शोभा दुलाल
सिंहदरबारको धमनीमा बग्ने
गाढा रातो रगतमा
अरबका खाडीतिर छरिएका
पसिनाको भेल मिसिएको छ
सिंहदरबार बिरामी छ ।
जब देशको छातिमा
विपत्तिका चट्याङ्गहरू बज्रन्छन्
सिंहदरबारलाई चिट्ठा पर्छ
भूकम्पको चिठ्ठा
बाढी पहिरो चिठ्ठा
डूबान–कटान चिठ्ठा
‘यो हल्लैहल्लाको देश’ भन्थे भूमि
मलाई त यो देश
चिठ्ठै–चिठ्ठाको देश लाग्न थालेको छ
सिंहदरबार बिरामी छ ।
पिडित नागरिकहरू
घाम छल्ने ओत नपाउँदा
सिंहदरवारको कौशीतिर
प्राधिकारको रेश्लिङ्ग चल्छ
उता बस्तीमा महामारी चल्छ
के गर्नु मनुवा
सिंहदरबार आफै त बिरामी छ ।
बाढी–पहिरोको तमासा हेर्न
“मेड इन श्री ३ महाराज” अर्थात सिंहदरबार
चीलगाडीमा सयर हुन्छ
दुई–चार पोका पत्रु खानेकुरा छरेर
उडन तस्तरी झैं अलप हुन्छ
पिडीतका बस्तीमा
बुर्की छरेको हो कि चाउचाउ ?
के गर्नु कान्छी
सिंहदरबार आफै बिरामी छ ।
जब पहाडहरू बग्न थाल्छन्
पुरिन्छन् निर्धा–निमुखाहरू
साखुल्ले बन्न पुग्छ सिंहदरबार
चीलगाडीको दादागिरीसँगै
बाँडिन्छन् आश्वासनका पोकाहरू
पीडितको नाममा ल्याइन्छन्
विलासी वाहनहरू
बेचिन्छन् थाहै नपाई बबुराहरू
जसरी आग्राका भिखारीले
सिता–रामको नाम बेच्छन्
तर ….
बोल्नु हुन्न कान्छी बोल्नै हुन्न
किनकी तिमीमाथि फेरि प्रतिबन्ध लाग्न सक्छ ।
सिंहदरबार विवेकी
एनसेलको श्रीपेच भिर्छ
जीवन जलमा कमिशन खान्छ
आफ्नो अधर्म छोप्न
आयोगको थुप्रो लगाउँछ
डलरको दाँत देखाएर ङिच्च हाँस्छ ।
आजभोलि सिंहदरबारले
अनेक–अनेक चर्तिकला देखाउँछ
यो कस्तो रोग हो सिंहदरबारको ?
राँची लग्ने कि ह्याम्स अस्पताल ?
म तनाबमा छु
सिंहदरबार बिरामी परेको छ ।
२०८१ भदौ