७ जेष्ठ २०८१, सोमबार

देशलाई, जनतालाई दु:ख पर्दा साना माेफसलका मिडियाले लडिरहेका छन्, बाेलिरहेका छन् : अनिल सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जनपत्रकार सङ्गठनका फ्र्याक्सन इन्चार्ज अनिल सीले देशलाई, जनतालाई दु:ख पर्दा साना माेफसलका मिडियाले लडिरहेकाे र बाेलिरहेकाे बताएका छन् ।

जनपत्रकार संगठन नेपालले आज काठमाडौंमा आयाेजना गरेको नेपालकाे आमसञ्चार क्षेत्र: विद्यमान समस्या र अबको गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अनिलले मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जा रहेकाले ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा नबाेलेकाे बताए ।

उनले नेपालको मिडिया क्षेत्रमा पनि पूँजीपति वर्गकै वर्चस्वका कारण प्रेस जगत स्वतन्त्र हुन नसकेको बताए । मिडिया हाउसका सम्पादक तथा पत्रकारहरुले जनपक्षीय पत्रकारिता गरेकै कारण उनीहरुले हट्नुपर्ने अवस्था रहेको बताए । “देशको राष्ट्रियता र जनजीविकासँग जोडिएका विषयमा साना मिडियाले नै बाेलिरहेका छन् उनीहरूको भूमिका सकारात्मक रहेको छ, उनले भने । पत्रकारहरुको छाता संगठनको रुपमा रहेको पत्रकार महासंघमा पनि ठूला भनिनेहरुको उपस्थितिले श्रमजीवी पत्रकार र साना मिडियाहरु पाखा लाग्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।

विदेशी उदारवादले हामी सबैको भविष्य पिल्सिएकाे बताउदै नेता अनिलले बाेल्न दिने तर खान नदिने जुन उदारवाद छ यो उदारवादलाई अन्त्य गरि सबैले भन्ने गरेको समाजवादमा ल्याउन अब भूमिका खेल्न आवश्यक रहेको बताए   ।

उक्त कार्यक्रममा समाजवादी प्रेसका अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारहरुका विभिन्न समस्या र चुनौतीहरूलाई औंल्याउँदै पत्रकारका लागि बनेका नीति, विधि र व्यवस्था कुनै पनि ठिक नभएको बताएका छन् । उनले विज्ञापन वोर्डबाट केही मुठ्ठीभरका पत्रिकाले विज्ञापन पाएको र सरकारी विज्ञापनमा विज्ञापन बोर्डले प्रसेन्टकाे रूपमा कमिसन खाने गरेको बताउदै त्यस्तो कमिसन खाने विज्ञापन वोर्ड खारेजी हुनुपर्ने मागसमेत गरे ।

सुवेदीले आफुहरु जुनसुकै सङ्गठनमा भएतापनि पेशाका रूपले हामीमा भिन्नता नभएको भन्दै श्रमजीवि पत्रकारका हकहितका लागि एकजुट हुपर्नेमा जोड दिए ।

प्रेस नेपालका महासचिव विदुर ढुङ्गेलले गैर पत्रकारहरुलाई महासंघको सदस्यता दिएको तर पत्रकारिता गरिरहेकालाई भने अनेक बहानाबाजी गर्दै सदस्यता पाउनबाट बञ्चित गरिएकाेमा आपति जनाए । उनले नेपालकाे आमसञ्चार क्षेत्रमा रहेकाे विद्यमान समस्याहरूलाई समाधान गर्न जनपत्रकार सँगठन नेपालकाे कदममा आफ्नो पनि ऐक्यबद्धता रहेको जानकारी गराए ।

प्रगतिशिल पत्रकार संघ नेपालका महासचिव प्रकाश थापाले कार्यक्रममा बोल्दै सत्य र खोजमुलक कार्य गर्ने पत्रकारहरुलाई तह लगाउने अनेक प्रपञ्च रचिने गरेको बताए । जसकारण सच्चा पत्रकारिता गर्नेलाई ज्यानको जोखिम रहेको बताउँदै नेपाली आमसञ्चार क्षेत्रमा साना मिडियाहरुलाई हरेक कुराबाट बञ्चित गरिएकोले ठूला दलको सिन्डिकेट तोड्न हामी सबैले एकजुट भई पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त अन्तरक्रियामा क्रान्तिकारी प्रेस सङ्गठनका सहसंयोजक नारायण पङ्गेनीले स्वतन्त्र पत्रकारिताका नाममा डरलाग्दो मिसनमा हिँडिरहेका ठुला मिडियाका कारण हामी श्रमजिवि र जनताका हक हितका लागि हिँडेका पत्रकारहरुले आफ्नो पहिचान लुकाउनु पर्ने अवस्था भएको बताए । रवि लामिछानेले उठाएको १२ भाई प्रसंगलाई कोट्याउँदै उनले पत्रकारिताका नाममा दलाली गरिरहेका मिडियाहरुका कारण पत्रकार भनेर भन्न पनि लाज लाग्ने विषय बनेको छ ।
उनलेे भने,’श्रमजीवि पत्रकारको पक्षमा बोल्लान् भनेर हामीले नै चुनेका महासंघका पत्रकारहरु श्रमजीवि भन्दा महासंघका मालिकका पक्षमा बोल्दछन् । बालुवाटारमा बसेर ३ पार्टीको भागबण्डा हुन्छ र महासंघको नेतृत्वको चयन हुन्छ यस्ता खालका गतिविधिलाई रोक्न हामी सम्पूर्ण श्रमजीवी पत्रकारहरुको एकरूपता जरुरी छ र जनपत्रकर सङ्गठनको यो पहल कदमीमा हाम्रो पूर्ण समर्थन रहेको छ ।’

त्यसैगरी नेपाल प्रेस युनियनका उपमहासचिव दिलिपा श्री अधिकारीले पत्रकारले पाउने पारिश्रमिक र सेवा सुविधा नपाइ दिदा उनीहरूको क्षमता अभिवृद्धिमा नै रोकावट आइरहेको बताइन् । सरकारकाे नीति, विधेयककाे विरुद्ध प्रेस युनियन सडकमा उत्रिएकाे भन्दै आगामी दिनहरूमा पनि पत्रकारलाई परेका समस्याका बारेमा विभिन्न सँगठनसँगको एकेबद्धता अगाडि बढ्ने बताइन् ।

जनपत्रकार संगठन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सरोकारवाला अन्य निकायको समेत सहभागी रहेको थियो । उपस्थित वक्ताहरुले वर्तमान मिडिया क्षेत्रको जटिलतालाई समाधान गर्न सबै एकजुट भएर निकास दिनुपर्ने बताए ।

कार्यक्रममा अध्यक्षता जनपत्रकार सँगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको रहेको थियो भने कार्यक्रमकाे सञ्चालन जनपत्रकार संगठनकी उपाध्यक्ष जानकी चौधरीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।