६ असार २०८२, शुक्रबार

विप्लवसँग राष्ट्रवादी छवि देख्छु : पूर्वमन्त्री खगेन्द्रजङ्ग गुरुङ

0

(डा.इन्द्रजीत सिंह कुवँर (के.आई.सिंह) नेतृत्वमा गठित २०१३ सालको मन्त्री मण्डलका स्वास्थ्य मन्त्री ९२ वर्षका खगेन्द्रजङ्ग गुरुङ २०१७ सालमा गठित तुलसी गिरी मन्त्री मण्डलमा खाद्य तथा आपूर्ति, कृषि, वन, उद्योग तथा वाणिज्य मन्त्री थिए । राजा महेन्द्रसँग दूरी बढेपछि २०२५ सालमा गिरफ्तार भएर २ वर्ष ६ महिना पोखरा जेलमा पनि बसे । चाउ एनलाई र माओत्सेतुङसँग भेटेका गुरुङको उतार चढावपूर्ण जीवन र वर्तमान राजनीतिको विषयमा उनै पूर्वमन्त्री गुरुङसँग काठमाडौं लाजिम्पाट गैरीधारास्थित ‘होप हर्मिटेज एल्डर्ली केयर’ निवासमा गरेको वार्तालापको सारसंक्षेप)

मन्त्री ज्यू,दिन कसरी बिताइरहनु भएको छ ? स्वास्थ्य अवस्था कसतो छ ? बताइदिनु होस् न ।

मेरो अवस्थादेखि हाल्नु भयो । चर्पीमा नै एक घण्टा बढी लाग्छ । दुई घण्टा त तपाईहरुलाई कुराएँ चर्पी जान दुईवटै हातले लठ्ठी टेकेर जान्छु । घाँटीमा समस्या छ । माथि पट्टीको दाँतको कारण स्वर लरबरिन्छ । तर खाना राम्रै खान्छु । पढ्न, छलफल गर्न, टेलिभिजन हेर्न समस्या छैन । हिड्न सक्दिन । भेट्न आउनेसँग छलफल हुन्छ । यस्तै छ मेरो हाल (हाँसो)

यहाँको बाल्यकालबारे केही नयाँ पुस्तालाई भन्न मिल्छ ?

मेरो बुवाको नाम खोलागाउँ मनाङका लामिछाने थरका सुब्बा नरजङ्ग गुरुङ हो । राणा श्री ३ सरकारले हाम्रो खलकमा जन्मनासाथ छोराले सुब्बा पद पाउने बख्सिस दिएका थिए । खोलागाउँ लामिछाने गुरुङको राजधानी हो । यशोब्रम्हा शाहले मनाङ कब्जा गरेपछि एकथरी मगरलाई ठकुरी थरदिएर जनेउ लगाउने हक दिएर क्षेत्री भयौं भनेका रहेछन । त्यसैबेला देखि हाम्रो खलक राजा त भएन शासन हामै खलकको थियो । म त्यो खलकमा हुर्केको हुँ । लामीछाने गुरुङ राजाको २२ औँ पुस्ता हामी हौं । राजकाज नभएपनि तिब्बतसँगको थाकखोला र मनाङको भन्सार ठेक्का बुवाको जिम्मामा राणाकालसम्म नै थियो ।

त्यसबेला मुख्य व्यापार के थियो र करको दर के कति थियो त ?

