
जनकपुर – सूदखोर, प्रहरी र प्रशासनको साँठगाँठमा धनुषामा सयौं मिटरव्याज पीडितको उठिबास भएको छ । सूदखोरको ऋण नतिरेको भन्दै प्रहरीले ११ सय भन्दा धेरै पीडितलाई पक्राउ पूर्जी जारी गरेको छ ।
पक्राउ पूर्जी पश्चात प्रहरीले वैशाख १२ गते ३ जना, १३ गते छ जना र १४ गते ९ जना पीडितलाई साहुको ऋण नतिरेको भन्दै गिरफ्तार गरेको छ । कैयौं पीडितहरु पक्राउ हुने डरले गाउँबाट भागेका छन् । कतिपय त भारततिर पलायन भएका छन् ।
प्रहरी, प्रशासन र सूदखोरको ज्यादती बढेपछि पीडितहरू संगठित भएका छन् । सोमबार धनुषा जिल्ला, महेन्द्रनगर बजारमा भेला भएर राजाराम यादव नेतृत्वमा १५ सदस्यीय ‘मिटर ब्याज पीडित संघर्ष समिति’ गठन गरेका छन् ।
राजाराम यादवको अध्यक्षता र तिलक सीको सञ्चालनमा भएको जिल्ला भेलामा नेकपा, मधेस प्रदेशका इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै अनिल सीले पीडित मारा प्रशासन र सूदखोर विरुद्ध विद्रोहमा उत्रिन् अपिल गरेका थिए । भेलामा देवनारायण सी, शिला सी, पवन सीलगायत नेताहरूले मन्तव्य राखेका थिए ।