२१ बैशाख २०८१, शुक्रबार

सोभियत समाजवादी प्रयोग र समाजवादी सङ्क्रमणका समस्याहरू

इतिहास र सिद्धान्तका समस्याहरू

0

           लेखकः अभिनव सिन्हा

 

प्रस्तावना,
सोभियत संघका समाजवादी प्रयोगहरूलाई नयाँ सिराबाट आलोचनात्मक पुनर्मूल्याङ्कनभन्दा कैयौ मानिसहरूलाई असहज लाग्न सक्छ । उनीहरूलाई लाग्न सक्दछ कि सोभियत संघको समाजवादी प्रयोगहरूको विश्लेषणको प्रश्न अब प्राशङ्गिक छैन किनभने यस विषयमा अहिलेसम्म जुन आलोचनात्मक लेखन भैसकेका छन्, तिन्ले यस प्रश्नको निर्णायक रूपबाट समाधान गरिदिएका छन् । यद्यपि हाम्रो बुभाई छ कि सोभियत संघमा समाजवादी सङ्क्रमणका समस्याहरूको प्रश्न अहिले पनि कैयौँ मानेमा एउटा समकालीन प्रश्न नै रहेको छ । तमाम महत्वपूर्ण परिवर्तनहरू हुँदा–हुँदै पनि कैयौ मानेमा बोल्सेभिक क्रान्तिको समकालीनता अहिले पनि जारी छ । यस्तो भन्नु कुनै नयाँ कुरा हुने छैन कि बोल्सेभिक क्रान्तिले मानव इतिहासमा एउटा नयाँ युगको सूत्रपात ग¥यो । इतिहासमा पहिलो पटक सचेत कम्युनिस्ट नेतृत्व र कार्यक्रम अन्तरगत एउटा मजदुर सत्ताको स्थापना ग¥यो । इतिहासमा पहिलो पटक शोषकहरूको अल्पसंख्यामाथि श्रमजीवीहरूको बहुसंख्याको अधिनायकत्व स्थापित ग¥यो । निश्चित रूपमा सोभियत सत्ता पनि एउटा राज्य सत्ता नै थियो र त्यस रूपमा त्यो पनि एउटा दमनकारी उपकरण नै थियो । परन्तु यदि यहाँ यस तथ्यलाई नदेखेजस्तो गर्ने हो भने त कसद्वारा कसको दमन तब त त्यस ऐतिहासिक घटनाको विशिष्टतालाई बुझ्न सकिंदैन । परन्तु सोभियत संघको समाजवादी प्रयोगहरूलाई नयाँ शिराबाट आलोचनात्मक पुनर्मूल्याङ्कनलाई केवल बोल्सेभिक क्रान्तिको युगान्तकारी ऐतिहासिक महत्वको कारण मात्र आवश्यक ठान्दैनौं । यसभन्दा पहिले हामीले सोभियत समाजवादी प्रयोगहरूको लगभग साढ़े तीन दशकका अनुभवहरूको एउटा आलोचनात्मक विवरण र विश्लेषण प्रस्तुत गरौं, हामीले यस पुरै विश्लेषणको औचित्य प्रतिपादन गर्न चाहन्छौं । कुनै पनि वैज्ञानिक विश्लेषणको सुरुवात हाम्रो विचारमा उद्देश्यको कथनका साथ नै हुनु पर्दछ ।

अनुवाद : भेषराज सी

सोभियत समाज–वादका प्रयोगहरूलाई विद्यमान विश्लेषणहरूलाई मोटो रूपमा दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा भाग त्यो हो जसलाई हामीले अस्वीकरणवादी (Rejectionist) हिस्सा भन्न सक्दछौं । यसप्रकारका विश्लेषणमा धेरै विविधता छन् । यस हिस्साले सोभियत समाजवादका प्रयोगहरूलाई मुख्य रूपमा असफल मान्दछ । यसमा सम्मिलित विश्लेषकहरूका अनुसार सोभियत संघमा या समाजवाद आए कै थिएन या त फेरि समाजवादी प्रयोग केही वर्षमा नै माक्र्सवादका आधारभूत सिद्धान्तहरूबाट च्यूत भएर पतित हुन गयो । तिनीहरूका अनुसार सोभियत संघमा पार्टीले वर्गलाई विस्थापित ग¥यो र वर्गको स्थानमा पार्टीको अधिनायकत्व स्थापित ग¥यो । मजदुर वर्गको बहिष्करण अन्त्य हुन सकेन । “प्रत्यक्ष उत्पादकहरू”को उत्पादनका साधनहरूमा प्रत्यक्ष नियन्त्रण हुन पाएन ।