कानूनी रुपमा दासप्रथा हटेपनि व्यवहारमा कायमै थियो । एउटा दासको मोल ५ रुपैया थियो । तिब्बतबाट ल्याउने नुनको प्रतिभारी १ रुपैया कर लाग्थ्यो । जङ्गबहादुरका १७ भाईले दाजुको खलक मारेर भाई रणोद्धिप काजी भए । उ पनि मारियो र कान्छो धीरशमशेर श्री ३ महाराज भए ।  तिब्बतबाट नुन ल्याउन २ महिना लाग्थ्यो । तराईतिर औलो र जङ्गली जनावरका कारण जान डराउँथे । सरकारले नुन सस्तो पार्ने उपाय खोज भन्यो । बाजे मनिलाल गुरुङले अधिकार बक्स भएर गर्छु भन्नु भएछ । हुकुम प्राप्त भयो । बाजेले भिर भएको ठाउँमा काठको रोपवे जस्तै बनाएर ठाउँ –ठाउँमा बोक्ने नपर्ने गराएर १५ दिन घटाउनु भएछ । गोरखाको लार्के भन्ञ्याङ्ग माग्नु भएछ । त्यो पनि आयो । धीरशमशेरसँग लालमोहर मागेर ५ सय मिलिसिया बनाएर व्यापारको सुरक्षा भएछ । लार्के भन्ञ्याङ्ग (गोरखा) र मनाङको गरी दुईवटा नाका खुल्यो । मुस्ताङको थाकखोला नाका बुवाको पालामा हाम्रै भयो ।
बुवाले नुनको भन्सार कर मिनाहा गरेर नुन अझ सस्तो पार्नु भएछ । थाकखोलामा कम व्यापार हुन्थ्यो । यताकालाई मात्र के तिरो उठाउने भनेर त्यहाँ पनि मिनाहा भयो । हामी घाटामा भयौं । त्यही कारण राणाहरुले भैरहवा नाकाको ठेक्का बुवालाई दिएका रहेछन् । त्यसबेला चार आना (१ सुका)को १० पाथी चामल आउँथ्यो ।

मन्त्री ज्यूको शिक्षा दीक्षा के कस्तो रह्यो त ?

जुद्ध शमशेर श्री ३ हुँदा म ९ वर्षको थिए । वि.सं. १९८८ मा जन्मेको हुँ । त्यतिबेला २००३ सालमा मध्यमाको जाँच दिन बनारस गए । त्यसबेला संस्कृत मात्र पढाई हुन्थ्यो । बाहुनले मात्र पढ्न पाउँथे । पढेको पैसा लाग्दैनथ्यो । भारतमा अङ्ग्रेज विरुद्ध आन्दोलन चलिरहेको थियो । कमिज, पाइन्ट लगाउन पाइदैनथ्यो । बनारसमा हिन्दु विश्वविद्यालयमा अङ्ग्रेजी पढ्न गएको थिए । त्यहाँ त ‘हामीले अङग्रेज लखेट्दैछौँ, तिमलाई किन अङग्रेजी पढ्न पर्यो’ ? भन्न थाले । संस्कृतिमा धर्म, देवता, कर्मकाण्ड पढेको त्यता त हिन्दीमा सुकरात, हेगेल, चीनको क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम सबै हिन्दीमा नै पढाउने रहेछन् । अंग्रेजहरु भारत धान्न नसक्ने अवस्थामा पुगिसकेका रहेछन् ।

तपाईको राजा महेन्द्रसँग कहाँ कसरी भेट भएको हो ?

२००९ सालमा दिल्ली थिए । राजा महेन्द्रको सवारी रहेछ । उमानाथ जैशीले चिन्थे । उनी ज्योतिष थिए । चिना बनाउँथे । उनैले मलाई राजा महेन्द्रसमक्ष लगे । लामो चिनचान भएझै खुलेर छलफल भयो । म तिब्बतबाट दिल्ली गएको थिए । मलाई मातृका प्रसाद कोइरालाले पक्राउ पूर्जि कटाएका थिए । मेरो घरमा सेनाले राहुल सांस्कृत्यायनको ‘भागो नहीं दुनियाँको बदलो’ भन्ने किताब भेटेपछि कम्युनिष्ट भनेर त्यसो गरेका थिए । राजकुमारले खबर पठाएकाले गिरफ्तार भएपनि होस् भनेर भेट्न गएको थिए ।

तपाई त चीन गएर चाउ एनलाई र माओत्सेतुङसंग पनि भेट्नु भयो । कसरी किन जानु भएको हो ?

