३ आश्विन २०८१, बिहीबार

सबै उत्पीडित जाति र समुदायलाई समाजवादी व्यवस्थाले मात्रै मुक्ति दिन सक्छ : विप्लव

0

कपिलवस्तु/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव  सीले उत्पीडितमा परेका सबै जाति र समुदायको पूर्ण मुक्ति  समाजवादी व्यवस्थाले मात्र दिन सक्ने बताएका छन् ।मङ्गलबार कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित`समाजवादी मधेसी मुक्ति मोर्चा नेपालको  दोस्रो राष्ट्रिय भेला´लाई सम्बोधन गर्दै महासचिव विप्लवले पुँजीवादी व्यवस्था अन्तर्गत वर्गिय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनको अन्त्य गर्ने कुरा असंभव रहेको बताए ।

भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले मधेसमा अहिलेपनि जमिन्दारहरुले नै सत्ताको नियन्त्रण गरिरहेको भन्दै अब मधेसमा उत्पीडनमा पारिएका जनताहरुको नेतृत्व समाजवादी मधेसी मुक्ति मोर्चा नेपालले गर्नुपर्ने बेला आएको समेत बताए ।

नेपालमा अहिले आर्थिक, सामाजिक, राजनीति र सांस्कृतिक लगायत समग्र क्षेत्र संकटपूर्ण दिशामा धकेलिएको र यसका पछाडि आजको भूराजनीति, अमेरिका चीनबीचको बढ्दो टक्करका कारण उत्पन्न परिस्थिति समेत जोडिएको सन्दर्भ उल्लेख गर्दै महासचिव विप्लवले अहिले देशको स्वाधीनतामाथि अमेरिकी हस्तक्षेप निरन्तर बढ्दै गएको बताए ।

अहिले एकध्रुवीय भनिएको अमेरिकी व्यवस्थामा संकट मडारिरहेको, चीनले निरन्तर प्रगति गरिरहेको र विश्वव्यापी उसको प्रभाव बढिरहेको र त्यसलाई रोक्न र आफ्नो संकटलाई टार्न अमेरिकाले चीनलाई घेर्ने सैन्य रणनीति अनुसार नेपालमा एमसीसी,  एसपीपी, लागू गर्न खोजिरहेको उल्लेख गर्दै विप्लवले अब देशभक्त शक्तिहरुबीच सहकार्यको खाँचो रहेको बताए ।

नेपालको संसदले एमसीसी पास गरेपनि जनताको चौतर्फी विरोध र दबाबका कारण उनीहरुले एसपीपी पास गर्न नसकेको, देशको अहिलेको प्रधान अन्तरविरोध साम्राज्यवादी उत्पीडन एवम्  दलाल  पुँजीवादसङ्ग भएकोले समाजवादी क्रान्ति आगामी कार्यदिशा भएको महासचिव विप्लवको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टीले मजदुर, किसान,मध्यम वर्ग र राष्ट्रिय पुजीपती वर्गलाई समाजवादी क्रान्तिका ४ आधार वर्ग,कम्युनिस्ट, देशभक्त,समाजवादी र सच्चा लोकतान्त्रिक शक्तिलाई ४ आधारशक्ति एवम् जनजाति , खसआर्य, मधेसी, मुस्लिम, श्रमिक समुदाय र महिलालाई ६ मित्र समुदाय भन्दै यसअघि नै परिभाषित गरिसकेको छ ।

समाजवादी मधेसी मुक्ति मोर्चा नेपालको  दोस्रो राष्ट्रिय भेलाले विनोद उपाध्यायको संयोजकत्वमा १७ सदस्यीय सम्मेलन आयोजक समिति बनाएको छ।

नेकपा केन्द्रीय कार्यालय सचिव तथा पिबिएम विजय सी, केन्द्रिय सदस्यहरु सुशील सी, संगम सी र केन्द्रिय प्रतिनिधि सदस्य सुष्मा सी  अतिथि रहेको उक्त भेलाको नेकपा स्थायी समिति सदस्य एवम् जातीय क्षेत्रीय मोर्चाका संयोजक सन्तोष सीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता विनोद सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।