कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् ।
बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको बताए ।
मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित गरेको र अब नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताए ।
समाजवादबारे अहिले सबैतिर बहस छ, धेरै नेताकार्यकर्ता बुद्धिजीवी र पार्टीभित्र समाजवाद आवश्यक छ भन्ने चर्चा छ तर दलाल पुँजीवादलाई पछार्ने र समाजवाद स्थापना गरिछाड्ने दृढतासहित समाजवादलाई एजेन्डा बनाएर लडिरहेको पार्टी नेकपा मात्रै भएको भन्दै विप्लवले त्यसका लागि चुनाव लगायत संघर्षका सबै मोर्चा खोल्नु जरुरी रहेको बताए ।
संसदीय पुँजीवादी व्यवस्था अन्तर्गत हुने चुनावको प्रयोग गर्ने वा बहिस्कार गर्ने भन्ने कम्युनिस्टहरुको परम्परावादी मान्यता र चुनाव सम्बन्धि लेनिनको प्रयोग भन्दा नयाँ र फरक दृष्टिकोणसहित आफूहरु अगाडि बढिरहेको महासचिव विप्लवको भनाइ थियो ।