
कालिकोट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरी फर्किने सपना नदेख्न चेतावनी दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) कालिकोटको १० औँ जिल्ला अधिवेशनको शनिबार रास्कोटमा उद्घाटन गर्दै अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरी फर्किने सपना नदेख्न चेतावनी दिएका हुन् ।
‘नेपालमा राजाको काम छैन, पसना नदेखे हुन्छ’ पूर्वप्रधानमन्त्री रहेका नेपालले भने, ‘राजा आऊ देश बचाऊ भन्ने कुरा बेमौसमी बाजा हो । जनताको छोरा राष्ट्रपति, उपराष्ट्रपति भएर शासन गर्ने व्यवस्था हामीलाई चाहिन्छ । वंशको आधारले शासन गर्ने राजतन्त्र अब काम छैन ।’
उनले पूर्व राजाले फेरी सत्तामा फर्किने चाहना राखेको भए जनतामा पार्टी खोलेर चुनाव लडेर जितेर आउन चुनौती दिए ।
अध्यक्ष नेपालले राजाहरुको शासन विगतमा आफू, प्रचण्ड,गिरिजा, शेरबहादुर लगायतका नेताहरुले राम्रोसंग चिनेको बताउदै चैत्र १५ गते पार्टीको अफिस जलाएर, पसलका चुरोट चोरेर, आगो लगाएर,पत्रिकाको कार्यलय जलाएर, २ जना युवा मारेर राजा नफर्किने चेतावनी दिए ।
उनले देश यथास्थितिमा चल्न नसक्ने टिप्पणी गर्दै नेपाली विशेषताको समाजवाद वा वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको स्पष्ट पारे ।
अध्यक्ष नेपालले देशमा केहीपनि नभएको भन्ने भाष्य गलत भएको भन्दै बरु जति गर्नु पथ्र्यो त्यति गर्न नसकिएको स्वीकार गरे । उनले सरकारलाई आफ्नो अयोग्यता हटाई जनताको पक्षमा काम गर्न सुझाव दिए ।
‘रास्कोट आउन पाउदा निकै खुसी भएको छु, यहाँ प्रचण्ड र विप्लव कमरेड पनि आउनु भएको रहेछ । यदि म आउन नपाएको भए नेपालको भ्रमण अधुरो हुने थियो । आनन्द अनुभूति भयो’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘ रास्कोटी जनता र नगरपालिकालाई धन्यवाद छ, रास्कोटी जनताको समस्यासंग आफू संधै एकाकार हुने छु । जनताको समस्या समाधानमा पार्टी लाग्ने छ । राम्रो नेता र पार्टी अबको निर्वाचिनमा छान्नु होला ।’
उनले नेपालमा समाजवादी व्यवस्था ल्याउनका लागि समाजवादी मोर्चा समेत बनेको जिकिर गर्दै विचार मिल्ने वामपन्थीहरुसंगको सहकार्य गर्ने बताए ।
नेपालमा कुनैपनि हालतमा राजाको काम नभएको दाबी गर्दै अध्यक्ष नेपालले फेरी पनि पूर्व राजालाई फर्किेने सपना नदेख्न चेतावनी दिए ।