
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेशका इन्चार्ज शिलु सीले राजनीतिक एवम् प्रशासनिक भेटघाट गरेकी छन् । शनिबार मात्र मुख्यमन्त्री सुरेन्द्र पाण्डेसङ्ग भेटघाट गरेकी उनले राजनीतिक भेटघाटमा तीब्रता दिएको नेकपा गण्डकीले बताएको छ । नेता शिलु, प्रदेशका उच्च प्रशासनिक अधिकारी, सुरक्षा प्रमुख र स्थानीय जनप्रतिनिधिसँग पार्टीको राजनीतिक कार्यक्रम, पछिल्लो राजनीतिक अवस्था र उत्पादनको प्रभाव लगायतका कार्यक्रममा विशेष छलफल भएको बताइएको छ ।
प्रदेशका मुख्य सचिव, सचिव, सह–सचिव, प्रहरीका क्षेत्रीय प्रमुख दिनेशकुमार आचार्य र पोखरा–१४ का वडाअध्यक्ष बोधराज कार्कीसङ्ग पार्टीको गतिविधि, सुरक्षाको अवस्था, राजनीतिक परिस्थितिलगायतबारे छलफल गरेकी हुन् ।
छलफलमा प्रदेशको समग्र सुरक्षा अवस्था, कानून–व्यवस्था, विकास निर्माणका प्राथमिकता र स्थानीय तहसँगको सहकार्यका विषयमा विस्तृत विचार–विमर्श भएको सचिवालयले जनाएको छ । नेकपा नेता शिलुले प्रदेशको राजनीतिक स्थिरता र विकासको गतिको लागि दलगत सहकार्य र जनताप्रति जवाफदेहीतामा जोड दिइन् ।
त्यसैगरी भेटमा सहभागी मुख्य सचिव लगायतले स्थिर शान्ति, सुशासन र विकासका लागि प्रदेश सरकार, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्यलाई अझ मजबुत बनाउने, नेकपाको उत्पादन नीतिलाई सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरिन् ।