
(नेकपाका केन्द्रीय नेता तथा सहिद अजबलाल यादवकी जीवनसाथी शिला यादव पूर्व सभासदसमेत हुन् । जनयुद्धकी पहलकर्तासमेत रहेकी शिला जनयुद्धमा १ पटक बेपत्तासहित ३ पटक गिरफ्तार भएकी थिइन् । मधेशकी लोकप्रिय नेता रहेकी यादवसँग जनपत्रिका विद्युतीय सञ्चारले गरेको वर्तालापको संक्षिप्त अंश प्रस्तुत गरिएको छ । – सम्पादक)
१) शिलाज्यु, जनपत्रिका अनलाइनमा यहाँलाई स्वागत छ ।
जनपत्रिका विद्युतीय सञ्चार र जनपत्रिका मासिकको सम्पूर्ण टोलीलाई धन्यवाद छ ।
२) आजभोलि के गर्दै हुनुहुन्छ ? स्वास्थ्य कस्तो छ ?
आजभोली म नेपाल कम्युनिस्ट पार्टी, मधेश प्रदेशको काममा व्यस्त छु । त्यसको साथै साहित्य लेखनमा पनि व्यस्त छु । त्यसैगरी सहिद अजबलाल यादवको स्मृति सभा, प्रतिष्ठानका् कार्यालय व्यवस्थापनलगायत कामहरुमा व्यस्त छु ।
मेरो स्वास्थ्यस्थिति सामान्य छ । ठीकठाक छु ।
३) अहिले साहित्यको कुन विधामा के लेख्दै हुनुहुन्छ त ?
ठकुराम बहुमुखी कलेज, वीरगञ्जमा अध्ययन गर्दा नै साहित्यप्रति मेरो रुची थियो । जनयुद्धको समयमा लेख्न सकिन । अहिले निबन्ध विधा अन्तरगत संस्मरण सङ्ग्रहको अन्तिम तयारी हुँदैछ ।
४) तपाईलाई विगततिर लैजान्छौं । राजनीतिक जीवनको प्रारम्भ कसरी भयो भनिदिनुस् न !
म कास्कीमा जन्मिएर बारा जिल्ला कोहल्वीमा हुर्किएँ । बाल्यकाल ठूलो अभाव र पीडामा बित्यो । ६ महिना आफ्नो उत्पादनले र ६ महिना कृषि श्रमिक भएर पूर्ति हुन्थ्यो । भोक र रोगका पीडा मैले बाल्यकालमा कस्तो हुन्छ भन्ने महसुस गर्दै आएँ । सामन्तवादले सृजना गरेको छुवाछुत, अपमान, नारी उत्पीडन हाम्रो पुस्ताले पनि भोग्यो । मेरा हजुरबुबा ब्राह्मण तर जैसी ब्राह्मणको छोरीसँग विवाह गरेको कारण जातभात कटाएका थिए । पुस्तैनी पुरेत्याइँबाट हात धुनु परेको कारण घरको आयस्रोत बन्द भयो । त्यसमाथि बुबा त सानैमा टुहुरो हुनुप¥यो । त्यसप्रकारको विभेद र गरिबीले मेरो बाल–मस्तिष्क प्रतिशोध हुँदै विद्रोही बन्यो । मेरो मनमा ‘असमानता किन ?’ भन्ने प्रश्न उठिरहन्थ्यो ।
२०४१ सालमा बारा, तामागढीमा झ¥यौं । २०४५ फागुनमा अनुपदिपनी माध्यमिक विद्यालयमा अनेरास्ववियू (पाँचौं) का इकाई सचिव हुँदै राजनीतिक यात्रा शुरुभयो । त्यसयता २०४६ को जनआन्दोलनमा सक्रिय भएँ । राजनीतिक यात्रा निरन्तर जारी छ ।
५) जनयुद्धमा तपाईको परिवारबाट ५ जनाको सहादत भएको रहेछ । जनयुद्धको यात्रा कहिलेदेखि हो ?
२०५० सालमा एमालेको सक्रिय सदस्य भएर काम गरें । मदन–आश्रितको हत्या र नेताहरुको चालामाला देखेपछि एमाले पार्टी बिग्रियो भन्ने लाग्यो । त्यसलाई सच्याउने हैसियत पनि हाम्रो थिएन । त्यसैले तटस्थ बस्न थालें । ठाकुराम बहुमुखी क्याम्पसमा पढ्दा विभिन्न पार्टीका नेतासँग छलफल, अध्ययन गरेर विचार निर्माणमा लागें । २०५१ माघमा नेकपा (माओवादी) मा संलग्न भएँ । जनादेश साप्ताहिकले विचार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसबेला जुगवा प्राथमिक विद्यालयमा शिक्षण गर्दथें । घरको आर्थिक स्थिति राम्रै थियो । त्यसैले नेपाली समाज बदल्ने सपना बोकेर जनयुद्धमा लागेको थिएँ ।
६) तपाईको नेतृत्वमा छापामार कारवाही भएको भए तीमध्ये पहिलो मोर्चा बताइदिनुस् न ।
सपही गाविस–४ मा रहेको साना किसान बैंक कब्जा नै पहिलो कारवाही हो । जसको ‘रेकी’ र नेतृत्व मैले नै गरें । साना किसान बैंकको ऋणले गरिब किसानको उठिबास भएको थियो । साना ऋणीको लालपुर्जा कब्जा गरेर किसानहरुलाई फिर्ता दिएका थियौं । त्यसबेला म बारा–पर्सा विशेष कार्यदल (क्त्ँ) को सह–कमाण्डर थिए । कमाण्डर सूर्य लामा अरु नै कामले जिल्ला बाहिर भएकोले मैले नेतृत्व गरेकी थिएँ ।
७) तपाई जनयुद्धमा कतिपटक गिरफ्तार हुनुभयो ? पाठकहरुको जिज्ञासा छ नि ?
