
काठमाडौँ – मधेस प्रदेशमा राज्य आतङ्कले गरीब–निरुपाय जनता हैरानमा परेका छन् । मिटरब्याजीको मिलिभगतमा स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र अदालतसमेतबाट हजारौँ परिवारको उठिवास लागेको छ ।
धनुषा जिल्लामा मात्र लगभग ११ हजारलाई पक्राउ पूर्जी जारी गरिएको छ भने दर्जनौँलाई गिरफ्तार गरिएको छ । पक्राउ पूर्जी काटिएका कैयौं भारत पलायन भएका छन् । कैयौं गाउँबाट विस्थापित भएका छन् । कतिपय सडक किनारमा पालमा रात काट्दै आएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेशले ‘यस्तो अकल्पनिय राज्य आतङ्क कसको निर्देशनमा र किन गरिएको हो ?’ भन्दै प्रश्न गरेको छ । नेकपा मधेस प्रदेश इन्चार्ज अनिल सीले बुधबार एक विज्ञप्ति जारी गदै राज्य आतङ्कको निन्दा गरेका छन् भने जनतालाई सङ्गठित विद्रोहमा उत्रिन अपिल गरेका छन् ।
‘हाम्रो पार्टी संघीय सरकार र प्रदेश सरकारलाई ज्यादती रोक्न पहल गर्न अनुरोध गर्दछ । अन्यथा जनविद्रोहले निम्त्याउन सक्ने घटना र परिस्थितिको जिम्मेवार लुटेरा सूदखोर र उसका मतियारहरु हुनुपर्नेछ । सबै न्यायप्रेमी बुद्धिजीवि, सञ्चारकर्मी र मानव अधिकारवादीहरुलाई मधेस प्रदेशको अवस्थाप्रति संवेदनशील भइदिन अनुरोधसमेत गर्दछ ।’, विज्ञप्तिमा भनिएकाे छ ।
नेकपाको पहलमा पीडितहरु संगठित भएका छन् । सोमबार धनुषा जिल्ला, महेन्द्रनगर बजारमा भेला भएर राजाराम यादव नेतृत्वमा १५ सदस्यीय ‘मिटर ब्याज पीडित संघर्ष समिति’ गठन भएको छ ।