२२ बैशाख २०८१, शनिबार

राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जानेछ : आजाद सी

0

हापुरे: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य आजाद सीले राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जाने बताएका छन् ।

शुक्रबार बबई गाउँपालिका ४ हापुरेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र पेश गर्दै नेता आजाद सीले उक्त कुरा बताएका हुन् ।

अवधारणा पत्रका बारेमा प्रष्ट पार्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता आजादले भने– ‘नेपालमा अहिले राजनीतिक संकट गहिरो छ । अहिले नेपालमा देखिएको राजनीतिक संकटलाई बेलैमा समाधान नगरे मुलुक गम्भीर दुर्घटनामा जाने निश्चित छ । विशेषगरी अमेरिकीले अघि सारेको एमसीसी प्रोजेक्टमार्फत नेपाललाई उपनिवेश बनाउन चाहन्छ । सुगौली सन्धी हुँदै एमसीसीसम्म आइपुग्दा नेपालको राष्ट्रियता सर्वाधिक संकटमा छ । हामी र हाम्रो पार्टीको अपिल छ यो संकटलाई कम्युनिस्ट, वामपन्थी, सच्चा लोकतन्त्रवादी, प्रगतिशिल शक्ति, देशभक्त, राष्ट्रवादी मिलेर समाधान गरौं ।’

अमेरिकाको षडयन्त्र बेलैमा बुझेनौ भने हेर्दाहेर्दै यो मुलुक युक्रेन बन्छ, उनले थपे ‘ एमसीसी प्रोजेक्ट विकासको नाममा गम्भीर सैन्य योजना हो । नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने, छिमेकी मुलुक विश्वको उदयीमान चीनलाई सैन्य ढंगले घेराबन्दी गर्ने र दक्षिण एसियाबाट कम्युनिस्ट प्रभावलाई निस्तेज गर्ने रणनीति हो । अर्कोतिर नेपालको दलाल पुजीवादी संसदीय सत्ता राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका सबै क्षेत्रमा संकटको भार थेग्न नसक्ने अवस्थामा छ । भ्रष्टाचार , कमिसन , अनियमितता , अन्याय , अत्याचारका साथै अहिले भइरहेका घोटाला काण्डहरुले जनताले यो व्यवस्थालाई धेरै दिन टेको लगाउने ठाउँमा नहुने बताए ।’

नेता आजादले अहिलेको संकटको निर्विकल्प निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका थिए । उनले भने– ‘ अहिले हामीले नेपाली विशेषताको समाजवादको कुरा गरेका छौं । नेपालका सबै पार्टीहरुले समाजवाद भनिरहेका छन् त्यसोभए समाजवादमा जान के कुरा रोकेको छ ? त्यतिमात्र होइन नेपालको संविधान नै समाजवाद उन्मुख संविधान हो । त्यसैले हाम्रो पार्टीले अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद अगाडि सारेको छ । नेपाली विशेषताको समाजवादले मात्रै नेपालका सबै जनतालाई अधिकार सम्पन्न बनाउनेछ।’

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि मुलुकका राजनीतिक बृत तयार रहनुपर्ने बेला आएको समेत बताए ।

कार्यक्रममा बबई गाउँपालिकाका राजनीतिक पार्टी , विभिन्न संघ/संस्था , मानवअधिकारकर्मी , शैक्षिक व्यक्तित्व , सामाजिक अभियान्ता , जनप्रतिनिधिसहित करिव २०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दूध उत्पादन संघका अध्यक्ष जित बहादुर वली , पर्यटकीय छहरा सेवा केन्द्र पुर्ण भण्डारी , सबै सामुदायिक बनहरुको तर्फबाट चितल गैरा सामुदायिक वनका अध्यक्ष छबि विक , सबै सामुदायिक विद्यालयको तर्फबाट जनता मावि हंसपुरका सहायक प्रअ तिलकराम शर्मा , बबई – २ का वडा सदस्य हरि वली , समाजवादी मोर्चा बबईका संयोजक ध्रुब , रजमो जिल्ला सदस्य देव बहादुर बिक , राप्रपा बबईका अध्यक्ष वीर बहादुर बिष्ट , विपि बिचार नेपाली कांग्रेस जिल्ला उपसभापति ध्रुब भण्डारी , नेकपा ( एकीकृत समाजवादी ) दाङ जिल्ला उप-सचिव डिल बहादुर पुन , नेकपा एमाले जिल्ला सदस्य राम बहादुर डाँगी , नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य भीम बहादुर वली , बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री , नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले लगाएतले अवधारणा पत्रमा उल्लेखित विषयमा सुझाबसहित टिप्पणी पेश गरेका थिए ।

नेकपाका नेता हिक्मत सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा बबईका सेक्रेटरी रण बहादुर सीको अध्यक्षमाता थियो भने कार्यक्रमको सञ्चालन नेकपा बबईका इन्चार्ज उज्वल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।