१६ चैत्र २०८०, शुक्रबार

नेकपा पाल्पाको चौंथो जिल्ला सम्मेलन सम्पन्न

सम्मेलनद्वारा मीन बहादुर आले ‘नेपाल’को नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ । मार्क्सबाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि निर्वाचित गरेको छ ।

0

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाको चौथो जिल्ला सम्मेलन शुक्रबार तानसेनमा सम्पन्न भएको छ । सम्मेलनद्वारा मीन बहादुर आले ‘नेपाल’को नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ । मार्क्सबाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि निर्वाचित गरेको छ ।

सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य संजीवले अधुरो क्रान्ति पूरा गर्नका निम्ति पार्टीले अन्तिम तयारी गरिरहेको बताए । अबको क्रान्ति सेना, प्रहरी, कर्मचारी, मध्यम वर्ग र श्रमिक वर्गको लागि सबैभन्दा आवश्यक भएको उनले बताए । दलाल पुँजीवादका कारण सेना, प्रहरी, कर्मचारी र मध्यमवर्ग सबैभन्दा अभाव र संकटमा गुज्रिनु परेको हुँदा मुक्तिको निम्ति उनीहरू एकीकृत जनक्रान्तिमा सहभागी हुनैपर्ने ठोकुवा गरे ।

सम्मेलनका अतिथिहरु नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज भृकुटी, पाल्पाका पूर्व इन्चार्ज धिरज राना, गुल्मीका जिल्ला सेक्रेटरी खोमा तरामु लगायतले देश र जनताको मुक्तिका निम्ति सबैले एकीकृत जनक्रान्तिलाई साथ दिनुपर्ने कुरामा जोड दिए । जनजीविका, जनतन्त्र र वैदेशिक हस्तक्षेपको अन्त्यका निम्ति क्रान्ति अनिवार्य भएको कुरा अतिथिहरुले स्पष्ट पारे ।

सम्मेलन जिल्ला सेक्रेटरी मीन आलेको अध्यक्षता र सचिवालय सदस्य निशान बिकको सञ्चालनमा सम्पन्न भयो । सम्मेलनमा जिल्ला सेक्रेटरी आलेले प्रतिवेदन प्रस्तुत गरे । सम्मेलनमा उपस्थित प्रतिनिधि, पर्यवेक्षक, सहिद परिवार र अतिथिहरुलाई सचिवालय सदस्य आकाश थापाले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
सम्मेलनले जिल्लामा राजनैतिक, सांगठनिक अभियान निरन्तर सञ्चालन गर्ने योजना बनाएको कुरा सेक्रेटरी ‘नेपाल’ले बताए । दलाल सत्ताले स्थानीय स्तरमा भ्रष्टाचार, अन्याय – अत्याचार, बेथितिलाई संरक्षण गरेको हुँदा त्यसका विरुद्ध पार्टीले जिल्लाभर सशक्त प्रतिरोध संघर्ष सञ्चालन गर्ने पनि ‘नेपाल’ले बताए । नेकपाले असोज १ गते काठमाडौमा ९औं महाधिवेशन सम्पन्न गर्दैछ । महाधिवेशन सम्पन्न गर्न नेकपाले देशभर वडा, गाउँ, नगर हुँदै जिल्ला सम्पन्न गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।