१५ चैत्र २०८०, बिहीबार

अमेरिकी ‘सपनामा’ बेचिएको नेपाली ‘स्वाभिमान’

0

  टोप बहादुर रायामाझी ´अनिल` को नामबाट जनयुद्धताका माओवादीले बनाएको आधार इलाकीय विषेश क्षेत्रीय ब्यूरोमा आएर प्रशिक्षण दिँदा उनलाई देख्ने र चिन्ने मौका मिलेको थियो । दोस्रो भेट उनीसँग ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी कार्यनीतिको चापमा गण्डक अभियानको बेला पाल्पामा भएको थियो ।त्यसपछि हामीसँग कहिल्यै भेट नभएका उनी ५ पटक संसद मन्त्री हुदै गर्दा अमेरिकी सपनामा बेचिन तयार नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको नाममा नेपाली युवा विदेश बेच्ने धन्दामा सामेल भएपछि सुनि नसक्नु र हेरि नसक्नु समाचारका हाइलाइटहरुले टोप बहादुरहरुलाई मात्र चिनाइरहेको छैन, आजको नेपाली समाज, संसदीय व्यवस्था, यसका राज्याधिकारी र राजनीतिकर्मी  सबैको चेहरा छरपस्ट र छताछुल्ल भएको परिदृष्य निकै उदेकलाग्दो गरि देखिएको छ ।
      कमरेड अनिलको नामबाट जनयुद्धताका क्रान्तिकारी यूवाहरुलाई दुश्मनले जहाँ टेक्छ त्यहाँ पड्किन आव्हान गर्ने टोप बहादुर संसदीय व्यवस्थाको संसद मन्त्री भएपछि जे गर्दा पैसा आउँछ त्यही गर्ने मानिसमा बदलिएछन्, भोगविलास र बैभवको लागि मान्छे बेच्ने मानव तस्करको अपराधिक ताज पहिरिएका छन् ।जनयुद्धताका पनि टोप बहादुरको प्रस्तुति शैली टप्परटुइँया, हल्का, अविस्वसनीय र मौकापरस्त खालको नै हो भन्ने कुरा उनका सहकर्मीहरुले नै गर्दछन् ।

तथापी जनयुद्धको एउटा नेतृत्वदायी योद्धा कमरेड अनिलको राजनीतिक पतनको अपराधिक उत्कर्ष यसरी होला भन्ने कुरा सामान्य अनुमान भन्दा बाहिरको विषय हो ।राज्याधिकारी गृह सचिव टेक नारायण पाण्डे र राजनीतिकर्मी गृहमंत्री बालकृष्ण खाँडकै मिलिमतोमा गृहको फायल निकालेर गिरोहको फायल सरकारी बनाएर नेपाली नागरिकलाई अनागरिक (शरणार्थी) बनाएर मानव तस्करी गरेर अर्बौ पैसा जम्मा गर्न रायामाझी, खाँड, पाण्डे र राईहरुको मात्रै मिलीभगत र संलग्नता छ भन्ने कुरा पत्याउन सकिदैन ।

यी मनुवाहरु त अरुको निर्देशन कार्यान्वयन गर्ने कारिन्दा मात्र हुन सक्छन् । राज्य संयन्त्र नै परिचालन भएको यस काण्डमा दलाल पुँजिवादी संसदीय व्यवस्था र यस व्यवस्था संन्चालन गर्ने कार्यकारीहरुको संलग्नतालाई अस्वीकार गर्न सकिदैन । जनयुद्धका कमरेड अनिलहरुलाई संसदीय व्यवस्था भित्र मानव तस्करमा बदलिएका टोप बहादुरहरुले बदनामित गरे पनि त्यो भन्दा बढि विभत्स यहि संसदीय व्यवस्थाकै भएको छ । कवि विमल निभाले भने जस्तै ‘यो मान्छेले मान्छेको रगत, पसिना र मासु बेचेर खाने व्यवस्था हो, संसदीय व्यवस्थाका नाइकेहरु ‘हिंस्रक प्रवृत्तिका विदूषकहरु’ हन् ।’ यो व्यवस्थामा हुने र भोग्ने यस्तै हो ।

राम्रा मान्छे खराब मान्छेमा, खराब मान्छे झन् खराब बनाएर निकाल्ने स्वचालित मेसिन फिट गरिएको हुन्छ संसदीय कारखानामा । यिनीहरुमाथि टिप्पणी गर्नु नै लाजमर्दो भएकोले व्यक्ति विशेषमा मात्र भन्दा समग्र व्यवस्थाको खोट र असफलता खोतल्दै, यस्तो व्यवस्था भोगिरहेको समाजको मनोसामाजिक अवस्था र साँस्कृतिक आचरणको बोरमा समेत पनि गम्भिर विश्लेषण र विमर्श जरुरी भइसकेको छ ।

