७ पुष २०८१, आईतवार

विपत्तिको यात्रा र खण्डहर बस्ती

0

             खोमा सी

 

हाम्रो टिम मंसिर २० गतेको झिस्मिसे साँझमा सल्यानको दार्मा पुग्यो । स्वागतमा उभिएका थिए–सल्यानी कामरेडहरु । अर्थात् पार्टी केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज कामरेड सविन सी, पार्टी केन्द्रीय सदस्य एवं दक्षिण सल्यान इन्चार्ज अनिल सी, केन्द्रीय प्रतिनिधि सदस्य विकास सी, उत्तर सल्यान इन्चार्ज भीम सी, सेक्रेटरीद्धय मदन सी र बीरबहादुर सीलगायत जिल्लाका कामरेडहरु । पार्टी केन्द्रीय योजनामा भूइँचालोले क्षतिग्रस्त गाउँ पुनर्निनिर्माणका लागि हामी त्यहाँ पुगेका थियौं । उत्तरतिर सिस्ने हिमालले स्वागत गरिरहेको थियो । हाम्रो टिमको कमाण्डर हुनुहुन्थ्यो–पार्टी पिबिएम एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज कामरेड बसन्त सी । उहाँको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज कमल सी, गुल्मी इन्चार्ज खोमा सी, पाल्पा सेक्रेटरी नेपाल सी, नवलपुर सेक्रेटरी रक्षक सी, पाल्पा जिल्ला सल्लाहकार संयोजक माक्र्स सी, अन्य कामरेडहरु चन्द्र सी (गुल्मी), तेजेन्द्र सी (रुपन्देही उत्तर), अनिल सी (नवलपरासी), लोकमान सी (नवलपरासी), हरि सी (रुपन्देही उत्तर), राजिब सी (पाल्पा), अर्जुन सी (नवलपुर), बेचन सी (रुपन्देही उत्तर), कमल सी (रुपन्देही दक्षिण), सुनिल सी (रुपन्देही दक्षिण), रुचाल सी (गुल्मी), किरण सी (रुपन्देही उत्तर) थियौं । हामी त्यो रात दार्माका इन्चार्ज कामरेड मेस्सी सीको गाउँमा बास बस्यौं ।
हामी अर्कोदिन सबेरै दुई टिम बनाएर कार्यक्षेत्रतिर छुट्टियौं । कामरेड कमल सीको टिम दार्माकोटतिर लाग्यो, मेरो टिम बछेलातिर । हामीले बछेलाको सिरानमा उभिएर विपत्तिले खण्डहर बनेको बस्तीतिर आँखा घुमायौं । ढाकाडाम, भल्चौर, दार्माकोट, बछेला, भालुचोर डाँडा, पाङ्ग्र खोला, तल्लो बछेला, लिरेडाँडाका वस्तीहरुभित्र वेदनाका मुस्लो देख्यौं । बस्तीहरु भुइँचालो विपत्तिले उराठलाग्दो भएका छन् । घरहरु बस्नलायक छैनन् । जनताले शिशिर ऋतुको अधिक चिसो मौसममा त्रिपालमुनि बिताएका छन् ।

