अवधारणापत्र प्रस्तोता – सविन सी
पृष्ठभूमि
वीर पुर्खाको गौरव र वीरताले बचाएको हाम्रो प्यारो देश नेपालमा अहिले युगान्तकारी जनयुद्ध, जनआन्दोलन, क्रान्ति र बलिदानको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तथापि, आज नेपाली समाजमा, भ्रष्ट शासकीय रवैया र असफल संसदीय राजनीतिका विकारहरु विरुद्ध चरम असन्तुष्टि, आक्रोश र घृणा व्याप्त छ । नेपालमा अब केहि हुँदैन, सवै बर्वाद भयो भन्ने भाष्य छताछुल्ल छ । नेपाली समाजमा दलाल पुँजीवादले अविश्वास, आक्रोश, संशय निराशा, नकारात्मकता र हिनताबोधको डढेलो सल्काइदिएकोछ । सात दशक लामो राजनीतिक आन्दोलन, क्रान्ति र विद्रोहको उत्कर्ष पछि पनि आर्थिक सामाजिक, राजनीतिक, साँस्कृतिक रुपान्तरणको बाटो अवरुद्ध हुँदा दलाल पुँजीवादले नेपालको अर्थराजनीतिलाई आफ्नो नियन्त्रणमा लिएपछि नेपाल अहिले विघटन र अग्रगमनको संक्रमणकालिन चौबाटोमा उभिएको हो । तसर्थ देशलाई तत्काल अग्रगामी र प्रगतिशील रुपान्तरणको खाँचो परेको छ । यस अवधारणा पत्रमार्फत नेपालीजनले झेल्नुपरेको विभिन्न संकटहरु, संकटका कारणहरु र समाधानका बारेमा समाजका सबै तहसम्म विमर्श गर्न खोजिएको छ । सुझाव संंकलन गर्न खोजिएको छ । मौजुदा संसदीय व्यवस्थावाट मात्र जनताको आशा अपेक्षा सम्बोधन नहुने निश्कर्षसहित महासचिव विप्लव सीको नेतृत्वमा एकीकृत जनक्रान्ति गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले समाधानको उपाय प्रस्तुत गरेको छ । यहाँहरुलाई रचनात्मक सुझावको लागि हार्दिक आग्रह गर्दछौं ।
आदरणीय मित्रहरू,
नेपाल अहिले इतिहासकै सर्वाधिक चुनौतीपूर्ण र सम्वेदनशील मोडमा छ । अमेरिकाले एमसीसी परियोजना बोकेर नेपालको स्वाधीनता र सार्वभौमसत्तामा ठाडो हस्तक्षेप गरेको छ । शासन प्रणालीमा जनताको पहुँच निकै कमजोर छ, जनजीविकाको समस्या विकराल छन् । भ्रष्टाचारका काण्डैकाण्डका खातमा शासकहरु सुतिरहेका छन् । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताहरु आमजनताको पहुँचबाट टाढा छन् । नेपाली युवा विद्यार्थीहरुले नेपालमा भविष्य देख्न छोडेर लाखौंको संख्यामा विदेशिन बाध्य छन् । परिवार समाजहरु विघटन भैरहेका छन् । मौजुदा परिपाटीमा उज्यालो भविष्यको ढोका बन्द हुँदै गएपछि नेपाली समाज उज्यालो भविष्यको नयाँ विकल्पको ब्यग्र प्रतिक्षामा छ । जनताले फेरि नँया विश्वास, आशा र आदर्शलाई पुनर्गठन गरिरहेका छन् । जनतामा फेरि विश्वास र आशा जागृत हुँदै गएको छ । संकट सधैं चुनौती बोकेर मात्र आउँदैन सम्भावनाको नयाँ ढोका ढक्ढक्याउदै पनि आइरहेको हुन्छ । खुल्ला तरिकाले बहस गरौं, विना आग्रह नँया निश्कर्ष निकालौं । हामीले पार्टीको तर्फबाट यो अभियान चलाइरहेका छौं, हामीलाई आशा र विश्वास छ हाम्रा अवधारणाहरु यहाँहरुका सल्लाह, बहस र संघर्षका घर्षणले साझा अवधारणमा रुपान्तरित हुनेछन् ।
देशमा विद्यमान मुख्य संकटहरु:
१. राजनीतिक संकट