उपरोक्त प्रक्षेपणहरूको आधारमा अस्वीकरण–वादी धारा यस निष्कर्षमा पुग्दछ कि सोभियत संघमा समाजवाद स्थापित नै हुन् सकेन या स्थापित भएको केही समय पश्चात् नै त्यो राजकीय पुँजीवाद, पार्टीको तानाशाही आदिमा बदलिन गयो ।
आर्को हिस्सा त्यो हो जसलाई हामीले आलोचनात्मक रक्षावादी (Abologist) भन्न सक्दछौं । तिनीहरूको मान्यता रहेको छ कि सोभियत समाजवादी प्रयोगमा कहीं कतै कुनै आधारभूत गल्ती भएको थिएन । यसप्रकारको विश्लेषणले सोभियत संघमा पुँजीवादी पुनस्र्थापनाको कुनै अर्थपूर्ण व्याख्या गर्न सक्दैन र पुँजीवादी पुनस्र्थापनाका कारणहरूलाई अन्ततः दुई प्रकारका कारकहरूमा ल्याएर सीमित गरिदिन्छ । एउटा कारण ऐतिहासिक छ, जसअनुसार यद्यपि यो समाजवादको पहिलो प्रयोग थियो । इतिहासमा त्यसप्रकारको प्रयोगको पहिलेदेखि कुनै उदाहरण विद्यमान थिएन । त्यसकारण गल्तीहरू हुनु वान्छनीय थियो । त्यसबाट बच्न सकिंदैन थियो । दोस्रो कारण व्यक्तिहरूको विश्लेषण माथि सीमित गरिएको छ । जसअनुसार समाजवादको असफलतालाई केही विशिष्ट व्यक्तिहरू या व्यक्तिहरूका समूहहरूका कमजोरीहरू या षड्यन्त्रहरूको परिणाम बताउने गरिएको छ । फरक–फरक व्यक्तिहरूका निम्ति ती व्यक्ति वा समूह अलग–अलग हुन सक्दछन् ।
उपरोक्त प्रकारका कुनै पनि आलोचनात्मक विश्लेषणले सोभियत संघमा समाजवादी संक्रमणको क्रममा जारी वर्ग सङ्घर्षका गतिको जाँचबुझ गर्दैनन् र पुँजीवादी पुनस्र्थापनाको सम्पूर्ण विश्लेषण आकस्मिकता (Contingency) माथि आधारित हुने गर्दछन् । जस्तो कि फलाना–फलाना व्यक्तिहरूले फलानो–फलानो गल्ती नगरेका भए त पुनः पुँजीवाद पुनस्र्थापना हुने थिएन । स्पष्ट छ कि यी कुनै ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी विश्लेषण होइनन् ।
एकदम विपरित देखिए पनि एउटा कुरा उपरोक्त दुवै प्रकारका विश्लेषणहरूमा समान छ । उपरोक्त दुवैका निम्ति सकरात्मकहरू र नकारात्मकहरूको प्रश्न हल भइसकेको प्रश्न (Settled Question) हो ।
