२२ बैशाख २०८१, शनिबार

हामीले स्याउ रोप्न सुरु गरेपछि जुम्लाका जनता स्वेच्छिक रुपमा जग्गा दिन आए : आकर्षण सी

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज आकर्षण सीले जुम्लाका जनताहरुले पार्टीलाई जग्गा सहयोग गरेको जानकारी दिएका छन् । नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा पत्रकारसँग कुरा गर्दै आकर्षणले पार्टी महासचिव विप्लव जुम्ला पुगेर स्याउ रोपेको देखेपछि जनताले स्वेच्छिक रुपमा जग्गा उपलब्ध गराएको जानकारी दिएका हुन् ।

महासचिव विप्लव सीको उपस्थितिमा पार्टीले नेकपाका नेता बिर्ख सीको जग्गामा १ हजार ५ सय स्याउका विरुवा रोपेको थियो । विरुवा रोपेको देखेपछि ‘जमिन बाँझो राख्नुभन्दा गरेर खाउ’ भनेर स्थानीय जनताले जमिन उपलब्ध गराइरहेको इन्चार्ज आकर्षणले बताए । ‘महासचिवसहित स्थायी समिति सदस्य रणवीर, पोलिटब्युरो सदस्यहरु आएपछि यहाँका जनता खुशी भएका छन् ।’, उनले भने, ‘अरु पार्टीका नेताहरु आउँछन् भाषण गर्छन्, जान्छन् । विप्लव आएर स्याउ रोपेर जानुभयो भनेर जुम्लाका जनता निकै खुशी भएका छन् ।’

जनताको जमिन उपलब्ध भएपछि स्याउ उत्पादन क्षेत्रपनि बढेको उनको भनाई छ । ‘हाम्रो तार्गेट १० हजार विरुवा रोप्ने थियो । जनताले थप जमिन दिएपछि हाम्रो टार्गेट बढेको छ ।’, उनले भने, ‘त्यहाँका जनताले स्याउका विरुवा रोपेको विषयमा बारम्बार जानकारीसमेत लिने गरेका छन् । साथै सुझाव पनि दिने गरेका छन् । जमिन पनि दिएका छन् । त्यसले हामीलाई उत्साहित बनाएको छ ।’

केन्द्रीय उत्पादन विभागको प्रत्यक्ष समन्वयमा जुम्ला जिल्ला पार्टीले स्याउ रोपेको हो । त्यसको रेखदेख उत्पादन विभागले नै गरिरहेको बताइएको छ । ‘हाम्रो अहिले दुई जना केन्द्रीय कार्यालयबाटै स्याउका विरुवाको रेखदेखका लागि जानुभएको छ ।’, उनले भने, ‘त्यहाँ सामान्य घेरबार गरेका छौं । ठूलो लगानी गर्नुपर्ने भएकाले हामीले राम्रोसँग घेरबार गर्न सकेका छैनौं । अहिले भूकम्प सीको नेतृत्वमा दुई जनाले रेखदेख गरिरहनु भएको छ ।’

१० हजार विरुवा रोप्नसक्ने क्षमताको जमिनमा यो बर्ष १ हजार ५ सय विरुवा रोपेको उनको भनाई । रोपेका विरुवा जोगाउन निकै मुस्किल भएको बताउँदै त्यसका लागि सरकारसँग अनुदान सहयोग मागेको बताए । ‘घेरबार गरिएन भने विरुवा जोगाउन मुस्किल छ ।’, उनले भने, ‘त्यसका लागि हामीले कृषि कार्यालयसँग अनुदान मागेका छौं । कार्यालयले अनुदान दिने आश्वासन दिएको छ ।’

जुम्लामा स्याउ रोप्न फागुन २४ गते नेकपा महासचिव विप्लव पुगेका थिए । विप्लव जुम्लामा पुग्दा स्थानीय जनताले भव्य स्वागत गर्दै स्याउ रोप्ने कार्यक्रममासमेत सहभागी भएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।