मौजुदा संसदीय राजनीतिको आशा, आदर्श र विश्वास भत्किदै गएपछि नेपालका राजनीतिक पार्टी र नेताहरू प्रति विश्वास गुम्दै गएको छ । संसदवादी पार्टीहरुको आपसी गालिगलौज, सरकार अदलबदल, सरकार बनाउन र बचाउन जस्तोसुकै अनुचित सम्झौता गर्ने पुरानो संसदीय रोग नेपालमा निको नहुने नयाँ क्यान्सर रोगको रूपमा विकसित हुन पुग्यो । संसदीय अस्थिरता, मोलमोलाइ र भ्रष्टाचार संसदीय राजनीतिका सारथी बने । सिद्धान्त र आचरणको बेमेल, नक्कली आश्वासनहरुको बाढी, भ्रष्टाचारका काण्डैकाण्डका खात, विभिन्न पात्रको उत्थान र पतनको शृङ्खला, पुराना दलालहरुको पतन र नयाँ दलालहरुको उत्थान, वैभव र बिलासिताको प्रतिस्पर्धाले राजनीतिलाई विद्रुपीकरण गरिरहेका छन् । अर्कोतिर अग्रगामी रुपान्तरणको लागि–वामपन्थी, लोकतान्त्रिक गणतन्त्रवादी, देशभक्त र समाजवादी शक्तिहरुले सन्चालन गरिरहेको सँघर्ष, आन्दोलन र क्रान्तिलाई अवरुद्ध गर्न, ओझेल पार्न र घेराबन्दी गर्न विभिन्न षड्यन्त्र चलिरहेका छन् । यथास्थितिको पक्षपोषण र पश्चगमनको तावेदारीता, फेरी नेपालको राजनीतिमा कथित विकल्पको रसिला नारा लगाँउदै जनतामा ब्याप्त असन्तुष्टि र निराशाको दुरुपयोग गर्न चर्को कृयाशिलतामा प्रकट भएको छ ।
यी सबै कुरा वर्तमान संसदीय व्यवस्था, पार्टी र तिनका नेताहरुको असफलताबाट निस्किएका विकारहरु हुन् । मौजुदा गणतन्त्रलाई दलाल पुजीवादले नियन्त्रणमा राख्नुका परिणामहरु हुन् । दलाल पुजीवादले नियन्त्रणमा राखेको गणतन्त्रलाई वैज्ञानिक समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न सँघर्ष र क्रान्तिमा हेलिएको, नेपाल कम्युनिस्ट पार्टी सँग गरिएको तीन बुँदे सहमति राज्यको तर्फबाट उल्लंघन गर्ने र लागू नगर्ने समस्याले नेपालको राजनीतिलाई अरु संकटग्रस्त बनाउदै लगेको छ । नेपाली जनताको बिचमा समाजवादको जीवन्त सपनाले आशाको उज्यालो विकल्प देखाइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लगाएतका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेर नेपाललाई संकटको भूमरीमा फसाईरहने षड्यन्त्र चलिरहेको छ । वस्तुतः राजनीतिक आर्थिक रुपान्तरणको अपूर्णता र संकटलाई थेग्न सक्ने प्रणाली नहुनु नै आजको राजनीतिको मुख्य संकट हो । तसर्थ अब समाजवादी राजनीतिक प्रणाली मान्य शक्तिहरू बिचको सहकार्य र एकतालाई बलियो बनाउदै देशलाई नेपाली विशेषताको समाजवादमा रुपान्तरण गर्नुपर्दछ । अरु पाल्सी गफको कुनै औचित्य छैन । समाजवादको जीवन्त प्रयोग र उज्यालोले मात्र निराशालाई आशामा, अविश्वासलाई विश्वासमा, विघटनलाई पुनर्गठनमा रुपान्तरण गर्न सकिन्छ । यसको प्रयोग नेपाल कम्युनिस्ट पार्टीले, आन्तरिक पार्टी जीवनमा उत्सवमय ढंगले लागू गरिरहेको छ, जनस्तरमा लागु गर्न संघर्ष संचालन गरिरहेको छ ।
२. आर्थिक संकट
देशको विकास र समृद्धिको लागी, अर्थतन्त्र आत्मनिर्भर र बलियो हुनुपर्छ । तर नेपालको अर्थतन्त्र परनिर्भर छ, आयातमुखी छ । जस्ताे–देशको कुल ग्राहस्त उत्पादन ५३ खर्व ८१ अर्व १३ करोड छ । देशको वैदेशिक ॠण २३ खर्व ८४ अरब पुगेको छ । प्रतिव्यक्ति ८२ हजार ॠण थोपरिएको छ । व्यापार आयात ९१ प्रतिशत, निर्यात ९ प्रतिशतमा सिमित छ । व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रहेको छ । बेरोजगारीको ग्राफ दिनप्रतिदिन आकासिदो छ । विभिन्न तथ्यांक र सर्वेक्षण अनुसार रोजगारीको खोजिमा वैध अवैध बाटोबाट ७० लाख भन्दा बढी युवाले देश छोड्न अभिशप्त भएका छन् । स्कुल कलेज रित्ता हुँदै गएका छन्, पासपोर्ट बनाउने र बनाएकाहरुको ताँतीको कहालीलाग्दो विवरणले देशको अर्थतन्त्रको भयावह अवस्था चित्रण गरिरहेकै छ । कृषियोग्य बहुउपयोगी जमिन हुँदाहुँदै पनि जम्मा तीन महिनालाई मात्र पुग्ने उत्पादन छ । उद्योग कलकारखाना धरासयी छन् । सरकारी उद्योगका जमिन र मेसिनहरु समेत माफियाहरुको सेटिङमा बिक्रि