उपरोक्त दुवै प्रकारका विश्लेषणहरू मध्ये कुनै एउटालाई मान्नेहरूका लागि यस आलेखको अन्तरवस्तु बेकारको कसरत लाग्न सक्छ, जुन कि अनावश्यक छ । हालै केही “नागरिक” कम्युनिस्टहरूले नयाँ सिराबाट सोभियत संघको समाजवादी प्रयोगहरूको भारी बहसलाई बेकार मानेका छन् र भन्ने गरेका छन्– यस विषयमा त लेनिन, स्तालिन र माओले सबै कुरा बताई सक्नुभएको छ । फेरि नयाँ शिराबाट त्यसको विश्लेषण गर्न किन आवश्यक छ ? हाम्रो विचारमा सोभियत समाजवादी प्रयोगहरूका बारेमा लेनिन, स्तालिन र माओले जुन विश्लेषण गर्नुभयो, त्यो निश्चित रूपमा अत्यन्त आवश्यक थियो र तिनै सामान्य सूत्रीकरणहरूका आधारमा सोभियत समाजवाद वा कुनै पनि देशमा समाजवादी संक्रमणको अध्ययन गरिनु पर्दछ । परन्तु यो पनि सत्य हो कि सर्वहारा वर्गका ती महान् शिक्षकहरूले समाजवादी प्रयोगहरूको क्रममा र ती प्रयोगहरूलाई राम्रो बनाउनका निम्ति गर्नुभयो । आज लेनिन, स्तालिन र माओका अन्तरदृष्टि र शिक्षाहरूको आधारमा ती प्रयोगहरूको पुनर्मूल्याङ्कन र एउटा आलोचनात्मक दृष्टिबाट सिंहावलोकन फेरि पनि अत्यन्त समकालीन हुन गएको छ । त्यसका व्यापक ऐतिहासिक कारणहरूमा हामी अगाडि प्रस्तुत हुनेछौं । परन्तु एउटा तात्कालीन कारण त यो छ कि आज पुरै देशको कम्युनिस्ट आन्दोलनमा अझै पुरै विश्वको कम्युनिस्ट आन्दोलनमा ती प्रयोगहरूको अराजकतावादी–संघाधिपत्यवादी प्रस्तुतिकरण र विनियोजनको एउटा लहर चलिरहेको छ ।
उपरोक्त ती प्रस्तुतिकरण अझ भनाैँ कि विकृतिकरणहरूमा आलोचनाको मूल निशानामा माक्र्सवादको क्रान्तिकारी अन्तरवस्तु रहने गरेको छ । अर्थात वर्ग, राज्य र पार्टीको अवधारणा । इतिहासका ती अराजकतावादी संघाधिपत्यवादी विश्लेषणहरूले कम्युनिस्ट आन्दोलनको एउटा राम्रै हिस्सामा र साथै निम्न पुँजीवादी बौद्धिक वर्गमा राम्रै प्रभाव पारिरहेको छ । यसका दुईवटा कारण छन् : पहिलो कारण आन्दोलनभित्रै समाजवादी संक्रमणका बारेमा लेनिनवादी अवस्थाको बुझाईमा अत्यन्त दरिद्रता र जसका कारण केही राजनीतिक नवधनाड्यहरूका मूर्खतापूर्ण विश्लेषण पनि उनीहरूलाई प्रभावी लागि रहेका छन् । दोस्रो कारण यो छ कि आन्दोलन जुन सङ्कट र निराशाको शिकार भएको छ, त्यसमा आफ्नै इतिहासप्रति नै एउटा निषेधवादी र प्रतिक्रियावादी रंग–ढंग देखापरेको छ ।
मानिसहरूलाई “पार्टी रूपी मूल पाप (Original sin the Party)का विभिन्न प्रकारका सिद्धान्तहरूले अत्याधिक अपिल गरिरहेका छन्, जसले ती आलाकाँचा अराजकतावादी–संघाधिपत्यवादी विश्लेषणहरूको एउटा प्रभाव आज आन्दोलन र क्रान्तिकारी बौद्धिक वर्गमाथि परेको छ । त्यसकारण सोभियत संघको समाजवादी प्रयोगलाई लेनिनवादी–माओवादी अवस्थाभन्दा नयाँ पुनर्मूल्याङ्कनको आवश्यकतालाई लामो समयदेखि अत्यन्त महसुश गरिरहेका छौं । यद्यपि हामीले भन्यांै यो तात्कालीन कारण हो र यसको व्यापक ऐतिहासिक कारण पनि छ ।
सोभियत समाजवादी प्रयोगहरूको नयाँ सिराबाट विश्लेषण किन ?
