१३ बैशाख २०८१, बिहीबार

नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवस, जनयुद्धका योद्धा घाइते बाघ हुन् : प्रज्वलन

0

बुटवल: नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज प्रज्ज्वलन सीले नेपाली जनयुद्धकै बलमा मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनयुद्धलाई खिसिटिउरे गर्नेहरुलाई चेतावनी दिंदै जनयुद्धका योद्धा घाइते बाघ भएको बताए ।

२८ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजित नेपाली जनयुद्धका उपलब्धी र समस्या विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता प्रज्ज्जवलनले ढिलै भएपनि जनयुद्ध दिवसलाई राष्ट्रिय महत्व दिएर सार्वजनिक घोषणा गर्नुलाई स्वागत गर्दै मुलुकमा यतिका परिवर्तनको मुख्य भूमिका खेलेको नेपाली जनयुद्धका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्नु त्यसमा पनि जनयुद्धकै कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला निकै दुखद भएको बताए ।

जनयुद्ध र जनआन्दोलनको बलमा देशमा गणतन्त्र आयो आंशिक भएपनि जनताका अधिकार आए समानुपातिक प्रतिनिधित्व समावेशिता सबै जाति वर्ग समुदायले गौरव गर्न लायक वातावरण बन्यो सिमित अधिकार सहितको संविधान त बन्यो तर के यसैमा सिमित थियो त जनयुद्धको उद्देश्य ? – नेता प्रज्ज्वलनले प्रश्न गरे । कमसेकम यहि संबिधानले पनि कुनै पार्टीलाई प्रतिबन्ध लाउने बन्दी बनाउने कुरालाई अस्विकार गर्छ तर जनयुद्धकै अग्रदस्ता हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाईयो, दमन धरपकड गरियो, कैदी बन्दी बनाईयो भन्दै उनले राजनैतिक बन्दिलाई समेत अपराधी सरह बन्दी बनाएकोमा दु:ख ब्यक्त गरे ।
माओवादी पार्टीहरु एक ठाउँमा हुने प्रसंगमा उनले सबैले आ-आफ्नो ठाउँबाट निर्मम समीक्षा गर्न आवश्यक रहेको जिकिर गर्दै मूल नेतृत्वले गरेको धोकाघडी र कमजोरीमा आत्मालोचना गर्न तयार छ भने हामी समीक्षा गर्न तयार छौं जनयुद्धका सारथि एक ठाउँमा हुने कुरा राम्रो हो तर जनयुद्धको मूल उद्देश्यबाट विचलित भएर हैन ।

यस्तै पार्टीका पोलिटब्युरो सदस्य आस्था सीले जनयुद्धले कैयौं उपलब्धी हाँसिल गरेपनि जनयुद्धका घाउहरु आलै भएको बताउँदै सहिद बेपत्ता परिवार  र घाइते योद्धाहरुका पीडा जनयुद्धको मूल नेतृत्वले बुझ्न नसकेको बताइन् । बेपत्ता योद्दा परिवार समेत रहेकी नेतृ आस्थाले आफ्ना परिवार गुमाउनुको पिडा समेत बिर्सिएर अझै पनि अधुरो सपना पूरा गर्न क्रान्तिको झन्डा उठाएको भन्दै बेपत्ता योद्दाहरुको स्थिती सार्वजनिक गर्न माग गरिन् । कि श्वास चाहियो कि त लास हामीलाई तड्पाएर हाम्रै बलमा सत्तामा पुगेर रम्ने छुट कसैलाई छैन उनले भनिन् । 

अन्तरकृया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शरद सी बरिष्ठ लेखक तथा माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनी, नेकपा एमालेका जिल्ला उपसचिव चित्रबहादुर कार्की, क्रान्तिकारी माओवादीका सेक्रेटरी बिनोद मरासिनी, माओवादी समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्याय, वैज्ञानिम समाजवादीका प्रदेश इन्चार्ज लक्षिराम विक, एकीकृत समाजवादीका लोकनाथ पाण्डे, बार एसोसिएसन बुटवलका अध्यक्ष कैलाश ज्ञवाली, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, अधिवक्ता ज्ञानु केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोल्दै जनयुद्ध नेपाली आन्दोलनकै सर्वाधिक महत्वको आन्दोलन भएको र यसप्रति सम्मान ब्यक्त गर्नुपर्नेमा जोड दिए । नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीको अध्यक्षता र जिल्ला सदस्य शिशिर सीको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला नेता एनबी सीले गरेका थिए भने सामनाका कलाकारहरुले क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए । 

यसै बिच साँझ बुटवलको तिनकुने चोकमा दिप प्रज्ज्वलन समेत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।