
ललितपुर । नेपाल कम्युनिस्ट पार्टीको ललितपुर जिल्ला समितिको चौथो आवधिक योजनाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । चैत २८ र २९ गते २ दिनसम्म बसेको बैठकमा चौथो आवधिक योजनाको पहिलो बैठकले बनाएको कार्ययोजनाको कार्यान्वयन, प्रभावकारिता र पार्टीको ३ महिनाको कामको गम्भीर समीक्षा भएको थियो । बैठकले आगामी २ महिनाको कार्ययोजना बनाएको छ ।
बैठकले गरेका निर्णयहरु निम्न छन् :
१) सबैतिर रहनु भएका क्रान्तिकारी, देशभक्त र समाजवादीहरुलाई नेकपामा गोलबन्द गर्न ध्रुवीकरण अभियान संचालन गर्ने ।
२) पार्टीको राजनीतिक र वैचारिकस्तर विकास गर्न नियमित स्कुलिङ संचालन गर्ने ।
३) देशको विकराल अवस्था, विकृत संसदीय गणतन्त्रको विकल्प राजतन्त्र होइन “नेपाली विशेषताको समाजवाद” भन्ने विषयमा जिल्ला र पालिका स्तरमा अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्ने ।
४) नेकपालाई भरोसा गर्ने जनतालाई पार्टी समर्थक सदस्यता वितरण गर्ने ।
५) जनसेवाको उद्देश्यसहित पाटन अस्पताल, जिल्ला मालपोत कार्यालय जस्ता स्थानहरुमा हेल्प डेस्क राख्ने ।
६) बैशाख र जेठ २ महिना “संगठन सुदृढीकरण तथा विस्तार अभियान” संचालन गर्ने ।
७) बैशाख ५ गते प्रतिगामी षड्यन्त्र र यथास्थितिवादी रवैयाको विरुद्ध टोल-टोलमा खबरदारी कोणसभा गर्ने ।
८) भ्रष्ट, माफिया, तस्कर, विचौलिया /दलालहरु विरुद्ध जनसंघर्ष गर्ने ।
९) स्थानिय निकायमा भइरहेका अनियमितता र जनसरोकारका विषयहरुमा केन्द्रित भई पालिकाहरुलाई ज्ञापनपत्र बुझाउने ।
१०) स्वबासी जनतालाई लालपुर्जा दिलाउन संघर्ष गर्ने ।
११) सार्वजनिक सम्पदाको दोहनको विरुद्ध अथवा रक्षाको लागि संघर्ष गर्ने ।
१२) पार्टीलाई उत्पादनसंग जोडेर “आत्मनिर्भर पार्टी-आत्मनिर्भर जनता” बनाउने केन्द्रीय नीतिलाई जिल्लामा ठोस योजनासहित लागू गर्ने ।
१३) पार्टीलाई कडा अनुशासनको मातहतमा राख्न आचारसंहिता र ठोस कार्यविधि निर्माण गर्ने, सामाजिक संजालको प्रयोगलाई मर्यादित र उद्देश्यमुलक बनाउने । लगायत महत्त्वपूर्ण निर्णयहरु बैठकले पारित गरेको छ । बैठकको अध्यक्षता पार्टीको केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला सेक्रेटरी ललित सीले गरेका थिए भने बैठकमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज विपिन सी र अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् गोदावरी नगर इन्चार्ज रत्न सीको उपस्थिति रहेको थियो । बैठकका अध्यक्ष, प्रमुख अतिथि र अतिथिले महत्त्वपूर्ण भाव सम्प्रेषण तथा बैठकमा उठेका विषयको जवाफ दिएका थिए । बैठक दक्षिण ललितपुरको रमणीय स्थान कोन्ज्योसोम गाउँपालिका-२, सङ्खुमा बसेको थियो ।