पहिलो कारण रहेको छ आजको त्यो संक्रमणकाल जसलाई हामीले पार गरिरहेका छौं । १९९०मा सोभियत संघको विघटनका साथै पुँजीवादी विजयवाद (Capitalist Triumphalism)को जुन शीलशीला सुरूभएको थियो, त्यो एक दशक पनि टिक्न सकेन । १९९७ मै वैश्विक पुँजीवादी सङ्कटसँगै त्यस बौलाहापनले भरिएको उन्माद आकास्मिक रूपमा समाप्त हुन्गयो । आफ्नो सर्वाधिक परजीवी र मरणासन्न अवस्थामा पुँजीवादले जुन सिद्धान्तहरूको रचना ग¥यो ती पनि अत्यन्त दिवालीया र खोक्रा थिए । १९८९मा बर्लिनको पर्खाल ढल्नु र १९९०मा सोभियत संघको पतन पश्चात् बृद्ध–रोगी पुँजीवादका भाडाका टट्टुहरूले ‘पुँजीवाद र उदार पुँजीवादी जनवादको अन्तिम विजय’, ‘इतिहासको अन्त्य’, ‘विचारधाराको अन्त्य’ आदिको घोषणा गरे । वास्तवमा पुँजीवादी दर्शनको अन्त्यको सुरुवात १९६०को दशकबाटै सुरु भइसकेको थियो । जसको प्रथम संस्करण डेनियल बेल, रोस्तोव र रेमों आरोंको उत्तरऔद्योगिक तथा ल्योतारको ‘उत्तर आधुनिक अवस्था’को सिद्धान्तको रूपमा अगाडि आउन थालेका थिए । यो कुनै संयोग थिएन । १९५६को बीसौं काङ्ग्रेसबाट सोभियत संघमा पुँजीवाद पुनस्र्थापना हुनगएको थियो । १९५०को दशकको अन्त्यबाट नै ख्रुश्चेवको शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण प्रतिष्पर्धा र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त अगाडि आउन थालिसकेका थिए । यद्यपि विश्वका कैयौं कम्युनिस्ट पार्टीहरूले र माक्र्सवादी चिन्तकहरूले तत्काल पुँजीवादको पुनस्र्थापनालाई देख्न सकिरहेका थिएनन् ।
उनीहरू मध्ये कैयौंले ‘वास्तवमा अस्तित्वमान समाजवाद’ जस्ता सिद्धान्त कथिरहेका थिए भने पुँजीवादी चिन्तक–विचारकले त्यस विषयलाई राम्रोसँग बुझिरहेका थिए कि सोभियत संघमा पुँजीवाद पुनस्र्थापना भइसकेको छ र अर्थव्यवस्था, राज्यव्यवस्था, राजनीति र संस्कृतिको तीव्रताका साथ पुँजीवादी रुपान्तरण हुनेछ । त्यो त्यही समय थियो जब एकातर्फ पुँजीवादी भाडाका कलम घसिट्नेहरू– नाङ्गो रूपमा पुँजीवादको अन्तिम विजय जस्ता बकवास गर्न थालिसकेका थिए भने अर्कोतर्फ कैयौं निम्न पुँजीवादी बुद्धिजीवीहरूले पनि आफ्नो हताश र संसयवादमा उत्तरआधुनिक सिद्धान्तहरूको रचना गर्न सुरु गरेका थिए । १९६०को दशकमा आएका ती सिद्धान्तहरू नै उत्तरआधुनिकतावादी विचारधाराका मुहान थिए ।
१९६८मा फ्रान्स तथा केही अन्य युरोपीय देशहरूमा सोभियत साम्राज्यवाद र सामाजिक फासिवादका कुकृत्यहरूको फलस्वरूप वाम बुद्धिजीवीहरूमा जुन मोहभङ्ग हुनगयो, त्यसले एउटा रोगात्मक प्रतिक्रिया (Pathological Reaction)लाई जन्मदियो । सोभियत साम्राज्यवादका कुकृत्यहरूलाई माक्र्सवादमाथि आरोप थोपरियो । यस्तो भन्ने गरियो कि माक्र्सवादका वर्ग, राज्य, पार्टी र अधिनायकत्वका सिद्धान्तहरू नै सोभियत संघमा सत्ता पतन हुनुका मूल कारण हुन् । त्यससँगै मई १९६८को भ्रमित पेरिसमा तमाम उत्तर–आधुनिकतावादी विचारहरूको जन्म हुनथाल्छ । त्यहींबाट उत्तरआधुनिकतावाद आफ्नो परिपक्व रूपमा अगाडि आउँदछ । १९९०मा फूकोयामाले जुन सिद्धान्त प्रस्तुत गरे, त्यो वास्तवमा तिनै कुराहरूको नाङ्गो र निर्लज्ज प्रस्तुति थियो । जुन कि तमाम उत्तरआधुनिकतावादी दार्शनिक फ्रान्सीसी वाम बुट्टेदार तरिकाले अत्यन्त चाखलाग्दो भाषामा प्रस्तुत गरिरहेका थिए । उदाहरणका लागि उनीहरूले भन्ने गरे कि माक्र्सवाद जन जागरणको नै एउटा भाग हो, जसले विभिन्न खण्डहरूको सम्मान नगरेर एउटै सार्वभौमिक तर्कलाई थोपरिदिन्छ । त्यसकारण यो एउटा “ग्रयाण्ड थ्योरी” हो । ल्योतारले ‘उत्तर आधुनिक अवस्थामा’ भने कि त्यस्ता महाख्यानहरूको समय–चक्र समाप्त भइसकेको छ । फुकोले भने कि हरेक प्रकारका सार्वभौमिकता दमनकारी हुन्छन् (जस्तै प्रश्न गर्न सकिन्छ कि यो एउटा सार्वभौम तर्क होइन) । त्यसकारण कुनै पनि मुक्तिको सामान्य परियोजना जसलाई सामूहिक अभिकर्ताद्वारा नै लागू गरियोस् त्यो पनि दमनकारी हुनेछ र सत्ताका नयाँ रूपहरूलाई जन्म दिनेछ । त्यसकारण सत्ताको प्रतिरोध व्यर्थ छ किनभने सत्ता सर्वव्यापक हुन्छ । त्यसको प्रतिरोधको केवल एउटै बाटो छ कि वैयक्तिक क्षेत्रमा सत्ताद्वारा स्थापित हरेक सार्वभौम र ‘सामान्य’को उलङ्घन गरिनु पर्दछ । यद्यपि यो उलङ्‌घन वैयक्तिक क्षेत्रमा हुनु पर्दथ्यो, यसको प्रमुख मार्ग हो ‘बडी पोलिटिक्स’ अर्थात् लैङ्गिक सार्वभौमिकताहरूको खण्डन । यही नै फुकोयामाको ‘कियर थ्योरी’ को मर्म थियो । यदि यी सम्पूर्ण सिद्धान्तहरूमा विद्यमान साझा मूल विषयलाई अङ्गिकार ग¥यो भने त्यो के हो ? त्यो हो माक्र्सवादभन्दा पनि धेरै ‘क्रान्तिकारीता’ प्रस्तुत गर्ने दावा अन्तरगत परिवर्तनका हरेक प्रकारका संस्थाहरूलाई खोस्नु, मुक्तिका हरेक परियोजनाप्रति संशयवाद र अप्रत्यक्ष रूपबाट इतिहासको अन्त्य र विचारधाराको अन्त्यको कुरा गर्नु । १९९०को सम्पूर्ण दशकमा यस्ता उत्तरआधुनिकतावादी विचारका गोरेटाहरू र नाङ्गो पुँजीवादी विजयवादी विचारहरूको बजार अत्यन्त तातेको थियो । त्यसै समयमा उत्तरआधुनिकतावादका राजनीतिक अभिव्यक्तिहरू पनि तीव्र रुपमा झाङ्गिन पुगे । स्वयंसेवी सङ्गठनहरू र अस्मितावादी राजनीतिको सुरुवात त १९७०को दशकबाटै देख्न सकिन्थ्यो । यद्यपि त्यसको स्वर्णयुग १९८०को दशकको उत्तरार्धबाट सुरुभयो । जहाँ पुँजीवादी विचारक दार्शनिक ‘कुनै विकल्प छैन’ (TINA) (There Is No Alternative) अनु.)को नारा दिइरहेका थिए, त्यहीं स्वयंसेवी सङ्गठन र अस्मितावादी राजनीति गर्नेहरूले ‘धेरै विकल्प छन्’ (TAMA) को नारा दिइरहेका थिए । ‘विश्व आर्थिक मञ्च’ (जुन भूमण्डलीकरण र नवउदारवादी नीतिहरूमा आम सहमती बनाउने साम्राज्यवादीहरूको प्रमुख मञ्च हो)का विपरित ’विश्व सामाजिक मञ्च’ बनाइयो । यसको उद्देश्य थियो वैश्विक पुँजीवादी सङ्कटहरूका विरुद्ध हुने जनताका आन्दोलनहरूलाई सहयोजित गर्नु । उपरोक्त दुवै मञ्चहरूको दोहोरो चरित्र वास्तवमा एउटा