भेषराज सी
उत्पादनमा निर्णायक तत्व पुँजी कि श्रम भनेर प्रश्न गर्दा कैयौंलाई लाग्न सक्छ यति पनि नजानेको मानिस कसरी कम्युनिस्ट भए होलान् ? तर सैद्धान्तिक रुपमा यसको उत्तर जति सजिलो छ, व्यवहारिक रुपमा जीवन व्यवहारमा लागू गर्न त्यति सजिलो छैन । पुँजीवादीहरूले मात्र होइन, आफूलाई कम्युनिस्ट भएको दाबी गर्ने संसोधनवादीहरूले धेरै ठूलो भ्रम सिर्जना गरेका छन् । यति मात्र होइन आफूलाई क्रान्तिकारी र माक्र्सवादको सही व्याख्याता भएको दावा गर्नेहरूले समेत उत्पादनको निर्णायक शक्ति प्रविधिलाई मानेर भाष्य खडा गरेका छन् । यसबाट आम जनता मात्र होइन क्रान्तिकारी युवा शक्तिमा समेत व्यापक भ्रम परेको छ । त्यस भ्रामक प्रभावबाट मुक्त नभएसम्म विकास र समृद्धिको यात्रा अघि बढाउन सकिँदैन ।
आजभोलि चौबीसै घण्टा हामीले सुनिरहेका विषयहरू हुन्– पुँजीबिना विकास सम्भव छैन । वैदेशिक पुँजी लगानीबिना देशको विकास हुन सक्दैन । सरकारले पुँजी भित्र्याउन लगानी सम्मेलन गर्दैछ । यस्ता कुरा सुन्दा सुन्दै जनताको जनजिब्रोमा समेत “बिना धन केही नभन्” जस्ता वाक्य झुण्डिरहेका छन् । यस्ता विचारहरूले हामीलाई झन्–झन् गरीबीको खाडलमा धकेली पराश्रृत बनाउँदै छन् । यस प्रकारका पुँजीवादी, संसोधनवादी, छद्म क्रान्तिकारीहरूका विकास सम्बन्धी गलत चिन्तन प्रणालीबाट मुक्त भएर आर्थिक विकास सम्बन्धी वैज्ञानिक दृष्टिकोण बारे युवा पुस्तालाई सकारात्मक बहसको थालनी गर्न सहज होस् भन्नका लागि आर्थिक विकासमा निर्णायक तत्व पुँजी हो कि मानवीय श्रम शक्ति भन्ने प्रश्नवारे चर्चा गर्नु यस लेखको उद्देश्य हो ।
पुँजीले श्रम सिर्जना गरेको हो या श्रमले पुँजी सिर्जना गरेकोहो ? वास्तवमा श्रमले पुँजीको सिर्जना गरेको हो । अतिरिक्त श्रम समयको शोषणबाट जम्मा गरिएको र पुनः अतिरिक्त श्रम शोषणका लागि परिचालन गरिएको संचित श्रमलाई पुँजी भनिन्छ । यस सम्बन्धमा एङ्गेल्स भन्नुहुन्छ, “अतिरिक्त श्रमलाई पुँजीले आविष्कार गरेको होइन । जहाँ–जहाँ समाजको एक हिस्साको उत्पादनका साधनहरूमाथि एकाधिकार हुन्छ, त्यहाँ मजदुरले ऊ स्वतन्त्र होस् वा नहोस्, आफ्नो जीवन निर्वाहका लागि साधन तयार गर्न जति समय काम गर्न आवश्यक हुन्छ त्यसका अतिरिक्त उसले उत्पादनका साधनहरूका स्वामीहरूको जीवन निर्वाहका साधन तयार गर्नका लागि केही अतिरिक्त काम गर्नु पर्दछ ।” – (ड्युहरिङ्ग मत–खण्डन, पृष्ठ २६९)