 भोगविलासको लागि पैसा थुपार्न आफ्नै नागरिक बेच्ने र आफ्नै नागरिकतालाई लात हानेर पैसाको लागि बेचिन तयार हुने आचरणको मनोसामाजिक सम्बन्ध र गठजोड कसरी सम्भब भयो, यो विषय तर्कातित जस्तो देखिए पनि आजको समाजलाई घेरिरहेको यस्तो खराब सांस्कृतिक आचरणको समिक्षा गर्दा भावनामा बहकिनु पनि छैन । यस आलेखमा यस्तो स्थिति श्रृजना गर्ने दुई विषयमा सामान्य विमर्श गर्न खोजिएको छ ।

एक, शासकीय असफलताले जन्माएको अमेरिकी सपना
भ्रष्टाचार सामाजिक राजनीतिक सांस्कृतिक आदतमा परिणत भइसकेपछि एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा, एउटा सरकारबाट अर्को सरकारमा र एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ । विभिन्न राजनीतिक आन्दोलनहरुले समय क्रममा शासन प्रणालीमा बदलाव आए पनि आर्थिक प्रणालीमा कुनै बदलाप आएन । देशको अर्थतन्त्र निश्चित ब्यावसायिक घराना,बहुराष्ट्रिय कम्पनिका नेपाली एजेण्ट,सत्तासिन शासक र प्रशासकहरुको मुठ्ठि भित्र सिमित हुन पुग्यो ।उत्पादनमुखि अर्थतन्त्र धोस्तहुदै गयो ।कृषि उपजका सम्पूर्ण वस्तुहरुमा विदेशी उत्पादनले प्रतिस्थापन गर्दै गए ।

कृषिको अनुदानमा विचौलिया ,कर्मचारी र सत्तासिन दलहरुको मिलोमतोमा झ्वाम पार्ने संस्कृति महामारी बन्यो ।नँया उद्योग कलकारखाना खोल्ने कुरा त धेरै टाढाको विषय भयो ,भएका उद्योग पनि कौडिको भाउमा बेचिखाने धन्दामा शासकहरुको मिलेमतो र प्रतिस्पष्ट चर्को भयो ।अर्कोतिर आजको पुस्ताले विकास गरेका वस्तु र सेवाहरु मानव जीवनका अति आबश्यकीय आवश्यकता जस्ता बन्न पुगे ।

नवउदारवादी वजारतन्त्रले नेपाल राज्यका प्रशासक र शासकहरुलाई आफ्नो ऐजेन्टमा रुपान्तरण गर्दै लगेपछि उत्पादनमुखि अर्थतन्त्रको चेन नै चुडियो ।आफ्ना आधारभूत आवश्यकताका वस्तुहरु समेत ब्यापारिहरु सँग खरिद गर्नुपर्ने बाध्यतामा नेपालीहरुलाइ पुर्याइयो । अर्कोतिर देश भित्र काम र माम दुवैवाट बन्चित गरिएपछि गरिव  नेपालीहरु काम र मामको खोजिमा साहुकारलाई चर्को ब्याज तिर्ने सर्तमा रिण लिएर पासपोर्ट बनाउदै पश्चिम एसियाका विभिन्न मुलुकहरुमा हुलकाहुल जान थाले ।सरकारी कर्मचारी र सत्तासिन नेताहरुको सेटिङमा खुलेका मेनपावर कम्पनिहरु बैधअबैध रुपमा नेपाली यूवा निर्यात गर्ने कारखानामा बदलिय ।

भारत जानेहरुको पिडादायी कथा रेकर्डमा आउन छोड्यो ।मेनपावर कम्पनिहरुले विनाकुनै लगानी मान्छेको ब्यापार गरेर अरबौ पैसा जम्मा गर्दै गए ।गणतण्त्र आएपछिको संसदीय सरकारहरुले झन यो प्रक्रियालाई  तिब्र पार्दै लगे ।असन्तुष्टि र यूवा दुवैलाइ विदेश पठाइदिएपछि शासकहरुले एकै पटक दुइवटा फाइदा हात पार्न थाले ।एक, रेमिटेन्स भित्र्याएर शासन प्रशासन चलाउदै नागरिकको श्रम ,पसिना र पैसा दोहन गर्न पाइने ,दुई श्रमजीविहरुको असन्तुष्टि पनि विदेशै निर्यात भएपछि सम्भावित विद्रोह र क्रान्तिलाई पनि पछि धकेल्न सकिने ।

