
काठमाडौं । समाजवादी मोर्चा नेपालले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्र’ विरुद्ध भोलि चैत्र १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैछ ।
मोर्चाले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ ! गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौं’ भन्ने मूल नारा तय गर्दै काठमाडौंमा विशाल जनप्रदर्शन गर्न लागेको हो ।
समाजवादी मोर्चाको बुधबार बसेको बैठकले जनप्रदर्शनका लागि आवश्यक तयारीसहित मूल नारा र सहायक नाराहरु तय गरेको छ ।
मोर्चाले मूल नारासहित जनप्रदर्शनका क्रममा लगाउने १५ वटा नाराहरु तय गरेको समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।
जसमा तय गरिएका नाराहरु समाजवादी मोर्चा, नेपाल – जिन्दावाद, समाजवादी क्रान्ति – जिन्दावाद, प्रतिगामी षडयन्त्र – मूर्दावाद, गणतन्त्र नेपाल – जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, भ्रष्टाचारीलाई कारवाही गर,सुशासन कायम गर, महँगी र कालोबजारी नियन्त्रण गर, सहकारी, लघुवित्त र मिटरब्याजीको समस्या समाधान गर रहेका छन् ।
यस्तै मोर्चाले चर्को ब्याज – नियन्त्रण गर, वेरोजगारी समस्या समाधान गर, महिला र दलितमाथिको उत्पीडन अन्त्य गर, शिक्षकहरुको समस्या समाधान गर र वीर सहिद – लाल सलाम जस्ता नाराहरु तय गरेको छ ।
नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी सहभागी समाजवादी मोर्चाले राजावादीहरुको पछिल्लो प्रतिगामी षड्यन्त्रलाई काउण्टर दिन पनि जनप्रदर्शनको आयोजना गरेको हो ।
जनप्रदर्शनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, समाजवादी मोर्चा नेपालका संयोजक तथा नेकपाका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले विशेष सम्बाेधन गर्नेछन् ।
समाजवादी मोर्चाले आफ्नो मूल नारामा ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ ! गणतन्त्रको सम्बर्ध्दन राष्ट्रिय स्वाधीनताको संरक्षण गरौं’ भन्दै गर्दा दलाल संसदीय व्यवस्था र राजावादी दुबैको षडयन्त्रको विरोध गरिएको छ ।
मूल नारामै गणतन्त्रको सम्बद्र्धन गर्दै समाजवादमा जानु पर्ने दृष्टिकोण दिएको छ ।
यस्तै मूल नारामार्फत मोर्चाले देशको स्वाधीनता खतरामा परेको संकेत गर्दै स्वाधीनता रक्षाका लागि पनि जनएकता आवश्यक भएको सन्देश दिएको छ ।
मोर्चाले जनप्रदर्शनको भव्य तयारी गरेको छ भने भृकुटीमण्डपमा झण्डै १ लाख मान्छे उतार्ने तयारी गरेको छ ।
जनप्रदर्शन कोटेश्वर, कुपण्डोल, कालीमाटी लगायतका स्थानबाट जुलुससहित भृकुटीमण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।