गरिबको ओतमा प्रकृतिको आक्रमण
प्राकृतिक प्रकोप र विपत्ति एउटै होइन । भुइँचालो प्राकृतिक प्रकोप हो भने विपत्ति त्यसको परिणाम । दर्शनशास्त्रमा ‘कारण र कार्य’को द्धन्द्धवाद हो । भूगर्भ विज्ञानको भाषामा भुइँचालो पृथ्वीको गर्भमा रहेका प्लेटहरुको अन्तरविरोध हो । जब गतिशील प्लेटहरुबीच ठोक्किएर घर्षण पैदा हुन्छ, त्यसका कम्पनहरु पृथ्वीको माथिल्लो सतहसम्म आइपुग्छ । कामरेड माओको शब्दमा वस्तुभित्रको अन्तरविरोधले बाह्य प्रभाव पार्दछ । फ्रेडरिक एङ्गेल्सले ‘गति स्वयं अन्तरविरोध भएको’ बताएका छन् । (माओ, अन्तरविरोध, पृ.९) । मान्छे पनि स्वयं प्रकृतिको उपज हो । “प्रकृति नै त्यो आधार हो, जुन प्रकृतिका हामी मानवजाति स्वयं उपज हौं ।” फ्रेडरिक एङ्गेल्स, (लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य, पृ.१४) । फ्रेडरिक एङ्गेल्सले प्रकृतिका रहस्यहरुबारे जति गहिराइमा बुझिदै जान्छ, अन्तरविरोधहरु बुझिदै जाने र त्यसलाई मानवअनुकूल बनाउन सकिने कुरा बताएका छन् । कुनैबेला प्रकृतिमा घट्ने यसप्रकारका घटनाहरुबारे मान्छेका ज्ञानका सीमाहरु थिए । यसका रहस्यहरु थाहा नपाएपछि मान्छे प्रकृतिको शरणमा पुग्यो र यसलाई देवत्वकरण गरी पूजापाठ गर्न थाल्यो । यहाँ चर्चा गर्न खोजिएको कुरा के हो भने भुइँचालो जानु, बाढीपहिरो आउनु, आकाशबाट पानी बर्षिनु, घाम लाग्नु, हावाहुरी आउनु, चट्याङ पर्नु, दिन र रात हुनु कुनै दैवीशक्तिका कारण नभई प्राकृतिक घटना वा नियम हो । भुइँचालो पृथ्वीभित्रको अन्तरविरोधको परिणाम हो भने विपत्तिका कारण मानवीय अर्थात् अव्यवस्थित बसोबास हो । प्राकृतिक प्रकोपहरुबाट पैदा हुने विपत्ति वर्गीय हुन्छ र यसको सबैभन्दा प्रभाव समाजको पिँधमा रहेका गरिब बर्गलाई पर्छ । २०८० कार्तिक १७ गते आएको भुइँचालोले जाजरकोट, रुकुम र सल्यानका भुइँमान्छेहरुको ओतमा आक्रमण गर्यो । जीवनभरिका मेहनतले ठडिएका विश्वासका घरहरु गल्र्यामगुर्लुम ढले । धर्ती चिरिदा जनताका छाती पनि चिरिए । घरगोठ हल्लिदा जनताका मुटु पनि हल्लियो । धेरै मानवीय र भौतिक क्षति पुग्यो । जनजीवनमा सिर्जित त्रासदी, कहर र शोक–पीडा अझै मत्थर हुन सकेको छैन ।

जनताको आँसु र राज्यको निरिहता
भुइँचालो गएपछि संसदीय दलका नेताहरु प्रभावित क्षेत्रमा पुग्न तँछाडमछाड गरे । नेताहरुको ओहोरदोहोरले आकाशमा हेलिकप्टरको जाम भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति रवि लामिछानेलगायत नेताहरुको भीड लाग्यो । उनीहरुले पुनर्निर्माणको आश्वासन दिए तर डेढमहिना नवित्दै चिसो र झाडापखालाका कारण ३८ जनाले ज्यान गुमाइसकेका छन् । ६० हजार घरपरिवार भुइँचालोबाट प्रभावित छन् । सरकारले अहिलेसम्म पीडितको तथ्याङ्क समेत निकाल्न सकेको छैन । त्रिपालमुनि भर्खरै जन्मिएको शिशुदेखि ८९ बर्षसम्मका बृद्धासमेत छन् । अस्थायी टहरा निर्माणका लागि पहिलो चरणको अनुदान रकम वितरण भएपनि सबैले पाएका छैनन् । राहतमा पहुँचवालाहरुको ब्रम्हलुट छ । राजनीतिक पूर्वाग्रहको वाकवाकी दुर्गन्ध छ । अहिलेसम्म भुइँचालो पीडित त्रिपालकै भरमा छन् । “राहत रकम स्थानीय तहमा गइसकेपनि अहिलेसम्म लाभग्राहीसम्म पुग्न सकेको छैन ।” (कान्तिपुर दैनिक, मंसिर ३०, २०८०) अहिले भुइँचालो पीडितहरु हतास र शिथिल हुँदै गएका छन् । जनतालाई राज्यले घर बनाइदिन्छ भन्ने विश्वास छैन । सरकार छ तर बेकार छ ।
घर भनेको ओत लाग्ने संरचना मात्रै होइन । घरसँग गाँसिएका सम्झना र स्मृतिहरु समेत भत्किएका छन् । सल्यानको दार्मेली जनतासित विदाइको क्रममा पार्टी पिबिएम एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज कामरेड बसन्त सीले भन्नुभएको थियो, “भुइँचालोले घर मात्रै भत्काएको छैन, इतिहास भत्काएको छ ।” साँचो अर्थमा जनताले आफ्नो घरमा जन्मिएको, बालापन बिताएर हुर्किएको र जूनी विताएको सम्झनाका कैयन् यादगर चिनोहरु समेत भत्किएका छन् । जनता घरबारविहीन भएर हायलकायल भएका छन् तर चुनावमा भोट नपाइएला भनेर पुगेका मानवता गुमाएका संवेदनहीन मान्छेहरुले एउटा चाउचाउका पोको समाउदै सेल्फी हानिरहेका छन् । संवेदना गुमाएका ती मान्छेहरु सुकेका रुख जत्ति पनि उपयोगी छैनन् । विपत्तिले दुखेको पीडाले छुदैँन उनीहरुलाई । बरु सुकेका रुख चिता जलाउन काम लाग्छ तर ती विवेकशून्य मान्छेलाई बञ्चरो हान्नुबाहेक कुनै काम आउँदैन ।

नेकपाको अभियान जनताको घाउमा मलम
हाम्रो पार्टी भुइँचालो गएलगत्तै घाइतेहरुको उद्दार र उपचारमा खटियो । घर भत्किएर पुरिएका शवहरुको व्यवस्थापनमा जुट्यो । राहत र अस्थायी आवास निर्माणका लागि एकीकृत जनसहायता अभियान सुरु गर्यो । कार्तिक २४ गते यो अभियानको नेतृत्व महासचिव कामरेड विप्लव सी आफै प्रभावित जिल्लाहरुमा पुगेर गर्नुभयो । पार्टीको केन्द्रीय योजनामा गुल्मी, पाल्पा,रुपन्देही, नवलपरासी, नवलपुर, अर्घाखाँची, रोल्पा, दाङदेउखुरी, कपिलवस्तु प्युठान, रुकुम पश्चिम, जाजरकोट, सल्यानलगायतका करिब ४ सय ५० भन्दा बढी कामरेडहरु स्वयंसेवक बनेर पुनर्निर्माणमा खटिए । पार्टी केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सविन सीका अनुसार, “अभियान टिमले मंसिर मसान्तसम्म १०४० भुइँचालो पीडितलाई अस्थायी आवास निर्माण गरिएको छ ।” (प्रेस वक्तव्य, पुस १, २०८०, नेकपा राप्ती ब्युरो) पार्टीले यो अभियानलाई जारी राखेको छ । पार्टीको यो अभियानले जनताको घाउमा मलहमपत्ती लगाएको छ । स्कूलहरु बनेका छन् । हाम्रो टोलीले सल्यानमात्रै ५२ अस्थायी घरहरु निर्माण गरेको छ । सल्यानस्थित तल्लो लिरेडाँडाका धनजित खत्री खण्डहर घरतिर हेरेर भन्दै थिए,“भत्किएको घर हेर्ने त कति आए कति ! सबै फोटो खिचेर मात्रै फकिए ।” उनले थपे, “म निराश भएको थिएँ । तपाईहरु आएर घर बनाइदिनुभयो । मेरो लागि धेरै सहयोग भयो । अब भने आशा जागेको छ ।” जीवन थाम्ने टेको नै नभएपछि धर्तीमा कसरी उभिनु ? भालुमारे डाँडाका अमृता शाहीले भनिन्, “सम्पत्तिको नाउँमा भएको यही एउटा घर थियो, भुइँचालोले भत्काइदियो । अरु कोही आएनन्, तपाइहरु आएर बनाइदिनुभयो । म बुढी मान्छे मर्नेबेला ओतमा बस्न पाएँ ।” बीरबहादुर शाही गहभरी आँसुसित भन्दै थिए, “जीवनभरि कमाएर बनाएको घर भत्कियो । अब केही बाँकी रहेन ।” शाहीको त्यो निराशाको आँसु मात्रै थिएन, बाँध बाँधेर राखेको संवेदना र सन्त्रासको तलाउ थियो । उनभित्र घरप्रतिको लगाव, पसिना र मेहनतको विश्वास बोलिरहेको थियो ।