नक्कली द्वैधता थियो र पुँजीवादी, विजयवादको समयको समापनको क्रममा जनअसन्तोषलाई सहयोगित गर्नका लागि खडा गरिएको थियो । वास्तवमा ‘टिना’ र ‘टामा’ एउटै सिक्काका दुई पाटा हुन् । भन्न सकिन्छ कि तिनीहरू छद्म विकल्पहरूका समुच्चय हुन् । ‘धेरै नै विकल्प छन्’ जस्ता कुरा खण्डहरूको उत्सव मनाउने अस्मितावादी र उत्तर–आधुनिकतावादी राजनीति गर्ने व्यक्ति र सङ्गठनले मात्र भन्न सक्दछन् । किनभने ज्ञान र इतिहासमा सदैव नै एउटा मात्र सही वैज्ञानिक विकल्प विद्यमान हुने गर्दछ । यस्तो सही वैज्ञानिक विकल्पलाई खारेज गर्ने दुईवटा तरिका हुन्छन् : या त तपाईले सिधै भनिदिनुस् कि पुँजीवादमा लाखौं समस्या छन् यद्यपि यसको कुनै विकल्प छैन (हेर्नुस रूस र चीनका साथ के भयो !) र आर्को बाटो हो कि भनियोस् कि ‘धेरै नै विकल्प छन्’ परन्तु एउटा पनि विकल्पका बारेमा केही पनि ठोस र मूर्तरूपमा नबताइयोस् । केवल स–साना विखण्डित र छितरीएका सङ्घर्षहरूको उत्सव मनाइयोस्, तिनीहरूको महिमा मण्डन गरियोस् र उनीहरूलाई आफ्नो साझा दुश्मन पुँजीवादका विरुद्ध लड्नका निम्ति सङ्गठित र गोलबन्द गर्ने सम्पूर्ण प्रयासहरूको विरोध गरियोस् । ‘विश्व सामाजिक मञ्य’को सम्पूर्ण राजनीति यही हो । हालै केही मानिसहरूले माक्र्सवादको पुनः बढ्दो प्रभाव र त्यसप्रति बढ्दो जिज्ञासाका कारण यो नारा दिए ‘एउटा समाजवादी विकल्प’ छ (TIASA) परन्तु यो पनि टामाको कुरा गर्ने व्यक्तिहरूको एउटा संस्करण हो किनकि यसले पनि वास्तवमा अतीतका समाजवादी प्रयोगहरूलाई कलङ्कित गरेर एउटा तथाकथित नयाँ किसिमको समाजवादको कुरा गर्दछन् । त्यसको विस्तारमा तपाईँ जानुहुन्छ भने तपाईलाई जानकारी प्राप्त हुने छ कि त्यसमा नामका अतिरिक्त केही पनि समाजवादी हुँदैन । यी सम्पूर्ण सिद्धान्त र विचार मार्गहरू पुँजीवादको वर्चस्वका प्रणालीहरू र पद्धतिहरू हुन् ।
ती सम्पूर्ण वर्चश्वकारी प्रणालीहरू र पद्धतीहरू सङ्कटको समयमा खराब हुन थाल्दछन् र गलत कार्य (मालफंक्शन) गर्न थाल्दछन् । त्यही नै आज पुँजीपति वर्गका निम्ति चिन्ताको विषय हो । यद्यपि विश्व पुजीवाद १९७३को सङ्कट पश्चात कहिल्यै पनि तीव्रता (Boom)को कालचक्रको साक्षी रहेको छैन । बिच–बिचमा त्यस दीर्घकालीन मन्दीमा केही गम्भीर सङ्कटहरूको समय आइरहन्छन् । १९६०को दशक विश्व पुँजीवादको अन्तिम वास्तविक तीव्रताको समय थियो । जब द्वितीय विश्वयुद्ध पश्चात् पुनर्निर्माण र मार्शल प्लानको बलमा पुँजीवादी तीव्रताको एउटा अभूतपूर्व समय देखिएको थियो ।