जनयुद्धको समयमा ३ पटक गिरफ्तार गरिएँ । एक पटक त प्रहरीले ४ महिना बेपत्ता पारेको थियो । पहिलो पटक गिरफ्तारी ठोरीदेखि ककरीसम्म (पर्साको अन्तिम गाउँ ठोरी र बारा जिल्लाको अन्तिम गाउँ ककरी) लाई प्रतिकात्मक हुनेगरी ‘ठोक अभियान’ चल्दैगर्दा बारा, कोल्हवी प्रहरीले बभनी गाउँबाट हाम्रो अभियान टोलीलाई गिरफ्तार ग¥यो । १७ जनाको अभियान टोलीमध्ये १० जनाले प्रहरी घेरा तोड्न सफल भएका थिए । हामी ७ जना गिरफ्तार भएका थियौं । म साँस्कृतिक मोर्चाको संयोजकसमेत रहेकाले आफ्नो टोलीलाई १२ घण्टे हिरासतमा उच्च मनोबल कायम राखेर लड्न प्रेरित गरें । प्रहरीले आरोप प्रमाणित गर्न नसकेपछि रिहा ग¥यो । त्यसबेला मधेश र सहरमा जनयुद्धको पक्षमा प्रचारात्मक काम तीव्र थियो । दोस्रो पटक २०५३ चैत २७ गते चन्द्रनिगाहापुरबाट गिरफ्तार भएकी थिएँ । बारा र पर्सा जिल्लाको पहिलो पहिलो फौजी कारबाहीको नेतृत्व गरेर चुनौतिको सामना गरें । त्यही कारण मैले शिक्षण पेशा छोड्नु प¥यो । अपेक्षा गरिएका कैयौं साथीहरुले जोखिम मोल्न तयार भएनन् । एमाले पार्टीको बलियो आधार भएको कोहल्वी क्षेत्रमा माओवादी पार्टीको जग बस्दै थियो । तर कारबाहीपछि बारा र पर्साका अन्यत्र राम्रो प्रभाव प¥यो भने कोहल्वीमा भीषण दमनको कारण पार्टी छिन्नभिन्न भयो । कोहल्वी कारवाहीपछि ४ स्थानमा भएको ‘फायरिङ जुलुस’ ले बारा, पर्सा र रौतहटमा सनसनी नै फैलायो । जनता उत्साहित थिए । एकातिर बैंक कब्जा, अर्कोतिर कोहल्वी, सिमरा, निर्मलबस्ती र ठोरीमा ‘फायरिङ जुलुस’ भएका थिए ।
बारा कारवाहीपछि सुरक्षाको कारण मेरो कार्यक्षेत्र धनुषा जिल्ला भएको थियो । श्रमिक महिला दिवस मनाएर कार्यक्षेत्रतिर जाँदैगर्दा रौतहट जिल्ला, चन्द्रपुरबाट दोस्रो पटक गिरफ्तार भएँ । एमाले पार्टीबाट विद्रोह गरेर जनयुद्धमा सक्रिय भूमिकामा भएको कारण म एमालेका छुद्र मान्छेहरु र प्रहरी–प्रशासनको निशानामा थिएँ । बारा फौजी कारवाही गर्दा म ८ महिनाकी गर्भवती थिएँ । मेरो भूमिकाले विशेषतः महिलाहरु उत्साहित थिए । मेरो झोलाबाट महिला सङ्गठनको झण्डा, विधान र प्रतिवेदन कब्जा गरेका थिए । तर ४५० ग्राम सेतो हिरोइन बरामद गरेको आरोपसहित मुद्दा दर्ता गरे । बाबु जन्मिने दिन नजिकिंदै थियो । अदालतले तारेखमा छोड्यो । तेस्रो गिरफ्तारी २०५६ चैत २१ गते भएको थियो । ४ महिनासम्म बेपत्ता पारेर सार्वजनिक गरेपछि थप ४१ दिन हिरासतमा राखेपछि असोज २८ गते अदालतको आदेशमा रिहा गरिएको थियो ।
८) तपाईको विवाह र पारिवारिक पृष्ठभूमिको सन्दर्भमा पनि पाठकको जिज्ञासा होलान् । त्यस विषयमा छोटो कुराकानी गर्न सकिन्छ ?