त्यसै गरी माक्र्स भन्नुहुन्छ, “पुँजी मृत श्रम हो । यो रक्तपिपाशु पिचास जीवीत श्रमलाई चुसेरमात्र बाँचेको हुन्छ र जति बढी जीवीत श्रम त्यसले चुस्दछ, त्यति बढी त्यो मोटाउँदछ ।” – (पुँजी र ज्यालादारी श्रम) । उपरोक्त माक्र्स–एङ्गेल्सका भनाईहरूबाट के कुरा प्रष्ट हुन्छ भने मानवीय श्रमशक्तिद्वारा पुँजीको सिर्जना गरिएको हो । पुँजीको जन्म नै श्रमजीवी जनताको अतिरिक्त श्रम समयको शोषणबाट भएको हो र पुँजी संचयको अर्थ मजदुरहरूको बिनाज्यालाको श्रमबाट जन्माइएको अतिरिक्त मूल्यलाई पुँजीमा बदल्नु हो भन्न सकिन्छ । तथ्य पनि त्यही हो ।
पुँजीवादी अर्थशास्त्रीहरूले पुँजीलाई र सङ्गठनलाई पनि मानवीय श्रमशक्ति र श्रमका वस्तुको रुपमा रहेका प्राकृतिक स्रोतहरूसरह मात्र होइन, पुँजीलाई त उत्पादनको सर्वोपरि साधन बनाउने गरेका छन् । हामीले बुझेकै छौं कि पुँजीको जन्म नहुँदै मानव जातिले उत्पादनको कार्य त गरेकै थिए । साधारण माल उत्पादन त मानव समाजमा त्यसबेलादेखि सुरु भएको थियो, जुनबेलादेखि मानव समाजमा सामाजिक रूपमा श्रम विभाजनको थालनी र उत्पादनका साधनमाथि निजी स्वामित्व कायम हुनपुग्यो । त्योभन्दा पहिले पनि मानव जातिले उत्पादनका निम्ति सङ्घर्ष गरेकै थिए । पुँजीवादी माल उत्पादनको सुरुवात भएको पुँजीवादको उदयपश्चात् मात्र हो । जुन मात्र आठसय वर्ष पुग्दैछ । अनि कसरी हुन सक्छ पुँजी उत्पादनको निर्णायक शक्ति ? यहाँ सम्म कि मानवीय श्रमशक्ति प्रयोग नभएको कुनै पनि वस्तुको मूल्य हुँदैन । वस्तुमा रहेको संचित श्रम नै वस्तुको मूल्य हो । जसले मूल्य, शुल्क र करलाई अलग–अलग हुन्छन् भन्ने कुरा बुझिसकेका हँुदैनन्, तिनलाई मात्र भ्रम पार्न सक्छन् । वास्तवमा सामाजिक रुपले आवश्यक श्रम समयद्वारा मात्र कुनै पनि वस्तुको मूल्य निर्धारण हुन्छ । त्यसकारण मानवीय श्रमशक्ति नै उत्पादनको निर्णायक तत्व हो । श्रम, श्रमका वस्तु र श्रमका औजारहरू नै उत्पादनका साधन हुन् । माथी नै भनिसकियो कि श्रम पुँजीले सिर्जना गरेको होइन । श्रमका औजार स्वयं श्रमजीवी जनताले निर्माण गरेका हुन् । श्रमका वस्तुको रुपमा रहेका कच्चा पदार्थहरू प्राकृतिक हुन् जुन कुनै पनि मानव जातिले सिर्जना गरेका होइनन् । उत्पादन भनेको कुनै नयाँ नौलो वस्तुको सिर्जना नभएर प्रकृति प्रदत्त पदार्थमा मानवीय श्रमको सहायताबाट उपयोग मूल्यको सिर्जना गर्नु हो । यसबाट अकाट्य रूपमा भन्न सकिन्छ कि मानवीय श्रमशक्तिको प्रयोगद्वारा नै पुँजीको सिर्जना गरिएको हो र संचित श्रम अझ भनौं मृत श्रमको रुपमा रहेको पुँजीले जबसम्म मानवीय सजीव श्रमको सहयोग पाउँदैन, तबसम्म कुनै पनि उत्पादन गर्न सक्दैन । अब भन्नुहोस् पुँजी कसरी उत्पादनको निर्णायक शक्ति बन्न सक्छ ?
