९ पुष २०८१, मंगलवार

यो व्यवस्था जति रहन्छ, जनताले त्यतिनै दुःख पाउँछन् : विप्लव सी

0

काठमाडौँं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी सहयोग परियोजना एमसीसीपछि सैन्य सम्झौता एसपीपी गर्ने षड्यन्त्र भइरहेको बताए ।

पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले विकास परियोजना बिआरआई गर्ने र एसपीपी पास गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

महासचिव विप्लवले सरकार चीनले अघि सारेको बिआरआई परियोजना चाहिँदैन भनेर अमेरिकालाई खुशी पार्न लागिरहेको बताए ।

महासचिव विप्लवले भने, ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बिआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’

उनले सरकार बनाउने र ढलाउने विदेशी भन्ने नेताहरुले जनतालाई धोखा दिइरहेको जिकिर गरेका छन् । 

अर्को प्रसङ्गमा महासचिव विप्लव सीले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताएका  हुन् ।

उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको आरोप लगाए ।

‘नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन । मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरण मात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो आतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ’, उनले भने ।

वर्षैपिच्छे सरकार बनेको भन्दै उनले वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो भन्ने आशङ्का व्यक्त गरे ।

पार्टीका महासचिव विप्लव सीले नेपालमा दलाल पुँजीवाद जति समयसम्म रह्यो नेपाली जनताले त्यतिनै दुःख पाउने बताएका छन् । उनले दलाल संसदीय पुँजीवाद रहँदासम्म जनताले दुःख पाइरहने बताएका हुन् ।

विप्लवले यो व्यवस्थाले जनताको थाप्लोमा ऋण थप्ने बाहेक अरु केही पनि गर्न नसक्ने जिकिर गरे । उनले यो व्यवस्या रहेसम्म नेपाली जनताले सुख नपाउने, नेपालमा विद्यार्थीले राम्रो शिक्षा नपाउने, युवाले राम्रो रोजगारी नपाउने, श्रमिकले राम्रो ज्याला नपाउने बताए ।

विप्लवले यो व्यवस्था अन्त्य गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी संघर्षमा रहेको बताउँदै नेपालमा समाजवाद अबको विकल्प भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।