
सर्लाही । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सहिद कुमार पौडेलको ७ औं स्मृति दिवस सर्लाहीमा मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टीकाे आयाेजनामा सर्लाहीको हरिवन नगरपालिका ६ स्थित चार्लिकमा पौडेलको स्मृति दिवस बिहीबार मनाइएको हो ।
तत्कालीन ओली सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको बेला सरकारद्वारा हत्या गरिएका पौडेलको स्मृतिमा आयोजित कार्यक्रममा सहिद कुमारको क्रान्तिकारी छवि, गतिशीलता र व्यक्तित्व एवम् स्वभावका विभिन्न आयामबारे चर्चा गर्दै स्मृति दिवस मनाइएको छ ।
स्मृति दिवसमा बोल्ने वक्ताहरुले कुमार पाैडेलले भुमिहिन, सुकुम्बासी तथा तल्लाे वर्गका नागरिकहरुका लागि खेलेकाे भूमिकालाई सम्झीदै उनकाे राजनीतिक वैचारिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पवन महताेले कुमारलाई नियन्त्रणमा लिएर नक्कली मुडभेटको नाममा ९ वटा गाेली हानेर क्रूरतापूर्वक हत्या गरेको बताए ।
उनले जनताको वर्ग मुक्तिको आन्दाेलनमा कठिबद्ध भएर लागेको, सुकुम्बासीहरुकाे व्यवस्थापन गर्न लागि परेको सागरनाथ वन विकास परियाेजनाकाे लुटतन्त्रका विरुद्ध नेपाल आयल निगमकाे जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै साे जमिनमा झण्डा गाडेका कारण उहाँलाई षड्यन्त्र गरेर हत्या गरेको बताए ।
मिटरव्याज पीडित किसान मजदुरहरुकाे पक्षमा र भ्रष्टाचार विराेधी आन्दोलन निर्माण गर्न खोजेबापत केहि जनविरोधीहरुले हत्या गरेको पवनको भनाइ थियो ।
त्यस्तै नेकपा नेता कमल सुस्लिङले सागरनाथ वन विकास परियाेजनाले अहिले पनि सुकुम्बासीहरुमाथि प्रहार गर्ने तयारी गरिरहेकाे भन्दै कुमार पौडेलको सपना पूरा गरि छाड्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपालबाट डिआर यसपी गौरव, लघुवित्त तथा मिटर व्याज पीडित संघर्ष समितिकी केन्द्रीय सदस्य शकुनी र अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य ल्वाङ्गसिहलगायत दर्जनौं व्यक्तिहरुको सहभागिता रहेको थियो ।
१ मिनेट माैनधारण गर्दै कुमार पाैडेलकाे फाेटाेमा अविर मालासहित सुरु भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सुस्लिङले अध्यक्षता गरेका थिए भने नेकपाका शकुनीले स्वागत भाषण गरेका थिए ।