
-भेषराज सी
शासकहरुको जनघात, राष्ट्रघात, घुसखोरी, नीतिगत भ्रष्टाचार, कमिसनखोरी, तस्करी, दलाली, माफियातन्त्र दलतन्त्र भनौँ कि दल भित्रको पनि सत्तासीन गुट्तन्त्रबाट देश थिलो- थिलो हुँदा जनतामा छाएको आक्रोश जेन- जीको विद्रोहको नाममा विस्फोट भयो ।
दुई दिने जेन- जी विद्रोहले नेपालमा ऐतिहासिक रुपमै जुन उथलपुथल ल्यायो । सरकारमा रहेका वा प्रतिपक्षी कसैले पनि कल्पनै गरेका थिएनन् । यस विद्रोहका पर्दा पछाडि को- को थिए ? तिनीहरुको वास्तविक लक्ष उद्देश्य के थियो र छ? क्रमशः त्यसका पर्दा उघारिदैछन् र समयको गतिसँगै ती छर्लङ्ग हुनेछन् ।
यद्यपि जेन- जी विद्रोहमा सहभागी हुने, घाइते र जीवनकै बलिदान दिने नेपाल आमाका सच्चा सुपुत्र/ सुपुत्री हुन् । आन्दोलनमा सहिद हुने ती वीरविरङ्गनाप्रति भावपूर्ण श्रद्धाञ्जली, सन्तान गुमाउनु भएका आमा बुबा, सबै परिवार जनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वाथ्य लाभको कामना !
देश र जनताका लागि आफ्नो जीवन नै बलिदान गरि महान शहीदको पङ्तिमा लामबद्ध भएका नेपाल आमाका वीर सन्ततिहरु भौतिक रुपमा हामीबीच रहेनन् तर उनीहरु के युग- युगसम्म नेपाली आकाशमा चम्किरहलान्? यो प्रश्न मेरो मन मष्तिकमा दोहोरिरहेको छ ।
मेरो मनमा उठिरहेको यस प्रश्नप्रति कैयौंलाई रिस पनि उठ्न सक्छ तर मैले विश्वको राजनीतिक आन्दोलनको इतिहास र आफ्नै देशको राजनीतिक आन्दोलनको इतिहास जति बुझे त्यसको आधारमा मेरा मनमा उठिरहेका आशंकाहरुलाई केही दृष्टान्तका रुपमा राख्न चाहन्छु-
(१) अन्तर्राष्ट्रय राजनीतिक आन्दोलनका शहिदहरु:- (क) सोभियत संघ: एउटा पिछडिएको र जारशाहीको निरङ्कुश शासनमा जकडिएको रुसलाई महान सोभियत समाजवादी क्रान्तिको सफलतापूर्वक नेतृत्व गरेका भि.आई लेनिन, गरीब र पिछडिएको रुसलाई विश्व महाशक्तिमा उठाउने जोसेफ स्तालिन लगायतका लाखौं बोल्सेविक शहीदहरुका सपनाहरूलाई उनीहरुका उत्तराधिकारीहरुले नामेट पारेपछि उनीहरुको सम्मान स्वरुप श्रद्धाका साथ निर्माण गरिएका सालिकहरु ढालिए र अहिले उनीहरूकै देशमा उनीहरुको बलिदान्को कुनै मूल्य छैन भन्नेहरूले सत्ता चलाइरहेका छन् ।
(ख) बङ्गलादेश: जे जस्ता बाहिरी षड्यन्त्र भएपनि