उपरोक्त तर्क र तथ्यहरू किन उल्लेख गरिएको हो भने नेपाल गरीब हुनुको कारण पुँजी नभएर हो । बाहिरबाट पुँजी न ल्याएसम्म नेपालको विकास संभव छैन भन्ने कुरा जसरी व्याप्त बनाइएको छ र साम्राज्यवादलाई पुँजी सहयोगको बहानामा देश भित्र हुल्ने आधार खडा गरिएकोछ । उदाहरणका निम्ति एमसीसी जस्तो राष्ट्रघाती परियोजनालाई ल्याउनु परेको कारण विकासका लागि पुँजी नभएर हो भनी जनतामा भ्रम सिर्जना गर्न दलालहरूले दुष्प्रयास गरिरहेका छन् । यो साम्राज्यवादको जुठो पुरो खाने पुँजीवादी चिन्तन हो ।
के नेपाल पुँजी नभएर गरीब भएको हो ? झट्ट सुन्दा हो जस्तो लाग्छ । तर यो सत्य होइन । सत्य कुरा के हो भने उत्पादनको प्रमुख र निर्णायक शक्ति मानवीय श्रमशक्ति हो भन्ने दृष्टिकोण सहितको समाजवादी राज्य व्यवस्था नहुनु हो । हामीले यस दृष्टिकोणसहितको राज्यव्यवस्था स्थापना गर्न सकेमात्र देशले द्रूत गतिमा विकास गर्न सक्छ । किनभने वर्तमान दलाल संसदीय व्यवस्थाले यो दृष्टिकोणलाई अवलम्बन गर्न उसको चरित्रले गर्दा सक्दैन ।
नेपालको विकास गर्न चाहिने उत्पादनका साधनहरूमध्ये निर्णायक मानवीय श्रमशक्ति हो । त्यो नेपालसँग प्रशस्त मात्रामा छ । संसारमा सबैभन्दा इमानदार र मेहनती युवा भएको देश नेपाल हो । यति ठूलो श्रमशक्तिलाई आफ्नै देशभित्र काम नपाएर संसारभरी अत्यन्त हेला, होचो र अपमान मात्र होइन कठोर यातना र मृत्युवरण गर्न समेत बाध्य पारिएका छन् । जुन साठी लाखभन्दा बढी युवालाई विदेशिन बाध्य पारिएको छ तीनलाई आधारभूत आवश्यकताको परिपूर्तिको सुनिश्चिततासहित् उत्पादन कार्यमा लगाउने हो भने नेपालमा श्रमशक्तिको कुनै कमि छैन ।
दोस्रो उत्पादनको साधन भनेको श्रमका वस्तुहरू हुन् । श्रमका वस्तुहरूको निम्ति नेपाल संसार कै धनी देश भन्दा पनि फरक पर्दैन । भौगोलिक हिसाबले धेरै विशाल भन्न नमिले पनि जनसंख्याको अनुपातमा विशाल नै मान्न सकिन्छ । संसारका लगभग सबैतिर पाइने जलवायु नेपालमा पाइन्छ । नेपाल खाद्यान्न, जडिबुटी , फलफूल उत्पादनका निम्ति र पशुपालनका निम्ति अत्यन्त उर्वर मानिन्छ । जल सम्पदाको हिसाबले नेपाल विश्वको दोस्रो धनी देश मानिन्छ । वनजंगल, अमुल्य जडिबुटी र महत्वपूर्ण खनिज पदार्थ नेपालमा प्रशस्त मात्रामा छन् ।
हामीसँग भएको श्रम शक्ति र प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतहरूलाई जुटाउने र योजनावद्ध परिचालन गर्ने राज्य सत्ता हुने हो भने नेपाल १० वर्ष मै विकसित राष्ट्र बन्न सक्छ । यो कुनै कल्पना होइन, वास्तविकता हो ।