उत्पादनमुखि अर्थतन्त्रलाई शासकहरुले बन्ध्याकरण गर्दै गएपछि आधार बेगरका परिजीवि उपभोक्तामा देशभित्र रहेका सबै जनता बदलिए । दलाल पुँजिवादी अर्थराजनीतिक ब्यवस्थाले कृषि लगाएतका लगनशील र श्रमशील कामवाट मानिसहरुलाई विमुख बनाउदै लग्यो ।सेवा क्षेत्रलाई चलायमान बनाइ राख्ने उर्जा उत्पादन गर्ने नदि र विभिन्न परियोजनाहरु पनि शसकहरुले आफ्नो मोलमोलाईका वस्तु वनाउदै विभिन्न कम्पनि र देशहरुलाई बेच्दै गए ।

नवउदारवादी वजारलाई सहयोग गर्ने शर्तमा आउने  बैदेशिक सहयोग र विप्रेषणको प्रवाह निरन्तरभएपछि उत्पादनविनाका उपभोक्ताहरुको विशाल वजारमा नेपाल बदलियो ।तत्काल सवथोक प्राप्त गर्न चाहाने मध्यम वर्ग र साना पुजिपतीहरु पनि आधार बेगरको परजीवि अर्थतन्त्रका बेचैन उपभोक्तामा बदलिदै गए । लगनशीलता,श्रमशीलता र उत्पादनशीलतालाई पलायन गराउने दलाल पुँजिवादी अर्थब्यवस्थाका सारथी जस्तो बन्नु उनिहरुको रहर र वाध्यता दुबै वन्न गएको छ ।

शासकप्रशासकको सुखसैल,भोगविलास र बैभब कायम गर्ने सबभन्दा ठूलो आर्थिक आधार बैदेशिक रोजगारी र रेमिटेन्स बनाउन आफ्ना नागरिकको ब्यापार गरिरहेको राज्यब्यवस्था नै अहिले अमेरिकी सपनामा लठ्ठियर घरसम्पति बेच्दै नागरिकता फाल्न तयार मानिसहरुलाई नक्कली शरणार्थी बनाएर मानव तष्करी गर्ने,गिरोहमा बदलिएका हो ।रायामाझी,खाँड,पाण्डे र राइहरुको गिरोह त खासमा अपराधको महासागरमा देखिएका ससाना झिगें माछा मात्रै हुन ।

 दुइ,विदेशी सपनाले निर्मित सामाजिक- साँस्कृतिक आचरणआजभोली गाउँ वस्तिहरु युवाविहिन छन् ।बचेखुचेका यूवाहरु पनि कोहि भिसााको प्रतिक्षामा,कोहि पासपोर्ट बनाउने तयारीमा देखिन्छन् ।सिजनल कामको लागि कालापहाड (भारत) जाने  र फर्कनेको हिसाव कुनै निकायसँग छैन ।विभिन्न सपना पालेर सहर छिरेकाहरु १२ कक्षाको परिक्षा सक्दा नसक्दै राहदानीको सिफारिस लिन पालिका र जिल्ला प्रशासन कार्यालयमा देखिएका पंक्तिहरु कहिलेकँहिका विकाउ समाचार पनि बन्ने गर्दछन् ।क्यापस र विश्वविद्यालयवाट पासआउट हुने शिक्षित  अप्राविधिक र प्राविधिक विषयका जनशक्तिहरु समेत पनि विक्षिप्तता बेहोर्दै विदेशको सपना बोकेर बृद्ध हुँदै गरेका बाआमालाई पैसाको जोह गर्न जोडदार माग गर्दछन् ।

पढाइ पछि रोजगारी  बोकेर घर पुग्नुपर्ने समयमा आइफोन,बाइक,कार र शहरमा घरघडेरी जोड्ने सस्कृति सिकेर बाउआमा कँहां पुगेपछिको आर्थिक सामाजिक अवस्था निकै कष्टकर बन्दै गएको छ ।यसको परिपुर्ति हुने र गर्ने कुनै इलम नभेटेपछि ऊ विदेश गएर पुरा गर्ने सपना देखिरहेको छ ।गास ,वास,कपास,शिक्षा स्वास्थ्य र संचार जस्ता आधारभुत कुरा नै दलाल पुँजिपति र राज्यसँग किन्नु पर्ने बाध्यतामा छ नेपाली समाज ।आधारभुत आवश्यकता परिपूरण गर्न नसकिरहेका नेपालीहरु बहुराष्ट्रिय कम्पनिका सामान खपत गर्ने उपभोक्तामा सिमित भएपछि कसैगरि पनि धनसम्पत्ति सँग्रह गर्ने र तत्काल सबथोक प्राप्त गर्नैपर्ने संस्कार सामाजिक प्रतिष्ठाको विषय बन्दा यो बंशानुगत बन्ने खतरा बढेको छ ।