गरेर खाने शासकीय तरिकाले मित्र राष्ट्रहरुले बनाइ दिएका उद्योगहरु पनि अब इतिहासका पानामा सिमित भएका छन् । मुल्य वृद्धि चर्को छ । यस्ता आर्थिक सूचकांकहरुको नकारात्मक अध्यावधिक विवरण लगातार सार्वजनिक भैइरहेका छन् । अर्कोतिर विदेशी ॠण र युवाहरुले पठाइदिएको विप्रेषण, चर्काे कर र ब्याज असुलीले पैसाको पहाड थुप्रिएको छ तर आर्थिक मन्दिको कुइरोमा आम नागरिकहरू, उद्योगी, व्यापारी सबै पिल्सिनु परेको छ । पैसा कहाँ जान्छ कुनै मतलब छैन, विकास र समृद्धिको सरकारी भाषण निकै चर्को छ ।
अरु कुरा जतिसुकै गरेपनि त्यसको कुनै अर्थ हुँदैन । अर्थतन्त्रमा तीनवटा सूचकांक मुख्य मानिन्छन् एक उत्पादकत्व –कृषि, औद्योगिक, सेवा, दुई रोजगारी सृजना, तीन– पुजीगत खर्च । यी सबै सूचकांकको कहालीलाग्दो तथ्यांकको बारेमा सवैलाई जानकारी र अनुभूति नै छ । भ्रष्टाचारको अकण्टक शृङ्खला– यति, ओम्नी, गिरीबन्धु टी स्टेट, एनसेल, सुन, नक्कली भुटानी शरणार्थी, बाँसवारी, ललिता निवास जस्ता कान्डैकाण्डको लामो विवरण पढ्नै पट्यार लाग्दो छ ।भ्रष्टाचार संस्थागत नीतिगत र आचरणगत रुपमै महामारीको रुपमा फैलिएको छ । यी सबै विकारहरु, नेपालको अर्थराजनीति दलाल पुजीपतिको कब्जामा पुगेपछि निम्तिएका हुन् । नेपाली अर्थतन्त्रलाई दलाल पुजीवादको जिम्मा लगाउने काम नवउदारवादी अर्थनीति र यसका नेपाली एजेन्टहरुले गरेका हुन् । अब यो समस्यालाई हल गर्ने अर्थनीति भनेको नेपाली विशेषताको समाजवादी अर्थनीति हो ।
३. वैदेशिक हस्तक्षेप र स्वाधीनताको समस्या
अमेरिकी परियोजना एमसीसी, नेपाली जनताले अस्वीकार गर्दागर्दै नेपालको संसदबाट जवर्जस्ती अनुमोदन गराइएको छ । ५० करोड अमेरिकी डलरमा नेपालको स्वाधीनता बन्धक बनाइएको छ । विकासको नाममा नेपाल प्रवेश गरेको एमसीसी, अमेरिकी सैनिक परियोजना आइपिएसको अभिन्न अंग भएको कुरा अमेरिका आफैले भनिसकेको छ । एमसीसीको नालीबेली देशभक्त नेपाली सबैले बुझेकै विषय हो । नेपालको राजनीतिक अस्थिरता र संसदीय लाचारीपनको फाइदा उठाउदै नेपालको सामरिक भूगोल ,बहुमुल्य प्राकृतिक सम्पदा, खनिज पदार्थ र जलश्रोत नियन्त्रणमा लिने, नेपालको वामपन्थी समाजवादी शक्तिहरुलाई निष्प्रभावी बनाउने, आर्थिक प्रतिस्पर्धी चीनलाई घेराबन्दी गर्ने, भारतलाई पनि आफ्नो प्रभाव र दवाफमा राख्ने, मुख्य योजनामा–एमसीसी नेपालको विद्यमान कानुनभन्दा माथिको मान्यता लिएर आफ्नो कानुनी र सैनिक सिकन्जामा नेपाललाई राख्ने अमेरिकी रणनीतिसहित नेपाल प्रवेश गरेको छ । विकासको गुलियो नारा लगाउदै १४ हजार किलोमिटर टाढावाट नेपाल आएर अमेरिकाले हस्तक्षेप बढाएको छ । सत्ता स्वार्थमा नेपालको भुराजनीति बेचिने गरेको छ । नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगाएतका ठाउँहरुमा भैरहेको भारतीय दादागिरी यथावत छ ।
अमेरिकी घातक परियोजना एमसीसीका विरुद्ध देशभक्त र बामपंथी सक्तिहरुले सँघर्ष सन्चालन गर्दै आइरहेका छन् । नेपालको लागी यो परियोजना सुगौली सन्धि पछिको सबैभन्दा घातक सम्झौता हो । यसले देश र जनताको जीवनलाई ठुलो आघात पुर्याउँदै छ । तसर्थ , अब सच्चा बामपंथी, लोकतान्त्रिक गणतन्त्रवादी, देशभक्त र समाजवादी शक्तिहरुले एकताबद्ध भएर अतिक्रमणकारी परियोजनालाई असफल पार्नैपर्छ, कुनैपनि सैनिक गतिविधिलाई बिफल बनाउनु पर्छ । एकदमै साँचो कुरा हो कि एमसीसी आर्थिक सहयोग होइन सहयोगको आवरण मात्र हो, अनुदान होइन अतिक्रमण हो, अमेरिकी सैन्य रणनीति हो । यसले नेपालमा विध्वंसकारी संकट बोकेर ल्याएको छ । सैनिक परियोजनाको रूपमा एमसीसी लागु हुन नदिन समयमै देशभक्तहरुले बलियो मोर्चा निर्माण गरेर सशक्त प्रतिवाद गर्नु हाम्रो देश र जनताको हितमा हुनेछ ।
