिको विशेष बैठकले वामपन्थी र देशभक्त शक्तिसँग सहकार्य गर्नेे, दलाल पुँजीवादलाई एक्ल्याउने, भूमण्डलीकृत साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध साहस र विवेकका साथ प्रतिरोध गर्न निर्देशन गरेको छ ।
२०८० माघ २४


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।