 
                हापुरे: नेत्रविक्रम विप्लव सीसहित ४ दल सम्मीलित समाजवादी मोर्चा नेपालको बबई गाउँपालिका स्तरीय कमिटी गठन गरिएको छ ।
शनिबार बबई गाउँ कार्यपालिकाको सभाहलमा आयोजित समाजवादी मोर्चा नेपाल बबई गाउँपालिकाको घोषणासभामार्फत ९ सदस्यीय कमिटी घोषणा गरिएको हो ।
९ सदस्यीय मोर्चाको कार्यसमितिमा एकलाल घर्ती (माओवादी केन्द्र) को अध्यक्षतामा अन्जु घर्ती (माओवादी केन्द्र), प्रेम जिसी (माओवादी केन्द्र), निम बहादुर सी (नेपाल कम्युनिस्ट पार्टी), रण बहादुर सी (नेपाल कम्युनिस्ट पार्टी), दिल बहादुर सी (नेपाल कम्युनिस्ट पार्टी), प्रदिप केसी (नेकपा एस), केशव ओली (नेकपा एस), इश्वरी भण्डारी (नेकपा एस) सदस्यहरु रहेका छन् ।
मोर्चाको विधान बमोजिम ४/४ महिनामा नेतृत्व फेरबदल हुने समेत जनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्के (राजेश) को प्रमुख आतिथ्यमा सम्पन्न समाजवादी मोर्चा नेपाल बबईको घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् राप्ती ब्युरो इन्चार्ज सविन सी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अनारकली मियाँ, नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी, नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकास सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सी लगाएतको आतिथ्यता रहेको थियो ।

घोषणा सभालाई सम्बोधन गर्ने वक्ताहरुले समाजवादी मोर्चाले अहिलेको संकटलाई निकास दिने विश्वास व्यक्त गरेका थिए ।
घोषणा सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लुम्बिनी प्रदेशका अर्थमन्त्री एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेशले माओवादी जनयुद्धले निरंकुश एकात्मक शासन व्यवस्थाको अन्त्य गरेपनि अब नेपाली जनताको समाजवादको चाहना समाजवादी मोर्चाले पूरा गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिस्ट अतिथि नेकपाका केन्द्रीय सदस्य सविन सीले अहिzलेको मानिसहरुमा निराशा र कुण्ठा मात्रै रहेकाले यसलाई समयमै सम्बोधन नगरे मुलुकमा राजनीतिक विस्फोट हुने खतरा रहेको बताए ।
उनले भने,– ‘ संसदीय व्यवस्थाले नेपाली जनताको समृद्धिको चाहना पूरा गर्न सक्दैन भन्ने कुरा पटकपटक प्रमाणित भइसकेको छ । अहिले मानिसहरुमा देखिएको निराशा, आक्रोश र कुण्ठाको कारण पनि यहीँ व्यवस्था हो । यो आक्रोशलाई समयमै सम्बोधन गर्न नसके राजनीतिक विस्फोट हुन सक्छ । त्यसैले अबको निर्विकल्प विकल्प भनेको समाजवाद हो । नेपाली जनताको समाजवादको चाहना समाजवादी मोर्चा नेपालले पूरा गर्नेछ ।’
समाजवादी मोर्चाको घोषणा सभामा बोल्दै नेकपा एकीकृत समाजवादीकि नेतृ अनारकली मियाँले अबको विकल्प भनेको समाजवाद हो भन्ने दलहरुबिच समाजवादी मोर्चा बनेको जिकिर गरिन् ।


नवनिर्वाचित समाजवादी मोर्चा नेपाल बबई गाउँसमितिको ९ सदस्यीय कमिटीलाई बधाई मन्तव्य नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले व्यक्त गरेका थिए ।
नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीको सञ्चालनमा सुरु भएको कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका एकलाल घर्तीले गरेका थिए ।
घोषणा सभामा नेकपा निकट सामना परिवारले विभिन्न सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।