महेन्द्रले चीन गएर माओसँग सम्बन्ध गाँसेर आउन सक्छौ भनेका थिए । महेन्द्र त्रिभुवनबिच राम्रो थिएन । म चीन जान तयार भए । गुपचुप जानु पथ्र्यो । २० जना हतियारधारी, खर्चपानी तयार गरेर तिब्बत गएँ । एक्लै जाँदा लुटपाट हुन्थ्यो । तिब्बतसंँगको व्यापार खोलिदिएको कारण हाम्रो खलकलाई चिनियाँहरुले विश्वास गर्थे । मलाई १ महिना तिब्बतमा नै राखे । त्यसपछि बेइजिङ जाने व्यवस्था गरे । महेन्द्रले काङ्ग्रेसले देश भारतलाई बुझाउँछ भन्ने ठानेर सुरुदेखि नै विकल्प खोज्दैरहेछन् जस्तो लाग्छ । त्यही भएर मलाई चीन पठाएका होलान् ।

चीनका नेताहरु को-को सँग भेट्नु भयो ? भेटघाट कस्तो रहेको थियो बताइदिनु होस् न ।

पहिलो भेटघाट परराष्ट्रमन्त्रीसँग भयो । त्यसपछि प्रधानमन्त्री चाउ एनलाईसँग भेटघाट भयो । त्यसपछि राष्ट्रपति तथा पार्टीका अध्यक्ष माओत्सेतुङसँग भेटघाट भयो । माओका लागि चिनियाँ र नेपाली दुवै भाषा जानेका दोभाषे दार्जिलिङबाट ल्याएका रहेछन् । औपचारिक कार्यक्रममा चिनियाँहरु विदेशी भाषा प्रयोग गर्दैनथे । माओ एककदै सरल, सामान्य उठबस र ठुलो मान्छे हुँ भन्ने भाव नै नदिने नेता रहेछन् । फौजको घेरामा शहर भन्दा अलि बाहिर बस्ने व्यवस्था रहेछ । भारतबाट खतरा भयो । कदम चाल्दा साथ दिनुपर्यो भन्ने महेन्द्रको अपेक्षा छ भने । माओत्सेतुङले हामी आफै अफ्ठयारोमा छौँ । तर सकेको सहयोग गर्छौँ भनेका थिए । राजतन्त्र रहुन्जेल यो कुरा सार्वजनिक गरेको थिएन । २०३६ सालमा दोस्रो पटक चीन गएँ । पुरानो कुरा झिक्दा त्यो त हाम्रो रेकर्डमा नै छैन भने ।

राजा महेन्द्र भारत र काङ्ग्रेसप्रति नकारात्मक किन भए ? खास कुरा के हो त ?

महेन्द्रले पटक–पटक बरु कम्युनिष्ट बन्न तयार छु । भारतको दासत्व स्वीकार गर्दिन भन्थे । उनले बाहुन, क्षेत्री र मधेसीहरु भारतप्रति नरम हुनसक्छन् भनेर जनजातिमा भरपर्न खोजेका थिए । जनजातिलाई पनि आर्थिक अवसर दिनुपर्छ भन्थे । त्यसैले माओले महेन्द्रलाई कम्वोडियाका नरोत्तम सिंहानुकसँग तुलना गरेका थिए ।

