खगेन्द्रजङ्ग गुरुङ
चीन प्रगति र शक्ति आर्जनको दिशामा भएको कारण उसलाई शान्ति चाहिएको छ । तर अमेरिका ओरालो लागेको कारण उसलाई युद्ध चाहिएको छ । युद्धद्वारा उसले समस्याको समाधान गर्न चाहन्छ । त्यही भएर उसले एमसीसी ल्याएको हो । एमसीसीको कारण चीन पनि चुप लागेर बस्दैन ।
भारतलाई नेपालमा भुटानजस्तो राजा चाहिएको छ । भुटानले त स्वतन्त्र हुने चाहना छोडेको छैन । एमसीसीमा अमेरिकालाई साथ दिएमा भारतलाई चीनले छोड्दैन । अमेरिका आयो भने चीनले आफ्नो सुरक्षाको कारण सजिलै छोड्दैन ।
२००३ सालको मध्यमाको परीक्षा दिन म वनारस गएको थिएँ । संस्कृत भाषामा निशुल्क पढ्न पाइन्थ्यो । तर बाहुनलाई मात्र पढ्ने अवसर थियो । अङग्रेजको विरुद्ध आन्दोलन चलिरहेको थियो । कर्नाटका, हैदरावादमा मुस्लिम राजा थियो । स्वतन्त्र देश नरहने अवस्था आएमा उनीहरू पाकिस्तानमा रहन चाहन्थे । जनताको बहुसंख्या हिन्दु थिए । काश्मिरमा हिन्दु राजा थिए । जनताको बहुसंख्या मुस्लिम थिए । काश्मिरको विषयमा संयुक्त राष्ट्रसंघमा जनमत सङ्ग्रहको प्रस्ताव पारित भयो । जनतालाई फैसला गर्न दिने भन्ने भयो । तर भारतले मानेन ।
वनारसको हिन्दु विश्वविद्यालयमा उत्तराञ्चल र दार्जिलिङका प्रतिनिधिहरूको भेला सन् १९४७मा भएको थियो । ती स्थानका नेपाली भाषीहरूको भविष्यलाई लिएर के गर्ने, कहाँ रहने ? भन्ने थियो । दार्जिलिङ, कालेबुङले नेपालमा रहने विचार राखे । देहरादुनतिरकाले भारतमै रहने भनेका थिए । त्यस विषयमा भनाभनसम्म भयो । कुमाउ, गढवालबाट आएकाहरू बिचमै उठेर गए ।
भारत अस्थिर थियो । गठन–पुनरगठन चलिरहेको थियो । म वनारस पढ्दै थिएँ । बुवाको मृत्यु भइसकेको थियो । मोहन शमशेरले काठमाडौं बोलाएका थिए । बालकृष्ण सम, ज्ञानमणी, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा सबैजना थिए । त्यसबेला गुरुङ जातमा अङ्ग्रेजी भाषा बुझ्ने अरु कोही थिएनन् । त्यही समयमा डम्बरसिंह, रणवीर सुब्बा नेपाल आए । त्यो भेलामा वरिष्ठ व्यक्तित्व भएको कारण लेखनाथ पौडेललाई बोल्न लगाएका थिए । लेखनाथ पौडेलले त दार्जलिङमा क्रिश्चियन भएको कारण नेपालमा गाभ्न हुँदैन पो भने । अरुले पनि त्यसै भन्न पो थाले ।
हाम्रो खलक राजाको विश्वासपात्र थियो । हाम्रो खलकले मनाङ, मुस्ताङ र लमजुङमा शासन गरेको हो । भैरहवाको भन्सार हाम्रै थियो । त्यसोभएको हुनाले २००७ सालपछि पनि हामी काङ्ग्रेसमा गएनौं । २०१७ सालपछि दमन भयो । मेरो कोठामा ‘भाग्ने होइन, संसारलाई बदल’ भन्ने राहुल सांकृत्यायनको पुस्तक थियो । त्यो किताब देखेर कसैले चुक्ली लगाएछ कि खगेन्द्र त कम्युनिस्ट भएछ भनेर गिरफ्तार गर्न आए । खम्पा विद्रोहमा पनि आशंका गरेका थिए । चिनियाँहरूले तिब्बतमा स्थानीय सरकार चल्न दिएका थिए । दलाई लामा भागिसकेको थियो । हाम्रो भैरहवामा मौजा थियो । त्यहाँ राजा महेन्द्रको साथमा उमानाथ पनि आएका थिए । उनले ‘सुब्बा साप होइन त ?’ भन्यो । उसैले मलाई तिमी ‘वारेण्टेड’ छौ भनेका थिए । उमानाथ जैसीले राजा महेन्द्रसँग भेट्न लगे । महेन्द्रले लामो अन्तरङ्ग कुरा गरे । त्यसबेला म दिल्ली थिएँ । राजा दिल्ली गएको बेला त्यो छलफल भएको थियो । त्यो २००९ सालको कुरा हो । मातृकाप्रसाद कोइरालाले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो र मलाई पनि कम्युनिस्ट भनेर पक्राउ पुर्जी काटेको थियो । म त्यसबेला तिब्बतबाट सिधै दिल्ली गएको थिएँ ।
राजा महेन्द्रले ‘बरु कम्युनिस्ट बन्न तयार छु; भारतको चाकरी गर्दिन’ भन्थे । मैले महेन्द्रलाई सहयोग गर्ने बचन दिएँ । आर्थिक अवसर सबैलाई दिनुपर्छ भन्ने धारणा राजा महेन्द्रको थियो । २०३६ सालमा म दोस्रो पटक चीन भ्रमणमा गएँ ।
राजा महेन्द्रमा स्वाभिमान थियो । खुला र स्वच्छन्द विचारका थिए । रात्री क्लबमाा गएर नाच्थ्यो, गाउँथ्यो । जुद्ध शमशेरको नातिनी रत्न हो । इन्द्र राज्यलक्ष्मीकी साख्यै बहिनी हुन् । गर्भपतन गराउने औषधी खुवाउँदा इन्द्रको मृत्यु भएको हो । अस्पताल लगेर गर्भपतन गराएको भए मर्ने थिइनन् । मृत्युको मुखमा पुगेको समयमा इन्द्रले मेरै बहिनी विवाह गरिदिनु भनेकी रहिछिन् । वीरेन्द्रलाई राजा बनाउँदैनन् कि भनेर त्यसो भनेको होला ।
रत्न राज्यलक्ष्मीको पश्चिमको एकजना ठकुरीसँग मगनी भइसकेको थियो । महेन्द्रसँग रत्नको विवाह भएपछि त्यो ठकुरी केटो पागल भएछ । त्रिभुवनको राणा परिवारसँग महेन्द्रको विवाह नहोस् भन्ने चाहना थियो । महेन्द्रको स्वभाव पनि त्रिभुवनलाई मन परेको थिएन । त्रिभुवनका छोराहरू महेन्द्र, हिमालय र बसुन्धरामध्ये माहिलो छोरा हिमालयलाई अधिराजकुमार बनाउन चाहन्थे । त्यो कुरा थाहा पाएका महेन्द्रले पितासँग विद्रोह गर्ने तयाी गरे । त्रिभुवनको स्वास्थ्य बिग्रेर गएको थियो । त्यसकारण त्रिभुवन पछाडि हटे ।
जुद्ध शमशेरको उठबस भारतका राजाहरूसँग थियो । जुद्ध शमशेरकी आमा मुस्लिम भन्थे । मुस्लिमकी पनातिनीसँग छोराको विवाह चाहन्नथे त्रिभुवन । महेन्द्र र रत्नको विवाह नागार्जुन दरवारमा भएको हो । अर्काकी मगनी भइसकेकी केटी महेन्द्रले खोस्यो भन्ने गाइँगुइँ चल्यो । विवाहमा धेरै मान्छे भएनन् भन्ने सुनिन्थ्यो । महेन्द्र जोखिम मोल्न सक्ने र प्रभावित पार्न सक्ने व्यक्ति थिए ।
इन्द्र राज्यलक्ष्मी महेन्द्रभन्दा ३ वर्ष जेठी थिइन् । रुम्जाटारकी उमा गुरुङ महेन्द्रकी जेठी श्रीमती हुन् । उनबाट जन्मेका रविन्द शाहको घर रुसी साँस्कृतिक भवन भएको स्थान, कमलपोखरी थियो । त्यो जग्गा बेचेर रविन्द्र शाह पछि कालीमाटी, सोल्टीमोडतिर सरे ।