खराव संस्कार विकसित हुदै जादा कुरुपसंस्कृतिको रुप ग्रहण हुन पुग्दछ ।पैसा नै सबथोक हो अरुकेहि होइन, भन्ने मनोरोगले नेपाली समाजलाई जब्बर रुपले संक्रमित बनाउदै लगेको छ ।आफ्ना छोराछोरी अमेरिका यूरोप छन भनेर गर्व गरेर वस्ने संस्कारले अब संस्कृतिको रुप ग्रहण गर्दैछ ।आफूले त्यहि कुराको विरोध गर्ने तर आफूफेरि त्यहि मार्गमा हिडिरहने अनौठो चिन्तनले मानिसहरुलाई गाँज्दै लगेको छ ।सार्वजानिक खपतका लागि दलाल, भ्रष्ट, लुटेरा ,तस्कर भनेर घाँटी सुक्ने गरि गालीगलौज गर्ने आफू फेरि तिनै तस्कर ठगहरुसँग विक्रि हुने र ठगिने रोगपनि कम संक्रामक छैन ।

सामाजिक संन्जालदेखि सबैतिर स्वाभिमान र राष्ट्रियताको बान्कि मिलाइमिलाई लेख्ने र बोल्ने अनि आफ्नालाई कसरी हुन्छ उतै अमेरिका यूरोपतिर छिराउन जस्तोसुकै रुप धारण गर्न तयार हुने आचरण मानव तस्करहरुका लागि मलिलो माटो बनेको छ ।वास्तवमा नेपाली समाजमा ब्याप्त यस्तै बहुरुपि चिन्तन,संस्कार र संस्कृृतिले नेपाली समाजलाई बहुसंकटको जालोले घेरावन्दी गरेको छ ।   पुँजिवादले मानिसलाई ब्यक्तिवादी बनाउछ ।दलाल पुँजिवादले मासिहरुमा ब्यक्तिवादी उपभोगवादी र उपयोगवादी संस्कृतिको दास बनाउछ ।

उत्पादनशील,श्रमशील संस्कृतिको स्थान उपभोगवादी र उपयोगवादी संस्कारले लिन पुग्दछ ।उपयोगवादी र उपभोगवादी समाजले जन्माउने युवा,राज्याधिकारी र राजनितिकर्मीमा बेच्ने र बेचिन तयार हुनेहरुको अघोषित मनोसामाजिक गठजोड हुन पुग्दछ ।भोगविलास र धनसम्पतिका लागी जे पनि गर्ने आचरण शासकहरुमा मात्रै होइन जनतामा पनि झाँगिदै जान्छ ।त्यसैकै प्रतिविम्व हो आफ्नो नागरिकता लात हानेर अमेरिकी सपनामा शरणार्थी भएर बेचिनु ।यसो भनेर बाध्यताले विदेशिने र रहरले विदेशिनेहरुका पिडादायी कथाहरुलाई नजरअन्दाज गर्न हुँदैन ।घर सम्पत्ति बेचेर महिनौ लगाएर पानमाको घनघोर जंगल र नदीहरु छिचोल्दै मेक्सीकोवाट अमेरिका नपुगि नहुने संस्कारले नेपाली समाजमा जरा गाड्दै लगेपछिको वास्तविकता उत्खनन् गर्न मात्र खोजेको हो ।

कुरुप संस्कृति बन्दै गएको यो संस्कारलाई मानव तस्करहरुले उपयोग गरेका छन् ।निस्सन्देह पिडादायी कथाका पात्र बन्न बाध्य युवाहरुको असन्तुष्टि र आक्रोशको गर्भमा हुर्किरहेको विद्रोहको ज्वालाले यस्ता कथाहरुको अन्त्य गर्ने नै छ ।
 तथापि अब,श्रमशील,उत्पादनशील,सघर्षशील संस्कृतिको रक्षा गर्दै खराव आचरण र कुरुप संस्कृतिलाई सघर्षशील,श्रमशील र उत्पादनशील संस्कार र संस्कृतिमा रुपाण्तरण गर्नसक्ने नयाँ अर्थराजनीतिक प्रणाली स्थापना गर्न विलम्ब गर्न हुदैन ।

नत्र यस्ता भ्रष्ट र मानव तस्कर उत्पादन गरिरहेको दलाल पुजिवादको संसदीय कारखानाले  बेच्ने र बेचिनेहरुको उत्पादन पुनरउत्पादन गरिरहन्छ ।देश, जनता र समाजलाई प्रदुषित र कलुषित बनाइरहेको यस्तो कारखाना बन्द गर्न सबैतिर छरियर रहेका ,सकारात्मक सोच भएका मानिसहरु एकिकृत हुनुपर्दछ ।सपनाको देश अमेरिका होइन, नेपाल बन्नसक्छ ,बनाउनु पर्छ ।
४ जेष्ठ २०८०


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।