राजा महेन्द्रको स्वभाव, आनीबानी त्रिभुवनले मन पराउँदैनथे भन्ने गरिन्छ नी ।

महेन्द्र स्वाभिमान र स्वतन्त्र बाँच्न खोज्थे । रात्री क्लवमा गएर नाच्थे । गाउने पनि गर्थे । हुनेवाला राजाको अनुशासन भएन भन्थे रे । जुद्ध शमशेरको नातिनी इन्दुसँग महेन्द्रको विवाह भएको हो । रत्न साख्य बहिनी हुन् । त्रिभुवन इन्दुपछि राणाकै छोरीसँग विवाह नहोस् भन्न चाहन्थे । रत्नको मगनी पश्चिमको एकजना ठकुरीसँग भइसकेको थियो । रुम्जाटारकी उमा गुरुङबाट रविन्द्र शाह जन्मिसकेका थिए । महेन्द्रकी जेठी श्रीमतिको नाम उमा जस्तो लाग्छ । इन्द्रराज्य लक्ष्मी दोस्रो विवाह हो । त्रिभुवनले हिमालयलाई बढी मनपराउँथे । त्यही भएर कतै मलाई युवराज घोषणा नगर्ने हुन् कि भन्ने महेन्द्रलाई परेको हुन सक्छ । यो कुरा मलाई थाहा भएन । त्यसो भयो भने विद्रोह गर्नुपर्छ भनेर मलाई जनजातिहरु संगठित गर्न भनेका हुन् भन्ने पनि छ । तर सबै कुरा थाहा भएन ।

मन्त्रीज्यू प्रसङ्ग बदल्न चाहन्छु, योगी नरहरीनाथसँग तपाईको भेट भयो कि भएन ? उनी पनि कट्टर राजभक्त भन्छन् ? यहाँको धारणा ….।

नरहरीनाथलाई भेट्न सूर्यबहादुर थापा गइरहन्थे । एकपटक म पनि गएँ । उसले त जनजातिलाई सङ्गठित गरेर दबाब सृजना गरेर रविन्द्रलाई अधिराजकुमार बनाउनु पर्यो । गुरुङनीको छोरो हो न्याय हुन्छ भन्यो । मैले महेन्द्रको विरुद्ध जान्न भने । रबिन्द्र शाहलाई भारत बसेर नेतृत्व गर भनेका रहेछन् । उनले पनि मानेनन् । राजा र काङग्रेसलाई लडाउने, दरबारमा भाँडभैलो पार्ने र भारतको भूमिका बढाउने दाउमा नरहरीनाथ रहेछ । त्यसैले योगी नरहरीनाथ ‘र अ’ मान्छे जस्तो लाग्छ । नरहरीनाथ र सूर्यबहादुर थापाको निकटता अर्थपूर्ण रुपमा थियो ।

तुलसी गिरीको मन्त्रीमण्डलबाट तपाईले किन राजिनामा दिनु भएको हो ? बताइ दिनुहोस् न ।

लम्जुङमा एउटा घटना भयो । बाहुनहरुले माफ मागेर बसे । त्यही विषयमा गुरुङहरु पनि गल्ती भयो, बुझेनौ भन्न गएछन् । उनीहरुलाई आज बस भोलि जाउँला भनेछन् । राती जङ्गलमा लगेर खाल्डो खन्न लगाएर गोली ठोक्दै त्यही खाल्डोमा ढाल्दै गरेछन् । एउटै घटनामा गुरुङलाई मात्र झुक्याएर ५० जनालाई मारे । मलाई गुरुङहरु घेर्न आए । यत्रो गुरुङ मारिए । तँ मन्त्री भएर के गरिस् ? भन्न थाले । मैले मत्रीपरिषदको बैठकमा कुरा उठाए । तुलसी गिरी बोलेनन् । महेन्द्रले ‘हो र त्यसो भयो ! म बुझ्छु’ भनेका थिए । जवाफ नआएपछि राजिनामा दिए । सिंहदरबार गइन । महेन्द्रले सोच नत्र हटाउँछु भने । मैले फिर्ता लिइन । त्यसपछि स्वीकृत गरे । राजाले मलाई भन्दा बिग्रेको काङ्ग्रेस गिरीलाई विश्वास गर्यो । आफ्नै घर भाँड्नेले अर्काको घर बनाउँदैन नी ।

मन्त्रीज्यू, तपाई जेल पनि बस्नु भयो । के आरोप थियो व्यवस्थाको तपाईमाथि ?