संकटका मुख्य कारणहरु:
१. विकृत संसदीय राजनीतिक प्रणाली ।
२. भुमण्डलिकृत पुँजीवादी साम्राज्यवादी हस्तक्षेप र पराधीन, लाचार शासकीय आचरण ।
३. दलाल पुजीवादी अर्थराजनीति र परनिर्भर अर्थतन्त्र ।
४. श्रम र उत्पादनशील संस्कृतिबाट च्युत–प्रशासकीय, राजकीय उपभोक्तावादी आचरण ।
नेपालमा विद्यमान चिन्तनधाराहरु
१. पश्चगामी धारा – बंश परम्परा र धर्मलाई राजनीतिको मियो मानेर सत्ता पुनरागमन गर्न क्रियाशिल सामन्तवादी पात्र र प्रवृतिहरु यस धारामा सक्रिय छन् । यस चिन्तनधाराले समाजको गतिशीलतालाई अस्विकार गर्दछ । यस्तो राजनीतिले इतिहासको पाङ्ग्रालाई उल्टो घुमाएर निकासको अवैज्ञानिक र औचित्यहिन तर्कको सहारा लिन्छ ।
२.यथास्थितिवादी धारा– मौजुदा व्यवस्थाको महिमामन्डित गर्ने, समस्याको कारण अर्थराजनीतिक व्यवस्थामा नखोज्ने, समस्यालाई अमुक पात्र र पार्टीसँग मात्र जोड्ने, विधान र घोषणा पत्रहरुमा लोकतन्त्र, समाजवाद आदि सबै लेख्ने तर कार्यन्वयनमा जान कहिल्यै तयार नहुने, सिद्धान्त र आचरणको बिचमा कहिल्यै मेल नदेखिने, अरुलाई गालीगलौज गरेर आफू राम्रो देखिने, संसदीय विकारबाट आजित जनआक्रोशलाई हल गर्न व्यवस्थाको विकल्प नखोज्ने गतिमारा, नयाँ र पुराना पात्र र प्रवृत्तिले यस चिन्तनधारालाई बोकिरहेका छन् ।
३. अग्रगामी धारा–स्वाधिनताको पक्षमा उभिएर क्रान्ति र बलिदानबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै संकटको मुख्य कारक दलाल पुजीवादी व्यवस्थालाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्न तयार हुने र सहमत हुने पात्र, प्रवृत्ति र शक्तिहरुले यस चिन्तनधारालाई बोकिरहेका छन् । अहिलेको सन्दर्भमा सबैभन्दा वैज्ञानिक र वस्तुवादी चिन्तनधारा यहि नै हो ।
माथी उल्लेखित तीन धाराहरुको विश्लेषण गर्दा, बहसमा सहभागी हुँदा र निष्कर्ष निकाल्दा बनिबनाउ निरपेक्ष विचारको आग्रह प्रेरित तर्क र स्तुतिगानबाट मुक्त हुनैपर्छ । समसामयिक दुनियाँका गतिशील अन्तरविरोध र आजको नेपालको स्थिति बोध गर्दै स्वाभिमानी नेपालीहरूलाई एकताबद्ध गर्ने, जनतालाई खुसी बनाउने, समाजका आवश्यकता हल गर्ने उन्नत अर्थराजनीतिक विचार र आदर्श आचरणका विषयमा केन्द्रित हुनैपर्छ ।
संकटको समाधान नेपाली विशेषताको समाजवाद
स्वाधीन राजनीति र आत्मनिर्भर अर्थतन्त्रले प्राण भर्ने राजनीतिक प्रणाली नेपाललाई चाहिएको छ र सामाजिक गतिशीलताको नियम अनुसार पनि त्यस्तो प्रणालीको विकास गर्नै पर्दछ । समाजवाद कम्युनिस्टहरुको राजनीतिक प्रणाली हो भन्ने भाष्य बनाइयो वास्तवमा समाजवाद उन्नत र समृद्ध मानव जीवनको लागी हो । नेपालमा अहिले समाजवाद सबैको साझा कार्यक्रममा रुपान्तरित हने सम्भावना बलियो बन्दै गएको छ । अहिले नेपालको अन्तरविरोध र संकटलाई हल गर्न चार मित्र शक्ति र मित्र वर्गको सहकार्य जरुरी छ । त्यस्तो सहकार्य सँघर्ष र राजनीतिक प्रणाली दुवैमा हुन्छ र गर्नुपर्छ ।