र उनीहरुको उद्देश्य जे जस्तो भएपनि पूर्वी पाकिस्तानलाई बङ्गलादेशको रुपमा नयाँ देश निर्माणकाे नेतृत्व गरेका मुजीबूर रहमान जसलाई एक वर्ष पहिलासम्म राष्ट्रपिता मानिन्थ्यो । अहिले उनका सालिकहरु खोजी- खोजी ढालिएको छ । र घोर अपमानित गरिएको छ ।
(ग) भारत: बेलायती साम्राज्यवादको उपनिवेशबाट भारतलाई मुक्त गर्ने आन्दोलनको नेतृत्व गर्ने महात्मा गान्धी, जबहार लाल नेहरु, सैन्य नेतृत्व गर्ने सुभाष चन्द्र बोस, भगत सिंह, चन्द्र सेखर आजाद लगायतको सालिकै त ढालिएको छैन तर मोदी नेतृत्वको भाजपाको शासन चलेदेखि उनीहरुको मानमर्दन र अपमान गर्ने र महात्मा गान्धिको हत्यारा नाथुराम गोड्सेको आदर्शीकरण गर्ने कार्य तिब्र रुपमा अगाडि बढेको छ
र यस्तै प्रक्रिया जारी रहेमा त्यहाँसम्म पनि नपुग्ला भन्न सकिन्न ।
(२) नेपाल: अब आफ्नै देशको साढे सात दशक लामो नेपालको राजनीतिक आन्दोलनको इतिहासलाई हेरौँ:- (क) वीपी कोइराला : जहानीया निरङ्कुश शासन र वंशवादमा आधारित निरङ्कुश राजतन्त्रका विरुद्ध जीवनभर संघर्ष गरेका र राष्ट्रियता, प्रजातन्त्र र समाजवादको निम्ति नयाँ राज्य व्यवस्था स्थापनालाई लक्ष्य बनाएका विश्वेश्वरप्रसाद कोइरालाका उत्तराधिकारीहरुले उनको लक्ष्य परित्याग गर्दै जाँदा भ्रष्टाचार र बेथितिमा चुर्लुम्म डुब्दा उनको सालिक जनताको आक्रोशको तारो बन्नपुग्यो । के वीपी भ्रष्टाचारी थिए र ? शेरबहादुर लागायतका नेताहरूको भ्रष्टाचारी कार्यले यस्तो परिस्थितिको सिर्जना भयो ।
(ख) कमरेड पुष्प लाल श्रेष्ठ : निरङ्कुश जहानीया र वंशवादमा आधारित राज्यव्यवस्था जुन अर्धसामन्ती र अर्ध उपनिवेश थियो । सामन्तवाद र साम्राज्यवादको शोषण, दमन, उत्पीडनबाट नेपाल र नेपालीलाई मुक्त गरि स्वतन्त्र, सबल र समतामूलक राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ कष्टकर जीवन बिताएका कमरेड पुष्पलाल श्रेष्ठ जसको मृत्युु निर्वासनमै भयो । उनको अस्तुसम्म नेपाल ल्याउदा मानिसहरू गिरफ्तार भए । उनी कहिल्यै लाभको पदमा बसेनन् । अनैतिक ढंगबाट अकुत सम्पत्ति कमाउने त कुरै भएन बाचुन्जेल पेटभरी खान र आंगभरी लाउन पनि पाएनन् । तर उनी पनि भ्रष्टाचार विरोधी आन्दोलनको तारो बने र उनको सालिक ढालियो किन?
