
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले विभिन्न वर्तमान राजनीतिक दलका नेताहरुसँगकाे राजनीतिक भेटलाई तिब्रता दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले शुक्रबार नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहसँग भेटवार्ता गरेका छन् ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले शुक्रबार नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग वर्तमान राजनीतिक परिस्थिति र दिशाबारे छलफल गरेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भएको भेटवार्तामा माओवादी आन्दोलन र यसको क्रान्तिकारी एकिकरणको विषयमा गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा देशको वर्तमान समस्याको समाजवादी नयाँ समाधानको विषयमा छलफल हुनुको साथै वैचारिक विकास र वैकल्पिक नेतृत्व प्रदान गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा साम्राज्यवादी षड्यन्त्र र दलाल पुँजीवाद एवम् सामन्तवादले देशलाई जर्जर अवस्थामा पुर्याएको विषयमा छलफल हुनुको साथै अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनलगायतको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
साथै भेटवार्तामा दुई पार्टीबीच सहकार्य र सहयोग आदान-प्रदान गर्ने सहमति समेत भएको बताइएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहबीचको भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका टुटफुट र विभाजनका श्रङ्खलाहरुका विषयमा छलफल हुनुका साथै कम्युनिस्ट क्रान्तिकारीहरुको एकता, संयुक्त मोर्चा र सहकार्यको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
दुई पार्टीबीचका शिर्षस्थ नेताहरुबीच भएको उक्त भेटवार्तामा देशको संकटपूर्ण अवस्था र यसको निकासका निम्ति साझा कार्यक्रम र साझा प्रयास अगाडि बढाउने सहमति भएको बताइएको छ ।
उक्त भेटवार्तामा पछिल्लो समय विश्वमा चलिरहेको साम्राज्यवादी युद्ध र त्यसको प्रतिवादको विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
साथै उक्त भेटवार्तामा दुई पार्टीबीच वैचारिक छलफल र बहसलाई अगाडि बढाउने सहमति समेत भएको बताइएको छ ।