वामपन्थी, लोकतान्त्रिक गणतन्त्रवादी, समाजवादी, देशभक्त शक्ति र मजदुर, किसान, मध्यम वर्ग, राष्ट्रिय पुजिपती वर्ग अनि उत्पीडित जाति र क्षेत्रहरुलाई एकताबद्ध गर्ने नयाँ प्रणाली चाहिएको छ । यी सबैले देशको स्वाधीनता, सार्वभौमिकताको रक्षा र समाजवाद चाहन्छन् । तर यी सबैलाई सहकार्य गर्न अर्काे राजनीतिक प्रणाली चाहिएको छ यस्तो प्रणालीलाई नेपाली विशेषताको समाजवाद भन्न सकिन्छ । यसले मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पुजिपती वर्गको समस्या हल गर्दछ । महिला, श्रमिक समुदाय, जातजाति वर्ग र उत्पीडित क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुनसक्छ । जनताले निर्माण गरेका प्राकृतिक संस्कृतिको रक्षा हुन्छ, अराजकता र असहिष्णुता नियन्त्रण हुन्छ । सबैखाले हमलाहरु बिफल हुन्छन् । नेपाली विशेषताको समाजवादले वर्तमान नेपालको समस्याका मुख्य दुई गाँठा फुकाउने छ: एक–नेपालको स्वाधीनता र सार्वभौमिकतामा साम्राज्यवादी हस्तक्षेप अन्त्य गर्ने, दुई–दलाल पुजीवादी सत्ता र नेपाली जनता बिचको अन्तरविरोध हल गर्नेछ र विगतकालमा प्रयोग भएका समाजवादी सत्ताका सिमा र कमिलाई हल गर्दै भूमन्डलीकृत साम्राज्यवादको लुटखसौट र विध्वंसकारी षडयन्त्र विफल बनाउने छ । नेपाल र नेपालीका बहुवर्गीय, बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक सबै विशेषतालाई देश र जनताको पक्षमा एकताबद्दध गर्ने र अग्रगामी आर्थिक-सामाजिक रुपान्तरण गर्ने राजनीतिक प्रणाली, नेपाली विशेषताको समाजवादी प्रणाली हो । यो प्रणाली वर्तमान संविधानलाई समाजवादी संविधानमा रुपान्तरण(संशोधन), जनमतसंग्रह वा एकीकृत जनबल (क्रन्ति) गरेर स्थापना गर्न सकिन्छ, हुन्छ ।
नेपाली विशेषताको समाजवादका मुख्य विशेषताहरु:
१. दार्शनिक मान्यता–समाजको विकास कुन दिशामा जान्छ भन्ने निष्कर्ष तत् समयका मानकद्वारा निर्धारण गरिन्छ र हुन्छ । जब विकासक्रममा नयाँ सम्बन्ध, नयाँ अनुसन्धान र नयाँ मानकहरु अगाडि आउँछन्, पहिल्यैको दिशा अनिश्चय बन्न पुग्छ । यदि हामीले चाहेको दिशा सुरक्षित गर्न चाहन्छौँ भने बदलिएको वस्तु या समाजलाई निरन्तर रुपान्तरण गर्ने क्षमता राख्नै पर्छ । यसलाई अनिश्चय–सम्भावना, रक्षा र रुपान्तरणको दार्शनिक नियमले सही दिशा प्रदान गर्न सक्छ ।
२. राजनीतिक विशेषता
– नेपाली विशेषताको समाजवाद नेपाली श्रमिक जनता एवं समाजको अग्रगामी एवं प्रगतिशील प्रतिनिधित्व गर्ने कम्युनिस्ट , समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त चार मित्र शक्तिहरुको राज्य व्यवस्था हो । यसले कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्तहरुको संयुक्त राज्य व्यवस्थाको प्रतिनिधित्व गर्दछ ।
– यस प्रणालीले सामन्तवाद, दलाल पुजीवाद र साम्राज्यवाद विरुद्ध प्रगतिशील, आत्मनिर्भर एवं स्वाधीन नेपालको निर्माण गर्नेछ ।
– यो भुमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद, धार्मिक कट्टरतावाद, सर्वसत्तावाद, विखण्डनवाद विरोधी–कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी, देशभक्त शक्तिहरूको संयुक्त प्रणाली भएको व्यवस्था हो । यो दलाल पुँजीपति वर्गको अधिनायकत्वलाई फालेर स्थापना हुने व्यवस्था हो । यसले मजदुर, किसान, मध्यमवर्ग, राष्ट्रिय पुजीपती चार मित्रवर्गहरुको प्रतिनिधित्व गर्दछ ।
– राजनीतिमा सिद्धान्त र जीवन पद्धति मिलाउने नेता र नेतृत्वको विकास गर्नेछ ।