त्यस समयलाई आज पनि अमेरिकामा ‘स्वर्णयुग’को रूपमा स्मरण गर्ने गरिन्छ । परन्तु १९७३मा डलरको स्वर्णमानक घट्नुका साथै तीव्रताको त्यो क्रम समाप्त हुनगयो र तत्पश्चात् मन्द–मन्दीको शीलशीला लगातार जारी रहेकोछ । जुन कि बिच–बिचमा केही गम्भीर भूमरिबाट अगाडि बढिरहेको छ । १९९७पछि ती सङ्कटहरूका बिचको अन्तराल निरन्तर कम हुँदै गएको छ । २००७मा सबप्राइम सङ्कटसँगै जुन वैश्विक मन्दी शुरूभयो, जुन अझै जारी छ, त्यो १९३०को दशकको महामन्दी पछिको सबैभन्दा भयंकर मन्दीको समय हो । परन्तु कैयौं मानेमा यो सङ्कट १९३०को दशकको महामन्दीभन्दा फरक छ । १९३०को दशकको महामन्दीपछि सङ्कटबाट मुक्त हुने र फेरि ’बूम’को जुन शीलशीला आयो, त्यो १९५७को दशकसम्म चल्यो, त्यस्तो कुनै समय अब आउनेवाला छैन । हामी विद्यमान साम्राज्यवादी सङ्कटका चरित्रको विशिष्टताका विषयमा विस्तारमा जान सक्दैनौं । हामीले यहाँ यतिमात्र भन्न चाहन्छौं कि यो भूमण्डलीकरणको समयको सङ्कट हो जुन साम्राज्यवादको अन्तिम चरण हो । पुँजी विश्वका कुना काप्चामा फैलिइसकेको छ र अब उसँग अरु कुनै स्थान बँचेको छैन । अब विश्व पुँजीवादले आफ्नो उत्तरजीवीतालाई बचाई राख्नका निम्ति केवल दुईवटा रणनीतिहरू अपनाउन सक्दछ । एउटा यो हो कि अहिले पनि विश्वका जुन एकाध कुनामा पुँजी संचयको सन्तृप्ति विन्दुमा पुगिसकेको छैन, त्यहाँ लुटलाई सघनता तर्फ बढाउनु र दोस्रो रणनीति हो युद्धहरू र अन्य प्रकारका उपायहरूको माध्यमबाट उत्पादक शक्तिहरूलाई सुनियोजित रुपमा ध्वंस गर्नु र अस्थायी रूपमा मन्दीको आक्रमणबाट थोरै भए पनि राहत प्राप्त गर्नु । स्पष्ट छ यी दुवै रणनीतिहरूले केवल आंशिक तथा क्षणिक त्राणभन्दा धेरै साम्राज्यवादलाई केही दिन सक्दैनन् । साथै जब–जब साम्राज्यवादले उपरोक्त रणनीतिहरू गर्नेछ, तब–तब विद्रोहका अवस्थाहरू तथा यहाँसम्म कि क्रान्तिकारी परिस्थितिहरू उत्पन्न हुनेछन् । जस्तो कि मिश्रमा गत केही वर्षहरूमा उत्पन्न भइरहेका छन् । यद्यपि वस्तुगत रूपमा परिस्थितिहरू परिपक्क भए पनि क्रान्तिका निम्ति स्वतःस्फूर्त प्रयाप्त हुँदैनन् । लेनिनले भन्नुभएको छ कि क्रान्तिकारी विचारधारा र विचार सङ्गठन बिना कुनै पनि क्रान्तिकारी आन्दोलन हुन सक्दैन । यही त्यो कमजोरी हो जसका कारण वस्तुगत रूपमा साम्राज्यवाद एउटा बन्द सुरुङको अन्तमा पुग्दा पनि कुनै देशमा समाजवादी क्रान्ति हुन सकिरहेको छैन । परन्तु यति त स्पष्ट छ कि आजको साम्राज्यवाद लेनिनको युगको साम्राज्यवादभन्दा कैयौं धेरै अनुत्पादक, परजीवी, मरणासन्न, जर्जर र खोक्रो भइसकेको छ र पहिलेभन्दा धेरै, केवल आफ्नो जडत्वको शक्तिमा मात्र टिकेको छ । यस दीर्घ रोगको सङ्कटको भारी जनताको श्रमजीवी हिस्साहरूमाथि थोपर्ने कार्यका अतिरिक्त पुँजीपति वर्गसँग कुनै अर्को बाटो छैन । यसैको परिणामको रूपमा नै दक्षिणी तथा पूर्वी युरोप र साथै अरब विश्वमा रुकी–रुकी जनविष्फोटहरू भइरहेका छन् । अरबको जनउभारदेखि लिएर युनान, स्पेन, सर्बिया र इटलीका मजदुरहरू र नौजवानहरूको आन्दोलन केवल सीमित आर्थिक मागहरूमा मात्र आधारित छैन, बरु त्यस हदसम्म राजनीतिक भइसकेको छ कि तिनीहरूलाई पुँजीवाद विरोधी प्रतिरोध आन्दोलनको श्रेणीमा राख्न सकिन्छ ।
क्रमश …..

स्राेत: जनपत्रिका आठाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।