
बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्ट पार्टी भित्रको युवा पुस्ता धुव्रीकरणको पक्षमा रहेको खुलासा गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार हुने बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्न आउने क्रममा शुक्रबार बाँकेको कोहलपुरमा कार्यकर्ताहरुसंगको भेटघाटमा महासचिव विप्लवले संक्षिप्त विचार राख्दै नेपालका कम्युनिष्ट पार्टी भित्रको युवा पुस्ता धुव्रीकरणको पक्षमा रहेको खुलासा गरेका हुन् ।
महासचिव विप्लवले देश राजनैतिक अस्थीरता र संकटमा परेको जिकिर गर्दै नयाँ निकास नखोजेसम्म देश यस्तै अवस्थामा चल्न नसक्ने ठोकुवा गरे ।
आफूले राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा सबै दलहरुभित्र देश यस्तै अवस्थामा चल्न नसक्ने कुरा दलका नेताहरुले भनिरहेको पाएको जानकारी दिए ।
‘देशमा राजनैतिक अस्थिरता छ, सबै पार्टीमा पनि संकट छ, नेकपा भने लोकप्रिय पार्टी बन्दै गएको छ जनतामा विश्वास बढ्दै गएको छ’ महासचिव विप्लवले भने, ‘यो बेला युवा पुस्ता शिघ्र धुव्रीकरणको पक्षमा देखिन्छ, नेकपाले उठाएको एजेण्डामा देश वरिपरि आएको छ, नेकपा विना नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धुव्रीकरण पनि नहोला जस्तो छ ।’
उनले भदौ पहिलो साता काठमाडौँमा नेकपासँग ठुलो धुव्रीकरण हुन लागेको पनि खुलासा गरे । उनले ०८४ को चुनाव अघि र पछिसम्म नेपालमा धुव्रीकरणको लहर चल्ने चर्चा गर्दै नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ नेतृत्वको वरिपरि देश आउने विश्वास गरे ।
महासचिव विप्लवले सबै पार्टीभित्र विवाद भएपनि नेकपा भने एकताबद्ध पार्टीको रुपमा देशलाई निकास दिनेगरी जनताको आसा र भरोसा केन्द्रीत भएको दाबी गरे ।
‘माओवादी केन्द्रले नेकपासँग एकताको निर्णय गरेपनि कस्तो खालको एकताको परिकल्पना हो ? विचार, संगठन र समाजवादी क्रान्तिका लागि रुपान्तरणसहित नयाँ सोच हुनुपर्छ’ उनले भने।
आफूले समाजवादी मोर्चा गति नलिने हो भने स्थगित गरौँ भनेको भन्दै भंग गरौँ नभनेको बताए ।
समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका महासचिव विप्लवले समाजवादी मोर्चालाई धेरै पार्टी अटाउने गरी नयाँ ढंगले सोच्नु पर्नेमा आफ्नो जोड रहेको बताए ।
‘नेकपाको काधँमा जिम्मेवारी बढेको छ, देशलाई निकास दिने दायित्व पनि छ’ उनले भने, ‘त्यसो भएर समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै इमान्दार कम्युनिष्ट तथा वामशक्तिहरुसँग धुव्रीकरण जरुरी छ । नेकपाले त्यो पहल गरिरहेको छ ।’