– यस व्यवस्थाको शासन प्रणाली– समाजवादी संघीयता, आम नागरिकको प्रत्यक्ष मतद्वारा निर्वाचित कार्यकारी प्रमुख हुनेछ । तथापि यो जनउत्तरदायी, सामुहिक, एकीकृत हुनेछ । संस्थागत प्रणाली र व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तलाई अनुसरण गरिनेछ । एकीकृत निर्वाचन प्रणालीबाट निर्वाचित समाजवादी संघीय व्यवस्थापिका, प्रदेश र स्थानीय स्वायत्त शासनका प्रतिनिधि समितिमा समान प्रतिनिधित्व प्रणाली सुनिश्चित गरिनेछ । पुजी नियन्त्रित चुनाव र जनमत कुन्ठित हुने दुवै समस्यालाई हल गर्न जनप्रतिनिधिका नीति र जनताको चेतनाद्वारा निर्वाचन गर्ने दलीय प्रतिस्पर्धात्मक एकीकृत निर्वाचन प्रणाली लागू गरिनेछ ।
– नीजी एवं संस्थागत रुपले वाक स्वतन्त्रता, प्रदर्शन, सभा, प्रेस स्वतन्त्रता पुर्णरुपमा लागु हुनेछन् । अधिकारहरुको प्रयोग स्वाधीनता र समाजवादी दायित्वसँग जोडेर गर्ने प्रणालीको निर्माण हुनेछ ।
३. आर्थिक विशेषता
– नेपाली विशेषताको समाजवादले –दलाल पुजीवादी स्वामित्व अन्त्य गर्दै समाजवादी एकीकृत आर्थिक स्वामित्व कायम हुनेछ । दलाल पुजीवादी स्वामित्व भनेको निगम एवं एकाधिकारवादी पुजीसँग साँठगाँठ गरेर देशको अर्थतन्त्रमाथि मुठ्ठीभर दलाल पुँजीपतिवर्गले नियन्त्रण कब्जा गर्ने प्रणाली हो । यसले जनतासँग रहेको पुजी पनि केहि व्यक्तिको खल्तीमा जम्मा गर्छ । देशको पुजी पनि विदेशी मालिकलाई सुम्पिन्छ । नागरिकहरूलाई बेरोजगारहरुको भीडमा परिणत गरिदिन्छ । बहुसंख्यक जनतालाई कंगाल बनाउदै मुठ्ठीभरलाई अतिधनाढ्यमा बदलिदिन्छ । समाजवादी एकीकृत स्वामित्वले पुजिलाई जनतातिर फर्काइदिन्छ । जस्ले पुजीको अत्याधिक परिचालन भइ उत्पादनमा वृद्धि हुन्छ भने बेरोजगारीको अन्त्यसँगै नागरिकको जीवनमा समृद्धि प्राप्त हुन्छ । वित्तीय समस्या हल गरि भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचारका श्रोतहरु नै बन्द गरिदिन्छ ।
– समाजवादी अर्थप्रणालीले आत्मनिर्भर, प्रतिस्पर्धात्मक र समृद्धिलाई एकीकृत गर्दछ ।
– समाज र नागरिकको जीवनप्रति उत्तरदायी नागरिकका लागी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुचनाको अधिकार सुनिश्चित गर्नेछ ।
– अत्यधिक समृद्धिको लागि व्यक्ति र संस्थाले क्षमता प्रयोग गर्ने सम्पुर्ण अवसर सृजना गरिनेछ । न्युनतम जीवन व्यवस्थापनमा राज्यले दायित्व बहन गर्नेछ ।
– कृषि उत्पादनबाट आत्मनिर्भर र औद्योगिक उत्पादन, व्यापारबाट समृद्धि हासिल गरिनेछ ।
– आर्थिक पारदर्शिता र अनुशासन सुदृढ गरिनेछ ।
– राष्ट्रिय उद्योगी, व्यापारीको संरक्षण र सम्बर्धन गर्नेछ । नेपालको राष्ट्रहित अनुरुप प्रवेश गर्ने र सन्चालन गरिने विदेशी उद्योगपति, व्यापारीहरुलाई उचित अवसर र सुरक्षा प्रदान गर्नेछ ।
–नेपालको जलस्रोत, विद्युत, जङ्गल, जटिबुटी, खनिज, जमिन, साँस्कृतिक सम्पदा र पर्यटनलाई आर्थिक आधारको मूलश्रोतमा बदलिनेछ ।
– आर्थिक कार्यमा प्रविधि र मानव श्रमलाई समायोजन गर्नेछ । खाडी अरबका मरभूमि र काला पहाडलाई सुन्दर बनाउने पाखुराहरु नेपाल बनाउने अभियानमा रोजगारीसहित लामबद्ध गरिनेछ । विश्वको जुनसुकै गोलार्धमा पुगेका नेपाली विज्ञ र दक्ष प्राविधिकहरुको क्षमता र अनुभवलाई नेपालको विकास र समृद्धिको कर्ममा जोडिने छ ।
४. साँस्कृतिक विशेषता