उत्पादनका साधनमध्ये श्रमका औजारहरू पनि पर्दछन् । उत्पादनमा तिनको पनि महत्वपुर्ण भूमिका हुन्छ । औद्योगिक उत्पादनका लागि तत्काल अत्याधुनिक औजारहरूको हामीसँग केही कमी होला । हाम्रो देश कृषि प्रधान देश हो । पहिलो चरणमा हामी कृषि उपजमा आत्मनिर्भर बन्नका लागि आधुनिक कृषि औजारहरू प्रयोग गर्नसक्ने अवस्थामा छौं । सरकारी तथ्याङ्क अनुसार नेपालमा ४१ लाख २१ हजार हेक्टर खेतियोग्य जमिन छ । त्यसमध्ये ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती गरिएको छ । त्यो पनि योजनावद्ध, व्यवस्थित र वैज्ञानिक तरिकाबाट गरिएको छैन । बाँकी १० लाख ३० हजार खेतीयोग्य जमिन बाँझै छ । सरकारी तथ्याङ्कअनुसार ६५ प्रतिशत जनता कृषिमा आधारित छन् । यो तथ्याङ्क सही छैन । किनभने जसले जनगणनामा कृषि पेशा उल्लेख गरेका छन्, ती लाखौंलाख युवाहरू विदेशी भूमिमा पुगेका छन् ।
नेपाल कृषि प्रधान देश भनिन्छ । तर खाद्यान्न मै दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । गोरखापत्र अनलाइनले २० कार्तिक २०८०मा लेखेको छ । “चालू आर्थिक वर्षको तीन महिनामा (साउन–असौज) खाद्यान्न आयात २५.३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख ९ हजार रुपैयाँको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ ।” बीबीसी नेपाली अनलाइनमा शरद केसीको लेखको शीर्षक छ– “नेपालले गर्छ अरबौं रुपैयाँको खद्यान्न आयात, अमेरिकी देशबाट पनि आउँछन् चामल र मकै ।” नागरिक दैनिक, २७ मंसिर २०८०मा डाक्टर सुमनकुमार रेग्मीको लेखमा उल्लेख गरिएकोछ– २०७८÷७९ चैत्रसम्म रू. १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरका ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ ।
उपरोक्त तथ्याङ्कले के देखाउँछ भने कृषि उत्पादनमा आत्मनिर्भर मात्र होइन निर्यात गर्नसक्ने आधार भएको देशले खर्बौ खरबको खाद्यान्न आयात गर्नुपर्ने जुन अवस्था छ, त्यसको अन्त्य गर्न हाम्रा करोडौं युवा जनशक्तिलाई योजनावद्ध रुपमा अभियानात्मक रुपले कृषि उत्पादनमा लागाउने हो भने नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्र होइन, खाद्यान्न निर्यात गरी अरबौं वैदेशिक मुद्रा आर्जन गर्न सक्छ । हरेक वर्ष खाद्यान्न आयातमा भुक्तान गरिने खरबौं रुपैयाँले कृषिका साथै औद्योगिक उत्पादनका निम्ति आवश्यक पर्ने यन्त्र–उपकरणहरूको व्यवस्थापन गर्न सकिन्छ । हाम्रा युवा वैज्ञानिकहरू जसले नेपालमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेका छन्, तिनीहरूको प्रतिभा र क्षमताको भरपुर उपयोग गरेर देश भित्रै नयाँ–नयाँ प्रविधिको खोज–अनुसन्धान र उत्पादन गर्न सकिन्छ ।
यसका निम्ति पहिलो आवश्यकता छ उत्पदन सम्बन्धी दृष्टिकोणमा परिवर्तन ल्याउनु । उत्पादनमा निर्णायक शक्ति पुँजी होइन, मानवीय श्रमशक्ति हो भन्ने दृष्टिकोण अवलम्बन गर्नु । यो कार्य दलाल पुँजीवादी राज्य सत्ताबाट सम्भव छैन । किनभने दलाल पुँजीवाद भनेको सामन्तवादी दर्शन तथा साम्राज्यवादी अर्थप्रणाली अवलम्वन गर्ने सबैभन्दा निःकृष्ट पुँजीवाद हो । जसलाई समन्तवाद र साम्राज्यवादको अवैध सन्तान पनि भनिन्छ । त्यसकारण नेपालमा राष्ट्रिय पुँजीको संरक्षण गर्ने, जनताका सार्वभौम अर्थात् आधारभूत आवश्यकता राज्यको दायित्व हुने गरी नेपाली विशेषताको सामजवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ ।
२०८०/०८/२७
स्राेत: जनपत्रिका आठाैँ अङ्क