नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य जनक सीले बुवा बल बहादुर सीको स्मृतिमा दाङको एक पालिकाका बेसहारा परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेका छन् ।
दाङको शान्तिनगर गाउपालिका -३ रातामाटामा बसोबास गर्ने बेसहारा चन्द्र बहादुर सुनारको दम्पतिलाई राहत वितरण गरेका हुन् ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले आफ्ना दिवंगत हुनुभएका बुवा बल बहादुर सीको स्मृतिमा लत्ताकपडा सहित चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न बेसहारा सुनार दम्पतीलाई वितरण गरेका हुन् ।
नेता जनक सीका आदरणीय बुवा बल बहादुर सीको माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुखद निधन भएको थियो ।
बल बहादुर सीको नेकपाले अवलम्बन गरिरहेको सी संस्कृति अनुसार आज शुक्रबार बेसहारालाई लत्ताकपडासहित खाद्यान्न राहत वितरण गरिएको हो ।
सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नीति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल,फुल र जडिबुटी) गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा गरिब, असहाय, अशक्त, बेसहारालाई लत्ताकपडा, राहत वितरण गर्ने, चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोकसभाको आयोजना गर्ने नीति रहेको छ ।
खाद्यान्न वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी, निर्मल सी, विकास सी, तिलक सी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीले गरेका थिए ।
बेसहारा चन्द्र बहादुर सुनारका एक छोरी र २ छोराहरु भएपनी अहिले १ जना छोरा मात्रै सम्पर्कका छन् जो मानसिक बिरामी छन् ।
उनकी श्रीमती पनि बिरामी छन् । श्रीमती चनमती सुनार पनि प्यारेलाइसिषबाट ग्रस्त छिन् । उनको स्याहार सुसार चन्द्र बहादुर सुनार आँफैले गर्ने गर्दछन् ।
सुनार दम्पतीको केही वर्षअघि सम्म आफ्नो बस्ने घर समेत थिएन् । उनीहरु सुत्न र खानाका लागि गाउँभरी धाउने गर्दथे ।
सुनार दम्पतीको बिजोगपुर्ण अवस्था देखेर विप्लव सी नेतृत्वको नेकपाले पार्टी प्रतिबन्धको समयमा सुनार दम्पतीका लागि २ कोठे आवास निर्माण गरिदिएको थियो ।
आवास निर्माणका लागि सिंगै गाउँ-समुदायले सहयोग गरेको नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले जानकारी दिए ।