महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन (१८७९–१९५५, जर्मन)को नाम नसुन्ने हामी कमै हौंला । जर्मनी देशको उल्ममा जन्मिएका यी प्रतिभाशाली विद्यार्थीले २३ वर्षको कलिलो उमेरमा नै चारवटा विषयमा फरक–फरक सोधपत्र तयार गरेका थिए । ती चारवटा शोधपत्रहरू :
१) विशेष सापेक्षता सिद्धान्त (Special Relativity)
२) प्रकाशको विद्युतीय असर (Photo Electric Effect)
३) ब्राउनी गति (Brownian Motion)
४) पिण्ड–शक्ति समतुल्यता (Mass–Energy Equivalence)
माथिका चारवटा शोधपत्रमध्ये प्रकाशको विद्युतीय असरमा आइन्सटाइनलाई १९२१मा नोबेल पुरस्कार प्रदान गरियो । तर विशेष सापेक्षताको सिद्धान्तले संसारलाई नै हल्लाइदियो । उनको पहिलो प्रस्तावनामा प्रकाशको गतिलाई निरपेक्ष मानिएको थियो र प्रकाशको गति ब्रमाण्डमा सम्भव गतिहरूमध्येको उच्चतम् सीमा मानिएको थियो । यो प्रस्तावनालाई कालान्तरमा लुई लरेन्जले विभिन्न प्रयोगहरूद्वारा सिद्ध गरे । उनका अनुसार प्रकाशको गति जुनसुकै दिशाबाट, प्रकाशको गतिको दिशाबाट वा गतिको विपरित दिशाबाट जताबाट नापे पनि एउटै हुन्छ । प्रकाशको गति किजु, कोकल्ट, रोमरजस्ता वैज्ञानिकहरूले पछि नाप्न सफल भए । कालान्तरमा प्रकाशको गति ३ लाख किमी प्रतिसेकेण्ड हुने कुरा पत्ता लाग्यो ।
आइन्सटाइनले प्रकाशको गतिबाहेकको ब्रह्माण्डका सम्पूर्ण पदार्थको गति सापेक्षित हुन्छ भनेका थिए । उनले यतिसम्म भने कि गति र स्थान मात्र होइन, समय पनि सापेक्ष हुन्छ । कुनै पनि पदार्थको लागि समय आफ्नै हुन्छ अर्थात् उसको गतिले निर्धारण गर्दछ ।
पदार्थ र शक्ति एउटा अर्कोमा रुपान्तरण हुनसक्छ भन्ने निष्कर्षमा आइन्सटाइन पुगे । आइन्सटाइनभन्दा अगाडि पदार्थ र शक्तिलाई छुट्टाछुट्टै रुपमा हेरिन्थ्यो । आइन्सटाइनले पदार्थलाई प्रकाशको गतिमा हिंडाउने हो भने शक्तिमा रुपान्तरण हुन्छ र शक्तिलाई स्थिर अवस्थामा ल्याउने हो भने पदार्थमा परिणत हुने तथ्य अघि सारेर सनसनी मच्चाए । यस्तो रुपान्तरणकारी सम्बन्धलाई पदार्थ–शक्ति समरुपमा भनिन्छ । गणितीय भाषामा लेख्दा : E = MC2 हुन्छ । यहाँ E = शक्ति, M = हराएको पदार्थको पिण्ड र C = प्रकाशको गति हो ।
पदार्थको सबैभन्दा सानो एकाईलाई परमाणु (Atom) भनिन्छ । परमाणुभित्र ३ वटा आधारभूत कणहरू हुन्छन् ।
जसलाई इलेक्ट्रोन (Electron), प्रोटोन (Proton) र न्यूट्रोन (Neutron) भनिन्छ । एउटा प्रोटोनको पिण्ड १८३७ वटा इलेक्ट्रोनहरूको पिण्डसँग बराबर हुन्छ । यसको अर्थ प्रोटोनको पिण्डको तुलनामा इलेक्ट्रोनको पिण्ड नगन्य हुन्छ । इलेक्ट्रोनहरू हलुका भएकाले बाहिरबाट आफ्नो कक्षमा रहेर प्रोटोनहरूको झुण्डलाई परिक्रमा गर्छन् । प्रोटोनहरू र न्यूट्रोनहरूको केन्द्रीय झुण्डलाई परमाणुको नाभि (Nucleus) भनिन्छ । परमाणुको नाभिको तौल र छुट्टाछुट्टै जोखिएका प्रोटोन र न्यूट्रोनहरूको तौलहरूको बराबर हुनुपर्ने तर त्यस्तो पाइएन ।
आइन्सटाइनको अनुसन्धानबाट छुट्टाछुट्टै कणहरूको तौलको योगफल समग्र नाभिको तौलभन्दा बढि पाइयो । अर्थात् नाभिमा रहेको बेला केही पदार्थ हराएको पाइयो । यही हराएको पदार्थ बराबरको शक्ति नाभिमा रहेको हुनुपर्छ । यो शक्तिलाई नै बाँध्ने शक्ति (Binding Energy) भनिन्छ । हो, यही तथ्यबाट नै के सोच्न सकिन्छ भने यदि नाभिलाई विष्फोट गर्ने अथवा विच्छेद गर्ने हो भने परमाणुको शक्ति बाहिर आउनु पर्दछ । यही तथ्य र सिद्धान्तमा आधारित रहेर परमाणु बम (Atom Bomb) बनाइयो ।
परमाणु बम बनाउने पहिलो वैज्ञानिक अमेरिकाका ओपनहाइमर हुन् । उनले बनाएको पहिलो बम जापानको हिरोसिमा र नाकासाकीमा १९४५मा खसालिएको थियो । १९४५ अगस्ट ६ र ९मा सो बम खसालिएपछि जापानले आत्मसमर्पण गरेको थियो । तर आज अझ शक्तिशाली बम दर्जनौं देशहरूसँग छ ।
स्राेत: जनपत्रिका माघ अङ्क