विपत्ति एक पाठशाला
हामीले विपत्तिलाई पाठशालाको रुपमा लिनुपर्छ । अर्थात् सिकाइको पाठशाला । गल्तीहरु दोहारिन दिनुहुँदैन । घरहरु निर्माण गर्दा भुइँचालो प्रतिरोधी र भूगोलको उपयुक्त छनौट गरेर मात्रै गर्नुपर्छ । राज्यले अहिलेको भुइँचालोलाई पुनर्निर्माण मात्रै होइन, नवनिर्माण गर्ने अवसरको रुपमा लिनुपर्छ । प्रकोपबाट पैदा भएका विपत्तिहरु प्राकृतिक मात्रै हुँदैनन् । विपत्तिसित सत्ता पनि जोडिएको हुन्छ । अव्यवस्थित बस्ती र भूवनोटका कारण विपत्ति निम्तिएका छन् । सत्ताको गलत नीतिका कारण ठूलो मानवीय र भौतिक संरचनाहरु क्षति भएका छन् । राज्यसत्तासँग बस्ती विकासबारे वैज्ञानिक नीति हुन्थ्यो भने अहिले यो स्तरको क्षति हुँदैनथ्यो । अहिले प्रकोपपछि विपत्तिका मूलकारक स्वयं राज्यसत्ता हो । यो राज्यसत्ता प्रकृतिको नियम, पर्यावरण र मानवताविरोधी छ । अर्थात् बहुसंख्यक श्रमिक जनताको विरोधी छ । अहिले भुइँचालोपछि सामुहिक रुपमा बस्ती, उद्ममशीलता, रोजगार र देश निर्माणको आधार खोज्न आवश्यक छ । आधा मिनेटमै सारा उत्पादन सम्वन्ध गुमाउन पुगेका हजारौं भुइँचालो पीडितहरुको पहिलो समस्या बस्तीहरुको निर्माण र जीविकोपार्जनको प्रश्न नै हो । यसका लागि सामुहिक श्रम, उत्पादन र वितरणमा सहभागिता गराउनु नै राहत र पुनर्निमाणको लागि दीर्घकालीन समाधान हो । तर अहिलेको दलाल संसदीय राज्यसत्ताबाट त्यो सम्भव देखिदैन । जाजरकोट, रुकुम र सल्यानका जनताका गुमेका ती खुशीहरु पुरानै लयमा कहिले फर्किएला ? उनीहरुको चैन कसले खोसिरहेको छ ? विपत्तिले कि निकम्मा दलाल संसदीय व्यवस्थाले ? शोकको यस घडीमा ‘शुभलाभ’ प्राप्त गर्न खोज्ने भ्रष्ट दलाल सत्ता–संरचनाको पिरामिड ढाल्न ती बस्तीका कर्कश ध्वनीहरुले कहिले विद्रोह गर्लान् ?


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।