किनभने शासन सत्तामा पुगेका उनका अनुयायीहरुले उनको विचार विपरीत गैरअनैतिक ढंगबाट भ्रष्टाचार गरि अकुत सम्पति कमाउदा उनी त्यसको तारो बने ।
(ग) कृष्ण सेन इच्छुक : एउटा महान साहित्यकार जनकवी जनयुद्धका महान सहिद कृष्ण सेन इच्छुक विद्यार्थी कालदेखि अन्याय, अत्याचार, भ्रष्टाचार र बेथितिका विरुद्ध कलम मात्र चलाएनन् भाैतिक रुपमा जीवनको अन्तिम घडीसम्म संघर्ष गरिरहे । उनका कालजयी कविताहरुले हजारौं युवाहरुलाई महान जनयुद्धमा लामबद्ध हुन र क्रान्तिमा बलिदानी भावका साथ डटिरहन प्रेरणा र मार्ग निर्देश गरिरहे । उनलाई तत्कालीन शासकहरुको निर्देशनमा आत्मसमर्पण गराउन नसकेपछि महेन्द्र पुलिस क्लबभित्र निर्मम, पासविक र क्रूर यातना दिएर हत्या गरियो । पूर्व पश्चिम राजमार्ग निर्माणमा उनको गृह गाउँ अर्घाखाँचीको लापे र दाङ्को भालुबाङ बजार जोड्ने राप्ती नदि माथिको पुल निर्माणका लागि अरु कसैले जमिन नदिएपछि विकासमा अवरोध गर्नु हुँदैन भनेर आफ्नै भएको जमिन सबै नै राज्यलाई बिना मुआब्जा दिने उनका बुबा र उनी नै हुन् । उनैले निशुल्क राज्यलाई दिएको जमिनमा बनेको पुलबाट गएर भालुवाङ बजारमा रहेको इच्छुकको सालिक ढालियो । जीवनमा कसैसँग पनि एक पैसाको पनि न ठगी न भ्रष्टाचार गरेको महान सहिद आखिर भ्रष्टाचार विरोधी आन्दोलनको तारो बन्यो किन? किनभने महान जनयुद्धका मूल नेतृत्व पंक्तिले आफ्नो क्रान्तिकारी विचारबाट स्खलित हुँदै गए । जनताको आसा र विश्वासमा घात गर्दै गए । कांग्रेस एमाले भन्दा तात्विक रुपले फरक देखिन सकेनन् । कैयौं नेता त भ्रष्टाचारको खाडलमा चुर्लुम्मै डुबे । समग्रमा भन्नू पर्दा वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक सबै क्षेत्रमा विचलित भए । जसको तारो इच्छुक बन्न पुगे ।
(घ) आन्दोलनकारी जनताको अवस्था: आन्दोलन वा विद्रोह कुनै भोज भतेर होइनन् । ती सत्ताले परिभाषित गरे अनुसार शान्त र सभ्य हुदैनन् । शान्तिपूर्ण रुपमा जनताले उठाएका मागहरुलाई सुरुमा वास्ता नगर्ने र असन्तुष्टि सडकमा उत्रिन थालेपछि राज्य नै हिंसामा उत्रिन्छ र जनताको हत्या गर्न पुग्दछ त्यसपछि मात्र जनता प्रतिरोधमा उत्रिन्छन् । त्यो नापे तौले जस्तो हुँदैन । विद्रोह सफल भयो भने विद्रोही जनता महान क्रान्तिकारी बन्न पुग्दछन् यदि असफल भएमा तिनीहरू विध्वंसकारी अपराधी ठहरिन्छन् । पौराणिक कालदेखि आजसम्म हामीले यही कुरा अध्ययन र जीवन व्यवहारको भोगाइबाट बुझेका छौँ । तर नेपालको राजनीतिक आन्दोलनको इतिहासमा यो कुरा लागू भएको देखिदैन । नेपालमा हिंसात्मक विद्रोहमा २००७, २०२८ र २०५२ लाई लिन सकिन्छ । २००७ र २०५२ का विद्रोह सफल मानिन्छन् । विद्रोही नेताहरु शासनसत्तामा पनि पुगे तर विद्रोही सहिद र जनतालाई सम्मान होइन तिनको विद्रुपीकरण गर्दै अपराधीकरण गर्ने दुष्प्रयास गरियो । मैले उपरोक्त दृष्टान्त किन दिएको हुँ भने अहिले पर्दाभित्र जुन खेल भैरहेका छन् त्यसले पनि विद्रोही जनता अर्थात नवयुवाहरुलाई विभिन्न बहानामा अपराधीकरण गर्ने सुरसार गरिदैछ । जेन-जीको बलिदानमा टेकेर सरकारको नेतृत्व