– नेपाल बहुसंस्कृति भएको देश हो । जनताले लामो श्रम, सघर्ष र जीवन सन्चालनको क्रममा केही सच्चाइ, केही भ्रम, केही काल्पनिक आस्थाका आधारमा निर्माण गरेका परम्परागत संस्कृतिहरु छन् । यस्ता संस्कृतिमा रहेका सच्चाइहरुको संरक्षण, जनविरोधी संस्कृतिलाई निरुत्साहित, परिमार्जिन तथा जनउपयोगी गराउनु पर्दछ र जनसंस्कृतिहरुको सम्मान, संरक्षण र प्रोत्साहन गर्नुपर्दछ । सांस्कृतिक विभेद र आर्थिक –मानसिक शोषणको अन्त्य गर्नैपर्छ ।
– राज्यले आफ्ना जनताको इतिहास, गौरव, पौरख संस्कृतिको संरक्षण र विकास गर्ने गरि कार्यक्रमहरु विकास गर्नेछ ।
– जनताको सँघर्ष, क्रान्ति, विद्रोह र श्रमिक जनताको मेहनतले सृजना भएका नविन, भौतिकवादी, वैज्ञानिक संस्कृतिलाई विशेष सम्मान, संरक्षण र विकास गर्नेछ ।
– हरेक नागरिकले श्रम र समयको प्रयोग गर्ने अवसर सृजना गर्नेछ ।
– ज्ञान र श्रमलाई स्वदेशमै राखेर उत्पादनलाई निर्यात गर्ने संस्कृतिको विकास गर्नेछ । विदेशीको चाकरी गर्ने, मागेर खाने, हात पसारेर खाने पराश्रित आदत, संस्कारको अन्त्य गर्नेछ ।
– श्रम, मनोरञ्जन, अध्ययन–अनुसन्धानलाई समाजवादले नयाँ संस्कृतिको रूपमा विकास गर्दछ । मान्छे समाजमा सुसभ्य बन्नका लागि श्रम, मनोरञ्जन, अध्ययन–अनुसन्धानमध्ये कुनै एक भएर मात्र पुग्दैन ।तीनै विषयमा सक्षम र दक्ष भएर मात्र ऊ एउटा योग्य नागरिक बन्दछ ।
५. सामाजिक विशेषता
– अमानवीय जात व्यवस्थालाई उन्मुलन गरिनेछ । समाजका सामाजिक संस्कार, संस्कृतिको संरक्षण गर्दै धार्मिक अन्धविश्वास बोक्सी, धामी, झाँक्री प्रथालाई राज्यले उन्मुलन गर्नेछ । हरेक नागरिकलाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्ने अभियान चालिने छ ।
– शिक्षा, स्वास्थ्य, यातायात, सुचना जस्ता विषयलाई राज्यको दायित्वभित्र लगिने छ ।
शिक्षा– कुनैपनि बालबच्चा शिक्षाको अवसरबाट बन्चित हुने छैनन् । विषयगत अध्ययन–अनुसन्धानका लागि निजी एवं संस्थागत अध्ययनलाई पनि छुट दिइनेछ । त्यसोगर्दा पनि राज्यको आधारभुत मान्यताभित्र गरिनेछ ।
– विद्यार्थीलाई प्रदान गरिने शिक्षालाई सवैभन्दा पहिले वैज्ञानिक, प्राविधिक, आधुनिक, व्यवहारिक र सुलभ बनाइने छ । उच्चशिक्षासम्म पुग्दा कुनैपनि विद्यार्थी एउटा विषयमा योग्य र दक्ष जनशक्ति बन्न सक्ने बनाइने छ ।
– शिक्षालाई आर्थिक उत्पादन कार्यसँग जोडिने छ । श्रम–शिक्षालाई अनिवार्य गरेर रोजगार र चरित्र निर्माणको आधार बनाइनेछ ।
स्वास्थ्य– जनताको आधारभूत स्वास्थ्य उपचारको दायित्व समाजवादी राज्यले बहन गर्नेछ । नागरिकहरूको क्षमता अनुसार देशभित्र र विदेशमा पुगेर स्वास्थ्य सुविधा लिन पाउने व्यवस्था मिलाइने छ ।
– सुलभ स्वास्थ्य सेवाको लागि वृद्धवृद्धा, बालबालिका, अपाङ्ग, अशक्तका लागि गृह–स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
– आम नागरिकहरुलाई स्वास्थ्य शिक्षा दिन जोड दिनेछ ।
सूचना सञ्चार– हरेक नेपाली नागरिकलाई देशका सूचना लिने र दिने समान अधिकार हुनेछ । प्रचार गरिने सामग्री सत्य, तथ्य एवं नैतिक हुनेछन् । झुट, भ्रामक, अराजक, अश्लील, छाडा प्रसार (प्रसारलाई रोक लाग्नेछ ।
यातायात प्रणाली –दिगो विकासको लागि यातायात पूर्वाधार अनिवार्य सर्त हो । वस्ती, भूगोलसँग मेल खाने पूर्वाधार र साधनलाई सुव्यवस्थित, सुरक्षित योजनाबद्ध विकास गर्ने नीति अबलम्बन हुनेछ ।
६. अन्तर्राष्ट्रिय सम्बन्ध
नेपाली विशेषताको समाजवादले– विश्वसँग स्वाधीनता र सहकार्यको नीतिमा काम गर्नेछ । मुख्यतः पञ्चशीलताको सिद्धान्तमा उभिएर सबैसँग सहकार्यमा बढ्नेछ । नेपाल असंलग्न आन्दोलनको सदस्य भएर प्रभावकारी भूमिका खेल्नेछ ।
