
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी स्याउ रोप्न जुम्ला जाँदै छन् । उनी आफ्नो जीवनसाथी शोभा चन्दसहित केन्द्रीय कार्यालय टिमसँगै जुम्ला जाँदै छन् । जुम्लाको हिमा गाउँपालिका-७, धौलापानी यहि फागुन १० गते विप्लवले २ हजार स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्नेछन् ।
स्याउ रोप्ने कार्यक्रमको आयोजना नेकपा केन्द्रिय उत्पादन विभागले गरेको केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।
हिजो राति विप्लवको टोली दैलेखको सदरमुकाम दुल्लु पुगेको छ । उनको साथमा नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम सी’ पनि जुम्लाको यात्रामा छन् ।
फागुन ७ गते बिहीबार रुकुम ससुराली गाउँबाट तय भएको विप्लव सीको यात्रा जाजरकोट हुँदै दैलेख दुल्लु पुगेको छ । यात्राको क्रममा विप्लव सीको टोलीलाई आफ्ना नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले अभिनन्दन गरेको अडिगले जानकारी दिए ।
त्यसैगरी फागुन १२ गते कालिकोट जिल्ला तिला गुफ्फा नगरपालिका ३ फोहीईमा १५ सय स्याउ रोप्ने कार्यक्रम रहेको छ । फागुन १४ गते शहिद सप्ताहको पहिलो दिन कालिकोट जिल्ला रास्कोट नगरपालिका ५ आरसीपी बजारमा बृहत जनसभा हुने र उक्त जनसभालाई विप्लवले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
नेकपाको त्रिवेणी साझेदारी भेडाफर्म फागुन १६ गते उद्घाटन कार्यक्रम रहेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका ५ रुप्सामा विप्लवले नै फर्मको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । करिव २० लाखको लगानीमा १ सय ३५ भेडाहरु फर्ममा रहेको नेकपा स्रोतले जनाएको छ ।