११ माघ २०८१, शुक्रबार

‘जसले राज्य भएको महसुस गर्न कहिल्यै पाएनन्’

0

जंगल नजिकैको खोल्सामा एउटा सानो बुकुरो, घर बाहिर हातखुट्टा नचल्ने बृद्ध श्रीमतीको स्याहार गर्दै थिए चन्द्र बहादुर सुनार ।

उनै सुनार जो आँफै अशक्त छन् । उमेरले नेटो काटिसक्यो । ठिङ्ग उभिन सक्दैनन् । उनिसंग अहिले केही छैन, कोही छैन । उनीसँग छ त केवल प्यारालाइसिस भएकी अशक्त श्रीमती । न कोही बोलाउने मान्छे छ न त कोही बोल्ने छ ।

माथी उल्लेखित प्रसंग कुनै कथा होइन । यो एउटा सत्य घटना हो । यथार्थ दृश्य हो ।
यो शान्तिनगर गाउँपालिका-३ स्थित रातामाटामा बस्ने चन्द्र बहादुर दम्पतिको दैनिकी हो ।
उनका सन्तान नभएका पनि होइनन् तर साथमा छैनन् ।

उनको साथमा १ छोरा छन् तर उनी पनि मानसिक बिरामी भएकाले उपचाररत भएको स्थानीयले बताए ।
उनका १ छोरी र १ जना छोरा कहाँ छन्, थाहा नै छैन ।

चन्द्र बहादुरकी पत्नी चनमती सुनार पनि बिरामी छन् । उनको श्रीमतीको शरीर प्यारालाइसिसले थलिएको छ । दिसापिसाब समेत आँफै गर्ने सक्ने अवस्था छैन ।

चनमती सुनारको स्याहारसुसार उनका श्रीमानले आँफै गर्ने गर्दछन् ।

‘बिहान साँझ पकाएर खाने अन्न हुँदैन । कसैको दयाँ माया भयो भने, कसैले ल्याइदियो भने पकाएर खाने हो ।उहाँप्रति कसैको दया पलायन भने भोकभोकै बस्ने हो । काम गरेर खान सक्ने शरीरमा शक्ति छैन, उमेरले नेटो काटिसकेको छ । पहिलेपहिले गाउँभरी मागेर खानुहुन्थ्यो, बस्ने बास थिएन । तर अहिले विप्लवको पार्टीले घर बनाइदिएको छ । बस्ने बास त भयो तर खाने गासको टुँगो छैन । बृद्ध अवस्था छ, उमेर ढल्किस्क्यो । प्यारालाइसिसले शरीर थलिएको छ । उपचार गर्न सक्ने अवस्था छैन । यस्तो जुनि कसैको नहोस् । म त भन्छु यस्तो दु:ख कसैले नपाओस् । गरिब, दिन दु:खीका लागि कोहि नहुँदो रहेछ । गरिबको जुनि काल पर्खिने मात्रै रहेछ,’ एक स्थानीयले भने ।

चन्द्र बहादुर सुनार दम्पति केही वर्षअघिसम्म खुल्ला आकाशमै थिए । उहाँहरुसंग बस्ने बास समेत थिएन ।

तर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रतिबन्धित भएको बेलामा सबैसंग सहकार्य गरेर सुनार दम्पतिका लागी २ कोठे आवास निर्माण गरिदिएको थियो ।

‘उहाँको अवस्था एकदमै दयनीय थियो । त्यो बेला हामी प्रतिबन्धित थियौं । हाम्रो पार्टीलाई तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । हामीलाई राज्यले झुठ्ठा मुद्दा लगाउने, गोलि हान्ने, लखेट्ने काम गरिरहेको थियो । तर हामी जनताको सेवामा थियौं । हामी गाउँमा थियौं र चन्द्रबहादुरको दम्पतीको कष्ट देख्यौं र हामीले घर बनाइदिने निर्णय गरेर घर बनाइदिएका हौं । यो घर २ कोठाको छ, बलियो छ । हामीले बाहिर भित्र दुबैपट्टिबाट सिमेन्टेड गरेर बनाइदिएका छौँ । हाम्रो पार्टीले अहिलेपनि बेलाबेला उहाँहरुलाई सहयोग गर्ने गरेका छौँ । हामी अहिलेपनि क्रान्तिमा छौँ । मान्छेले भन्छन् अझै क्रान्ति किन? तर तपाइँहरुले देख्नुभयो नि समाजको वास्तविक धरातल के छ ? अहिलेपनि नागरिकले खाना, लाउन, बस्ने बास पाएका छैनन् । अहिलेपनि निमुखाहरुले राज्यको महसुस गर्न पाएका छैनन् । कहाँ छ राज्य? कहाँ छ शासन ? कहाँ छ संविधान? त्यसैले हाम्रो कुरा त नेपालमा रुपान्तरणको प्रक्रिया पूरा भएको छैन, जसलाई पूरा गर्न अर्को क्रान्तिको अनिवार्यताको आव्हान हो । गरिब गरिब नै छन्, धनी दिनानुदिन धनि बन्दै गएका छन् । भयो त समानता? ,’ नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले भने ।

वास्तवमा मुलुक ठूलो राजनीतिक उथलपुथल र क्रान्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रको शासनमा अवतरण गरेको छ । तर मुलुकको लामो उथलपुथलले चन्द्र बहादुर सुनार दम्पतिलाई राज्य भएको महसुस कहिल्यै बनाउन सकेन ।

मुलुक संघीय शासनमा छ । गाउँगाउँमा सिंहदरबार नाराको व्यापार चलेकै छ । चन्द्रबहादुर दम्पतिले एक मुठ्ठी श्वास जोगाएर राखेकै छन् ।

सुनार दम्पतिलाई लत्ताकपडा र खाद्यान्न वितरण

बेसहारा सुनार दम्पतीलाई शुक्रबार लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले आफ्ना दिवंगत बुवा बल बहादुर सीको स्मृतिमा लत्ताकपडा र खाद्यान्न वितरण गरेका हुन् ।

नेता जनक सीसहित उनका परिवारले पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितिमा बेसहारा सुनार दम्पतिलाई ५ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो ।

नेता जनक सीका आदरणीय बुवा बल बहादुर सीको माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुखद निधन भएको थियो ।

बल बहादुर सीको नेकपाले अवलम्बन गरिरहेको सी संस्कृति अनुसार आज शुक्रबार बेसहारालाई लत्ताकपडासहित खाद्यान्न राहत वितरण गरिएको हो ।

सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नीति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल, फुल र जडिबुटी) गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा गरिब, असहाय, अशक्त, बेसहारालाई लत्ताकपडा, राहत वितरण गर्ने, चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोकसभाको आयोजना गर्ने नीति रहेको छ ।

खाद्यान्न वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी, निर्मल सी, विकास सी, तिलक सी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।