गर्न पुगेकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले त्यस्तो विध्वंस गर्ने नेपाली नै हुन सक्दैनन् भन्नुभयो र छानबिन गरि कारबाही गर्ने घोषणा गर्नु भयो । यो भनाई अत्यन्त विरोधाभास छ । आन्दोलनको जगमा बनेको सरकारका प्रमुखको यस्तो भनाइले हाम्रा होनहार नवयुवाहरुले बगाएको रगतले पनि विगतकै नियती त भोग्नु पर्ने होइन ? यसले आम सचेत देशभक्त न्यायका पक्षधर नेपाली नागरिकहरुमा चिन्ता र आशंका बढाएको छ ।
कारणहरु: सरकार बन्ने विधि र बनोट दुबै आन्दोलनको भावना र लक्ष्य विपरीत देखियो । जसलाई बुँदागत रुपमा उल्लेख गरौं:-
(१) आन्दोलनको म्यान्डेट अनुसार नयाँ सरकार भनौँ भने आन्दोलनको म्यान्डेट विद्यमान संसदीय शासकीय स्वरुप थिएन र होइन । त्यो जीवितै राखिएको छ । विद्यमान संविधान अनुसार भनौँ भने यसप्रकारको सरकारलाई विद्यमान संविधानले चिन्दैन । यहाँ युवाहरुलाई भयङ्कर धोका भएको छ ।
(२) आगामी फागुन २१ गते संसदको नयाँ निर्वाचन भनिएको छ । आन्दोलनको माग स्थिर सरकार पनि हो अहिलेको नेपाली राजनीतिक शक्ति सन्तुलनलाई हेर्दा दुई तिहाइ जुन संविधान संशाेधनको अनिवार्य शर्त हो त्यसको त कुरै छाडौँ कुनै एउटा दलको स्पष्ट बहुमत पनि आउने देखिदैन र फेरिपनि पुरानै दलहरुको मिलिजुली सरकार बन्ने देखिन्छ । के ६ महिना नेतृत्व परिवर्तनको लागि मात्र यति ठूलो बलिदान हो त? पुरानै दल र पुरानै व्यवस्थाले विद्रोही जनता र बलिदान गर्ने महान शहीदहरुप्रति कस्तो व्यवहार गर्लान्?
(३) आन्दोलनमा अब बुढा रोगी र र्याल थाम्न नसक्ने नेताहरुबाट देश चल्दैन भनियो । तर अहिलेका भन्दापनि उमेरको हिसाबले झनै बृद्ध हिड्न पनि नसक्ने बृद्धालाई सरकारको बागडोर सुम्पियो ।
(४) आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार निर्मूल पार्ने थियो र छ । तर सरकारको बनोटलाई हेर्दा विगतका भ्रष्टाचारी शासकहरुका पालामै भ्रष्टाचार गर्न लगाउने, नियम र कानूनका दफा मिलाउने र कही कतै उजुर परेमा कानूनी प्रक्रियाबाट चोख्याउनेहरुकै बाहुल्यता देखिन्छ । विगतका शासकहरुका पालामा राज्यसत्ताका सबै अवयवहरु कार्यपालिका अन्तरगत सेना, पुलिस कर्मचारीतन्त्र, संस्थान र विभाग, न्यायपालिका जिल्लादेखि सर्वोच्चसम्म “वार र बेन्च” व्यवस्थापिका अन्तर्गत संघ, प्रदेश र पालिकासम्म सबैतिर भ्रष्टाचारै भ्रष्टाचार छ भन्ने कुरा आन्दोलनकारीले मात्र होइन आम नागरिकको आवाज हो । उपरोक्त राज्यसत्ताका अवयवका नीति निर्माण गर्ने उच्च ओहदामै रहेर काम गरेकाहरुबाट बनेको यो सरकारले पदमा रहेका बेला आफुले चाहे अनुसारको नियुक्ति, सरुवा र बढुवा गर्न अवरोध गरेका सिमित व्यक्तिहरुमाथि प्रतिशोध लिन सक्लान् तर सेना, प्रहरी, कर्मचारीतन्त्र र न्यायपालिकामा काम गर्नेहरुमाथि हात हाल्न सक्लान् प्रश्न गम्भीर छ ।
अन्त्यमा सरकारको विधि र बनोट जेन- जी विद्रोहको उद्देश्य र भावना अनुसार भएन । यो नवयुवाहरुको बलिदानले विगतकै नियति भोग्न नपरोस् । त्यसका लागि सडकमा संघर्षरत शक्तिहरु र आन्दोलनकारी युवाहरूले समयमै गम्भीरतापूर्वक समीक्षा गरौं ।