म महेन्द्रलाई भेट्न जाँदा योगी नरहरीनाथ र सूर्यबहादुर थापा पनि गएका हुन्थे । नरहरीनाथले रविन्द्र शाहलाई ‘तिमी भारतमा बसेर नेतृत्व गर, हामी लड्छौं । तिमी जेठो छोरा, गुरुङ्नीको छोरा, अन्याय भयो । राजा बन्नुपर्छ’ भनेका रहेछन् । तर रविन्द्रले मानेनन् । जनजाति उचालेर, दरबारमा कलह ल्याएर देश अस्थिर बनाउने भारतको रणनीति बोकेर नरहरीनाथ हिंडेको थियो । त्रिभुवनले महेन्द्रलाई अधिराजकुमार बनाउन आलटाल गर्दा महेन्द्रले मलाई जनजातिको सङ्गठन बनाउन र अधिकार माग्न, लड्न उक्साएका थिए । आफ्नो स्वार्थको लागि जनजातिको विषय सबैभन्दा पहिले उठाउने राजा महेन्द्र नै हुन् ।
उसबेला राजा विष्णु भगवानको अंश भएको कारण गोडा ढोयो भने गर्भ रहन्छ भनेर बच्चा नभएकाहरू गोडा ढोग्न आउँथे । महेन्द्रले गोडा ढोग्ने चलन हटाए । पार्टीको नाममा कसैको गधा नबन; सोझै मसँग सम्पर्क गर । म सहयोग गर्छु । आ–आफ्नो विकास आफै गर भन्थे । महेन्द्रले तुलसी गिरी, बिग्रेको काङ्ग्रेस बोकेर हिंडे । ‘आफ्नो घरमा आगो झोस्नेले अर्काको घर बनाउन्न सरकार’ भनेको थिएँ । महेन्द्रले सुनेनन् । कालान्तरमा वीरेन्द्रको पालासम्म पुग्दा त सूर्यबहादुर थापाको हालिमुहाली भयो । मलाई जेल हाले । दरबार र पञ्चायती व्यवस्थाभित्र पनि भारतको प्रभाव बलियो भएर गयो । पञ्चायतभित्र समेत लगातार अस्थिरता भयो । त्यसबेला ‘रअ’का मान्छेहरू मलाई भेट्न आएका थिए । मैले मन्त्रीबाट राजिनामा दिएको समय थियो । मैले हाम्रो आन्तरिक विषय भएकोले महत्व दिइन । म राजा र देशको विरुद्ध जाने सोच भएको मान्छे थिइन ।
२०१७ साल अगाडि नै एकदलीय, राष्ट्रवादी व्यवस्था ल्याउन जनजाति सम्मेलन गर्न महेन्द्रले लगाएका थिए । गुरुङहरूको सङ्गठन बनाएँ । २०२५ सालमा गुरुङलाई उचाल्यो भनेर गिरफ्तार गरे । त्यो काम महेन्द्रले लगाएर नै गरेको हो । २०२४ सालमा सूर्यबहादुर थापालाई प्रम बनाएको राजा चीनतिर छैन है भनेर भारतलाई खुसी बनाउन हो । २०२२ सालमा भृकुटी मण्डपमा माओको फोटो च्यात्ने रामचन्द्र पौडेल हो । त्यही मान्छे अहिले प्रचण्डको राष्ट्रपति भएको छ । २०२३ सालमा पोखरामा जनजाति सम्मेलन गरेर म अध्यक्ष भएँ । जसमा लक्ष्यबहादुर गुरुङ, गणेशबहादुर गुरुङलगायत थिए ।
अहिलेको राजा त व्यापारी न हो । व्यापार र राजनीति सँगै जाँदैन । प्रचण्ड र देउवाले एमसीसी ल्याएर देशलाई ठूलो दुर्घटनातिर लगेका छन् । ओली आफ्नो नेतृत्वमा एमसीसी पारित गरेर अमेरिकाको चाकरी बजाउन चाहन्थे । नेपालमा अमेरिका आयो भने चीन पनि आउँछ । हिजो मलाई भेट्न एउटा चिनियाँ आएको थियो । नेपालमा अमेरिका आयो भने हामी छोड्दैनौं भन्थ्यो । यिनीहरूले देशलाई युक्रेनको अवस्थामा धकेल्दैछन् ।
(पूर्वमन्त्री खगेन्द्रजङ्ग गुरुङसँग २०८० कार्तिक गैरीधारा, लाजिम्पाटस्थित निवासमा अनिल शर्मासँग भएको छलफलमा व्यक्त धारणाको सम्पादित अंश)
स्राेत: जनपत्रिका आठाैँ अङ्क