२०२५ सालमा जनजातिलाई उक्साएको आरोपमा पक्राउ गरेर २ वर्ष ६ महिना जेल हाले । मलाई पोखरा व्यारेकमा राखेका थिए । जनजातिको सङ्गठन बनाउन लगाउने नै राजा महेन्द्र हुन् । २०२४ तिर सूर्यबहादुर मन्त्री भइसक्यको थियो । पञ्चायती व्यवस्थामा भारत परस्तहरु हाबी हुँदै गए । भारत विरोधी भनिएकाहरुलाई कुनामा पार्दै लगियो । सूर्यबहादुरलाई शक्तिमा ल्याएको भारतलाई खुशी पार्न रहेछ । भारतलाई खुशी बनाउन मलाई जेल हालेका हुन सक्छन ।

राजावादीहरुबारे यहाँको धारणा ?

ज्ञानेन्द्र आफै लठुवा खालको मान्छे छ । राजा भएकै हो बचाउन सकेन । अब आएर के नै हुन्छ र ! मोदीलाई पनि भुटानको जस्तो कठपुतली राजा चाहिएको छ । भुटानले त छोड्दैछ । (हाँसो)

प्रसङ्ग बदलौँ, तपाईले देव गुरुङमार्फत २०५१ सालमा माओवादीलाई हतियार दिनु भएको भन्ने चर्चा छ नी ?

देव गुरुङका बाउ बाजेहरु हाम्रा भरिया, सहयोगी थिए । हामीले नै पढ्ने व्यवस्था गरिदिएको हो । त्यसैले उनीमाथि विश्वास थियो । देव गुरुङ म नभएको बेला घरमा आएर शिकार खेल्न जान लागेको भनेर भाउजुसँग मागेर लिएका रहेछन् । त्यसरी २ वटा जर्मन राईफल लगेको हो । लमजुङको गणेश बहादुर गुरुङले पनि बारबोर दियो भन्थ्यो । मलाई त्यो कुरा थाहा भएन । हामी राजा खलक, भन्सार ठेकेदार, तिब्बतका विश्वास पात्र, राजाका विश्वास पात्र र मिलिसिया निर्माता तथा खम्बाहरुसँग लडेर बसेका कारण हतियार थुप्रै थिए ।

मन्त्रीज्यू, एमसीसी सरकारले पारित गरेको छ । यसको विषयमा यहाँको धारणा ..?

चीन विश्व शक्ति बन्दैछ । त्यसैले उसलाई शान्ति चाहिएको छ । अमेरिका कमजोर हुँदैछ । त्यसैले उसलाई युद्ध चाहिएको छ । हतियार बाहेक अमेरिकाले बेच्ने कुरा पनि छैन । तर अमेरिका आयो भने चीनले छोड्दैन भन्ने मेरो सूचनामा छ । त्यसैले प्रचण्ड र देउवाले नेपाललाई युक्रेन बनाउदैछन् । काङ्ग्रेस दिल्लीको इसारामा बनेको पार्टी हो । त्यसको के कुरा गर्नु ! प्रचण्ड पनि राष्ट्रघाती बनेर आयो ।

मन्त्रीज्यू , समय दिनु भयो धन्यवाद छ र सुस्वाथ्यको कामना गर्दछौँ । अन्तीममा थप केही भन्न चाहनु हुन्थ्यो कि ?

विप्लवसँग राष्ट्रवादी छवि देख्छु । उसले गरेको कुरा र काम राम्रो छ । विप्लव कमरेडलाई नभेटेको धेरै भयो । भेट्न मन लागेको छ । भेट भयो भने खबर गरिदिनु होला ।
(पुष्पलाल श्रेष्ठका अनुरागी स्थानेश्वर दवाडी, भरतपुर, क्षेत्रपुर, चितवन हाल बुढानिलकण्ठ निवासीको सहयोगमा गरेको वार्तालापको सम्पादीत अंश)

१३ कार्तिक २०८० जनपत्रिका अनलाइनमा प्रकाशित 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।