२२ बैशाख २०८१, शनिबार

इमानदार राजनीतिक शक्तिसँग घनिष्ठ सम्बन्ध कायम गर्न चाहन्छौं : एटम सी

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एटम सीले इमानदार राजनीतिक शक्तिसँग घनिष्ठ सम्बन्ध कायम गर्न चाहेको बताएका छन् ।
शनिबार तुलसीपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता एटम सीले यस्तो बताएका हुन् ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा आयोजित वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रियालाई प्रमुख वक्ताको रुपमा बोल्दै नेता एटमले भने– ‘ नेपालमा राजनीतिक संकट भयंकर डरलाग्दो अवस्था छ । हामीले नेपालको वर्तमान परिस्थिति , यसको संकट निकासका लागि लड्न प्रयत्नशिल हुने इमानदार राजनीतिक शक्तिसंग प्रस्तुत घनिष्ठ सम्बन्ध स्थापित गर्न चाहन्छौं , सुझाव लिन चाहेका छौँ र सहकार्य पनि गर्न चाहेका छौँ ।’

दलाल पुजीवादी सत्ताको कारणले जनताले दु:ख पाएका छन्, उनले थप भने, ‘आज नेपाली जनताको अवस्था कहालीलाग्दो छ । एक छाक टार्न पनि मुस्किल भइरहेको बेला राज्यसत्तामा हालीमुहाली गरिरहेका दलालहरुले मुलुकमा काण्डैकाण्ड मच्चाएर रजाइँ चलाइरहेका छन् । यहाँको अर्थतन्त्र दलाल पुजीवादीको कब्जामा छ । राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएत तमाम क्षेत्रहरु संकटग्रस्त छन् । जनताले अब यो व्यवस्थालाई टेको लगाउने छैन , उनीहरु विद्रोह गरिरहेका छन् ।’

नेता एटमले अमेरिकी साम्राज्यवादले अघि सारेको एमसिसी प्रोजेक्ट भयानक खतरापूर्ण सैन्य परियोजना भएकाले जनताले यसलाई लागू हुन नदिन सडक संघर्ष गर्नुपर्ने बताए । 

कम्युनिस्टहरुले संकटको मात्रै कुरा गर्दैनन् , यसको समाधान पनि दिन सक्छन् , उनले थपे ‘ हामिले भनेका छौँ अहिलेको संकट केबल दल , पार्टी र व्यक्ती बिशेषको कुरा मात्रै होइन , यो व्यवस्थाक्प दोष हो । अहिले नेपालमा चलिरहेको दलाल पुजीवादी संसदीय सत्ताले देश र जनताको भाग्य र भविष्यको फैसला गर्न सकेन भन्ने कुरा पटकपटक प्रमाणित भइसकेको छ । हाम्रो पार्टीले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको कुरा गरेका छौँ । वैज्ञानिक समाजवाद अहिले नै सम्भव छैन भनेपनि अहिले हाम्रो पार्टीले भनेको नेपाली मौलिकतासहितको समाजवाद अपरिहार्य बन्न पुगेको छ । नेपालका सबै दलले जनतामा समाजवाद भन्दै भोट मागिरहेका छन् , पटकपटक सरकारमा पनि गएका छन् । जनताले समाजवाद चाहेका छन् । समाजवाद सबैको साझा विषय हो भने समाजवादमा जान किन तयार नहुने ? त्यसैले हाम्रो स्पष्ट कुरा छ , एकपटक नेपालका तीन करोड नेपाली जनतालाई वास्तविक शान्ति ,समृद्धि र स्वाधीनताको प्रत्याभूति हुने नेपाली बिशेषताको समाजवादमा जान तयार हौं । साझा फोरम बनाएर छलफल चलाऔं , नेकपा समाजवादका लागि इमानदार राजनीतिक शक्तिसंग सहकार्य गर्न तयार नै छ ।’

नेता एटमले समाजवाद गन्तव्य राखेका सबै दललाई त्यसको बिशेषताहरु ल्याउन सुझाब समेत व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा अवधारणा पत्रमाथी बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले नेपालमा अहिले निराशाको डढेलो सल्किएको बताए ।
उनले भने – ‘ नेपालमा निराशाको डढेलो सल्किएको छ । यसलाई नियन्त्रण गर्ने साझा निष्कर्ष भनेको समाजवाद हो । नेपालको आजको समस्यालाई हल गर्नका लागि साझा फोरम मार्फत काम गर्न चाहेका छौँ ।’

२००७ सालदेखि अहिलेसम्म केही राजनीतिक फेरबदल बाहेक जनताको आर्थिक जीवन बदलिएन , उनले थपे ‘ जनताको आर्थिक जीवन अहिलेपनी बदलिएको छैन , यसको अर्थ यो पनि हो जनताले आफ्नो शासन व्यवस्था प्राप्त गरेका छैनन् । संविधानमा समाजवाद उन्मुख लेखिएको छ तर अर्थतन्त्र नवउदारवादी हुँदै दलाल पुजीवादको कब्जामा छ , नियन्त्रण छ । नेपालमा अहिले अर्थतन्त्रले राजनीतिलाई निर्देशित गरेको छ ।’

यस्तै नेता सविन सीले समाजवाद भनेको मानव जिवनलाई खुसी बनाउने राजनीतिक प्रणाली भएको समेत बताए ।

समाजवाद सबैको साझा मिसन हो भने साझा न्युनतम कार्यक्रम बनाएर अघि बढ्न नेता सविनको आग्रह थियो ।

अन्तरक्रिया कार्यक्रमका अतिथि बिजौरी उवासंघका कोषाध्यक्ष कर्ण बहादुर वली , मानवअधिकारकर्मी प्रमोद न्यौपाने , दलित अधिकारकर्मी निर्मल नेपाली, राप्ती बबई क्याम्पसका सञ्चालक समितिका सदस्य निर्मल आचार्य , अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव निर्मला डिसि , शिक्षा क्षेत्रका हस्ती बिष्णु प्रसाद आचार्य , वैकल्पिक राजनीतिक अभियान्ता जीवन भण्डारी , नेकपा मशालका जिल्ला कमिटी सदस्य शसिराम बुढाथोकी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सदस्य इश्वरी प्रसाद गैरे , जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मोहन वली , नेकपा (एस) का प्रतिनिधि डिल्ली बहादुर पुन , नेकपा एमाले तुलसीपुरका अध्यक्ष माधव वली , नेपाली कांग्रेसका सह-सचिव शेशमनि भण्डारी , रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेल , प्रदेश टुडेका कार्यकारी सम्पादक जितसागर जिएम , सिएनटी प्रेसका सञ्चालक तथा सम्पादक सागर सुवेदी लगाएतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि कार्यक्रमका अतिथि लगाएत संघ/संस्थाका प्रतिनिधिहरुले टिप्पणी गरेका थिए

नेकपाका नेता रेखा सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा तुलसीपुरका सेक्रेटरी शिव सीले गरेका थिए भने सहजीकरण पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।