
काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरुले नेपालमा भ्रष्टाचार संस्कृति जस्तै भयो भनेर नयाँ व्यवस्थाबाट समाधान खोज्न विज्ञहरुले दिएका छन् ।
अर्थविज्ञहरुले राजनीतिक नेतृत्व तहमा भ्रष्टाचार विना टिक्नै नसक्ने जस्तो संस्कृति देखिएको बताएका हुन् ।
उनीहरुले नेपालमा बढदै गएको भ्रष्टाचार अहिलेको दलाल संसदीय व्यवस्थाबाट हल हुन नसक्ने र नयाँ व्यवस्था र राज्य प्रणाली चाहिनेमा जोड दिएका छन् ।
नेकपा निकट भ्रष्टाचार अध्ययन समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र र भ्रष्टाचार’ विषय अन्तरक्रिया कार्यक्रममा बाेल्ने अधिकांश अर्थविज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् ।
अर्थविज्ञहरुले समस्याको पहिलो मूल जरो दलाल पुँजीवाद भएको र पुँजीवादलाई टिकाउन त्यसअन्तरगत बनाइएका कानुनहरु भएको दाबी गरेका छन् ।
विज्ञहरुले दलाल पुँजीवाद रहँदासम्म नेपालमा भ्रष्टाचारमा कमि नहुने विचार राखेका छन् ।
नेपाल राष्ट्र बैङकमा पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले भ्रष्टाचार विभिन्न मोडालिटीबाट हुने गरेको खुलासा गरे ।
उनले भ्रष्टाचार संस्कृति जस्तै भएको भन्दै नेपालमा भ्रष्टाचार नगरेसम्म टिक्न नसक्ने भएको जिकिर गरे ।
‘सार्वभौम सत्ता बेचिएको छ, कोशीमा भारतीय पोष्ट राखिएको छ, अध्यादेशबाट नियुक्त संवैधानिक निकायका पदाधिकारीहरुको सर्वोच्चमा परेको मुद्धामा अदाललत वैधानिकता दिन्छ । यी भ्रष्टाचारजन्य कार्य हुन्’ पूर्वगर्भनर क्षेत्रीले भने । उनले भ्रष्टाचार संस्कृति जस्तै भएको भन्दै यसलाई नरोकेसम्म देशको आर्थिक बृद्धिदर उकालो नलाग्ने बताए ।
कार्यक्रममा पूर्वमहालेखा नियन्त्रक सुकदेव भट्टराईले सांसदहरु मन्त्री हुने व्यवस्था खारेज नगरेसम्म भ्रष्टाचारमा कमी नहुने ठोकुवा गरे ।
‘सांसदहरुको नीति र कानुन बनाउने काम हो, मन्त्री हुन मिल्दैन । त्यो व्यवस्था गरिनु पर्छ’ उनले भने, ‘मैले सांसदहरुको निर्वाचन क्षेत्रमा दिने गरिएको ५ करोड रकम बन्द गरिनु पर्ने पनि आवाज उठाए । अहिले अदालतबाट बन्द गरिएको छ । सांसद कोषको बजेट दुरुपयोग भएको थियो ।’
पूर्वमहालेखा नियन्त्रक भट्टराईले स्वीजरल्याडमा सांसदहरु मन्त्री नहुने व्यवस्था भएको उदाहरण दिदै स्वीजरल्याण्ड हाम्रो भन्दा धनी देश छ, विज्ञहरुबाट कार्यपालिका हुँदा राम्रो भएको छ, भ्रष्टाचार कम छ भने ।
उनले जहाँ सरकार त्यहाँ भ्रष्टाचार हुने गरेको भन्दै ०४७/४८ तिर नेपालको आर्थिक वृद्धिदर ७/८ प्रतिशत रहेको जिकिर गर्दै अहिलेसम्म नेपालको आर्थिक वृद्धिदर साढे ४ प्रतिशत भन्दामाथि नभएको बताए ।
उनले राजनीतिक प्रणाली र व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार नियन्त्रण नहुने र आर्थिक बृद्धि पनि नहुने विचार राखे ।
अन्तरक्रिया कार्यक्रममा प्राध्यापक गुमानसिंह खत्रीले राज्यसत्ता परिवर्तन विना भ्रष्टाचार अन्त्य नहुने बताए ।