– नेपालमाथि कुनै पनि कालखण्डमा लादिएका असमान, राष्ट्रहित विपरितका सन्धी–सम्झौता खारेज या पुनरावलोकन गर्नेछ । ठुला मामलाहरुमा निर्णय लिनु परेमा जनमतसंग्रह प्रयोग गर्नेछ ।
– विश्व मानव जातिलाई पुँजीवादी विश्वबाट समाजवादी विश्वमा जान प्रोत्साहित गर्नेछ ।
– विश्वका सबै देशको शान्ति, समानता, स्वतन्त्रताको पक्षमा उभिनेछ । कुनैपनि बहानामा एक देशले अर्को स्वतन्त्र देश्माथि विशेष शक्तिशाली देशबाट गरिने हस्तक्षेप, अतिक्रमण र हमलाको विरोध गर्नेछ ।
७. सुरक्षा
–समाजवादमा देशको स्वाधीनताको रक्षा र आमनागरिकहरुको सुरक्षित जीवन सुनिश्चित गर्ने सामाजिक सुरक्षा नीति बन्नेछ । बाह्यशक्तिको हस्तक्षेप, बलमिचाइ, अतिक्रमणबाट देशको रक्षा गर्ने पहिलो नीति बन्नेछ भने देशभित्र बसोबास गर्ने हरेक नागरिकले कसैको थिचोमिचो, शोषण उत्पीडनविना जीवन बाँच्न सक्ने आन्तरिक सुरक्षा नीति निर्माण दोस्रो बन्नेछ ।
– १८ वर्ष पुगेका हरेक नेपाली नागरिकलाई आधारभूत सुरक्षा तालिम दिने व्यवस्था गरिनेछ । देशको रक्षा गर्न बालिग युवाहरुलाई जन–मिलिशियाकरण गर्ने नीति लिइनेछ ।
८. नेपाली विशेषताको समाजवादले मुख्यत :
किसानलाई जमिन, मजदुरलाई उचित तलब, विद्यार्थीलाई वैज्ञानिक शिक्षा, बिरामीलाई उपचार, युवालाई रोजगार, वैज्ञानिकहरुलाई अनुसन्धान केन्द्र, महिलालाई सुरक्षासहितको समान अधिकार, श्रमिक समुदायलाई सम्मानसहितको विशेष अधिकार, मधेस र जनजातिलाई संघीयतासहितको सत्तामा समान प्रतिनिधित्व, कर्णाली सेतीमहाकालीलाई विशेष सुबिधा, कर्मचारी सेनाप्रहरीलाई निश्पक्ष जिम्मेवारी, उद्योगीहरुलाई प्रोत्साहनसहितको सुरक्षा, मध्यम वर्गलाई सुरक्षा र सहयोग, देशभक्तलाई स्वाधीनता, लोकतान्त्रिक गणतन्त्रवादी शक्तिका लागि प्रतिस्पर्धा सुनिश्चित गर्नेछ ।
सबैका लागि समानता सबैका लागि स्वतन्त्रता सुनिश्चित गर्नेछ ।
अन्तमा,
साँचो कुरा के हो भने नवउदारवादी अर्थराजनीतिको बेलगाम निरन्तरताबाट वर्तमान नेपालको राष्ट्रिय संकट हल हुनै सक्दैन । देशले स्वाधीनता र समाजवाद प्राप्त गर्न सक्दैन । निश्चित रूपमा परम्परागत समाजका प्रचलित मानकहरु भत्काएर नयाँ मानवीय मानक सृजना गर्ने दृष्टिकोण सत्ता र शक्तिमा बसेर मोज गरिरहेका शासकहरुलाई बिझाइ रहन्छ । तत्समयका अग्रगामी चेतमाथि साशकहरुको अवसान नहुँदासम्म बलमिचाइ चलिरहन्छ । विचार उत्पादन हुन्छन, विमर्शमा जान्छन्, ज्ञान बन्छन् र समाजमा वितरित हुन्छन्, सहज हुदैनन्, पुरानोलाई प्रतिस्थापन गर्न तर पुनस्थापित भएरै छाड्छन् –नयाँ विचार र मानकहरु । समाज विज्ञानको गतिशीलता भनेकै यही हो । नवीन विचार, दृढ इच्छाशक्ति र आदर्श आचरण बोकेर नेकपाका महासचिव विप्लव सी नेपाली राजनीतिमा प्रस्फुटित हुनुभएको छ । आउनुहोस् समसामयिक नेपालका– गतिशील अन्तरविरोध हल गर्न र संकटलाई थेग्न सक्ने राजनीतिक प्रणाली, नेतृत्व र आर्थिक ढाँचा निर्माणको महाअभियानमा सामेल बनौं । राष्ट्रिय स्वाधीनताको रक्षा गरौं । समाजवाद स्थापना गरौं, यसलाई वैज्ञानिक बनाऔं, उन्नत बनाऔं, नेपाली विशेषतामा लागु गरौं ।
फाल्गुन २०८०
सन्दर्भ सामग्री:
१. नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको दस्तावेज
२. नेपाली विशेषताको समाजवाद–विप्लव सी
३. एमसीसीको चिरफार – सन्तोष सी विषम
४. विभिन्न लेख तथा जर्नलहरु