मेरो विवाह २०५४ साउन ११ गते धनुषाका अजबलाल यादवसँग पश्चिम बङ्गाल, सिलगुढीमा भएको हो । त्यहाँ पार्टीको पूर्वी कमाण्डको प्रशिक्षण कार्यक्रम थियो । सो कार्यक्रम सकिएपछि पार्टीको योजनामा प्रगतिशील विवाह भएको हो । मैले जन्मघरमा विद्रोह गरेर पूर्णकालीन कार्यकर्ता बनेकी थिएँ । बुबा–आमाले मधेशी परिवारसँगको विवाह स्वीकार गर्न सक्दैनथे । घरमा दाइजोको नाममा जिउँदै जलाउलान् भन्ने त्रास थियो । तर अजबलालज्युको परिवार (बुबा–आमासमेत) प्रगतिशील रहेछ । मैले पहाडिया समाजका बुहारीले भन्दा बढी माया र स्वतन्त्रता पाउँदा अत्यन्त खुसी थिएँ । तर दुश्मनले त्यो खुसी धेरै दिन भोग्न दिएन । मेरो विवाह भएको १ वर्षभित्रै प्रतिक्रियावादी सरकारले मेरो परिवारका ५ जनाको हत्या ग¥यो ।
९) शिलाज्यू ! तपाईको परिवारबाट ५ जनाको सहादत भएको रहेछ । उहाँहरु को को र कहिले हत्या भएको हो ?
२०५८ मङ्सिर २२ गते बुबा, दाजु र गाउँको देवरहरु क्रमशः चन्द्रदीप यादव, उत्तिमलाल यादव र देवकुमार यादवलाई विहान १० बजेतिर दिउँसै हत्या गरे । २०५८ चैत ९ गते कमरेड अजबलाललाई सप्तरी जिल्लाबाट गिरफ्तार गरेर रातभरी बर्बर यातनापश्चात् हत्या गरेका थिए । संसारलाई मूर्ख बनाउन कोशी टापुको जङ्गलमा दोहोरो भीडन्तमा मारिएको बदनियतपूर्ण र प्रायोजित समाचार सार्वजनिक गरे । त्यसैगरी २०५९ भदौ ८ गते देवर फकिरचन्द्र यादवलाई धनुषाधामको जङ्गलमा लगेर रामएकवाल अवधेशसँग हत्या गरेर भीडन्तमा मारिएको नक्कली समाचार प्रवाह गरे । २०५९ कात्तिक २९ गते कान्छो नन्देभाइ रामपृत यादवलाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर हत्या गरे । म ती महान सहिद र रक्त–आफन्तसमेतको सपना पूरा गर्न आज पनि लडिरहेको छु ।
१०) तपाईले एमाले पार्टीबाट विद्रोह गरेको पनि १ वर्ष हुनलाग्यो ! कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?
म सही गन्तब्यमा पुगेको अनुभूति गरेको छु । पार्टीका कमरेडहरुसँग लामो समयदेखि छलफल हुँदै आएको थियो । म कुन पार्टीमा छु भन्ने कुरा मेरो लागि महत्वपूर्ण थिएन । म क्रान्तिकारी विचार र राजनीतिमा छु कि छैन ? मुख्य कुरा हो । व्यक्तिगत लाभ हेरेर सहिदका सपना बेच्नु नैतिक र क्रान्तिकारी कुरा हुँदैन । त्यस अर्थमा म ढुक्क छु कि म सही विचार र राजनीति भएको पार्टीमा छु । सहिदका सपना र सहिद परिवारको सम्मान नेकपाबाट हुन्छ र भइरहेको छ ।
११) माओवादी पृष्ठभूमिको नेतृत्व र विगतका सहयोद्धाहरुसँग तपाईको के अपेक्षा रहला ?
माओवादीको नेतृत्वले बाटो बिरायो । १२ बुँदे सहमतिप्रति नै प्रश्न छन् । भएका सम्झौता पनि लागू गरिएन । जिम्मेवार बन्ने तर्क गर्दै यथास्थितिमा पतन हुँदै जाने कार्य भयो । शान्ति प्रक्रियामा माओवादी सत्ता पक्षजस्तो; सत्तापक्ष विद्रोहीजस्ता भए । उनीहरुले सहिदका सपना र सहिद परिवारका अपेक्षाहरुलाई बेवास्ता गरे । दुई–चार लाख खपटा दिएर सपना मार्ने कार्यहरु भए । सहयोद्धाहरुमा वर्गीय पतन देखिएको छ । नेता र सहयोद्धामा रुपान्तरणसहित एकताको अपेक्षा गर्दछु ।
१२) वार्तालापका लागि समय दिनुभएभकोमा धन्यवाद । थप केही भन्न चाहनुहुन्छ कि ?
आफ्नो विचार र भावना देश–विदेशका नेपाली समक्ष पु¥याउने अवसर दिनुभएकोमा जनपत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । जनपत्रिकाले सहिदका सपना र सहिद परिवारका अपेक्षालाई वाणी प्रदान गरिरहोस् भन्ने अपेक्षा पनि गर्दछु ।