उनले उत्पादन प्रणालीलाई नवउदारवादबाट उदारीकरणतिर लिनुपर्नेमा जोड दिए । सरकारले उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई दिएमा राष्ट्रिय पूजीको विकास हुने धारणा राखे ।
‘देशमा समस्या छ, गम्भीर संकट छ, यो राजनीतिक र सामाजिक आन्दोलनमा बहस जरुरी छ’ उनले भने, ‘मुख्य कुरा राजनीतिको माथिल्लो निकायले सोच्नु पर्छ, एनसेल, ह्वाईट बडी, भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टि स्टेट, बालुवाटार जग्गाकाण्ड यो तलबाट भएको भ्रष्टाचार होइन, ठुलो स्केलको कमिशन र भ्रष्टाचार छ ।’
उनले व्यक्तिको आनीवानी र व्यवहार मात्र भ्रष्टाचारको समस्या नभएको भन्दै नीति,नेतृत्व र प्रणालीमै सुधार चाहिने जिकिर गरे ।
अर्थविज्ञ डाक्टर डिल्लीराज खनालले राजनीतिको राम्रो आवरणमा भ्रष्टाचार हुने गरेको टिप्पणी गरे ।
‘अर्थतन्त्र मठ्ठीभर मान्छेको कब्जामा छ, कानुन पनि उनीहरुको हितमा छ, गरिबी र असमानता बढ्दो छ, अर्थतन्त्रको बृद्धिदर गुणात्मक छैन’ डाक्टर खनालले भने, ‘यो बेला जनताको पक्षमा र भ्रष्टाचारीको विरुद्ध कडा कानुन बनाउनु पर्छ, बनाउने मात्र होइन कार्यान्वयन गर्नु पर्छ ।’
उनले ठुला आयोजनादेखि विभिन्न तहमा ठुलो भ्रष्टाचार हुने गरेको दाबी गरे ।
कार्यक्रममा अर्थशास्त्री डाक्टर चन्द्रमणी अधिकारीले भ्रष्टाचार आफ्नो उत्पादन नहुँदा र प्रणाली राम्रो नहुँदा हुने गरेको बताए ।
‘यो नेपालमा तीन किमिमले बढेको छ, पहिलो राजनीतिक आवरण, दोस्रो ब्युरोक्रेसी भित्रका कर्मचारीहरु र तेस्रो धेरै सम्पत्ति थोरै व्यक्तिको कब्जामा छ ।’ उनले भने ।
अर्थशास्त्री अधिकारीले देशको पूरा सम्पत्ति ९१ जनाको हातमा जाने अवस्था भएकोमा चिन्ता व्यक्त गर्दै आर्थिक प्रणाली सुधार गर्नुको विकल्प नभएको जिकिर गरे ।
‘नेपालको राजस्व पनि ५ भागको २ भाग मात्र कोषमा आउछ, ३ भाग आउदैन, यो भ्रष्टाचारमा गएको छ’ उनले भने, ‘नीतिगत भ्रष्टाचार व्यापक छ, आर्थिक नियम कानुनहरु कुनै विगहाउस र दलालहरुको हितलाई केन्द्रमा राखेर बनाउने गरिएको छ, यो रोकिनु पर्छ ।’
कार्यक्रममा ट्रास्फरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नेपालमा सामान र सेवा उत्पादन नहुँदा भ्रष्टाचार बृद्धि भएको बताए ।
उनले नेपालको संविधान नै भ्रष्टाचारी संरक्षण गर्ने भएको त होइन ? आसंका गर्दै ‘आज चोर भोलि साथी’ बन्ने यो संविधान कस्तो हो ? भनी प्रश्न गरे ।
ट्रास्फरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष शर्माले नियुक्ति गर्दा र कानुन बनाउदा भ्रष्टाचार हुने गरेको जिकिर गर्दै देश दोहन बनाउने राजनीति भएको बताए ।
उनले भ्रष्टाचारले तलको जनता पीडित भएको भन्दै विचौलिया र भ्रष्टहरुको बिगबिगी भएको टिप्पणी गरे ।
‘माथिदेखि तलसम्म भ्रष्टाचार छ, स्थानीय निकायमा पनि जस्ताको तस्तै खर्च छैन, बढी बेरुजु छ’ उनले भने, ‘ऐन कानुन बनाउने, नियुक्ति गर्ने काम राजनीतिको हो । राजनीति चोखिनु पर्यो । भ्रष्टाचार विरुद्धको क्रान्ति चाहिन्छ ।’